भैरहवा । रुपन्देहीको मायादेवी–२ महदेवा (डङ्गचाहावाका) का २९ वर्षीय युवकको गोली हानी हत्या भएको छ । शुक्रबार राति घर भएकै बेला राकेश सिंह लोध (राजु) माथि गोली प्रहार गरी हत्या भएको हो ।
रातिको बेला उनको शरीरमा गोली प्रहार भएको देखिन्छ, बिहान अवेरसम्म नउठेका उनलाई स्थानीयले घरको बरन्डामा मृत अवस्थामा फेला पारेका थिए । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन् ।
रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले आँखाको माथि निधार र कन्चटमा चोट लागेको देखिएको पुष्टि गरे । बिहान करिब ८ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि घटनास्थलमा प्रहरी पुग्दा रक्ताम्य मृत अवस्थामा भेटिएको उनले जनाए ।
शव पोष्टमार्टमाका लागि भैरहवास्थित भीम अस्पताल पठाउन लागिएको छ । एक्लै बस्दै आएका लोध खेती किसानी गर्थे, घरायसी कारणले उनको हत्या भएको हुनसक्ने स्थानीयले जानकारी दिएका छन् ।
स्थानीयका अनुसार दाजुभाई बीच जग्गाको विषयमा केही महिनादेखि विवाद चलेको र जग्गालाई लिएर आफ्नै दाईले हत्या गरेको हुनसक्ने आरोप छ । मृतकका दाजु दिपक लोध फरार छन् ।