काठमाडौं । ६२ वर्षिया दिग्गज हलिउड अभिनेत्री डेमी मूर सन् २०२५ मा संसारकै सबैभन्दा सुन्दर महिला घोषित भएकी छन् । प्रतिष्ठित पिपल म्यागजिनले उनलाई सुन्दर महिला घोषित गर्दै आवरण पृष्ठमा समावेश गरेको छ ।
म्यागजिनसँगको विशेष अन्तर्वार्तामा उनले बुढ्यौली, आत्मसम्मान र हलिउडमा पुनरागमनबारे कुरा गरेकी छन् । एन्जेलिना जोली, बियोन्से, जेन्डाया, कार्दसियन्स, टेलर स्विफ्ट र हदिद दिदीबहिनीको वर्चस्व रहँदै आएको सूचीमा यसपटक मूरले स्थान लिएकी हुन् ।
मूरले अस्करदेखि गोल्डेन ग्लोब अवार्ड पनि जितेकी छन् । यस सिजनमा सबैले अपेक्षा गरेजस्तो मूरले ओस्कार जित्न सकिनन्, तर उनी लोकप्रिय रोजाइ थिइन् । यद्यपि उनले विश्वको सबैभन्दा सुन्दर महिलाको रूपमा उपाधि भने जितिन् ।
यो सम्मान प्राप्त गर्ने उनी सबैभन्दा जेठी मध्ये एक हुन् र पत्रिकाको डिजिटल कभरमा एक अन्तर्वार्ताको साथ देखा परेकी छन्, जसमा उनी यो उमेरमा पनि कसरी शारिरीक निपुणता कायम राख्दै बुढ्यौलीका चुनौतीहरूको सामना गर्छिन् भन्ने बारेमा केन्द्रित छिन् ।
म्यागजिनले मे ५ यो विशेषांक ल्याउँदैछ । जसको कभरमा मूरले आफ्नो शैलीलाई दर्शाउने रोयल ब्लु पोशाक लगाएर आवरणमा सजिएकी छन् । यसबाहेक अभिनेत्री मूर समाजसेवामा पनि सक्रिय छिन् ।
उनी सन् १९९० को दशकका चर्चित हलिउड फिल्महरु घोस्ट, डिस्क्लोजर, अफ फिउ गुड मेनजस्ता फिल्मका लागि परिचित छन् । उनी सन् २०१४ को अप्रिलमा नेपाल आएकी थिइन् ।
भारतमा बेचिएका चार जना नेपाली चेलीलाई उद्धारपछि भैरहवा ल्याइएका थियो र त्यहाँ पुगेर डेमीले उनीहरुलाई भेटिन् । उनले बुद्ध जन्मथलो लुम्बिनी समेत घुमिन् । माइती नेपालमा केही घण्टा बिताएर उनले चेलीबेटी बेचबिखनको अवस्थाबारे बुझेकी थिइन् ।
डेमी मूर संसारकै सुन्दर महिला घोषित
यस्तो छ ‘एक्लो’मा अभिनेत्री दियाको लुक्स
काठमाडौँ । नेपाली फिचर फिल्म ‘एक्लो’को अभिनेत्री दिया पुनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।
आइतबार निर्माण युनिटले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को अवसर पारेर दियाको लुक्सको एक पोस्टर सार्वजनिक गरेको हो । चलचित्र प्रदीप शाहीले निर्देशन गरेका हुन् ।
दियाको चलचित्रमा एउटा समर्पित र मायालु आमाको भूमिका रहेकोले आमाको मुख हेर्ने विशेष दिन पारेर पोस्टर सार्वजनिक गरिएको निर्देशक शाहीले जनाए । शाहीको निर्देशन रहेको यो तेस्रो चलचित्र हो ।
साइन्स फिक्सनमा आधारित रहेर निर्माण गरिएको चलचित्रको पोस्टरमा दीया पुनको नाम एस्ट्रोनट पुन छ । हाल चलचित्रको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ । निर्देशक प्रदीप शाही केही दिन अघि कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन भएका छन् । कान्समा शाही चयन भएसँगै उनको चलचित्र ‘एक्लो’को चर्चा बढेको छ ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय छ । चलचित्र ‘एक्लो’का निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् । बाबु श्रेष्ठको छायाङ्कन, राजु तामाङको द्वन्द्व निर्देशन चलचित्रमा छ ।
मातातीर्थ औँसीको अवसर पारेर स्मिताले ल्याइन् ‘आमा’ गीत
काठमाडौं । आमाको मुख हेर्ने विशेष दिन मातातीर्थ औँसीको अवसर पारेर गायिका स्मिता दाहालको नयाँ भावनात्मक गीत ‘आमा’ सार्वजनिक गरिएको छ । गीतले आमाको माया, संघर्ष र समर्पणलाई प्रस्तुत गरेको छ ।
शब्द र संगीत चेतन सापकोटा, संगीत संयोजन गोपाल रसाइलीको रहेको गीतमा स्टुडियो डोरेमीमा रेकर्ड भएको हो । गीतको भिडियोमा गायिका स्मिता दाहाल स्वयं र अभिनेता आकाश श्रेष्ठले मुख्य भुमिका छ । बाल कलाकार दीप्शिका श्रेष्ठको समेत सशक्त उपस्थिति भिडियोमा देख्न सकिन्छ ।
छायाङ्कन नवराज उप्रेती र सम्पादन विकास ज्ञवालीको रहेको भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका हुन् ।
‘महाभोज’को आमाहरूमा समर्पित भिडियो सार्वजनिक
