काठमाडौं । हिजो झिनो सुधार देखिएको शेयर बजारमा आज फेरि दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.५८ अंकले घटेको हो । ०.५४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६४७.०२ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटेपनि वित्त, होटल, निर्जीवन बीमा र ट्रेडिङ समूह क्रमशः १.५९, ०.०८, ०.०३ र ०.४१ प्रतिशतले बढेका छन् । बाँकी अरु समूह भने राताम्मे भए ।
आज ३२७ कम्पनीका २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार ९ सय १९।७० रुपियाँ बराबरको कारोबार भएको छ ।
आज पनि दुई बीमा कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशत र क्रेस्ट माइक्रो लाइफ कम्पनीका लगानीकर्ताहरुले ९.९९ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.९३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज ङादी ग्रुप पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७० करोड ९४ लाख ७१ ह्जार २ सय ३७.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार ५.९८ प्रतिशतले बजार बढ्दा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार १ सय ४४.३५ रुपियाँ बराबरको कारोबार भएको थियो ।














