Page 11

गभर्नर बन्न भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता, आइतबार नै पेशी

काठमाडौं । गभर्नर बन्न नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
गभर्नर बन्न योग्यता नपुग्ने भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका हुन् । उक्त निवेदनमाथि सुनुवाई गर्न आइतबारलाई पेसी तोकिएको छ ।
गभर्नर पदका लागि सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच हानथापको स्थिति छ । कांग्रेसले यसअघि एमालेबाट गभर्नर बनेकाले अहिले उक्त पद आफूहरुले पाउनुपर्ने दावी गरेको छ भने एमालेले सरकार र अर्थ मन्त्रालयको समेत नेतृत्व आफूहरुले गरेको र नेपाल बीमा प्राधिकरणको अध्यक्ष तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को सीईओ कांग्रेसले पाइसकेकोले गभर्नर आफूहरुले नै पाउनुपर्ने तर्क प्रस्तुत गर्दै आएको छ ।
निवेदकहरुले दलहरूबीचको सहमतिका आधारमा ऐनको बाटो छाडेर दूषित कार्य भएको भन्दै भट्टको योग्यता नपुग्ने जिकिर गरेका छन् । यसअघि गत वैशाख २ मा अधिवक्ताद्वय उप्रेती र थापाले नै दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई गभर्नर नियुक्तिको प्रक्रियामा सामेल नगराउन आदेश दिएको थियो ।
उमेरसम्वन्धी उक्त रिटमा जारी भएको अन्तरिम आदेशमाथि आइतबार नै छलफल छ । सोही रिटमा भट्टविरुद्धको पुरक रिट समेत सामेल भइ पेस गरिने जनाइएको छ । भट्टले आज शुक्रबार कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । यद्यपि उनको राजीनामा भने स्वीकृत भइसकेको छैन । राजीनामा स्वीकृत नभए भट्ट गभर्नरको लागि स्वतः अयोग्य हुन्छन् । गभर्नरकै दावेदार रहेकी कावा गभर्नर डा. नीलम ढुंगानाले कानुनीरुपमा आफूले भट्टको राजीनामा स्वीकृत गर्न नमिल्ने जनाएकी छन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाको कार्यविधि विपरित डा। भट्टलाई कानुनको विधि परित्याग गरी नेताहरूको सहमतिको आधारमा नियुक्ति गर्ने गैरकानुनी प्रपञ्च रचिएको भन्दै पुरक रिट निवेदनमा कानुनको बाटोबाट योग्य उम्मेदवारहरुको गभर्नर नियुक्ति समितिबाट छनौट भएर आउनुपर्नेमा गैर कानुनी बाटोबाट नेताहरुको सहमतिमा नियुक्ति गरिने कार्य सुशासन ऐन विपरित हुने दावी पनि रिटमा गरिएको छ ।

सिटिजन्स बैंकद्वारा घरबारविहीनहरुलाई १८ दिन भोजनको व्यवस्था

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिई वसेका करिब १९०० व्यक्तिहरुलाई चैत्र २० देखि वैशाख ६ गतेसम्म १८ दिन भोजनको व्यवस्था गरेको छ ।
बैंकले आफ्नो अठारौं बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ । भोटुस्इन्दिरा समाज कल्याण संस्थासंगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुaतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो ।
साथै बैंकले वार्षिकोत्सवको अवसरमा चैत्र ०२ गते देखि बैशाख ०५ गते सम्म ७ वटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरहरूको आयोजना गरेको छ । कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको हस्पिटललाइन र जीतपूर, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु, र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा स्वास्थ्य शिविरहरू आयोजना गरेको थियो । यी स्वास्थ्य शिविरहरूबाट करिब १७०० जना बिरामीहरूले लाभ प्राप्त गरेका छन् ।
हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा बिभिन्न कार्यक्रमहरु गर्नुका साथै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।
देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ७९ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

मकवानपुरगढीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।
आज राति १ः०० बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको तथा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका अनुसार बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १ः०० बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो ।
दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१–०८२ माथि छलफल गर्ने कार्यसूची छ ।
सोही समयमा सुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधानअनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा कानुन मन्त्रालयसँग छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने भएका छन् ।
नारायणगढ बजारमा रहेको ६ लेनको सडक उद्घाटन गर्नका लागि प्रधानमन्त्री ओली आज भरतपुर जान लागेका हुन् । उनका साथमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल पनि साथमा रहनेछ ।
भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म ६ किलोमिटर सडक ६ लेनको निर्माण भएको छ । जसअनुसार चार लेन र दुवै साइडतर्फ थप १–१ सर्भिस लेन तयार निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री ओली आज त्यसको उद्घाटनका लागि चितवन जान लागेका हुन् ।
तेस्रो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७७ माघ १७ मा यो सडकको शिलान्यास गरेका थिए, जहाँ भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल भने अनुपस्थित भएकी थिइन् ।
एक अर्ब ७६ करोड रुपैयाँ लागतमा निर्माण भएको यो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ ।
५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ । यसको उद्घाटन आज प्रधानमन्त्री ओलीले गर्दैछन् ।