काठमाडौं । गणतन्त्र दिवसको विशेष अवसरमा जेठ १५ गते सार्वजनिक प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै एउटा भावनात्मक भिडियो सार्वजनिक गरेको छ ।
सार्वजनिक भिडियोमा अभिनेता दयाहाङ राई र वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालको सशक्त अभिनय देख्न सकिन्छ । भिडियोमा भुसालले दिवङ्गत छोराको सम्झना गर्दै भावुक अभिव्यक्ति दिन्छिन् भने, दयाहाङले भुसाललाई आफ्नै आमाजस्तै माया गर्ने भाव प्रस्तुत गरेका छन् । दृश्यमा वसुन्धराले दयालाई केही रकम दिन्छिन्, जसलाई दयाहाङले हल्काफुल्का शैलीमा गर्दै ‘खाइदिन्छु’ भन्छन् । त्यसपछि वसुन्धराले उनलाई इमानदार भएको भन्दै विश्वास प्रकट गर्छिन् । भिडियो अनुसार, रकम सहकारी संस्थामा जम्मा गर्न दिइएको बुझिन्छ ।
चलचित्र ‘महाभोज’को टिजरमा पनि दयाहाङ सहकारीका अध्यक्षको भूमिकामा देखिएका थिए, जहाँ उनले बचतकर्ताहरूको आक्रोशको सामना गरिरहेका छन् । अभिनेता खगेन्द्र लामिछानेले बचतकर्ताको भूमिकामा दयाहाङ प्रति रोष पोख्दै भनिरहेका छन्, ‘मान्छे मार्ने मात्र होइन, मर्न बाध्य बनाउने मान्छे पनि हत्यारा हो ।’ टिजर र पछिल्लो सार्वजनिक भिडियोले चलचित्रको कथा अझ रोचक र जिज्ञासापूर्ण बनाएको अनुभूति दिलाएको छ ।
भिडियोमा लेखिएको सन्देशमा भनिएको छ, ‘सम्पूर्ण आमाहरूको सम्मानमा, चलचित्र ‘महाभोज’ परिवारको तर्फबाट आमाको मुख हेर्ने विशेष अवसर (मातातीर्थ औँसी) को हार्दिक मङ्गलमय शुभकामना। अटल माया, अविच्छिन्न समर्पण र अनन्त प्रेरणाका प्रतीक सम्पूर्ण आमाहरूलाई हाम्रो श्रद्धा र नमन ।’
नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्ने ‘महाभोज’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । निर्देशकका अनुसार, चलचित्र पात्रहरूको आफ्नै अस्तित्व र आत्मसम्मानको लडाइँमा केन्द्रित छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन् । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ ।
‘महाभोज’ नेपालसँगै नेपालीहरूको बसोबास रहेका अधिकांश देशमा एकैसाथ प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
रविलाई अर्को मुद्दा लाग्दै, २ अर्ब ३० करोड बिगो दाबी
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका बेला उनीविरुद्ध अर्को सहकारी ठगीको मुद्दा लाग्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जस्थित सानो पाइला सहकारी ठगीमा अनुसन्धान सकेर मुद्दा दर्ताका लागि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार लामिछाने र प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित ३० व्यक्ति र ११ वटा संस्थालाई प्रतिवादी बनाउन राय दिएको छ । मुद्दामा ४१ प्रतिवादीबाट २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ रुपैयाँ २९ पैसा बिगो दाबी गरिएको छ । आरोपीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अभियोग लगाउन प्रहरीको राय छ ।
प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा अभियोग दायर गर्ने जनाइएको छ । पर्साका सहायक जिल्ला न्यायाधीशवक्ता अनन्तराज न्यौपानेले केही दिन अध्ययन गरेर अभियोग तयार गर्ने जानकारी दिए ।
सहकारी ठगी मुद्दामै लामिछाने र अर्का आरोपी छविलाल जोशी रुपन्देही कारागारमा छन् । जिल्ला अदालतबाट धरौटीमा रिहा भए पनि बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउन आदेश दिएको थियो ।
हिमालयन बैंकद्वारा बत्तीसपुतली शाखा स्थानान्तरण
काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको बत्तीसपुतली शाखा साविक भवन, स्थानबाट स्थानान्तरण गरेको छ । बैंकले शाखालाई बत्तीसपुतली वडा नं ९ स्थित राम मन्दिर जाने बाटो संगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनमा स्थानान्तरण गरी आजदेखि बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको हो ।
उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका छन् । शाखा कार्यालय आम नागरिक र सेवाग्राहीलाई सहज हुने स्थानमा स्थानान्तरण गरीएको बैंकले जनाएको छ ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८४ एटिएम, ८,००० भन्दा बढी पस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
सप्तरीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु
सप्तरी । सप्तरीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
कञ्चनरूप नगरपालिका–१० बदगामास्थित सडकमा उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १ ०१ ००१ ख ३४२० नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा बसमा सवार सप्तकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्न बहादुर मगराती तथा हाल नाम, थर, वतन नखुलेका १ जना पुरूष र १ जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई प्रधानमन्त्रीको बिदाइ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवर्द्धनका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) दन्तबहादुर सत्याललाई आइतबार बिदाइ गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले असइ सत्याललाई सफल यात्राको कामनासहित बिदाइ गरेका हुन्।
यात्राका क्रममा जलवायु परिवर्तनको अवस्थाबारे पनि अध्ययन गरी रिपोर्टिङको तयारीमा रहेका सत्याललाई सगरमाथा संवाद लेखिएको ब्यानर हस्तान्तरण गरिएको थियो।
बिदाइ कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत सहभागी थिए।
नेपाल सरकारको आयोजनामा आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद हुँदैछ।
महामन्त्री गगन थापाविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरूद्ध अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।
आज सर्वोच्च अदालतमा थापाविरूद्ध अवहेलनाको मुद्दा दर्ता भएको हो । संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दाको फैसलामा ढिलाइ भएको भन्दै थापाले अभिव्यक्ति दिएका थिए ।
उनको उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भनदै अदालतमा मुद्दा दर्ता भएको हो ।
राष्ट्र बैंकले मनायो ७०औं वार्षिकोत्सव
काठमाडौं । नेपाल राष्ट्र बैंक आजदेखि गौरवमय ७० वर्ष पूरा गरी ७१औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा राष्ट्र बैंक केन्द्रीय कार्यालय परिशरमा आज एक समारोहका बीच वार्षिकोत्सव मनाइएको छ ।
देशको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्यसहित केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंक ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा भएको थियो ।
राष्ट्र बैंक र वित्तीय संस्थाहरूको मौद्रिक विनिमायक र प्रक्षेपणका रूपमा रहेको छ । तत्कालीन ऐनको ठाउँमा नयाँ नेपाल राष्ट्र बैंक ऐन २०५८ परिचालन गरी त्यसमा बैंकको स्वायत्तता, स्वतन्त्रता र सुनिश्चिता गरिएको छ । राष्ट्र बैंकले विदेशी मुद्रा विनियम दर र देशमा रहेको विदेशी मुद्रा भण्डारको संरक्षण, विदेशी मुद्रा नीति नियन्त्रण गर्ने काम गर्दै आइरहेको छ ।
राष्ट्र बैंकले अर्थतन्त्रको दिगो विकासका लागि मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रीक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्दै आइरहेको छ ।
साथै, बैंकिङ तथा वित्तिय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्ने, सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणाली विकास गर्ने, बैंकिङ तथा वित्तीय प्रणालीको नियमन, निरिक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने, देशको समग्र बैंकिङ तथा वित्तिय प्रणालीको संवर्द्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्ने काम पनि राष्ट्र बैंकले गर्दै आइरहेको छ ।
राष्ट्र बैंकको पहिलो गभर्नर हिमालयन शमशेर जबरा हुन् । हालसम्म आइपुग्दा राष्ट्र बैंकमा १७ जना गभर्नर बनिसकेका छन् । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन । अहिले डा. नीलम ढुंगानाले कामु गभर्नरको जिम्मेवारी सम्हालिरहेकी छिन् ।