Page 13

आज देउवाले पार्टीका मन्त्रीहरूसँग छलफल गर्दै

काठमाण्डौं । नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी १२ जना मन्त्रीहरूसँगको बिहीवार सामूहिक छलफल गर्दैछ ।
पार्टीबाट सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीहरूसँग कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गर्न लागेका हुन् ।
कांग्रेस र एमालेबीच गत असार १७ मा ७ बुँदे सहमति भएर त्यसैको जगमा असार ३० गते एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए । सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री गरी कांग्रेसले १२ जनालाई पठाएको छ ।
सरकारका काम परिणाममुखी बनाउन कांग्रेसले मन्त्रीहरूसँग संवाद थालनी गत भदौदेखि सुरू गरेको थियो । महिनामा एक वा दुई पटक
यस्ता छलफल गर्ने कार्यलाई कांग्रेसले निरन्तरता दिँदै आएको छ । पार्टी पदाधिकारी, संसदीय दल कार्यसमिति र मन्त्रीहरूबीच छलफल गरी सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन खोजिएको कांग्रेसको भनाइ छ ।
मन्त्री र राज्यमन्त्रीहरूसँग अहिलेसम्म गरेका कामकाज, कार्यमूलक योजना र पार्टीसँगको समन्वय लगायतका विषयमा कांग्रेसले छलफल गर्नेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले आज भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।
उनले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। यसअघि सरकारले पाँच अध्यादेश जारीका लागि सिफारिस गरेकामा राष्ट्रपतिले चारवटा मात्रै अध्यादेश जारी गरेका थिए ।

रविलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीस माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
यसअघि लामिछाने कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

सिटिजन्स बैंकद्वारा नवीकरण प्रतिष्ठान नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखि निरन्तर रुपमा अनाथ बालबालिकाहरुको लागि काम गर्दै आएको रिन्यू फाउन्डेसन नेपाल (नवीकरण प्रतिष्ठान नेपाल) लाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करिब ४५ जना बालबालिकाहरुले आश्रय लिइरहेको संस्थालाई बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु र वाटर डिस्पेन्सर उपलब्ध गराएको हो ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप बालबालिकाहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको कुरा व्यक्त गरे । संस्था तथा त्यहाँ रहेका बालबालिकाहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरुले अनाथ बालबालिकाको हेरचाह र शिक्षाको लागि समाजमा उदाहरण बसाइरहेको कुरा पनि व्यक्त गरे ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।

