काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशन आज हुँदै छ। केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो। बिहान १० बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
महासङ्घको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन्।
त्यस्तै, उपाध्यक्ष महिलामा नितु पण्डित र गंगा पौडेलको उम्मेदवारी परेको छ । समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन्। त्यस्तै, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।
आज नेपाल पत्रकार महासङ्घको निर्वाचन हुँदै
आज एनपीएलमा लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवन खेल्दै
काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदै छन् । पहिलो खेलमा प्लेअफको दौडबाट बाहिरिइसकेको टिम लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले आज खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
यसअघि ६ खेलमा पारजित भएर प्लेअफबाट बाहिरसकेको लुम्बिनी लिगकै अन्तिम खेल खेल्दैछ । अर्कोतर्फ कर्णाली याक्स लुम्बिनीलाई हराएर प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्यमा छ । ५ खेल खेल्दा ३ मा जित र २ मा हारबाट ६ अंक जोडेको कर्णाली पाँचौँ स्थानमा छ ।
सुरुवाती दुई खेलमा पराजित भएपनि त्यसपछि लगातार तीन खेल जितेको कर्णाली लयमा छ र त्यो जितको लय कायम राख्न चाहन्छ । लुम्बिनीलाई पराजित गरेमा कर्णाली प्लेअफको एक कदम नजिक पुग्नेछ ।
दोस्रो खेलमा प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राख्न जित्नै पर्ने दबाबसहित विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध प्रतिस्पर्धा गर्दै छ । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
पाँच खेलमध्ये चारमा हार र एकमा जित निकालेको विराटनगर अंक तालिकाको पुछारमा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको खातामा दुई अंक मात्र छ । आजको खेलमा चितवनविरुद्ध पराजित भए विराटनगर प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बन्नेछ ।
यता, विराटनगरविरुद्ध मैदान उत्रिँदा कुशल मल्लको कप्तानीमा रहेको चितवन भने जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।तालिकाको तेस्रो स्थानमा आसीन चितवनले पाँच खेलमा तीन जितसहित ६ अंक जोडेको छ ।
आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पार्टीको स्थायी समिति बैठक बस्न लागेको हो । बिहीबार गृह जिल्ला चितवन र धादिङका विभिन्न कार्यक्रममा अध्यक्ष प्रचण्ड व्यस्त भएपछि बैठक स्थगित गरिएको थियो ।
बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिबारे छलफल हुने जनाईएको छ ।
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको सचिवालयले जानकारी दिएको छ ।
बैठकका एजेन्डाहरू खुलाइएको छैन । साँझ पाँच बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिलोगरी सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।
रिहा भएलगत्तै फेरि पक्राउ परे मेडिकल व्यवसायी प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा हुने बित्तिकै पुनः पक्राउ परेका छन् ।
आज साइबर अपराधको आरोपमा थुनामा रहेका उनलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उनी ४० हजार धरौटी बुझाएर निस्किएलगत्तै फेरि अदालत परिसरबाटै पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोले उनीमाथि आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले पुनः पक्राउ गरिएको जनाएको छ ।
सेयर बजार ३३.४२ अंकको गिरावट, ६ अर्ब बढीको कारोबार
काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि घटेको बजार अन्तिम समयमा सम्हालिन प्रयास गरेपनि त्यो सम्भव भएन । बजार ३३.४२ अंकले घटेर परिसूचक २६८२.२९ बिन्दु कायम भएको छ ।
बजारमा दोहोरो अंकको गिरावट आउँदा परिसूचक २७ सय बिन्दुबाट तल झरेको छ । यो दिन ३०४ कम्पनीको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर ६ अर्ब १४ करोड ४० लाख ६५ हजार ७४४ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको भएपनि बाँकी समूहको उपसूचक राताम्मे भएका छन् ।
४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०४ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा त्रिशुली जलविद्युत कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, कुथली बुखरी स्मल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने जानकी फाइनान्स, इङ्वा हाइड्रोपावर, इमर्जी नेपाल, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ ।
पछिल्लो पटक थपिएको चार दिनको म्याद आज सकिने भएकाले म्याद थपका लागि उनलाई अदालत उपस्थित गराउन लागिएको हो ।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अनुसन्धान भइरहेको छ ।
मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
आज साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्किएपछिको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।
आजको बैठकमा केही नियुक्ति र बढुवा पनि हुनसक्ने जनाईएको छ ।
दुर्गा प्रसाईंविरुद्ध अदालतमा साइबर अपराध मुद्दा दर्ता
काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ विपरितको कसुर (साइबर अपराध) गरेको आरोपमा जिल्ला अदालत काठमाण्डौंमा मुद्दा दायर गरिएको छ ।
साइबर ब्यूरोले पेश गरेको राय सहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाण्डौंले मुद्दा दर्ता गरेको छ । बुधबार प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौंका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए ।
उनीमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसूरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट जाँच भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईंलाई मंसिर ४ गते भक्तपुरबाट पक्राउ गरिएको थियो ।
आसिफ शेख ‘आइएमई पे’को ब्राण्ड एम्बेसेडर
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले एक कार्यक्रम माझ नेपाली क्रिकेटर आसिफ शेखलाई ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ ।
नेपालको राष्ट्रिय क्रिकेट टिममा दायाँ हाते विकेटकिपररब्याट्सम्यानको रुपमा खेल्दै आएका शेखले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेलहरुमा कम उमेरमै कैयौँ कीर्तिमान प्राप्त गरिसकेका छन् ।
‘नेपाली क्रिकेटको लागि हाम्रो समर्थन जारी राख्दै, हामी विश्वास गर्छौं कि यो साझेदारी खेलकुद र डिजिटल भुक्तानीलाई जोड्ने एक उत्कृष्ट कदम हुनेछ, यो साझेदारीले डिजिटल फाइनान्सको सम्भाव्यतालाई नेपाली क्रिकेटको जोससँग जोड्न महत्वपूर्ण कदम चालेको छ ।’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने ।

















