Page 10

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश पारित

all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८०, ८१ को वितरणयोग्य नाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको २१.०५ प्रतिशत लाभांश पारित गरेको हो । जसमा १० प्रतिशत बोनस सेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री गोविन्द लाल संघईको अध्यक्षतामा आज मिति २०८१ साल माघ २८ गते होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको छ ।
सभाले अध्यक्ष गोविन्द लाल संघईले प्रस्तुत गरेको आव २०८०, ८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०, ८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आ.व. २०८१, ८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।
२०८१ असोज मसान्तसम्ममा कम्पनीको लगानी २ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २ खर्ब ८ अर्ब रुपैयाँ र सेयरधनी कोष १२ अर्ब बढी रहेको छ । कम्पनीले हालसम्म २ खर्ब ८८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने ८४ अर्ब दावी भुक्तानी गरेको छ ।

कुमारी बैंक लिमिटेड र अप्टिक आइजबीच सम्झौता

काठमाडौं । कुमारी बैंक र अप्टिक आइज, चाबहिल बिच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिंदैआएका सेवाहरुमा ग्राहकहरूलाई फ्रेम र सनग्लासहरुमा १५, प्रतिशत आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत ब्रान्डेड फ्रेममा १० प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशत छुट र चश्माको सामान्य मर्मत तथा परामर्श नि स्शुल्क गरिने सम्बन्धमा सम्झौता भएको छ ।
बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक आज (सोमबार) पनि बस्दैछ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची छ ।
दिउँसो १ः१५ बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि ‘मिडिया काउन्सिल विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०–८१’ पेस गर्ने कार्यसूची रहेको छ । सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् साथै अर्थमन्त्रीले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कोहलपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपास कोहलपुर नगर विकास समितिको करिब २८ बिघा अतिक्रमित जमिनबारे ध्यानाकर्षण गराइएको छ ।
सङ्घीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यसहित बाँकेका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले आज उनलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर जग्गा फिर्ता गराइदिन आग्रह गर्दै ध्यानाकर्षण गराएका हुन् ।
जिल्लामा सर्वदलीय बैठक बसी अतिक्रमित जग्गामा बनेका घर टहरा हटाउन गरिएको आग्रहका आधारमा गृह मन्त्रालयबाट सूचना प्रकाशन भइसक्दा पनि अतिक्रमण गर्ने पक्षले सोअनुसार नगरेको भन्दै उच्च तहबाटै पहल लिइदिन प्रधानमन्त्री ओलीलाई प्रतिनिधिमण्डलले आग्रह गरेको थियो ।
जवाफमा प्रधानमन्त्री ओलीले कसैले पनि राज्यको सम्पति अवैध रूपमा अतिक्रमण तथा दुरुपयोग गर्न नपाउने स्पष्ट गर्दै सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याएरै छाड्ने दाबी गरे ।

