नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार काठमाडौंमा हिंसा मच्चाउने राजावादीहरू पानीमूनिको ओभानो बन्न खोजिरहेका टिप्पणी गरेका छन् ।
बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजना कार्यान्वयन गर्न ‘जनकमाणडर’ तोकिएका दुर्गा प्रसाईंद्वारा परिचालित व्यक्तिले गरेको आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर राजावादीहरू पानीमूनिको ओभानो बन्न खोजेका पोखरेलको टिप्पणी छ । तर, खुला समाजमा सबै कुरा छर्लङ्ग रहेको उनले जनाएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत् टिप्पणी सार्वजनिक गर्दै पोखरेलले राजावादी र पूर्वपञ्चहरूले यो सबै अपराधको भारी दुर्गा प्रसाईं र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरै भएपनि नेपाली जनताले विश्वास गर्थे होला भनेका छन् ।
‘घटना घटेको दिनसम्म राप्रपाको संस्थापन पक्षलाई लागेको त यस्तै थियो । तर, निर्मल निवासको ‘थ्रेट’का सामु उनीहरू निरीह देखिए र भन्न थाले ‘प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले’, पोखरेलले भनेका छन् ।
राजावादीहरू पानीमूनिको ओभानो बन्न खोजिरहेको शंकर पोखरेलको टिप्पणी
आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्नेछ ।
प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् ।
त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने, संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र सो प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।
उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
काठमाडौं । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।
यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।
राजावादीले क्षति पुर्याएको तीनकुने क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्याएको तीनकुने(कोटेश्वर क्षेत्रको अनुगमन गर्ने भएका छन् ।
मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जानकारी दिएको छ ।
शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलोमात्रामा जनधनको क्षति भएको अनुमान गरिएको छ ।
हिंसात्मक आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने आन्दोलनकारीहरुले तीनकुने लगायत आसपासका क्षेत्रमा कयौं घरहरू तोडफोड गरेका छन् ।
केही मलहरूमा लुटपाट गरेका छन् । सरकारी र निजी गाडीहरुमा तोडफोडका साथै आगजनी गरेका छन् । जडीबुढी कम्पनीमा आगो लगाइदिएका छन् ।
त्यस क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाइएको थियो । अहिले स्थगित गरिएको छ ।
तीनकुने क्षेत्रको कर्फ्यु हट्यो
काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी गरेको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो ।
राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार पहिलो पटक राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।
रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश आज (शनिबार) बिहान ७ बजेसम्मका लागि थपिएको थियो ।
शुक्रबार हिंसात्मक आन्दोलनमा उत्रिएका राजावादीहरूले कर्फ्यु जारी भइसकेपछि पनि काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका थिए ।
शुक्रबारको उग्र आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।
प्रहरीलाई गोली चलाउन निर्देशन
काठमाडौं । राजावादी प्रदर्शन हिंसात्मक भएपछि सरकारले प्रहरीलाई गोली चलाउन आदेश दिएको छ ।
गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले गोली चलाउन निर्देशन दिएको हो ।
सगरमाथामा फोहोर संकलन गर्दै नेपाल लाइफ इन्स्योरेन्स
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर संकलन गर्न प्रोजेक्ट केयर अभियानअन्तर्गत राउन्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
बिहीबार काठमाडौँको ग्लोबल कलेजमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) सँग सहकार्य गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले जनाए । उनले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको जनाए ।
राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेको छ भने आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको जनाए । साथै, उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
