Page 2

६ महिनामा ३४ करोडबढीको लेज तथा कुर्कुरे आयात

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ३४ करोडभन्दा बढी मूल्यको लेज तथा कुर्कुरे आयात भएको छ ।
साउनदेखि पुस मसान्तसम्ममा ३४ करोड ८६ लाख ९४ हजार रुपैयाँको ६ लाख ७१ हजार १९४ किलो लेज, कुर्कुरे र कुर्मुरे आयात भएको भन्सार विभागले जनाएको छ ।
उक्त लेज तथा कुकुरे आयात हुँदा २१ करोड ८१ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
उक्त लेज, कुर्कुरे भियतनाम, टर्की, मेक्सिको, मलेसिया, दक्षिण कोरिया, भारत लगायत ९ मुलुकबाट आयात भएको छ ।
जसमध्ये सबैभन्दा धेरै भारत, मलेसिया र दक्षिण कोरियाबाट आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

यामाहा नेपालद्वारा टी२० आई त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजन गर्ने

काठमाडौं । यामाहा नेपालले माघ १७ देखि २५ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने डब्ल्यूटी २० आई त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजनको घोषणा गरेको छ । तीन प्रतिस्पर्धी राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुने यो प्रतियोगिताका खेलहरू दिउँसो १२ः१५ बजे सुरु हुनेछन्।
जोश, शुद्धता र शक्तिलाई मूर्त रूप दिने ब्रान्ड यामाहा नेपालको क्रिकेटसँगको सम्बन्धले देशमा खेलकुद र युवा संलग्नतालाई सघाउने विश्वास गरिएको छ । नेपालमा लोकप्रिय खेलहरूमध्येको एक क्रिकेट यामाहा जस्तो गतिशील ब्रान्डसँग जोडिँदा युवा महिला खेलप्रेमीहरूलाई आत्मविश्वास र दृढ संकल्पका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरणा मिल्ने छ ।
डब्ल्यूटी २० आई त्रिकोणात्मक शृङ्खलाको बारेमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, ‘यामाहा सधैं खेलभावना, प्रदर्शन र क्षमता अबिवृद्धिमा विश्वास गर्दछ। हाम्रा यी मूल्यहरू यामाहा राइडर र क्रिकेट प्रशंसक दुवैसँग दृढतापूर्वक प्रतिध्वनित हुन्छन् । हामी डब्ल्यूटी २० आई त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजक हुन र नेपालमा क्रिकेटको विकासमा योगदान पुर्‍याउन पाउँदा उत्साहित छौं । यो साझेदारीले खेलकुदलाई सशक्त बनाउने र उत्कृष्टताको संस्कृतिलाई बढावा दिनेछ।’
डब्ल्यूटी २० आई त्रिकोणात्मक शृङ्खला २०२५ मा तीन अन्तर्राष्ट्रिय टोलीहरू बीचको तीव्र प्रतिस्पर्धाले नेपालमा विश्वस्तरीय क्रिकेटको रोमान्च भित्र्याउने निश्चित छ। यामाहा नेपालको संलग्नतासँगै यो शृंखलाले क्रिकेटप्रेमी, यामाहा प्रशंसक र खेलकुद प्रेमीहरू सबैलाई सहभागी गराई गति, शिल्प र खेलभावनाको रोमाञ्चक संयोजन सिर्जना गर्नेछ।
अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र असाधारण विश्वसनीयताका लागि परिचित यामाहा एमएडब्लू राइड्स अन्तर्गतको नेपालको अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो । नवीनता र ग्राहक सन्तुष्टिप्रति बलियो प्रतिबद्धताका साथ यामाहा देशभरका सवारहरूको लागि मनपर्ने विकल्प बनेको छ ।