क्यान इन्फोटेकमा प्रविधिको प्रतिस्पर्धा, व्यवसाय विस्तारको नयाँ अवसर

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ प्रविधि प्रदर्शनीमात्र नभई व्यवसाय विस्तारको महत्वपूर्ण प्लेटफर्म बनेको छ । सूचना प्रविधिसम्बन्धी नेपालकै सबैभन्दा ठूलो प्रदर्शनीमा देश विदेशका विभिन्न कम्पनीहरूले आफ्ना नवीनतम प्रविधि र सेवा प्रस्तुत गरिरहेका छन् ।
आयोजक क्यान महासंघका अनुसार क्यान इन्फोटेकले ग्राहक, व्यवसायी र सेवा प्रदायकहरूलाई एकैथलोमा ल्याउँदै प्रविधिको प्रवर्द्धन तथा बजार विस्तारका अवसरहरू सिर्जना गरिरहेको छ । विभिन्न ब्रान्ड तथा कम्पनीहरूले स्टलमार्फत उपभोक्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्ना उत्पादन तथा सेवाबारे जानकारी प्रदान गरिरहेका छन् ।
यस वर्षको क्यान इन्फोटेकमा सूचना प्रविधि क्षेत्रमा क्रियाशील स्टार्टअप कम्पनीहरूको समेत उल्लेख्य उपस्थिति रहेको छ । विशेषगरी साइबर सुरक्षा, कृषि प्रविधि, हस्पिटालिटी, बैंकिङ सोलुसन तथा अन्य अत्याधुनिक प्रविधि समाधानहरू अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेका छन् । स्टार्टअप कम्पनीहरूका लागि सम्भावित लगानीकर्ता, साझेदार र ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर मिल्नुका साथै आफ्ना नवीनतम प्रविधि तथा समाधानहरू बजारमा स्थापित गर्न क्यान इन्फोटेकबाट सहयोग पुगेको क्यानका महासचिव चन्द्र विलास भुर्तेलले जनाए ।
साथै, सूचना प्रविधि कम्पनीहरू, इन्टरनेट सेवा प्रदायक, सफ्टवेयर तथा हार्डवेयर उत्पादकहरूबीच सहकार्यका सम्भावना खोज्न अनुकूल वातावरण निर्माण भएको उनको भनाइ छ ।
शनिबार प्रविधि अवलोकन तथा खरिदमा चासो राख्ने सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । सार्वजनिक बिदाका कारण प्रदर्शनीस्थल प्रविधिप्रेमीहरूका लागि रमाइलो गन्तव्य बनेको थियो ।
क्यान इन्फोटेकमा सहभागी विभिन्न कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवामा विशेष छुट तथा प्रवर्द्धनात्मक अफर ल्याएका छन् । शीर्ष प्रायोजक एचएमसी हिक्सेमीले आफ्ना उत्पादनको विशेष प्रदर्शनीसँगै उपभोक्ताका लागि आकर्षक स्किम घोषणा गरेको छ । यसअन्तर्गत वायरलेस क्यामेरामा २० प्रतिशत, हिक्सेमीका हरेक उत्पादनमा १५ प्रतिशत, मोनिटरमा २० प्रतिशत र यूपीएसमा १० प्रतिशत छुट दिइएको छ । साथै उक्त कम्पनीले एसर ब्रान्डको ल्यापटप किन्दा सात हजार रुपैयाँ मूल्य पर्ने वाईफाई क्यामेरा निस्शुल्क प्रदान गर्ने घोषणा गरेको छ ।
त्यस्तै मर्कन्टाइल कम्युनिकेसन्सले एसर ब्राण्डका पछिल्ला ल्यापटप र डेस्कटपसँगै इप्सन ब्राण्डका प्रिन्टर र प्रोजेक्टरको विशेष प्रदर्शनी गरेको छ । साथै स्टलबाटै डिलर र रिसेलरसँग अन्तर्क्रिया गरिरहेको कम्पनीले जानकारी दिएको छ ।
चार्ज सकिंदा ब्याट्री नै फेर्न मिल्ने गोगोरो इलेक्ट्रिक स्कुटरले पनि अवलोकनकर्ताको ध्यान तानेको छ । कम्पनीले ईभी प्रेमीका लागि काठमाडौं सहरभित्र १००० किलोमिटर निःशुल्क यात्रा गर्न सक्ने तथा निःशुल्क टेस्ट ड्राइभका साथै लक्की ड्र अफर सञ्चालन गरिरहेको छ ।
अनलिमिटेड टेक्नोलोजी प्रा. लि. (ज्याप) ले फेब्रुअरी महिनाभर अनलिमिटेड रेमिट सेवामा रिफर अफर ल्याएको छ, जसअन्तर्गत विदेशबाट रेमिट पठाउने व्यक्तिलाई रिफर गर्दा एक हजार रुपैयाँसम्म कमाउन सकिन्छ । एस पावर बीपीई प्राइभेट लिमिटेडले शिक्षण संस्थाहरूका लागि स्मार्ट बोर्ड, यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटर पम्पलगायत प्रविधि प्रदर्शनीमा राख्दै अधिकतम ४० प्रतिशत छुट घोषणा गरेको छ ।
ओडो कम्पनी (बेल्जियम) ले नेपाली व्यवसायहरूका लागि अकाउन्टिङ सफ्टवेयर ३२ हजार रुपैयाँमै उपलब्ध गराउने योजना ल्याएको छ, जुन सामान्य अवस्थामा एक लाख रुपैयाँ पर्ने जनाईएको छ । डियरवाक ट्रेनिङ सेन्टरले आफ्नो स्टलमा आएका विद्यार्थीहरूलाई निःशुल्क परामर्श प्रदान गर्दै तीन भाग्यशाली विद्यार्थीलाई १०० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । साथै रमाइलो खेलमा सहभागी भएर आईटी कोर्समा ४० प्रतिशत छुट पाउने अफर समेत दिइएको छ ।
क्यान इन्फोटेकको अर्को आकर्षण बेन्क्यू ले ल्याएका अत्याधुनिक इन्टरएक्टिभ (स्मार्ट) बोर्डहरूमा देखिन्छ । टचस्क्रिन सुविधा, उच्च(गुणस्तरको डिस्प्ले र विभिन्न शैक्षिक सफ्टवेयरहरू सपोर्ट गर्ने भएकाले यी स्मार्ट बोर्डहरूले शिक्षण र प्रस्तुतीकरणलाई थप प्रभावकारी बनाउने कम्पनीको भनाइ छ । त्यस्तै हाइफ्युचरले आफ्ना उत्पादनमा लक्की ड्र कम्पिटिसन आयोजना गरी अवलोकनकर्तालाई लोभ्याएको छ । स्मार्टवाच, इयरबड्स लगायतका लागि नेपाली ब्रान्ड ग्रिन लाइफ एक्सपिरियन्सले स्पिन एन्ड विन कन्टेस्टमार्फत उपहार योजना सञ्चालन गरिरहेको छ । त्यस्तै र्‍यापुले तीन हजार मूल्य पर्ने एलिस्टा इयरबड्स मात्र १५ सय रुपैयाँमै उपलब्ध गराएको छ ।
‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणालीको स्टलमा अवलोकनकर्ताको चासो बढेको देखिन्छ । यसपाली क्यान इन्फोटेकमा आईटी तथा इन्जिनियरिङ कलेजहरूको पनि उल्लेख्य सहभागिता रहेको छ । यसमध्ये केही कलेजले आफ्ना विद्यार्थीले बनाएका इनोभेटिभ प्रडक्टहरू प्रदर्शनमा राखेका छन् ।
यसअन्तर्गत सफ्टवेरिका कलेजका विद्यार्थीले तयार पारेको एडभान्स्ड एआई पावर्ड भर्चुअल एन्ड रोबोटिक ट्युटरले धेरै प्रविधि जिज्ञासुलाई आकर्षित गरेको छ । ‘मिरा प्रोफेसर’ नाम दिइएको यो रोबोटले विश्वविद्यालका विद्यार्थीलाई अध्यापन गराउन सक्ने जनाईएको छ ।
रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान) ले रोबोटिक्स प्रतियोगिता सञ्चालन गरिरहेको छ, जसमा इन्जिनियरिङ विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको छ । त्यस्तै राइड हेलिङ प्लेटफर्म टुटलले क्यान इन्फोटेकमा आएर दर्ता गर्ने ग्राहकका लागि बाइक र क्याब दुवैमा ६० प्रतिशत छुटको प्रोमोकोड उपलब्ध गराएको छ ।
क्यान इन्फोटेकमा सरकारी तथा गैरसरकारी संस्थाहरूको समेत विशेष उपस्थिति रहेको छ । नेपाल प्रहरीले आफ्ना डिजिटल सेवा तथा साइबर सुरक्षा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र दर्ता (लाइभ इनरोलमेन्ट) प्रक्रिया सञ्चालन गरिरहेको छ, जसमा नागरिकहरू सहभागी भइरहेका छन् । त्यस्तै अभियन्ता फाउन्डेसनले दन्त, मधुमेह, आँखा परीक्षणलगायत स्वास्थ्य परीक्षण सेवा निःशुल्क प्रदान गरिरहेको छ भने जेसीआई गोदावरीको पहलमा रक्तदान कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।
प्रविधिको विकास र विस्तारका लागि क्यान इन्फोटेक महत्वपूर्ण प्लेटफर्म बन्न सफल भएको सहभागीहरूको प्रतिक्रिया छ । प्रदर्शनीमा नेपाली प्रतिभा र आविष्कारलाई नीतिगत रूपमा प्रवर्द्धन गर्नुपर्ने मागसमेत उठिरहेको छ । सूचना प्रविधि क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने तथा प्रविधिमा आधारित व्यवसायहरूको प्रवर्द्धनका लागि क्यान इन्फोटेक जस्ता मञ्चहरू निरन्तर आवश्यक रहेको सहभागीहरूको धारणा छ । कुल १५५ स्टल रहेको क्यान इन्फोटेक २०२५ माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।