नबिल बैंकद्वारा १३७ जना राउटेको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । नबिल बैंकले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
नबिलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको शिविर कार्यक्रममा ४८ राउटे परिवारका १३७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ५९ जना महिला र ७८ जना पुरुष रहेका थिए ।
यो शिविर कार्यक्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डा. सुजन सापकोटाको नेतृत्वमा चार विशेषज्ञ चिकित्सकको टोलीले राउटे समुदायमा मौसमी रुघाखोकी, निमोनिया, छाला रोग, ग्यास्ट्रिक, तथा महिलाहरूमा पाठेघर र ढाड दुखाइका समस्या परीक्षण गरी औषधि वितरण गरेको थियो । जुका, भिटामिन, र आइरन चक्की जस्ता औषधिहरू पनि उपलब्ध गराइएको थियो ।
राउटे समाज मुख्यतः सुर्खेत तथा कर्णाली प्रदेशका आसपासका जिल्लाहरूमा बसोबास गर्दै आएको छ । यस समुदायमा पोषणको कमी, अस्वस्थ जीवनशैली, र सरसफाइको अभावका कारण विभिन्न रोगहरू देखा पर्ने समस्या रहेको कारण यो समाजलाई केन्द्रित गरिएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले जनाए । स्वास्थ्य शिविरले राउटे समुदायका व्यक्तिहरूको स्वास्थ्य जाँच, सरसफाइको महत्वबारे जागरूकता, र स्वास्थ्य सेवामा पहुँच उपलब्ध गराएको उनले जनाए ।
“राउटे समुदायको विशिष्ट सांस्कृतिक मान्यता र जीवनशैलीलाई सम्मान गर्दै, उनीहरूको स्वास्थ्य सुधारका लागि यो शिविर सञ्चालन गरिएको हो, शिविरले स्वास्थ्य सचेतना बढाउने र सेवा पहुँचलाई थप सुदृढ बनाउने छ,” उनले भने ।
स्वास्थ्य शिविरमा राउटे समुदायको मुखिया तथा अन्य स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बराहताल गाउँपालिका अध्यक्ष भिमबहादुर भण्डारीले नेपालकै लोपोन्मुख जातीको बस्तीमा आएर स्वास्थ्य शिविर चलाउनु सराहनीय कार्य रहेको जनाए ।
राउटेहरूको समग्र विकासको लागि गाउँपालिका लगायत समग्र प्रदेश र संघीय सरकारको नै मुख्य जिम्मेवारी रहेको उनले जनाए । विपन्न समाजको सामाजिक उन्नयनमा बैंक तथा वित्तीय संस्थाहरूले सहयोग गर्दा अझ सजिलो भएको उनले जनाए । उनले नबिल बैंकको यस सहयोगको लागि धन्यावाद दिँदै आगामी दिनमा पनि अझ सहयोगको अपेक्षा गरेको जनाए ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । भविष्यमा पनि समाजको समग्र सुधारका लागि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने बैंकले जनाएको छ।

नेशनल लाईफले ल्यायो अमृत– ४ सावधिक बीमालेख

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना बरिष्ठ अभिकर्ताहरुको राय सुझाव र मागलाई मध्येनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत– ४ सावधिक बीमालेख प्रस्तुत गरेको छ ।
जुम मिटिङ मार्फत जोडिएका कम्पनीका सवै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरु, वरिष्ठ अभिकर्ताहरुका साथै केन्द्रीय कार्यालयका विभागिय प्रमुखहरु सम्मिलित एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत शुरेश खत्रीले बीमालेख सार्वजनिक गरेका हुन् ।
उक्त अवसरमा सीईओ खत्रीले विगतमा पनि अभिकर्ता तथा बीमित वर्गहरुले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझ बढि परिष्किृत गरी बाल अमृत सावधिक बीमालेख–४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुशी लागेको र बाल बच्चाको सुमधुर भविष्यसंग सम्वन्धित यो योजना कम्पनीकै एक अव्वल योजना रहेको जनाए ।
यस बीमालेख योजनाका विशेषताहरुका सम्वन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रष्ट्याउँदै यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ बर्ष, प्रस्तावकको उमेर न्यूनतम २० बर्ष र अधिकतम ५० बर्ष सम्म रहने प्रावधान रहेको छ । यस बीमालेखमा प्रस्तावकको रुपमा बुवा, आमा वा कानुनी संरक्षक हुनु पर्नेछ ।
बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाख सम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बीमाशुल्क मासिक, त्रैमासिक अर्धबार्षिक र बार्षिकरुपमा बुझाउन सकिने व्यवस्था गरेको छ ।
यसैगरी यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० बर्ष रहेको छ साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगाएतका अन्य सुविधहरु पनि यस बीमालेखमा रहेको जानकारी दिए ।
यस बीमालेखलाई प्रवद्र्धन गर्ने उदेश्यले बीमित तथा अभिकर्ताहरुका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको जनाए । उनले सम्पूर्ण अभिकर्ता, बीमित र कम्पनीका शुभेच्छुकहरुले कम्पनीको मोवाईल एप्स, वेब साईट र नेपालभर रहेको जुन सुकै शाखा कार्यालयहरुमा गएर पनि यस सम्वन्धि विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