सात बैंक लाभांश दिन नसक्ने अवस्थामा

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को दोस्रो त्रैमाससम्म आउँदा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा औसतमा ऋणात्मक देखिएको छ ।
हाल नेपालमा २० वाणिज्य बैंक छन्, पुस मसान्तसम्ममा उनीहरुको वितरणयोग्य नाफा औसत तीन अर्ब ७९ करोड १२ लाख ६९ हजार रुपियाँले ऋणात्मक देखिएको छ । अर्थात्,६ महिनाको कारोबारबाट वाणिज्य बैंक क्षेत्र लाभांश दिने सक्ने अवस्थामा छैन ।
वाणिज्य बैंकहरुले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणको प्रतिवेदनले यस्तो यस्तो देखाएको हो । समीक्षा अवधीमा २० बैंकले २७ अर्ब ४४ करोड रुपियाँ खुद नाफा कमाएका छन् । तर, बैैंकिङ क्षेत्रको वितरणयोग्य नाफा भने औसतमा ऋणात्मक देखिएको छ ।
तथ्यांकअनुसार १३ बैंकको वितरणयोग्य नाफा धनात्मक छ । सात बैंकको वितरण योग्य नाफा भने ऋणात्मक नै देखिएको छ । वितरणयोग्य नाफा ऋणात्मक भएका बैंकले लगानीकर्तालाई लाभांश दिन सक्ने छैनन् ।
समीक्षा अवधीमा सिद्धार्थ, राष्ट्रिय वाणिज्य, एनआईसी एसिया, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, हिमालयन र कुमारी बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । तथ्यांकअनुसार सिद्धार्थको ३६ करोड १९ लाख, राष्ट्यि वाणिज्यको एक अर्ब २५ करोड ९१ लाख, एनआईसी एसियाको दुई अर्ब ६५ करोड ५७ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाको दुई अर्ब ८६ करोड ३५ लाख, प्रभुको तीन अर्ब ३३ करोड १३ लाख, हिमालयनको तीन अर्ब ९५ करोड नौ लाख र कुमारीको छ अर्ब ४७ करोड ७६ लाख रुपियाँले वितरणयोग्य नाफा ऋणात्मक छ ।
छ महिनाको कारोबारबाट यी बैंकहरु लाभांश दिने अवस्थामा छैनन् । यद्यपि, आर्थिक बर्षान्तसम्म अवस्था सुध्रिएमा लाभांश वितरण गर्न सक्नेछन् ।
छ महिनाको कारोबारको आधारमा यी बाहेक १३ वाणिज्य बैंक भने नाफा वितरण गर्नसक्ने अवस्थामा छन् । तथ्यांकअनुसार त्यसमा पहिलो नम्बरमा एभरेष्ट बैंक देखिएको छ । उक्त बैंकसँग सबैभन्दा धेरै अर्थात् दुई अर्ब ७१ करोड ६७ लाख रुपियाँ वितरणयोग्य नाफा छ ।
यसैगरि दोस्रो स्थानमा ग्लोबल आईएमई बैंक देखिन्छ । उक्त बैंकसँग दुई अर्ब ६४ करोड ५३ लाख रुपियाँ वितरण योग्य नाफा छ । तेस्रो स्थानमा रहेको नविल बैंकसँग भने एक अर्ब ८९ करोड १७ लाख रुपियाँ वितरणयोग्य नाफा छ ।
यसैगरि प्राइम कर्मशियलसँग एक अर्ब ८४ करोड १७ लाख, सानिमासँग एक अर्ब ७९ करोड ९६ लाख, एनएमबीसँग एक अर्ब ३३ करोड ७७ लाख, कृषि विकाससँग एक अर्ब २२ करोड ९८ लाख, नेपाल एसबीआईसँग एक अर्ब २० करोड ७० लाख र स्ट्यान्डर्ड चार्टर्डसँग एक अर्ब १३ करोड ९० लाख रुपियाँ वितरणयोग्य नाफा छ ।
यसैगरि नेपाल बैंकसँग ६० करोड ७१ लाख, लक्ष्मी सनराइजसँग ३६ करोड ८५ लाख, माछापुच्छ्रेसँग १६ करोड ६२ लाख र सिटिजन्ससँग १५ करोड ८१ लाख रुपियाँ वितरणयोग्य नाफा छ । आर्थिक बर्ष सकिन अझै ६ महिना बाँकी नै छ । असारसम्म पुग्दा बैंकिङ क्षेत्रको वित्तीय विवरणमा सुधार आउने सम्भावना भने हुन सक्छ ।
बिशेषगरी पछिल्लो समय देखिएको आर्थिक शिथिलताको असर बैंकको वितरणयोग्य नाफामा पनि देखिएको छ । आर्थिक शिथिलताका कारण बैंकहरुमा निष्क्रिय कर्जा बढ्दै गएको छ । यस्तो कर्जा बढ्दा बैंकहरुले राख्नुपर्ने प्रोभिजनिङ रकम बढ्दै गएको छ । असुल हुन नसकेको व्याजलाई आम्दानीमा देखाइएको छ ।
तर, त्यसबापत पनि छुट्टै रकम प्रोभिजनिङ गर्नुपरेको छ । फलस्वरुप नाफा कमाउँदा पनि बैंकहरुसँग वितरणयोग्य नाफा न्यून देखिएको हो । बिभिन्न नियामकीय प्रोभिजनिङ नाफाबाट नै राख्नुपर्छ । त्यसो हुँदा बैंकहरुको खद नाफा धनात्मक देखिए पनि प्रोभिजनिङ बढी गर्नुपर्दा वितरणयोग्य नाफा भने ऋणात्मक हुन सक्नेछ ।