राउण्ड टेबल नेपालका निर्वतमान अध्यक्ष नितेशकुमार अग्रवालले सगरमाथा विश्वकै आकर्षण भएकाले आरोहीहरूको संख्यासँगै फोहोर बढ्ने क्रम तीव्र रहेको जनाए । उनले सरकार तथा अन्तर्राष्ट्रिय जगतले पनि सफाइ प्रयास जारी राखे तापनि प्रभावकारी हुन नसकेको भन्दै यस अभियानले ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । यस क्रममा कुहिने फोहोरलाई आधार शिविरभन्दा तल पुर्ने र नकुहिने फोहोरलाई ३० किलोको झोला बनाई काठमाडौं ल्याइने जनाए । साना प्रयासहरूले नै ठूलो प्रभाव पार्ने भन्दै अग्रवालले नेपाल लाइफलाई अभियानमा सहभागी भएकोमा धन्यवाद दिए ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले यो अभियान ढिलो भए पनि सुरु हुनु सकारात्मक रहेको जनाए ।
सगरमाथा, संसारको सबैभन्दा अग्लो हिमाल, हरेक वर्ष हजारौँ पर्वतारोहीहरूलाई आकर्षित गर्ने गरेको तर, मानव गतिविधिको वृद्धिसँगै सगरमाथा फोहोरको डंगुर बन्दै गएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले जनाए । त्यागिएका टेन्टहरू, अक्सिजन सिलिन्डरहरू, खानेकुरा प्याकेजिङ, मानव फोहोर र पर्वतारोहण उपकरणहरू हिमालमा छोडिएको कारण यो विश्वकै सबैभन्दा अग्लो फोहोर थलो नबनोस् भन्ने अभिप्रायका साथ यो सहकार्य गरिएको उनले जनाए ।
कार्यक्रममा नेपाल लाइफका कर्मचारीहरू, राउन्ड टेबल नेपालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक र आईएफसीबीच संझौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एशिया र प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार विश्व बैंक समुहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रुपान्तरण तथा डाटा म्याचुरिटि मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्रहरु पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्नका लागि रणनीतिक सुझाव प्रदान गर्नेछ । साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरु प्रवद्र्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आइएमई बैंकलाई सल्लाह प्रदान गर्नेछ । यस समझदारीपश्चात् बैंकमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुलाई रुपान्तरण गरी नवीन र प्रविधीमैत्री सेवाहरु विकास गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंकले आफ्नो ग्राहकहरुलाई अन्तर्राष्ट्रिय स्तरको डिजिटल बैंकिग सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिँदै यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवद्र्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँनयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले जनाए । उनले डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीले विश्वभरीबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
विश्व बैंक समूहको सदस्य संस्था आईएफसीले विकासशील देशहरुमा निजी क्षेत्रको प्रवद्र्धन र विकास, आर्थिक वृद्धि र गरिबी न्यूनीकरणमा काम गर्छ ।
एमबिएल इक्विटी फण्डका इकाइ बाँडफाँट
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले यही फागुन २२ गतेदेखि चैत ७ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको एमबिएल इक्विटी फण्डका इकाइ बाँडफाँट भएको छ ।
क्यापिटलले तोकिएको समयमा निष्कासन गरिएको भन्दा बढी इकाइ माग भई आएकाले योजनाको आकार वृद्धि गरी १२ करोड १६ लाख २५ हजार ३३० इकाइ कायम गरेको थियो । जबकि शुरुमा १२ करोड इकाइ मात्रै निष्कासन गरिएको थियो ।
एमबिएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने एमबिएल इक्विटी फण्डको प्रतिइकाइ १० रुपियाँ तोकिएको थियो ।
कुल निष्कासनमध्ये कोष प्रवर्द्धक माछापुच्छ्रे बैंकलाई १ करोड ६८ लाख र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई १४ लाख ४३ हजार ८०० इकाइ छुट्याएर बाँकी रहेको १० करोड ३३ लाख ८१ हजार ५३० इकाइ सर्वसाधारणमा बाँडफाँट गरिएको छ ।
राजावादीहरुद्धारा नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी
काठमाण्डौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडपछि आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए । पछि आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाए, त्यसपछि प्रदर्शनकारीरुले उक्त कार्यालय आगजनी समेत गरेका हुन् ।
प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोट गर्नुका साथै आगजनी समेत गरेका थिए ।
यस्तै राजावादीहरु सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलतर्फ अघि बढेका छन् । प्रदर्शनका क्रममा आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनीपछि उनीहरु च्यासलतिर अघि बढेका हुन् ।