माओवादीमा पूर्वउपराष्ट्रपति पुनलाई इन्चार्जको जिम्मेवारी

काठमाण्डौं । पूर्वउपरराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा माओवादी केन्द्रले आर्थिक उत्पादन संयन्त्रको इन्चार्जको जिम्मेवारी दिएको छ ।
गत माघ २१ गते बसेको पार्टीका पदाधिकारीको बैठकले पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको नयाँ कार्यविभाजन गर्दै अन्तरपार्टी निर्देशन (अपानि) जारी गरिएको छ ।
आईतबार महासचिव देव गुरुङले जारी गरेको अपानिअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको वैचारिक राजनीतिक क्षेत्रको संयोजक र स्कूल विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अन्तर्राष्ट्रिय विभाग प्रमुख र उपाध्यक्ष पम्फा भुसाल र सचिव सुरेन्द्र कार्कीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।
उपमहासचिव जनार्दन शर्मालाई संगठन विभाग प्रमुख, उपमहासचिव वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।
उपमहासचिव शक्तिबहादुर बस्नेतलाई प्राकृतिक स्रोत, व्यवस्थापन क्षेत्र संयोजक, सचिव लीलामणि पोखरेललाई ऊर्जा, जलस्रोत सिँचाइ विभाग प्रमुख र केन्द्रीय सदस्य युवराज दुलाललाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