आज सोनाम ल्होसार मनाइँदै

काठमाडौं । आजबाट सोनाम ल्होसार २८६१ सुरु भएको छ । आज (बिहीबार) गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदैछ । सोनाम ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
सोनाम ल्होसार तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन् ।
सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ । ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ । सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेषगरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन मनाउने गरिएको छ ।

वाशिङटन डिसीमा ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किए

काठमाडौं । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ ।
रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ ।
दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।
ठोक्किएको हेलिकप्टरमा अमेरिकी सेनाका तीन जना सवार थिए । विमान र हेलिकप्टरमा सवार यात्रुको अवस्था थाहा हुन सकेको छैन । नजिकैको नदीमा खोजी भइरहेको छ ।
६० यात्रु र चालकदलका चार सदस्य जना सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट उडेको थियो ।
वाशिङटन डिसीको रोनल्ड रेगन विमानस्थलको धावनमार्ग ३३ मा अवतरण गर्ने तयारीका क्रममा हेलिकप्टरसँग आकाशमा ठोक्किएको र पोटोम्याक नदीमा खसेको अमेरिकाको संघीय नागरिक उड्डयन निकाय (एफएए) ले जानकारी दिएको छ ।

विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

काठमाडौँ । विपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ । बिहान ९ बजेबाट बैठक सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा सुरु भएको हो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, प्रभु साह नेतृत्वको आम जनता पार्टी सहभागी छन् ।
शुक्रवारबाट सुरु हुने संसदको हिउँदे अधिवेशनको बारेमा विपक्षी दलहरूले आफ्ना धारणा एकसाथ राख्ने र समसामयिक राजनीतिका बारेमा छलफल गर्ने जनाईएको छ ।

आजदेखि त्रिकोणात्मक टी–२० ः पहिलो खेलमा नेपाल र नेदरल्यान्डस भिड्दै

काठमाडौं । आजदेखि त्रिकोणात्मक टी–२० शृङ्खला सुरु हुँदैछ । नेपाल, नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी–२० शृङ्खला सुरु हुँदैछ ।
आजदेखि सुरु भई माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेलमा आज नेपाल र नेदरल्याण्डले प्रतिस्पर्धा गर्दैछन् ।
नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० शृङ्खलाको ट्रफी बुधबार सार्वजनिक गरेको थियो ।

अध्यादेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले अस्वीकार प्रस्ताव ल्याउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा अस्वीकार प्रस्ताव ल्याउने भएको छ ।
आज बसेको सचिवालय बैठकले सरकारले हालसालै ल्याएको विधेयकको विरूद्वमा अस्वीकार प्रस्ताव ल्याउने निर्णय गरेको हो ।
‘संसद्को हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको छ । सदनमा विचाराधीन विधेयकलाई समेत गरी ६ वटा अध्यादेश पेस गरेको छ। ती अध्यादेश अस्वीकारको प्रस्ताव गर्ने निर्णय गरेको छ, प्रमुख सचेतक सन्तोष परियारले भने ।
यस्तै बैठक पार्टी सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्ने निर्णयको पनि संसदमा विरोध गर्ने निर्णय भएको छ । प्रतिशोध साँधेर सभापति लामिछानेको पद निलम्बन गरिएको रास्वपाको ठहर छ ।

चैत २४ गते सरकारविरुद्ध प्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाण्डौं । समाजवादी मोर्चाले चैत २४ गते सरकारविरुद्ध जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा देखिएका सबै समस्याविरुद्ध चैत २४ गते जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ ।
देशमा स्वाधीनताको मुद्दामा समस्या देखिएको, जनजीविकाका विषय जटिल बन्दै गएको, राज्य सञ्चालकको चरित्र गणतन्त्र विरोधी देखिएको र बहुदलीय व्यवस्थालाई कमजोर बनाउने देखिएकाले जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जनाए ।
चैतको पहिलो हप्ता मधेशमा जनप्रदर्शन सहितको सभा गर्ने निर्णय भएको उनले जनाए । मोर्चाको बैठकले जिल्ला–जिल्लामा मोर्चाको संगठन संरचनालाई विस्तार गर्ने र यसअघि नै गठन भएका जिल्ला स्तरीय मोर्चालाई थप सक्रिय बनाउने निर्णय गरेको छ ।
बैठकले उपेन्द्र यादव मोर्चाबाट बाहिरिएपछि मधेशको जिम्मेवारी नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवलाई दिने निर्णय गरेको छ । मोर्चाको विचार र उद्देश्य आमजनतामा पुर्‍याउन समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय गरेको छ ।

