Page 12

सेयर बजारमा ५० अङ्कको गिरावट, कारोबार रकममा सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको हो ।
लगातार छ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले बढेको थियो । तर बजार सम्हालिन नसक्दा आज पुनः घटेको छ ।
आज विभिन्न तीन सय २४ कम्पनीका दुई करोड ४८ लाख ४६ हजार सात सय ८२ कित्ता शेयर एक लाख १९ हजार सात सय ३९ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार नौ सय ५७ बराबरको कारोबार भएको छ । यो कारोबार रकम पछिल्ला सात दिनमा सबैभन्दा उच्च हो ।
आजको कारोबारपछि वित्त समूह र होटल तथा पर्यटन समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ । वित्त समूह तीन दशमलव ५३ र होटल तथा पर्यटन समूह तीन दशमलव ६८ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ९३, विकास बैंक दुई दशमलव ५१, जलविद्युत् एक दशमलव ४८, लगानी दुई दशमलव ८० र जीवन बीमा समूह दुई दशमलव ७४ प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन समूह एक दशमलव ७९, लघुवित्त एक दशमलव ८८, म्युचुअल फन्ड एक दशमलव ६१, निर्जीवन बीमा दुई दशमलव १६, व्यापार शून्य दशमलव ९० र अन्य समूह दुई दशमलव २३ प्रतिशतले घटेको नेप्सेले जानकारी दिएको छ ।
आज दुई सय १९ कम्पनीको शेयर मूल्य घट्दा २४ वटाको मात्रै बढेको छ । जसमध्ये रिभर फल्स पावर लिमिटेड, हिमालयन हाईड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु ६४ करोड ३८ लाख ६६ हजार सात सय ८० बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिङ्गटी हाईड्रो इनर्जी लिमिटेडको नौ लाख ३४ हजार पाँच सय ७८ कित्ता शेयर किनबेच भएको छ ।

साना डिजिटल कारोबार निःशुल्क गर्न छलफल गर्दैछु ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्न पहल गर्ने जानकारी दिएका छन् ।
पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सानो कारोबार निःशुल्क गर्न पहल गर्ने जनाएका हुन् ।
यस विषयमा आफूलाई नागरिकले फेसबुकमार्फत जानकारी गराएको जनाउँदै प्रधानमन्त्री ओलीले सम्बन्धित अधिकारीसँग छलफल गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले फेसबुक पेजमा लेखेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनुहोला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जानेछ ।’
हिजोआज मोबाइल बैंकिङ कारोबार गर्दा हरेक पटक ११ रुपैयाँभन्दा धेरै शुल्क लाग्ने गरेको छ । यसबाट साना डिजिटल कारोबारी मर्कामा परेका छन् ।

सिमलतालमा ट्रक दुर्घटना

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना भएको छ ।
आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशूलीमा खसेका थिए ।
दुर्घटना भएको ट्रक आरएमसी कम्पनीको खानेतेल बोकेको ट्रक रहेको र ट्रकका चालक र सहचालकको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

ताप्लेजुङको ल्होनाकमा भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार गएराति १२ः८ बजे ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाण्डौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आव २०७९, ८०’ पेस गर्ने र सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
यस्तै, राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् ।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘विकास आर्थिक मामिला तथा सुशासन समितिको आव २०८०, ८१ को वार्षिक प्रतिवेदन’ र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आव २०८०, ८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्नेछन् ।
यस्तै राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पाण्डेयले जानकारी दिए ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ र ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

अब नेपालमा भ्रष्टाचारका काण्डहरू सुन्न नपर्ने प्रधानमन्त्रीको उदघोष

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अव नेपालमा भ्रष्टाचारका काण्डहरू सुन्न नपर्ने उदघोष गरेका छन् ।
शनिवार काठमाडौँमा स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपालबाट भ्रष्टाचारलाई पूर्णरुपमा र्निमूल गर्ने जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट पाउने सुविधा लिन घुस खुवाउनु पर्ने, काम गरेबापत कुनै नजराना चढाउनु पर्ने र भनसुन गर्न जानु पर्ने थिती हटाउने तयारीमा आफू लागिपरेको जनाए।
फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेको र फाइलमा क्युआर कोर्ड ट्रयाकिङ राखेको भन्दै उनले कुन ठाउँमा फाइल गएर कहाँ अड्कियो भन्नेकुरा प्रधानमन्त्री कार्यालयले थाहा पाउने जानकारी दिए ।
यस्तै गोष्ठीमा ओलीले संविधानविरुद्ध अहिले ठूलो शक्ति लागेको दाबी गरेका छन् । नेपालमा शान्ति सुव्यवस्था हुन नदिने षड्यन्त्र भइरहेको उनले जनाए ।

