Page 17

सरकार र शिक्षक महासंघबीच आज साँझ ५ बजे वार्ता हुने

काठमाडौं । शिक्षा ऐन जारीको माग राख्दै केही दिनयता आन्दोलनरत शिक्षक र सरकारबीच आज वार्ता हुने भएको छ ।
सरकार र नेपाल शिक्षक महासंघ र सरकारबीच साँझ ५ बजे वार्ता हुने तय भएको हो । शिक्षकहरूले काठमाडौंमा आज पनि आन्दोलन जारी नै राखेका छन् ।
यसैक्रममा तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेलसमेत भएको छ ।

सरकारलाई बाध्य बनाउन कुनै आन्दोलन आवश्यक नभएको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन आवश्यक नभएको प्रधानमन्त्रीको दाबी गरेका छन् ।
नेपाल उद्योग वाणिज्य, महासंघको ५५ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिजय दिवस–२०८१ लाई उद्घाटनपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।
‘सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनुपर्ने आवश्यकता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘‘अहिलेको सरकार स्थिरता, सुशासनका लागि बनेको हो । मुख्य एजेन्डा नै यही हो । स्थिरता र स्थायीत्व भनेको जकडिएको स्थिरता र स्थायीत्व होइन । गतिशील स्थिरता र स्थायीत्व हो ।’
साथै, उनले छिनछिमा सरकार बदलिने, आफूभन्दा अघिल्लो सरकारले गरेका राम्रा कामहरूबारे उच्चारण नै गर्न नहुने लगायतका काम अब नहुने उनले जनाए ।
‘सरकार र सरकारका नीतिहरू छिनछिनमा अनप्रेडिक्टेबल ढंगले बदलिने, एउटा सरकारको ठाउँमा अर्को तुरुन्तै बदलिने, अघिल्लो सरकारले लयाएको राम्रो कुरा पनि उसले उच्चारण समेत गर्न हुँदैन भनेजस्तो गर्ने हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।
साथै, उनले सरकारले भ्रष्टाचार नयुनीकरण र अन्त्य गर्नमा सरकार लागिपरेको जिकिर गरे ।
‘देशमा भ्रष्टाचारको न्युनीकरण र अन्त्य, सुशासन, जनतालाई सेवा कसरी प्रवाह गर्न सकिन्छ भन्नेमा छौं,’ उनले भने, ‘हाम्रो देशको विकासको जिम्मा हामीले नै लिने हो । अरुले गर्दैन ।’

खुमबहादुरको जग्गा जफत गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया अघि बढाइएको छ ।
कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया अघि बढाएको हो । विभागका महानिर्देशक सुरेश पन्थीले सर्वोच्च अदालतको आदेश अनुसार जग्गा जफतका लागि प्रक्रिया अघि बढाइएको जनाए ।
‘मालपोतबाट कागजात मगाएर प्रतिवेदन तयार पार्दैछौं,’ पन्थीले भने, ‘अबको केही दिनमा मन्त्रालयमा पेश भएपछि गृहमन्त्रीज्यूले निर्णय गरेपछि जग्गा जफत हुन्छ ।’
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले ३० साउन २०६९ मा पूर्वमन्त्री खड्कालाई भ्रष्टाचार कसुरमा दोषी ठहर गर्दै जग्गा जफत गर्ने फैसला सुनाएको थियो ।
उनको सानेपा रहेको १ रोपनी ६ आनाभन्दा बढी जग्गा जफत गर्नुका साथै २० लाख ५६ हजार ९८७ रुपैयाँ असुल उपर गर्नुपर्ने फैसलामा भनेको थियो ।
साढे २० लाख भने असुल उपर भइसकेको छ ।