छ महिनाको नाफाबाट वाणिज्य बैंकहरुले तिर्ने आयकर १२ अर्ब ३६ करोड

काठमाडौं । नाफा घटेपछि वाणिज्य बैंकहरुले सरकारलाई तिर्ने आयकरमा पनि कमी आएको छ । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो ६ महिनामा वाणिज्य बैंकहरुले तिर्ने आयकर २.३३ प्रतिशतले घटेको छ ।
वाणिज्य बैंकहरुले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो । समीक्षा अवधीमा बैंकहरुले सरकारलाई तिर्ने आयकर १२ अर्ब ३६ करोड ६२ लाख ८५ हजार रुपियाँ देखिएको छ । गत आवको यसै अवधीमा वाणिज्य बैंकहरुले सरकारलाई १२ अर्ब ६६ करोड १४ लाख ४० हजार रुपियाँ आयकर तिरेका थिए । बैंकहरुले गत आवभरमा भने २९ अर्ब ९८ करोड ८९ लाख रुपियाँ कर तिरेका थिए ।
नाफा घटेपछि बैंकहरुले तिर्ने आयकर पनि घटेको हो । बैंकहरुले नाफाको ३० प्रतिशतको दरमा आयकर तिर्नुपर्ने व्यवस्था छ । हाल नेपालमा २० बाणिज्य बैंक सञ्चालनमा छन् ।
समीक्षा अवधीमा उनीहरुको कुल नाफा ३.९२ प्रतिशतले घटेको छ । गत आवको समीक्षा अवधीमा उनीहरुको कुल नाफा ४१ अर्ब ४२ करोड ६६ लाख रुपियाँ थियो । अहिले भने त्यो ३९ अर्ब ८० करोड ३२ लाख रुपियाँ सिमित भएको छ । यसरी नाफा घटेपछि सरकारलाई तिर्ने करमा पनि कमी आएको बैंकरहरु जनाउँछन ।
कर तिरेपछि बैंकहरुको खुद नाफा २७ अर्ब ४३ करोड ७० लाख रुपियाँ कायम भएको छ । यो गत आवको सोही अधवीको तुलनामा ४.६२ प्रतिशत कम हो । गत आवको समीक्षा अवधीमा वाणिज्य बैंकहरुले २८ अर्ब ७६ करोड५२ लाख रुपियाँ खुद नाफा कमाएका थिए ।
समीक्षा बर्षमा नविल बैंकले सबैभन्दा धेरै आयकर तिरेको देखिन्छ । तथ्यांकअनुसार उक्त बैंकले एक अर्ब ३९ करोड २१ लाख ४५ हजार रुपियाँ कर तिरेको देखिन्छ ।
दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देखिएको छ, उक्त बैंकले एक अर्ब २१ करोड ७६ लाख ७२ हजार रुपियाँ आयकर तिरेको छ । तेस्रो स्थानमा प्रभु बैंक रहेको छ । उक्त बैंकले एक अर्ब १८ करोड ७४ लाख ३५ हजार रुपियाँ आयकर तिरेको छ ।
यसैगरि ग्लोबल आइएमई बैंकले एक अर्ब १५ करोड २२ लाख रुपियाँ, एभरेष्ट बैंकले एक अर्ब तीन करोड २० लाख ४१ हजार रुपियाँ, एनएमबी बैंकले ८३ करोड ५५ लाख रुपियाँ, प्राइम कर्मशियल बैंकले ७९ करोड २३ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७० करोड ३१ लाख रुपियाँ, हिमालयन बैंकले ६५ करोड २८ लाख रुपियाँ र लक्ष्मी सनराइज बैंकले ५० करोड ७५ लाख रुपियाँ आयकर तिरेका छन् ।
यसैगरि सानिमा बैंकले ४५ करोड ७१ लाख रुपियाँ, नेपाल एसबीआई बैंकले ४४ करोड ३० लाख रुपियाँ, कुमारी बैंकले ४१ करोड ४६ लाख रुपियाँ, कृषि विकास बैंकले ३९ करोड पाँच लाख ६३ हजार रुपियाँ, माछापुच्छ्रे बैंकले ३४ करोड ५९ लाख रुपियाँ, राष्ट्रिय वाणिज्य बैंकले ३२ करोड ७० लाख रुपियाँ, सिटीजन बैंकले २६ करोड ८४ हजार रुपियाँ, सिद्धार्थ बैंकले २३ करोड २४ लाख ५४ हजार रुपियाँ र एनआईसी एसिया बैंकले छ करोड ५० लाख २७ हजार रुपियाँ आयकर तिरेका छन् । नेपाल बैंकको भने आयकर बापत तिर्नुपर्ने रकम चार करोड २५ लाख ४४ हजार रुपियाँ ऋणात्मक छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...