कांग्रेस एमालेको गठबन्धन सत्ताका लागि बनेको प्रचण्डको आरोप

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गर्न नभई सत्ताका लागि एक भएको आरोप लगाएका छन् । आइतबार राजधानीमा भएको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले ठुला दुई दलको प्राथमिकता सत्ता नै भएको आरोप लगाएका हुन् ।
‘अहिले पनि तपाईँ संविधान संशोधनका लागि होइन । सत्ताकै लागि सहमति गरेको हो । संविधान बनाउन खोजेको भए ६ महिनामा केही गर्नुभएन । ६ महिना शासन गरेपछि २०८७ मा संविधान संशोधन गर्ने भन्न थाल्नुभयो’, उनले भने ।
कांग्रेस र एमालेले संविधानको अभिन्न अङ्ग रहेको वृहत् शान्ति सम्झौता र अन्तरिम संविधान बनाउने पक्षधरसँग कुनै छलफल नगरेकोमा उनले आपत्ति जनाए । । संविधाने संशोधन गर्ने हो भने शान्ति सम्झौताका एक मुख्य घटक माओवादीसँग छलफल गर्नुपर्ने धारणा राखे । अब पश्चगामी दृष्टिकोण राखेर वा २०४७ तिर फर्किएर संविधान संशोधन हुनै नसक्ने प्रचण्डले जिकिर गरे ।

