काठमाडौं । अवैध ११ लाख नेपाली रुपैयाँ र ८२ हजार ५ सय भारुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक ४५ वर्षीय सौरभ थुकराल छन् । विमानस्थलमा चेकिङको क्रममा उनी आइतबार पक्राउ परेका हुन् । उनी एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका थिए ।
जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।
अवैध ११ लाख रुपैयाँसहित विमानस्थलबाट एक भारतीय पक्राउ
राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले बुझायो पोखरा विमानस्थल अध्ययन प्रतिवेदन
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित उपसमितिले प्रतिवेदन बुझाएको छ ।
आज उपसमितिका संयोजक राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन् ।
उपसमिति सांसदहरू दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य छन् ।
प्रतिवेदनअनुसार विमानस्थल निर्माणका क्रममा १० अर्ब भ्रष्टाचार भएको छ ।
निजी मेडिकल कलेजले चिकित्सकलाई निर्वाह भत्ता दिनुपर्ने निर्णय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा शिक्षा आयोगको १९औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने तथा आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ ।
आयोगको गत माघ २५ गते बसेको १६औँ बैठकले निजी मेडिकल कलेजले सरकारीसरह पिजीका आवासीय चिकित्सकलाई मासिक रु ४८ हजार ७३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो । बैठकले निजी मेडिकल कलेजको मागलाई समेत ध्यानमा राखेर स्नातक एमबिबिएस तथा बिडिएसको सिट सङ्ख्या र शुल्क संरचना पुनरावलोकन गर्न गठित ११ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवेदन स्वीकार गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीसमक्ष कार्यदलका संयोजक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेले प्रतिवेदन हस्तान्तरण गरे । प्रतिवेदनले चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्थाबमोजिम प्राविधिक समिति गठन गरी स्तर र मापदण्ड निर्धारणका अधारमा सिट सङ्ख्या तथा शुल्क पुनरावलोकनका लागि बाटो खुलेको छ । सोका लागि ऐनबमोजिम आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका प्रा.डा सुजनबाबु मरहट्टाको संयोजकत्वमा प्राविधिक समिति गठन भएको छ । समितिमा विज्ञका तर्फबाट प्रा डा दिव्या सिंह शाह, वरिष्ठ चार्टर एकाउन्टेन्ट महेश गरागाईं, निजी मेडिकल कलेजका तर्फबाट चार्टर एकाउन्टेन्ट सन्तोष खनाल, शिक्षा, स्वास्थ्य र अर्थ मन्त्रालयका उपसचिवहरु रहनेछन् ।
एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजले स्रोतको सुनिश्चितता नभएकाले आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता उपलब्ध गराउन आनाकानी गरेपछि प्रधानमन्त्री ओलीको अग्रसरतामा यसबीचमा आयोगका तीन बैठक बसी समाधान निकालिएको हो । बैठकपछि आयोगका सहअध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी मेडिकल कलेजले १६औँ बैठककै मितिदेखि निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेकाले आवासीय चिकित्सक आन्दोलनबाट फिर्ता हुनुपर्ने जनाए । उनले शुल्क पुनरावलोकनका लागि पनि प्रक्रिया सुरु हुने जनाए ।
विश्वनाथ ट्रेड हाउसलाई ३ लाख जरिबाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चन्द्रागिरि नगरपालिस्थित विश्वनाथ ट्रेड हाउस प्रालिलाई ३ लाख रुपैयाँ जरिबाना तिराएको छ ।
विभागले नियमित अनुगमन अन्तर्गत सोमबार चन्द्रागिरि नगरपालिका–११ सतुंगलमा रहेको विश्वनाथ ट्रेड हाउसलाई ३ लाख रुपैयाँ जरिबाना तिराएको हो ।
उक्त उद्योगले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराइएको विभागले जनाएको छ ।
विभागका अनुसार उक्त उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको हो ।
यस्तै विभागले ललितपुर महानगरपालिका–२ को पशुपतिनाथ बिजनेस प्रालिको कारोबार रोक्का गरेको छ । अनुगमन टोलीले उक्त उद्योगको स्टकमा रहेका त्रुटिपूर्ण वस्तुहरू उत्पादकलाई फिर्ता गर्ने निर्देशन दिएको छ । यस्तै विभागको अर्को आदेश नभएसम्मका लागि कारोबार रोक्का गरेको छ ।
राष्ट्र बैंकद्वारा ईभी सवारी कर्जामा थप कडाई
काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) किन्न अब हायर पर्चेज कर्जा प्रवाह कम्पनीहरु पनि बैंकजस्तै थप कडाइमा परेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको संशोधित नीतिगत निर्देशिकाअनुसार हायर पर्चेज कर्जा दिने कम्पनीहरुले पनि अब सवारी साधन खरिदका लागि अधिकतम ६० प्रतिशत मात्र कर्जा लगानी गर्न पाउने भएका हुन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत व्यक्तिगत प्रयोजनका सबैखाले सवारी साधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाले लोन टू भ्यालू रेसियो ६० प्रतिशत कायम गर्नुपर्ने प्रावधान ल्याइसकेको केन्द्रीय बैंकले सोमबार ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७०’ को पाँचौँ संशोधनमार्फत सोही सीमा हायर पर्चेज कम्पनीहरुमा पनि लागू हुने गरी व्यवस्था गरेको हो।
संशोधित व्यवस्था अनुसार अब कम्पनीहरुले पनि सवारी कर्जा प्रवाह गर्दा सवारी साधनको मूल्यको ६० प्रतिशतभन्दा बढी ऋण प्रवाह गर्न पाउने छैनन् । यद्यपि, अन्य धितोका हकमा भने ८० प्रतिशतसम्म ऋण दिन मिल्ने व्यवस्था यथावत् राखिएको छ ।
