आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । संविधान नेपालको मूल कानून हो । तर यसको कार्यान्वयन पक्ष फितलो भएको भन्दै प्रश्न उठ्न थालेका छन् । संविधान जारी भएपछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यसअनुसारको काम हुन नसकेको नागरिकको गुनासो छ । राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसकेको भन्दै नागरिक निराश भएका छन् ।
संविधानले दिएको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खाद्य सम्प्रभुत्ता, आवासलगायत दर्जनौं आधारभूत हकहरूको अनभूति आमनागरिकले गर्न पाएका छैनन् । मौलिक हकका धारा संविधानमा मात्रै सीमित भएको छ । पछिल्लोपटक संविधान संशोधनको बहस भइरहेको छ । संविधान दिवसको अवसरमा सरकारले अहिले बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन । त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन ।

LEAVE A REPLY