काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्र्टीका सांसद शिशिर खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा नयाँ कुरा केही नभएको प्रतिक्रिया दिएका छन्।
नीति तथा कार्यक्रम सार्वजनिक भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भने, ‘नयाँ कुरा केही छैन। सरकार पुरै थाकेर, हारेको जस्तो देखियो। केही नयाँ कार्यक्रम घोषणा गर्न सकेको छैन।’
उनले पछिल्लो दशकहरुमै सुनेको कार्यक्रमलाई नै निरन्तरता दिएको उनले जनाउँदै शक्तिशाली सरकार भएपनि पटक पटक फेल भएकै कार्यक्रमहरु नै अघि सारेको आरोप पनि लगाएका छन्।
उनले भने, ‘०७४ चुनावपछि दुई तिहाइको सरकार बन्दा पुरा गर्न नसकिने, हावादारी भएपनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम देखिन्थ्यो। आज यो बलियो सरकार हुँदापनि कुनै नयाँ कार्यक्रम राखेको छैन।’
सरकारले कुनै नयाँ कार्यक्रम अघि सार्न नसकेको रास्वपाको टिप्पणी
जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२, ८३ मा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुबै सदनलाई सम्बोधन गरेको संयुक्त बैठकमा जेष्ठ नागरिकको सेवालाई सरकाले प्राथमिकता दिने जनाएका छन् ।
सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो बनाइने
काठमाडौँ । सरकारले तीन तहका सरकारबीच समन्वय र सहकार्यमा सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो वातावरणमैत्री बनाउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सवारी दुर्घटना न्यूनीकरण गर्न सडकको अवस्था सुधार गर्ने उल्लेख गरे ।
राष्ट्रपति पौडेलले भने, “सवारी दुर्घटना न्यूनीकरण गर्न यात्रुलक्षित सचेतना कार्यक्रम गर्ने तथा सवारी चालकको क्षमता विकास गरी जिम्मेवारी बनाइनेछ ।” रणनीतिक र व्यापारिक महत्वका सडकखण्डको क्रमशः निर्माण र स्तरोन्नति गर्दै रुग्ण पुल तथा आयोजनाको निर्माण द्रुतगतिमा अगाडि बढाउने सरकारको योजना छ । सरकारले वैदेशिक सहायतामा सञ्चालन हुने सबै परियोजनाहरुको शीघ्र कार्यान्वयन गर्ने समेत घोषणा गरेको छ ।
सरकारले राष्ट्रिय राजमार्गमा विशेष प्रकृतिका पुलहरु निर्माण गर्ने, सरुङमार्ग, द्रुतमार्गजस्ता आधुनिक निर्माणमा जोड दिने भएको छ । सडक तथा पुलको निर्माण र परिचालनमा तीन तहका सरकारको बीचमा समन्वय र सहकार्य गरी अगाडि बढ्ने योजना सरकारको छ । सडक सुविधा नपुगेका दुर्गम क्षेत्रको यातायातलाई सहज तुल्याउन तुइन व्यवस्थापन गर्ने र झलुङ्गे पुलको निर्माण गर्ने राष्ट्रपति पौडेलले उल्लेख गरे ।
आगामी दशकलाई ‘आन्तरिक रोजगारी दशक’का रुपमा मनाइने घोषणा
काठमाडौं । सरकारले आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रुपमा मनाउने घाषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्ष २०८२, ८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
युवा रोजगारी कार्यक्रम, नवप्रवद्र्धन (स्टार्टअप) कार्यक्रमहरुलाई प्रोत्साहन र विस्तार गर्दै आन्तरिक रुपमा अधिकतम रोजगारी सिर्जनमा सरकार केन्द्रित हुने राष्ट्रपति पौडेलले सभालाई जानकारी दिए ।
यसै अवसरमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रमको थप विकास एवंम् सुध्रिणीकरणसँगै युवा रोजगार कार्यक्रम अन्तर्गत स्टार्टअप विजनेश कार्यक्रम प्रोत्साहनका लागि कर्जा विस्तार गरिने समेत जनाए ।
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी वैदेशिक लगानीकर्तालाई आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत्लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउन हरेक दिन एक पाइला अगाडि भन्ने सोचका साथ काम गर्न आग्रह गरे । उनले मुलुकको सुशासन, विकास र सहज सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अधिकारलाई विस्तार गर्दै थप उपलब्धि हासिल गर्नुपर्ने जनाए ।
“हाम्रो मुलुक उर्वर र जीवनमय छ । यहाँ लगानीको प्रचुर सम्भावना छ । हामी हाम्रै पालामा केही गर्न सक्छौँ भन्ने आत्मविशवासका साथ काम गरौँ । हाम्रो यात्रा अग्रगामी कदमतर्फ अवश्य बढ्नेछ”, प्रधानमन्त्री ओलीले भने, “शिक्षालगायत हरेक क्षेत्रमा सूचना र प्रविधिको प्रयोग बढ्दै गएको छ । एसइईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने अवस्था अन्त्यका लागि व्यक्तिगत पहलमा पनि गत वर्षदेखि ‘अनलाइन’ माध्यमबाट महत्वपूर्ण विषयमा कक्षा सञ्चालन गरियो । विद्यार्थीहरुको भविष्य अन्धकारमा पार्नु हुन्न भनेर गरिएका यस्ता कामलाई प्रोत्साहन गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले अब हामीले आफ्नै सुरक्षासहितको ‘डेटा’ प्रणाली कायम गर्नुपर्नेमा जोड दिँदै व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेका लागि सूचना प्रविधिको विकास आफैँमा जवाफ भएको टिप्पणी गरे ।
“एक लाइन टेलिफोन पाउन मन्त्रीको तोक लगाउनुपर्ने अवस्थाबाट हामी धेरै अघि बढिसकेका छौँ । अन्तरिक्षमा पनि आफ्नै ‘स्याटेलाइट’ पठाउने प्रयास सुरु भएको छ । यस क्षेत्रमा नयाँ पुस्ताका हस्ती तयार भइसकेका छन्,” उनले भने, “हामी आत्मविश्वासका साथ अघि बढौँ । सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन र तालिममा जोड दिँदै जानेछौँ । अब मुलुकको समृद्धिका लागि कुनाकुनाका जनजनमा विकास र सुशासनका लागि सूचना तथा सञ्चार प्रविधिको विस्तार र प्रयोगमा जानुपर्छ । सूचना र प्रविधिको दुरुपयोग गरेर व्यक्तिको हुर्मत लिने प्रवृत्तिबाट चाहिँ सचेत हुनुपर्छ ।”
कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेश सरकारको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारीधनी प्रमाणपत्र (ब्ल्यू बुक) लाई नागरिक एपमा आबद्ध गर्ने कार्यको शुभारम्भ गरे । सो अवसरमा राष्ट्रिय सूचना प्रविधि अवार्डबाट प्राडा शशीधर राम जोशीसहित विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिएको थियो ।
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम
काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२, ८३ का लागि नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरिएको छ। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
संसद भवनमा राष्ट्रपति पौडेलको स्वागत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतले गरेका थिए। नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा सरकार प्रतिबद्ध रहेको जनाए। उनले जनताको बलिदान, संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र सम्बर्धन सरकारको मुख्य लक्ष्य रहेको स्पष्ट पारे।
संविधानको समीक्षा गरी आवश्यक संशोधन अगाडि बढाइने उल्लेख गर्दै उनले आपसी समझदारीका आधारमा संविधानमा देखिएका कमी–कमजोरी सच्याइने जानकारी दिए। गणतन्त्र र लोकतन्त्रविरुद्ध हुने अराजक तथा प्रतिक्रियावादी गतिविधिको कडा प्रतिवाद गरिने राष्ट्रपति पौडेलको भनाइ थियो।
उनले परिवर्तन र उपलब्धिप्रति जनतालाई गौरव दिलाउन तथा सरकारप्रति जनविश्वास बढाउँदै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको जनाए।
विकास निर्माणका क्रममा देखिएका कमजोरीलाई सुधार गर्दै विकासको ढाँचा, गति र संस्कृतिमा परिवर्तन गरिने नीति सरकारको कार्यक्रममा उल्लेख गरिएको छ। विगतमा घोषणा गरिएका सबै भौतिक पूर्वाधार परियोजनाहरूको पुनः प्राथमिकिकरण गरिने, स्रोत सुनिश्चितता नहुने तथा सम्पन्न नहुने आयोजनाहरू स्थगित गरिने र त्रुटिपूर्ण आयोजनाहरू खारेज गरिने स्पष्ट नीति लिइएको छ।
एमालेले पार्टी सदस्यता साढे ७ लाख पुर्याउने
काठमाण्डौं । नेकपा (एमाले) ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या ७ लाख ५० हजार पुर्याउने भएको छ ।
एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्याउने भएको हो ।
सङ्गठन विभाग सचिव माधव ढुङ्गेलका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको छ । “नयाँ पार्टी सदस्यता र नवीकरण यही वैशाखभित्र सम्पन्न गरी प्रदेश कमिटीलाई बुझाउन जिल्ला कमिटीलाई निर्देशन दिएका छौँ,” उनले भने, “त्यसपछि जेठको पहिलो सातासम्म प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा सदस्यता विवरण बुझाउन भन्छौँ ।”
सचिव ढुङ्गेलले हाल पार्टी सदस्यता ५ लाख ५० हजार रहेको जानकारी दिए । उनले भने, “आगामी विधान महाधिवेशनसम्म सात लाख ५० हजार पुर्याउने हाम्रो लक्ष्य हो ।” एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन तोकेको छ ।
नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको प्रधानमन्त्रीको दाबी
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेको दाबी गर्दै ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।
कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई पनि आग्रह गरेका हुन् ।
“पूर्वाधार निर्माण भइसकेको समय भएकाले ढुक्कले लगानी गर्न सक्नुहुन्छ । लगानीका लागि सरकारका तर्फबाट कुनै समस्या पर्न दिइन्न । कोशी प्रदेश पूर्वाधार विकास र सडक सञ्जालसँग जोडिएको छ । लगानी गरेर उत्पादन बजारमा लाने समयसम्म एसियालीस्तरको छ लेनको पूर्व पश्चिम राजमार्ग हामी बनाइसक्छौँ । हामी कच्चा पदार्थ पनि ल्याउन सक्छौँ । त्यसकारण हरेक क्षेत्रमा नयाँ नयाँ सम्भावनाहरुलाई हामीले पहिल्याउन सक्छौँ ।’’, प्रधानमन्त्री ओलीले भने, “देशमा सामान ल्याउन र लान कुुनै हिसाबले रोकिँदैन । आफ्नो उत्पादनको बजार कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लान सक्ने गरी बाटो बनिसकेको छ । विराटनगरसहित विभिन्न विमानस्थल विस्तार गरिनेछ । सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडिबुटीहरुको थलो कोशीका जनता शिक्षित र मेहनती छन् । त्यस कारण पनि यहाँ लगानीको प्रचुर सम्भावना रहेको छ ।’’
प्रधानमन्त्री ओलीले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै भन्नुुभयो, “म युवाहरुलाई भन्न चाहान्छुु, जागिरको खोजीमा नभौँतारिनुुस्, उद्यमशीलतामा लाग्नुुस् । त्यसका लागि सोच, तालिम र सहयोगमा सरकारले साथ दिन्छ ।’’ प्रधानमन्त्री ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ब्राण्डिङ गर्न आग्रह गर्दै ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यताअनुसार श्रमको सम्मान दिन तथा रोजगारादाता र श्रमिकबीच संवादका साथै टे«ड युनियन अधिकारको रक्षाका लागि नेपाल सरकार स्पष्ट रहेको पनि लगानीकर्तालाई अवगत गराएका छन् । प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गरेका थिए ।
सरकारको नीति तथा कार्यक्रम शुक्रबार संसद्मा प्रस्तुत हुने
काठमाण्डौं । सरकारको आर्थिक वर्ष २०८२ र ८३ को नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन ।
सङ्घीय संसद् सचिवालयले नीति कार्यक्रम प्रस्तुतिका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
संयुक्त बैठकका लागि सबै सांसदका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिधिनिधि, निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिलगायतलाई आमन्त्रण गरिसकिएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
यसैगरी बैठक कक्षको सरसफाइ र आवश्यक तयारी, परिसर क्षेत्रमा सजावट, प्रवेश पासको व्यवस्थालगायत कार्यहरु भइरहेको उनले जनाए । राष्ट्रपतिको सवारीका लागि आवश्यक सुरक्षा प्रबन्धसहित ‘रिहर्सल’ गर्ने काम शुक्रबार बिहान गरिनेछ ।
संयुक्त बैठकपछि दुवै सदनका छुट्टाछुट्टै बैठक बसेर राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने र राष्ट्रपतिको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको प्रवक्ता गिरीले जानकारी दिए ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएको राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने सम्भावित कार्यसूची रहेको छ ।