यसअघि बैंक तथा वित्तीय संस्थाले मात्रै कडाइ अपनाएका थिए भने हायर पर्चेज कम्पनीहरुले भने आफ्ना छुट्टै संरचनामार्फत ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्दै आएका थिए । तर अब उनीहरु पनि यो कडाइको दायरामा आउनुपर्नेछ, जसले विद्युतीय सवारी साधनको बिक्रीमा केही असर पर्ने निश्चित देखिएको छ।
त्यस्तै, नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीलाई थप नियमन गरेको छ । कम्पनीको इजाजतपत्र (लाइसेन्स) प्राप्त गर्न अब न्यूनतम ३० करोड रुपैयाँ चुक्ता पुँजी आवश्यक पर्नेछ भने हरेक वर्ष लाइसेन्स नवीकरणका लागि २ लाख रुपैयाँ शुल्क लाग्नेछ।
ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ६ हजार ९६९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
यो शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय, पोखरा–२६, विजयपुरमा आफूले किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ।
हाल यो शेयर लघुवित्तकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने व्यवस्था गरिएको छ ।
साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने पनि लघुवित्तले जनाएको छ ।
शेयर बजारमा १४.५८ अंकको गिरावट, ८ अर्ब ९१ करोडको कारोबार
काठमाडौं । हिजो झिनो सुधार देखिएको शेयर बजारमा आज फेरि दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.५८ अंकले घटेको हो । ०.५४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६४७.०२ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटेपनि वित्त, होटल, निर्जीवन बीमा र ट्रेडिङ समूह क्रमशः १.५९, ०.०८, ०.०३ र ०.४१ प्रतिशतले बढेका छन् । बाँकी अरु समूह भने राताम्मे भए ।
आज ३२७ कम्पनीका २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार ९ सय १९।७० रुपियाँ बराबरको कारोबार भएको छ ।
आज पनि दुई बीमा कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशत र क्रेस्ट माइक्रो लाइफ कम्पनीका लगानीकर्ताहरुले ९.९९ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.९३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज ङादी ग्रुप पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७० करोड ९४ लाख ७१ ह्जार २ सय ३७.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार ५.९८ प्रतिशतले बजार बढ्दा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार १ सय ४४.३५ रुपियाँ बराबरको कारोबार भएको थियो ।
जीप दुर्घटना हुँदा पाल्पामा ३ जनाको मृत्यु
पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
पाल्पाको असारेबाट ठुलापोखरीका लागि छुटेको लु १ ज २३७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा दुर्घटनामा परेको हो ।
रैनादेबी छहरा गाउँपालिका १ सिद्धेश्वर असारेमा रहेको भित्रि कच्ची सडकमा भएको दुर्घटनामा एउटै गाउँका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा रैनादेबी छहरा गाउँपालिका १ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको तानसेनमा रहेको युनाईटेड मिशन अस्पताल पाल्पामा उपचार भइहेको छ । अस्पतालका अनुसार चालक रेश्मीको अवस्था गम्भीर छ ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौँ । प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि तय भएको बैठकका लागि संघीय संसद सचिवालयले विभिन्न ४ वटा सम्भावित सूची तय गरेको छ ।
पहिलो कार्यसूचीमा विषयगत समितिमा हेरफेर गर्ने रहेको छ । जसअनुसार सभामुख देवराज घिमिरे प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् ।
यस्तै अर्को कार्यसूचीमा वार्षिक प्रतिवेदन पेस गर्ने रहेको छ । सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९, ८० र २०८०, ८१ पेश गर्नेछन् ।
यस्तै व्यवस्थापन कार्य अन्तरगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै उनले नै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
आजै राष्ट्रियसभा बैठक पनि बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ ।
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघको अपिल
काठमाडौं । आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् ।
आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने जनाएको हो ।
अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारी माथि भएको यो क्रूर दमनको विरोधमा आफूहरूसँग उभिनसबै पेसागत संस्था, आमशिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल गरेका छन् ।
उनले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘नेपाली शिक्षक–कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनःउद्घोष गर्दै देशभरका सबै शिक्षक–कर्मचारी साथीहरूलाई आफ्ना साथीहरू माथिभएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौँ आइ आन्दोलनमा सहभागी हुन जोडदार अपिल गर्दछौँ ।’
विद्यालय शिक्षाको सुधार र शिक्षक–कर्मचारीका पेसागत उन्नयनका पक्षमा गत वर्षको माघ २० गतेबाट निरन्तर शान्तिपूर्ण आन्दोलनमा रहेका छन् । शिक्षक–कर्मचारी माथि गरिएको यो अमानवीय आक्रमणबाट सरकारको अलोकतान्त्रिक, दमनकारी तथा शिक्षा विरोधी चरित्र पर्दाफास भएको महासंघले जनाएको छ ।