Page 9

संविधान दिवसका अवसरमा शीतल निवासमा रात्रिभोज

काठमाण्डौं । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीवार (असोज ३ गते) रात्रिभोजको आयोजना गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा बाबुराम भट्टराई लगायतको उपस्थिति थियो ।
त्यस्तै उपप्रधानमन्त्री, मन्त्रीहरू र विदेशी राजदूतसँगै कूटनीतिक नियोगका उच्चपदस्थको समेत सहभागिता थियो । कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्र र सुशासनप्रति प्रतिवद्ध रहँदै, राजनीतिको नैतिकता र निष्ठालाई उच्च स्थानमा राख्ने संकल्प गर्नुपर्ने जनाए ।
उनले मुलुकको रूपान्तरणका लागि राजनीतिक दलहरूले संसदमा योग्य प्रतिनिधि पठाउन जरुरी रहेको र यसले मात्र सुधार सम्भव हुने धारणा राखेका थिए ।

अहिलेको सरकारमा आत्मविश्वास नदेखिएको लामिछानेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारमा आत्मविश्वास नदेखिएको आरोप लगाएका छन् । उनले दुई तिहाइ बहुमतको सरकार भनिए पनि प्रधानमन्त्री र मन्त्रीहरुको व्यवहार त्यस्तो नदेखिएको जनाए ।
‘दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने हो । प्रधानमन्त्रीमा त्यो आत्मविश्वास आउनुपर्ने थियो । मन्त्रीहरुमा पनि त्यो खालको आत्मविश्वास हुनुपर्ने थियो। तर टिसर्ट लगाएको मान्छे समाएको छ । कराएको मान्छे समाएको छ’, उनले भने, ‘उपसभामुखलाई हटाउने लगायतका काम गर्नुहुँदैन, यो दुई तिहाईको सरकार त्यतातिर छ ।’
सरकार बलियो भने पनि यसको धरातल कमजोर रहेको भन्दै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने ठोकुवा गरे ।
‘संसदमा अहिले शेरबहादुर देउवा रिसाएको एक सेकेण्डपछि सरकार ढल्यो । अस्थिरता छ । अहिले दुई तिहाईको सरकार सबैभन्दा अस्थिर छ । एउटा पार्टीले अर्को दलको नेतासँग समन्वय नगरी सरकार चलाउन सम्भव छैन’, उनले भने ।
सभापति लामिछानेले सरकारले संविधान संशोधनलाई राजनीतिक सौदाबाजी बनाएको जानकारी दिए । ‘संविधान संशोधन गर्छु भन्ने नाममा आफ्नो राजनीतिक इन्ट्रेस्टको सौदाबाजी गर्न पाइँदैन । संविधानलाई सौदाबाजी गर्नु राम्रो भएन’, उनले भने ।

दुर्गा प्रसाइँ समूहले भोलि देशभर चक्काजाम गर्ने

काठमाडौं । मेडिकल व्यवसायी एवम् नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई समूहले भोलि चक्काजाम गर्ने भएको छ ।
प्रसाईँविरूद्व काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रसाईँले भोलि देशभर चक्काजाम गर्न उर्दी जारी गरेका हुन ।
महाअभियानले विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी तत्काल फिर्ता नलिए आज राँके जुलुस र विरोध प्रदर्शन गर्ने तथा चार गते चक्काजाम गर्ने चेतावनी दिएको हो ।

 

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिबाट ७ जना पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिबाट सात जना पक्राउ परेका छन् ।
संविधानको विरुद्धमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
सरकारले आज विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइरहेको छ ।

नबिल बैंक र र्‍याडिसन होटलबीच संझौता

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्‍याडिसन होटल बीच भएको दुई पक्षीय समझदारीअनुसार यस्तो व्यवस्था गरिएको हो ।
नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्‍याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका हुन ।
समझदारीअनुसार नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, तथा एटिएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ ।
नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने र्‍याडिसन होटल आतिथ्य सेवा (हस्पिटालिटी) उद्योगमा विशिष्ट सेवा दिने परिचित संस्था हो । र्‍याडिसन होटलसँगको यस समझदारीले बैंकका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैंकले जनाएको छ । ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको बैंकले जनाएको छ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१७ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । संविधान नेपालको मूल कानून हो । तर यसको कार्यान्वयन पक्ष फितलो भएको भन्दै प्रश्न उठ्न थालेका छन् । संविधान जारी भएपछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यसअनुसारको काम हुन नसकेको नागरिकको गुनासो छ । राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसकेको भन्दै नागरिक निराश भएका छन् ।
संविधानले दिएको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खाद्य सम्प्रभुत्ता, आवासलगायत दर्जनौं आधारभूत हकहरूको अनभूति आमनागरिकले गर्न पाएका छैनन् । मौलिक हकका धारा संविधानमा मात्रै सीमित भएको छ । पछिल्लोपटक संविधान संशोधनको बहस भइरहेको छ । संविधान दिवसको अवसरमा सरकारले अहिले बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन । त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन ।

सर्वसाधाराणका लागि आजदेखि खुल्यो धरहरा

काठमाडौं । नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भिमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको हो ।
संविधान दिवसको अवसरमा खुला गरिने घरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।
परीक्षणका लागि बुधबार ५ बजेदेखि नै विशेष व्यक्तिहरूका लागि धरहरा खुला गरिएको थियो । धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा थालिएको हो ।
२०७८ साल वैशाख ११ मा ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो । तर, पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन । उद्घाटनको समयमा मूल धरहराको निर्माण नसकिए पनि अन्य संरचना निर्माण ४२ प्रतिशत मात्रै पूरा भएको थियो ।
सरकारले अर्को व्यवस्था नगर्दासम्म केही समय निःशुल्क रूपमा नै धरहरा चढ्न सकिने पाइने छ । रंगरोगन र शृंगारका केही कामहरू बाँकी रहे पनि यसले खास समस्या नपर्ने जनाईएको छ ।

कोशीका मुख्यमन्त्री कार्कीले पाए संसदबाट विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन ।
आज कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका हुन । एमाले, कांग्रेसको समर्थन पाएका मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो ।
मत बिभाजन प्रक्रियामा २ जना सांसद सहभागी भएका थिएनन । विश्वासको मत लिने प्रस्तावको मतदान प्रक्रिया मा ८३ सांसदले भाग लिएका थिए । माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरी विश्वासको मत लिएका हुन । माओवादीले यहि भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।
केन्द्रमा एमाले, कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो । अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले, कांग्रेसको सरकार रहेको छ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन् ।

 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । जसमा प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनाल पनि रहेका छन ।
उनीहरु विरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

आजदेखि रास्वपाको राष्ट्रिय भेलामा समूहगत छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला आज पनि जारी छ । काठमाडौँको प्रज्ञा भवनमा मंगलवारदेखि सुरु भएको भेलामा १ हजार ५ सय बढी प्रतिनिधिहरू उपस्थित छन् ।
मङ्गलवार भेलामा प्रदेश समितिका संयोजकहरूले रिपोर्टिङ गरेका थिए । साथै मङ्गलवार नै कोषाध्यक्ष लिमा अधिकारी र देखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेस गरेका थिए । अनुशासन आयोगका सभापति भरतमणि देवकोटाले आयोगको प्रतिवेदन समेत पेस गरेका थिए ।
उपसभापति डा स्वर्णिम वाग्लेले नीति विचार प्रतिवेदन, कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले विधान संशोधनको प्रस्ताव पेस गरेका थिए। आज भने प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । आज नै दलका नेताहरूले प्रश्नको उत्तर दिने र सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जनाईएको छ ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...