प्रधानमन्त्री ओली र भारतीय कृषिमन्त्री चौहानबीच भेट

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले आज शिष्टाचार भेट गरेका छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का कृषिमन्त्रीहरुको बैठकका लागि नेपालमा आएका मन्त्री चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
मन्त्री चौहानले नेपाल र भारतबीचको परम्परादेखिको सम्बन्धका आयामबारे चर्चा गर्दै दुवै मुलुक मिलेर कृषिको आधुुनिकता, खाद्य सुरक्षा र आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड दिए ।
मन्त्री चौहानले दुईपक्षीय सम्झौता र संयुक्त कार्य समूहहरुलाई गतिका साथ अगाडि बढाउनुुपर्ने र सानातिना अल्झनका मुद्धा छाडेर थाँती रहेका महत्वपूर्ण विषयमा समान चिन्ताका साथ गतिशीलरुपमा काम गर्न आफू तयार रहेको जनाए ।
उनले हालै थाइल्याण्डको बैङ्ककमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताले दुुई देशका बीचमा आशाजनक भविष्य कोरेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले मानवीय जीवन बचाउन र उद्यमशीलताको विकास गर्न सबैभन्दा महत्वपूर्ण क्षेत्र कृषि भएकाले यसको आधुनिकीकरणसहित आर्थिक विकासका लागि २ छिमेकी मिलेर अघि बढ्नुपर्नेमा समान धारणा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग थाइल्याण्डमा भएको भेटवार्ताले विश्वासका वातावरण बनेकाले अब इतिहास वा भावनामा मात्रै नबगी आर्थिक विकासका लागि मिलेर अगाडि बढ्ने कुरा भएको स्मरण गरे ।
उनले बदलिँदो विश्व परिवेशलाई आत्मसात् गर्दै त्यसबाट पर्न सक्ने नकारात्मक प्रभावलाई ध्यान दिएर राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्वार्थका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबलगायत सहभागी थिए ।

मुलुकमा राजनीतिक स्थिरता भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न अनुरोध गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग–व्यवसायलाई अगाडि बढाउन अनुरोध गरेका हुन् ।
आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उनले जोड दिए । “कसैलाई गाली गलौज, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्नु हुँदैन । मानिसकलाई सहजरुपमा सेवा सुविधा दिनका लागि सूचना र प्रविधिको प्रयोग हुनुपर्छ । हामीले बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने हुन्छ । हरेक क्षेत्रमा सम्भवना छ भनेर तपाईँहरुले कन्भिन्स गर्न सक्नुहुन्छ ।”, प्रधानमन्त्री ओलीले भने, “चेम्बर आफैमा एकता र साथ सहयोगका रुपमा निर्विवाद संस्थाका रुपमा अगाडि बढिरहेको देखेर मलाई खुसी लागेको छ । यो संस्था आफ्ना निम्तिमात्रै होइन, देश र समाजका लागि नयाँ सोचका साथ एकताबद्ध भएर अगाडि बढ्नु असाधारण महत्वको विषय हो । यस क्षेत्रको विकासका लागि सरकारले गर्नुपर्ने कुरामा कुनै कमी हुँदैन । देशमा उद्योग व्यवसाय फस्टाउने सबालमाा हामी सँधै पवित्र र निकट सम्बन्ध राखेर सहकार्य गर्नेछौँ । यो निकट सम्बन्ध कुनै कमिसनका लागि अवश्य होइन । देश बनाउने सबालमा हो ।”
प्रधानमन्त्री ओलीले सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशहरुप्रति चेम्बरजस्ता संस्थाहरुले घोचे थाप्ने काम नगरी समर्थन गरेको स्मरण गर्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैलीहरु प्रशंसनीय रहेको जनाए ।
“आज हामीलाई सुशासन र विकास चाहिएको छ । सुशानमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ । त्यसलाई नियन्त्रण गर्नका लागि तपाईँहरुको पनि सहयोग चाहिन्छ ।”, प्रधानमन्त्री ओलीले भने, “देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरु मिलेर सरकार बनेको छ । त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो शिलशीला कायम रहन्छ । त्यसकारण तपाईहरु ढुक्क भएर लगानी गर्नुस् । देशको विकासका योगदान गर्नुस् ।”
चेम्बर, एउटा सरकार र निजी क्षेत्रबीचको पुलको कार्य गर्ने संस्था भएको र नीति निर्माणका सवालमा सरकारलाई यसले सघाएकामा प्रधानमन्त्री ओलीले धन्यवाद दिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने उद्यमी–व्यवसायीहरुलाई प्रधानमन्त्री ओलीबाट अवार्ड प्रदान गरिएको थियो भने चेम्बरको स्मारिका पनि लोकार्पण भएको थियो ।