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोशिप जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको ‘सेलिब्रेटिङ फेलोशिप जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा फेसोसिप कार्यक्रमका दोस्रो र तेस्रो कोहर्टका सहभागीहरुलाई प्रमाणपत्रसहित बिदाइ तथा चौथौं कोहर्टका सहभागीहरुको स्वागत गरिएको हो ।
बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यको साथ गत तीन वर्षदेखि यो कार्यक्रम सञ्चलन गर्दै आएको हो ।
कार्यक्रममा फेलोसिप कार्यक्रमका सहभागीहरुले नवीन उद्यममार्फत प्राप्त गरेको उपलब्धि, प्रशिक्षकहरूको योगदान तथा कार्यक्रमको समग्र प्रभावबारे चर्चा गरिएको थियो।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिन प्रा डा महानन्द चालिसेले नबिल एसएसई कार्यक्रम सामाजमा परिवर्तन ल्याउन महत्वपूर्ण पहल भएको चर्चा गर्दै यसलाई थप विकास र विस्तार गर्न सकिने धारणा व्यक्त गरे । उनले नबिल एसएसईजस्ता कार्यक्रमले नवउद्यमीलाई व्यावसायिक विकासका लागि मार्गदर्शन गर्ने जनाए ।
कार्यक्रमका प्रमुख अतिथि त्रिविका उपकुलपति प्रा डा केशरजंग बरालले उद्यमी र शैक्षिक संस्थाबीचको सहकार्य सामाजिक उद्यमशीलता प्रवद्र्धनका लागि महत्वपूर्ण भएको धारणा व्यक्त गरे । ‘यो कार्यक्रमले युवाहरुमा जागिर खाने होइन जागिर दिने मानसिकतामा परिवर्तन ल्याउनेछ,’ उनले भने।
नबिल बैंकका निर्देशक निर्वाण चौधरीले सामाजिक उद्यमशीलताको महत्वबारे चर्चा गर्दै फेलोसिप कार्यक्रमले विभिन्न कठिनाइका बाबजुद पनि नेपाली युवालाई रोजगारदाताका रूपमा अघि बढ्न प्रेरित गरिरहेको उल्लेख गरे ।
उनले कार्यक्रममा सहभागीका उत्पादनहरु क्रमशः परिष्कृत हुँदै गएकामा खुसी व्यक्त गर्दै नेपाली उद्यमशीलतालाई विश्व बजारसम्म विस्तार गर्न सकिने सम्भावनाबारे चर्चा गरे ।
त्रिविका रेक्टर प्रा डा खड्ग केसीले छिमेकी मुलुक चीनले सन् १९८० को दशकदेखि नै यसप्रकारका कार्यक्रम सञ्चालन गरिरहेको उदाहरण पेस गर्दै नेपालमा पनि शैक्षिक संस्था र उद्योगीबीच सहकार्यको आवश्यकता औँल्याए ।
नबिल बैंकले उद्यमशीलता प्रवद्र्धनका लागि त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यको प्रशंसा गर्दै प्रा डा केसीले नबिल एसएसईले रोजगारी प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले फेलोसिप कार्यक्रमअन्तर्गतको चौथो समूहलाई स्वागत गर्दै यसअघिका तीन समूहका सहभागीले ४५ वटा उद्यम स्थापना गरी हालसम्म एक हजार दुई सयलाई रोजगारी उपलब्ध गराइरहेको जानकारी दिए ।
उनले प्रवासी नेपाली कामदारहरूले आर्जन गरेको सीप सदुपयोग गरी स्वदेशमै उद्यमशीलताको विकास गर्न सकिने धारणा राखे ।
नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कार्यक्रमलाई सफल बनाउन त्रिभुवन विश्वविद्यालयको निरन्तर सहकार्यप्रति आभार व्यक्त गरे ।
उनले भारतमा सफलतापूर्वक कार्यान्वयन गरिएको उक्त कार्यक्रमको अनुसरण गरी नेपालमा सुरु गरिएको कार्यक्रमले सफलता प्राप्त गरिरहेको जनाए ।
त्यस अवसरमा फेलोसिप कार्यक्रमका दोस्रो र तेस्रो समूहका सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो भने चौथो समूहलाई औपचारिक रूपमा स्वागत गरिएको थियो ।
साथै प्रशिक्षकहरुलाई योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा फेलोहरुले आफूले उत्पादन गरेका विभिन्न सामानहरुको प्रदर्शनी तथा बिक्रीका लागि २० भन्दा बढी स्टलहरु राखिएका थिए ।
नबिल एसएसईले उद्यमशीलता विकास गर्न आवश्यक व्यावहारिक तालिम, मार्गदर्शन, सञ्जाल विस्तार र वित्तीय पहुँच स्थापनामा ठूलो सहयोग गरिरहेको सरोकारवालाहरुले जानकारी दिए ।
साथै फेलोसिप कार्यक्रमका सहभागीहरुले नबिल बैंकले उद्यमी बन्न आवश्यक ज्ञान, सिप तथा मार्गदर्शन प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरे । कार्यक्रममा भाग लिएसँगै व्यवसाय बिस्तारमा सहयोग भएको उनीहरुले जनाए ।
नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन् । नबिल एसएसई अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक सय १७ उद्यम स्थापना भई एक हजार दुई सयभन्दा रोजगारी सृजना भइसकेको बैंकले जनाएको छ ।
फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातै वटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरसिप स्थापना भई सञ्चालन भइरहेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा इनड्राइभका प्रयोगकर्ताहरुको दुर्घटना बीमा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सेवाको शुरु गरेको छ ।
इनड्राइभ नेपालका प्रयोगकर्ताहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवम् कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई इनड्राइभ नेपाल प्रयोगकर्ताहरुको सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरी शुरु गरेको छ ।
उक्त इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको बीमा सेवाको लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र इनड्राइभ नेपालका तर्फबाट निर्देशक रिता पोखरेल सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त बीमा सेवाबाट दुर्घटनाका कारणले चालक तथा यात्रुहरुको मृत्यु भएमा रु. ८ लाख, पूर्ण स्थायी अशक्तता भएमा रु. ८ लाख एवं दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा रु. ८० हजार रकम भुक्तानी गर्नेछ, भने नाबालिक यात्रुहरुको हकमा क्षतिपूर्ती रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ ।
साथै, बीमितले बीमा गरेको रक्षावरण गरिएको क्षति भएमा सो वापतको रकम कम्पनीको दाबी विभाग मार्फत दाबी गरि लिन सक्नेछन् ।
उक्त बीमालेख जारी गरिएबाट राइडर तथा इनड्राइभ प्रयोगकर्ताहरुले सरल र सहज रुपमा यात्रा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ । उक्त बीमा सेवाबाट समग्र बीमा क्षेत्रमा नै सकारात्मक सन्देश प्रवाह हुने इनडाइभ प्रयोगकर्ताहरु आफनो गन्तव्य सम्म पुग्नको लागि सुरक्षित यात्राको महसुस गर्नेछन् ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...