काठमाडौं । कृषिमन्त्री श्री रामनाथ अधिकारीबाट उद्घाटन भएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसानलाई लक्षित गरी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
उक्त समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगाले र प्रभु बैंकका प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बैंकले नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रभु बैंक र दुग्ध उत्पादक सहकारीद्वारा किसानलाई लक्षित गरी ऋण प्रवाह गर्ने समझदारी
मुख्यमन्त्रीहरु सँग प्रधानमन्त्रीले भर्चुअल संवाद गर्ने
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्ने भएका छन् ।
उनले दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन् ।
विकास निर्माण तथा आयोजनाहरूका बारेमा कुराकानी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै सगरमाथा संवादको तयारी बैठक पनि शुक्रबार हुनेछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाण्डौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयक, २०८०’ छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्र (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
५४ लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी रकम बुझाएर रिहा भएका छन् ।
चितवनको सहारा चितवन सहकारीको मुद्दामा अदालतको आदेश अनुसार उनी ५४ लाख धरौटी बुझाएर रिहा भएका हुन् । चितवनमा पनि रविको बैंक ग्यारेन्टी प्रभु बैंक बसिदिएको छ ।
नेप्सेमा हिमालयन लाइफको शेयर मूल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन लाइफ इस्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १४ प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मूल्य ४२८ रुपैयाँ ७७ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४८८ रुपैयाँ ८० रुपैयाँमा भएको थियो ।
अब कम्पनीको समायोजित मूल्यका आधारमा आइतबार कारोबार हुनेछ ।
सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निवर्तमान कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहँदा खरिदमा संलग्न कम्पनीबाट घुस लिएको आरोपमा अख्तियारले पौडेलविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले पौडेलमाथि ३ करोड ८ लाख रुपैयाँ घुस खाएको आरोप लगाएको छ । एफ–५ कम्पनीका प्रतिनिधि दिपक आनन्दसँगको मिलेमतोमा ठेक्कापट्टा गरेको र त्यसबापत घुस लिएको आरोप छ ।
यसअघि पौडेलविरुद्ध राष्ट्रिय सूचना प्रविधि केन्द्रमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भइसकेको छ ।
ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेग्मी नियुक्त
काठमाडौं । ज्योति विकास बैंकको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मीलाई नियुक्त गरेको छ ।
उनी माघ २३ गते देखि लागु हुनेगरी यस विकास बैकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् ।
वरिष्ठ अधिवक्ता रेशम राज रेग्मीको नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष विभिन्न कार्यक्षेत्रमा कार्य अनुभव पनि छ । कानून विषयमा स्नातकोत्तर गरेका रेग्मीले नेपाल सरकार अन्तर्गत विभिन्न क्षेत्रमा पनि कानूनी सल्लाहकारका रूपमा योगदान दिँदै आएका छन्।
उनी अध्यापकको रूपमा पनि विभिन्न शैक्षिक संस्थाहरूमा आवद्ध छन् । नेपाल मध्यस्ता परिषदको आजीवन सदस्य रहेका रेग्मीले संस्थागत सुशासन, एएमएल तथा समग्र बैंकिङ्ग क्षेत्रको विषयमा विशेषज्ञता हासिल गरेका छन् ।
रेग्मीले बैंकिङ्ग कानून तथा संस्थागत सुशासन सम्बन्धि पुस्तक प्रकाशित गर्नुका साथै विभिन्न रिसर्च पेपरहरु एवम् जर्नलहरुमा आलेख प्रकाशित गरेका छन् ।
रेग्मीको लामो कार्य अनुभव तथा विषयगत कुशलता र दक्षताले यस बैंकलाई थप सबल तथा सफलता उन्मुख मार्गदर्शन प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ५१ वटा न्यानो नानी मार्फत हरेक वर्ष १८८७ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ ।
यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
ग्लोबल आइएमई बैंकले फोटोपत्रकारलाई क्यामरा किन्न बिनाधितो कर्जा दिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि बिना धितो कर्जा उपलब्ध गराउने भएको छ । यस सम्बन्धि सम्झौतामा बैंकका हेड ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
बैंकले क्यामरा खरिदको लागि २ लाख देखि ५ लाख रूपैयाँसम्म बिना धितो कर्जा प्रवाह गर्ने समझदारी भएको हो ।
बैंकले फोटो पत्रकारलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ ।
कर्जाको लागि फोटो पत्रकारहरुले आवश्यक कागजातहरू र आवेदन फारमसहित एनएफपीजेको सिफारिसमा कर्जाको लागि बैंकमा सम्पर्क गर्नुपर्नेछ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो ।
साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ ।
गत माघ १८ गतेदेखि सुरू भएको संसद्को हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्न लागेको हो ।
बैठकमा सरकारले जारी गरेको ६ वटा अध्यादेशका बारेमा छलफल हुनेछ ।
आज पनि रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार पनि चितवन अदालतमा उपस्थित गराइँदै छ। सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि बिहान १० बजे उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो।
बिहीबार जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुने छ। बहस सकिए बिहीबार नै थुनछेक आदेश आउने सम्भावना रहेको छ ।
बुधबार थुनछेक बहस नसकिएको भन्दै न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासतमा पठाउने आदेश दिएको थियो।
बुधबार सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी, बुद्ध बहादुर थापा र जाहेरवाला बचतकर्ताहरुको तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस भएको थियो ।