 

८ महिनामा भित्रियो साढे १० खर्ब बढी रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८१, ८२ को ८ महिना (साउन–फागुन) अवधिमा साढे १० खर्बमाथि रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आव २०८०, ८१ को तुलनामा ९.४ प्रतिशत बढी हो ।
रेमिट्यान्स बढी भित्रिए पनि वृद्धिदरमा भने यस वर्ष कमी आएको छ । गत आव यसै महिना १८.३ प्रतिशतले विप्रेषण आप्रवाह बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ६.९ प्रतिशतले बढेको छ । डलरमा ७ अर्ब ७४ करोड रेमिट्यान्स आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
यो अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने बढेको छ । राष्ट्र बैंकका अनुसार ८ महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख १७ हजार ६८ छ । गत वर्ष यो संख्या २ लाख ८५ हजार ३ सइ ५२ थियो ।
पुनः श्रम स्वीकृति लिनेको संख्या यस वर्ष २ लाख १७ हजार ४ सय ३ छ । गत वर्ष यो संख्या १ लाख ८२ हजार ७ सय ८३ थियो । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म खुद द्वितीय आय ११ अर्ब ४८ अर्ब १२ करोड छ । अघिल्लो वर्ष यस अवधिमा यो आय १० खर्ब ४१ अर्ब थियो ।

आठ महिनामा ८ अर्ब रुपैयाँ अध्ययनका नाममा विदेश बाहिरियो

काठमाडौं। अध्ययनका नाममा नेपालबाट विदेश जाने रकम हरेक महिना वृद्धि हुँदै गएको छ ।
बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनासम्मको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा चालू आवको सोही अवधिमा ८ अर्ब रुपैयाँ बढी रकम विदेश पुगेको छ।
चालू आर्थिक वर्षको ८ महिनामा ८८ अर्ब ९८ करोड रुपैयाँ अध्ययनका लागि बाहिरिएको राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ८० अर्ब १८ करोड रुपैयाँ मात्रै बाहिरिएको थियो ।
खुद सेवा आय ७५ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ४३ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको थियो।
सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९.७ प्रतिशतले वृद्धि भई ५६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ६९ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय २०.६ प्रतिशतले वृद्धि भई रु १४८ अर्ब ११ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ८८ अर्ब ९८ करोड रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १२२ अर्ब ८१ करोड रहेकोमा शिक्षातर्फको व्यय ८० अर्ब १४ करोड थियो।

प्यान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्न आग्रह गरेको हो ।
यसका लागि बैंकको वेबसाइट र मोबाइल बैंकिङ एप रहेको प्यानअपडेट विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । साथै, ग्राहकले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत खातामा प्यान अद्यावधिक गर्न आवेदन दिन सकिने बैंकले जनाएको छ ।
यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ईटीडिएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण पानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्छ । ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ईटीडिएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने समेत बैंकले जनाएको छ ।
साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन बैंकको अनुरोध छ ।

रास्वपाको सचिवालय बैठक ४ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक बस्दैछ । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकको छलफलका एजेण्डाहरुमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रम, महाधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यलगायत रहेका छन् ।
सभापति रवि लामिछाने पुनः पक्राउ परे पछि रास्वपाले पहिलो पटक केन्द्रिय कार्यालयमा सचिवालय बैठक बोलाएको हो ।

 

अछाममा आगलागी हुँदा २७ घर जलेर नष्ट

अछाम । बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट सात करोड रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको छ ।
मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।
अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरुबाट क्षतिको विवरण यथाशीघ्र सङ्कलन गरिने जनाए ।

लेटेष्ट समाचार

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य...

नेपालले आज युएईविरुद्ध टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ। नेपाल र यूएईबीचको वार्म अप खेल...

झापा–५ मा बालेनको चुनावी अभियान तीव्र

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिखेर झापामा छन्। निर्वाचन नजिकिँदै जाँदा उनले झापा–५ मा चुनावी प्रचारप्रसार तीव्र बनाएका...