काठमाण्डौं । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच खेल हुँदैछ ।
खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । प्रतियोगितामा दुवै टोलीले आज दोस्रो खेल खेल्दैछन् ।
आजको खेलबाट यो समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । यो समूहको श्रीलङ्का पहिलो खेलमा नेपालसँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित हुँदै बाहिरिइसकेको छ । यसअघि हिजो भएको खेलमा भुटानले माल्दिभ्सलाई हराएसँगै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । भुटान पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
दुबै टोलीको समान तीन अंक छ । गोलअन्तरका आधारमा बंगलादेश शीर्ष स्थानमा छ । आज पराजित हुने टोलीले समूह ‘बी’ को भारतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
भोलि हुने भारत र माल्दिभ्सबीचको खेलबाट समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ । प्रतियोगितामा ६ टोली सहभागी छन् । जसमा नेपाल रहेको समूह ‘ए’मा बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।