काठमाडौं । नाफा घटेपछि वाणिज्य बैंकहरुले सरकारलाई तिर्ने आयकरमा पनि कमी आएको छ । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो ६ महिनामा वाणिज्य बैंकहरुले तिर्ने आयकर २.३३ प्रतिशतले घटेको छ ।
वाणिज्य बैंकहरुले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो । समीक्षा अवधीमा बैंकहरुले सरकारलाई तिर्ने आयकर १२ अर्ब ३६ करोड ६२ लाख ८५ हजार रुपियाँ देखिएको छ । गत आवको यसै अवधीमा वाणिज्य बैंकहरुले सरकारलाई १२ अर्ब ६६ करोड १४ लाख ४० हजार रुपियाँ आयकर तिरेका थिए । बैंकहरुले गत आवभरमा भने २९ अर्ब ९८ करोड ८९ लाख रुपियाँ कर तिरेका थिए ।
नाफा घटेपछि बैंकहरुले तिर्ने आयकर पनि घटेको हो । बैंकहरुले नाफाको ३० प्रतिशतको दरमा आयकर तिर्नुपर्ने व्यवस्था छ । हाल नेपालमा २० बाणिज्य बैंक सञ्चालनमा छन् ।
समीक्षा अवधीमा उनीहरुको कुल नाफा ३.९२ प्रतिशतले घटेको छ । गत आवको समीक्षा अवधीमा उनीहरुको कुल नाफा ४१ अर्ब ४२ करोड ६६ लाख रुपियाँ थियो । अहिले भने त्यो ३९ अर्ब ८० करोड ३२ लाख रुपियाँ सिमित भएको छ । यसरी नाफा घटेपछि सरकारलाई तिर्ने करमा पनि कमी आएको बैंकरहरु जनाउँछन ।
कर तिरेपछि बैंकहरुको खुद नाफा २७ अर्ब ४३ करोड ७० लाख रुपियाँ कायम भएको छ । यो गत आवको सोही अधवीको तुलनामा ४.६२ प्रतिशत कम हो । गत आवको समीक्षा अवधीमा वाणिज्य बैंकहरुले २८ अर्ब ७६ करोड५२ लाख रुपियाँ खुद नाफा कमाएका थिए ।
समीक्षा बर्षमा नविल बैंकले सबैभन्दा धेरै आयकर तिरेको देखिन्छ । तथ्यांकअनुसार उक्त बैंकले एक अर्ब ३९ करोड २१ लाख ४५ हजार रुपियाँ कर तिरेको देखिन्छ ।
दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देखिएको छ, उक्त बैंकले एक अर्ब २१ करोड ७६ लाख ७२ हजार रुपियाँ आयकर तिरेको छ । तेस्रो स्थानमा प्रभु बैंक रहेको छ । उक्त बैंकले एक अर्ब १८ करोड ७४ लाख ३५ हजार रुपियाँ आयकर तिरेको छ ।
यसैगरि ग्लोबल आइएमई बैंकले एक अर्ब १५ करोड २२ लाख रुपियाँ, एभरेष्ट बैंकले एक अर्ब तीन करोड २० लाख ४१ हजार रुपियाँ, एनएमबी बैंकले ८३ करोड ५५ लाख रुपियाँ, प्राइम कर्मशियल बैंकले ७९ करोड २३ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७० करोड ३१ लाख रुपियाँ, हिमालयन बैंकले ६५ करोड २८ लाख रुपियाँ र लक्ष्मी सनराइज बैंकले ५० करोड ७५ लाख रुपियाँ आयकर तिरेका छन् ।
यसैगरि सानिमा बैंकले ४५ करोड ७१ लाख रुपियाँ, नेपाल एसबीआई बैंकले ४४ करोड ३० लाख रुपियाँ, कुमारी बैंकले ४१ करोड ४६ लाख रुपियाँ, कृषि विकास बैंकले ३९ करोड पाँच लाख ६३ हजार रुपियाँ, माछापुच्छ्रे बैंकले ३४ करोड ५९ लाख रुपियाँ, राष्ट्रिय वाणिज्य बैंकले ३२ करोड ७० लाख रुपियाँ, सिटीजन बैंकले २६ करोड ८४ हजार रुपियाँ, सिद्धार्थ बैंकले २३ करोड २४ लाख ५४ हजार रुपियाँ र एनआईसी एसिया बैंकले छ करोड ५० लाख २७ हजार रुपियाँ आयकर तिरेका छन् । नेपाल बैंकको भने आयकर बापत तिर्नुपर्ने रकम चार करोड २५ लाख ४४ हजार रुपियाँ ऋणात्मक छ ।