शिक्षकहरूको आन्दोलन १६औँ दिन थप आक्रमक

काठमाडौं । शिक्षकहरूले १६ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रमक हुँदै गइरहेको छ ।
जसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको हो । नयाँ शैक्षिक सत्रको सुरु भएपनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन । काठमाडौं उपत्यकाको सवारी आगमनमा समस्या भइरहेको छ ।
१६ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन विहीबार पनि जारी राखेका छन् । बिहीबार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका हुन् ।
मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुको माग सम्बोधन गर्न बैशाख १२ गतेलाई संसद बैठक आब्हान गरेपनि शिक्षकहरुले आन्दोलनलाई थप चर्काएका हुन् ।
मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।
शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने जनाउँदै आएका छन् ।

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन नसकिने प्रधानमन्त्रीको धारणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पु¥याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने व्यक्त गरेका छन् ।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने जनाएका हुन् ।
उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने जनाउँदै अधिनायकवाद परास्त भइ लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकावमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने स्पष्ट पारे ।
“अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो । अहिले संयुक्त सरकारका रुपमा हामी सरकारमा छौँ ।”, प्रधानमन्त्री ओलीले भने, “हामीसँग राष्ट्र निर्माण र एकताका इतिहास छन् । हामी यो सग्लो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गछौँ । हामी सीमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन दिनेछैनौँ । हाम्रो सभ्य र सुसंस्कृत समाजलाई कायम राखेर अघि बढ्छौँ ।”
प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको र एमालेले त्यस कामको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले देश र पार्टीप्रतिको बफादारितालाई अझ बलियो बनाउनुपर्ने जनाएका छन् ।
अध्यक्ष ओलीले यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरुको सम्मेलन गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आव्हान पनि गरे ।

प्रचण्डले भनेजस्तो सरकार नढल्ने कांग्रेसको दाबी

काठमाडौँ । नेपाली कांग्रेसले सरकारबारे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेकै आधारमा सरकार नढल्ने दाबी गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्ड प्रतिपक्षमा भएकाले सरकार ढल्दैछ भन्नु स्वभाविक भएपनि त्यसै आधारमा सरकार नढल्ने जनाए ।
‘प्रचण्ड प्रतिपक्षमा हुनुहुन्छ, उहाँले यो सरकार ढलिहालोस् भन्नु स्वभाविक हो’, महतले भने, ‘उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र भत्किने हुँदैन ।’

प्रभु बैंक लिमिटेड र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं.–९ शान्ति बन वाटिका स्थित कृषि बजार व्यवस्थापन समिति बीच व्यवसायिक साझेदारीको सम्झौता भएको छ ।
कास्की जिल्ला लगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलहरुबाट विक्री वितरण भइरहदा दैनिक हुने आर्थिक कारोवारलाई सहज बैंकिङ पहुँच सहित डिजिटल माध्यममा रुपान्तरण गरी व्यवसायिक कारोवारमा सहजीकरणको उद्देश्यलाई प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
उक्त सम्झौता पत्रमा कृषि बजार व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडी तथा प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा समितिका तर्फबाट अध्यक्ष श्री नवराज दुवाडीले वैंकप्रति आभार प्रकट गर्दै यो सम्झौताले समिति मातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोवारमा सहजता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानाले यो सम्झौताले डिजिटल सेवा मार्फत कृषि बजारको आर्थिक कारोवारमा सहजीकरण हुने विश्वास व्यक्त गरेका छन् ।
उक्त सम्झौताले पोखरा महानगरपालिका वडा नं.–९ शान्ति बन वाटिका स्थित कृषि बजार व्यवस्थापन समिति अन्तर्गत सञ्चालित व्यवसायिहरुलाई दैनिक कारोवार नगद रहीत बनाउने उद्देश्यका साथ क्यू।आर। कोड, डिजिटल भुक्तानी तथा कारोवारका लागि आवश्यक इन्टरनेट सेवा बैकले उपलब्ध गराउनेछ । यसका साथै व्यवसाय विस्तारका लागि प्रभु बैंकले वैंकको व्यवसायिहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकको नियमानुसार कर्जा सुविधा पनि उपलब्ध गराउनेछ ।

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद बैठक आह्वान गरेका छन् ।
राष्ट्रपतिले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

 

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...