काठमाडौं । सरकारविरुद्धमा रणनीति बनाउन विपक्षी दलका नेताहरूको बैठक जारी रहेको छ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी रहेको हो।
बिहान ९ बजेबाट सुरु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी छन्।
अरू नेताहरू पनि आउने क्रम जारी रहेको छ।

दक्षिण कोरियाली राष्ट्रपति यून सुक पक्राउ

काठमाडौं । दक्षिण कोरियामा महाभियोग लागेका राष्ट्रपति यून सुक योल पक्राउ परेका छन् । यूनलाई प्रहरीले बुधबार बिहान राष्ट्रपति भवनबाट पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
स्थानीय समय अनुसार बिहान करिब १०ः३० बजे यूनलाई पक्राउ गरिएको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले जनाएको छ । यसअघि जनवरी ३ मा पक्राउ टोली फर्किनु परेको थियो तर यसपटक प्रहरीको ठूलो टोलीसहित अफिसरहरू राष्ट्रपति निवासमा प्रवेश गर्न सफल भए र एक महिनापछि राष्ट्रपति यून पक्राउ परे ।
समाचार अनुसार बिहान साढे ४ बजेबाट राष्ट्रपति निवासबाहिर अधिकारीहरू आउन थालेका थिए । यस क्रममा संयुक्त राष्ट्र संघका समर्थक र विपक्षीहरुको ठूलो संख्या त्यहाँ जम्मा भएको थियो । तर राष्ट्रपति भवन बाहिर सुरक्षालाई ध्यानमा राख्दै प्रहरी व्यवस्था कडा पारिएको थियो ।
करिब एक हजार प्रहरी अधिकारीको टोली विभिन्न बाटो र सिँढी हुँदै राष्ट्रपति निवासमा प्रवेश गरी यूनलाई नियन्त्रणमा लिन सफल भए ।
यूनलाई अदालतको वारेन्टअन्तर्गत ४८ घण्टासम्म हिरासतमा राख्न सकिने जनाईएको छ । अनुसन्धानकर्ताहरूले उनको हिरासत बढाउन नयाँ वारेन्टको लागि आवेदन दिने तयारी गरेकोसमेत समाचारमा जनाइएको छ ।
गत डिसेम्बर ३ मा मार्शल ल लागु गर्न खोजेपछि यूनविरुद्ध व्यापक प्रदर्शन पनि भएको थियो । यद्यपि मार्शल ल ६ घण्टा पनि टिक्न सकेको थिएन ।
गत डिसेम्बर १४ मा विपक्षी दलहरूले विद्रोहको आरोप लगाएर संसदले महाभियोग लगाएपछि यूनलाई राष्ट्रपति पदबाट निलम्बन गरिएको थियो ।

अब हरेक स्थानीय तहमा कम्तीमा एउटा स्वास्थ्य बीमा सेवा प्रदायक संस्था रहने

काठमाण्डौं । स्वास्थ्य बीमा सेवाका लागि अब हरेक स्थानीय तहमा एउटा सेवा प्रदायक संस्था रहने भएका छन् ।
स्वास्थ्य बीमा ऐन २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एउटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेकोमा स्वीकृत भई कानून संशोधन भएको छ । संशोधित ऐनको व्यवस्थाअनुसार यसअघि बीमा सदस्य बने पनि पालिकामा सेवा लिन नपाउने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।
ऐन संशोधनको प्रष्टीकरण खण्डमा ‘यसअघि स्थायी ठेगाना भएको तहबाट रेफरल लिनुपर्ने भएकोमा अबको व्यवस्थाले प्रथम सेवाविन्दु भन्नाले बीमितले सर्वप्रथम स्वास्थ्य सेवा लिने गरी रोजेको स्वास्थ्य संस्था सम्झनुपर्छ’ भनेर व्याख्या गरिएको छ ।
यस आधारमा अब बीमित कार्यरत क्षेत्रमा प्रथमविन्दु कायम गर्न चाहेमा सम्भव हुने भएको छ । यसका लागि स्वास्थ्य बीमा नियमावली समेत संशोधन गर्ने गरी तयारी अघि बढेको मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ ।
नियमावली संशोधन भएपश्चात कार्यरत स्थानबाट बीमा सुविधा लिन स्थायी ठेगाना भएको ठाउँमा जानैपर्ने अवस्था कम हुने विश्वास मन्त्रालयले गरेको छ ।
मन्त्री पौडेलले बीमित रहेकै स्थानबाट सेवा लिन मिल्ने गरी व्यवस्था गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका थिए । मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार संशोधनमार्फत अब कार्यकारी निर्देशक नियुक्त नहुँदासम्मका लागि वैकल्पिक व्यवस्था भएको छ ।
ऐनको दफा २५ को उपदफा (५) पछि देहायको उपदफा (६) थपिएको छ । जसमा ‘कुनै कारणले कार्यकारी निर्देशकको पद रिक्त भएमा दफा २२ को उपदफा (३) बमोजिम कार्यकारी निर्देशक नियुक्ति नभएसम्मका लागि कार्यकारी निर्देशकको रूपमा काम गर्न मन्त्रालयले मन्त्रालय र अन्तर्गतको नेपाल स्वास्थ्य सेवाको कम्तीमा एघारौं तहको कर्मचारीलाई खटाउन सक्ने’ उल्लेख छ ।
कार्यकारी निर्देशक नियुक्त नहुँदासम्म निमित्त कार्यकारीका सट्टा पूर्ण अधिकार सहितकै कार्यकारी निर्देशकका रूपमा कर्मचारी खटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बाटो खुला गरेको छ । यसले भावी दिनमा कार्यकारी निर्देशकको रिक्तता सम्बन्धी समस्या सम्बोधन गर्न सक्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

यो सरकार चाँडै ढल्ने प्रचण्डको टिप्पणी

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई तिहाइको दम्भ राख्ने सरकारसँग सदन फेस गर्ने नैतिक साहस नभएको टिप्पणी गरेका छन् ।
सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकार सदन बोलाउनुको सट्टा अध्यादेश ल्याएर शासन गर्ने प्रक्रियामा अघि बढेको बताए । विपक्षी दलहरूको तर्फबाट सदनको बैठक तत्काल बोलाउन आफूहरूले निरन्तर दबाब दिइरहेको पनि जानकारी गराए ।
उनले भने, ‘यो सरकार निरीह, कमजोर र गैरजिम्मेवार हो । हामी सदनबाटै लोकतान्त्रिक तरिकाले विधेयकहरु अघि बढोस् भन्ने चाहन्छौं। सदन बोलाउन हामी विपक्षीहरुले ज्ञापनपत्र पनि बुझाइसकेका छौं ।’
उनले कांग्रेसको संस्थापन पक्षका नेताहरूमा पनि असन्तुष्टि बढ्दै गइरहेकाले यो सरकार लामो नजाने जिकिर गरे ।
उनले भने, ‘यो अप्राकृतिक भनेपछि यो सरकार रहिराखोस् भन्ने हाम्रो चाहना त हुँदै होइन । तर, हामी अप्राकृतिक भएकाले ढल्नु नै छ, ढलिहाल्छ । हामीले धेरै बल गर्नै पर्दैन, यसको आयु धेरै छ जस्तो लाग्दैन, मैले मिति नै तोक्न सक्ने र मिल्ने कुरा होइन । घटनाक्रम तपाईंहरूले देखिराख्नुभएको छ । कांग्रेसकै संस्थापनमै पक्षका नेताहरूको असन्तुष्टिले यो सरकार सहज ढंगले अगाडि जाने देखिएको त छैन । हामी गम्भीर रूपमा हेरिरहेका छौं । सरकार आफैंले पनि आयु छोड्याइरहेको छ ।’

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...