काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाअन्तर्गत गठित विषयगत समितिमा रहेका सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ ।
यस्तै, उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने छन् । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् तथा सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा सभाका अध्यक्ष दाहालले संविधान सभाका सदस्य विदुरप्रसाद सापकोटाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
एमाले सचिवालय बैठक दिउँसो २ बजे बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन् ।
बैठकमा सरकारले ल्याएका अध्यादेश लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाईएको छ ।
रुपन्देहीमा गोली प्रहार गरी २९ वर्षीय युवकको हत्या
भैरहवा । रुपन्देहीको मायादेवी–२ महदेवा (डङ्गचाहावाका) का २९ वर्षीय युवकको गोली हानी हत्या भएको छ । शुक्रबार राति घर भएकै बेला राकेश सिंह लोध (राजु) माथि गोली प्रहार गरी हत्या भएको हो ।
रातिको बेला उनको शरीरमा गोली प्रहार भएको देखिन्छ, बिहान अवेरसम्म नउठेका उनलाई स्थानीयले घरको बरन्डामा मृत अवस्थामा फेला पारेका थिए । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन् ।
रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले आँखाको माथि निधार र कन्चटमा चोट लागेको देखिएको पुष्टि गरे । बिहान करिब ८ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि घटनास्थलमा प्रहरी पुग्दा रक्ताम्य मृत अवस्थामा भेटिएको उनले जनाए ।
शव पोष्टमार्टमाका लागि भैरहवास्थित भीम अस्पताल पठाउन लागिएको छ । एक्लै बस्दै आएका लोध खेती किसानी गर्थे, घरायसी कारणले उनको हत्या भएको हुनसक्ने स्थानीयले जानकारी दिएका छन् ।
स्थानीयका अनुसार दाजुभाई बीच जग्गाको विषयमा केही महिनादेखि विवाद चलेको र जग्गालाई लिएर आफ्नै दाईले हत्या गरेको हुनसक्ने आरोप छ । मृतकका दाजु दिपक लोध फरार छन् ।
राष्ट्रपति पौडेल पोखराको सराङकोटमा
पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुन सराङकोट आइपुगेका छन् ।
नेपाली सेनाको हेलिकप्टरमा आएका उनले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम छ ।
सराङकोटमा यही फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ भइरहेको छ ।
रिङ्कु सदाको घरमै पुगेर न्यायका लागि सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
सिराहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सामूहिक बलात्कारपीडित १७ वर्षीय किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उनी मृत फेला परेकी थिइन् । जनतासँग माओवादी तराई मधेस जागरण अभियानको क्रममा सिराहा पुगेका अध्यक्ष प्रचण्ड सहित माओवादी केन्द्रका नेताहरु रिङ्कुको घरमै पुगेर न्यायको लडाइँमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले रिङ्कुको न्यायका लागि संसदमा आवाज उठाएको जानकारी दिँदै जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने जनाए । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जानकारी गराएको उल्लेख गर्दै उनले छानबिनलाई चाँडो निष्कर्षमा पुर्याउन प्रहरीलाई आग्रह गरिएको जानकारी दिए ।
सो क्रममा उनले रिङ्कुको न्यायका लागि मुसहर समुदायले गरिरहेको संघर्षप्रति पनि ऐक्यबद्धता जनाए। रिङ्कुकै घरमा सङ्घर्ष समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तराई मधेसका विभेद, अपमान र अत्याचारका विरुद्ध आवाज उठाउन नै पार्टीले तराई मधेस जागरण अभियान सञ्चालन गरेको र यस्ता घटनाका विरुद्ध निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।
बलात्कार जस्तो जघन्य अपराधमा तत्काल पीडितलाई न्यायका लागि पहल गर्नुको साटो गाउँमै मिलापत्र गराउन खोज्नु राष्ट्रकै लागि लज्जास्पद घटना भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्ड तत्काल पीडितमाथि न्याय दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
रिङ्कु मृत्यु प्रकरणमा प्रहरीले अहिले कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार वटा शीर्षकमा अनुसन्धान गरिरहेको छ।
गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको जनाएकी थिइन । त्यसपछि २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको भन्दै घटना सार्वजनिक भएको थियो । माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन।