काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखि निरन्तर रुपमा अनाथ बालबालिकाहरुको लागि काम गर्दै आएको रिन्यू फाउन्डेसन नेपाल (नवीकरण प्रतिष्ठान नेपाल) लाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करिब ४५ जना बालबालिकाहरुले आश्रय लिइरहेको संस्थालाई बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु र वाटर डिस्पेन्सर उपलब्ध गराएको हो ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप बालबालिकाहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको कुरा व्यक्त गरे । संस्था तथा त्यहाँ रहेका बालबालिकाहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरुले अनाथ बालबालिकाको हेरचाह र शिक्षाको लागि समाजमा उदाहरण बसाइरहेको कुरा पनि व्यक्त गरे ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।