उपसभामुखलाई हटाउने विषयबाट काँग्रेस–एमाले ब्याक हुने प्रचण्डको दाबी

विराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने दाबी गरेका छन्।
विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसँग कुरा गर्दै उनले भने,‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ। उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो। त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं। सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’
अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको जनाउँदै सबै उक्त पदका लागि योग्य भएको जनाए। तपाईहरुले बरियता मिच्न लाग्नु भएको कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ। हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन। त्यस्तो समस्या परेको केही छैन।’
उनले संबैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने जानकारी दिए। ‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको छु। सबै रिक्त रहेका संवैधानिक आयोगहरुमा पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ उनले भने।
अध्यक्ष प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद चल्न नदिने पनि जनाए। ‘एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपब्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ। त्यो विषयको सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहन्छ,’ उनले भने।
उनले परिवर्तन जोगाउन आफ्नो पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भनेर आफूहरु लागिरहेको उल्लेख गर्दै भने,‘व्यवस्था र परिवर्तनको लागि धेरै त्याग गरेको हाम्रो पार्टी नै हो। त्यसैले परिवर्तन उल्ट्याउन नदिने गरी तयारी गर्नुपर्छ भनेर हामी लागेका छौं।’
अर्को एक प्रसङ्गमा उनले राजनीतिमा नेताको एक्जिट भन्ने नुहने जनाए। ‘सच्चा राजनीतिज्ञहरु बाँचेसम्म राजनीति गर्छन्। मरेपछि पनि उनीहरुले राजनीति गरिरहन्छन् भन्ने दर्शन छ। नेतालाई विश्राम लिने छूट हुदैन।’उनले भने। अध्यक्ष प्रचण्डले आजै मोरङ र सुनसरीका विभिन्न पार्टी कार्यक्रमलाई सम्बोधन गर्नेछ।
साथै उनले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुङ्गिएसम्म संसद् चल्न नदिने पनि जानकारी दिए। एमालेले जनयुद्धलाई अपभ्रम पार्न खोजेको आरोप लगाए। उनले भने, ‘एमालेका साथीहरूले जनयुद्धलाई ‘हिंसा’ भनेर अपभ्रम गर्ने, अपव्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ। उनले यो बिषयमा टुंगो नलागेसम्म र सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहेन जनाए।

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन ।
आज ६०औँ राष्ट्रि बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने जनाएका छन ।
‘कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन् । यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौँ ।’ प्रधानमन्त्री ओलीद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
त्यस्तै, उनले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको जनाए । ठूलो संख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्नेमा उनको जोड छ ।
उनले गरिबीको रेखामुनि रहेका मानिसलाई रोजगारी उपलब्ध गराउन सरकार लागिपर्ने जनाए । ‘बालबालिका मानव जातिका भविष्य हुन् । हाम्रा तमाम् अभिभावकले बालबालिकालाई स्नेहपूर्वक रुपमा हुर्काउन, तिनको उपयुक्त बौद्धिक, मानसिक र शारीरिक विकास गर्नका लागि भूमिका खेल्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘आमा बालबालिका लागि पहिलो गुरु हुन् । बालमैत्री वातावरण बनाइयोस् । बालबालिकालाई माया गरौँ । सही आचारण सिकाउँदै जानुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न बालबालिकामा लगानी गर्नुपर्छ, उनीहरुलाई भविष्यको योग्य नागरिक बनाउन सक्छौँ ।’

 

रास्वपाको केन्द्रीय समिति बैठक आज १ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने जनाईएको छ ।
बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि बारे छलफल तथा राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीले ब्रिफिङ गर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
त्यस्तै, बैठकमा राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिकामा छलफल, राष्ट्रिय भेलाको हालसम्मको तयारीका बारे सबै उपसमितिद्वारा प्रस्तुत र छलफल हुने उनले जानकारी दिए ।
त्यसैगरी, झाले बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत हुने र प्रस्तावित नियमावली र कार्यविधिमाथि छलफल हुने जानकारी दिएका छन ।

बझाङमा भूकम्पको धक्का महसूस

काठमाण्डौं । बझाङ केन्द्रबिन्दु भएर शुक्रबार राति भूकम्प धक्का महसूस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ः३६ बजेमा ३.७ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ ।
भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसूस भएको छ ।

लेटेष्ट समाचार

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ । जेठ २८ गतेसम्मका लागि समय थप गरिएको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन...

रवि आज स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत जाँदै

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् भने परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत...

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास...