काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२, ८३ का लागि नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरिएको छ। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
संसद भवनमा राष्ट्रपति पौडेलको स्वागत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतले गरेका थिए। नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा सरकार प्रतिबद्ध रहेको जनाए। उनले जनताको बलिदान, संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र सम्बर्धन सरकारको मुख्य लक्ष्य रहेको स्पष्ट पारे।
संविधानको समीक्षा गरी आवश्यक संशोधन अगाडि बढाइने उल्लेख गर्दै उनले आपसी समझदारीका आधारमा संविधानमा देखिएका कमी–कमजोरी सच्याइने जानकारी दिए। गणतन्त्र र लोकतन्त्रविरुद्ध हुने अराजक तथा प्रतिक्रियावादी गतिविधिको कडा प्रतिवाद गरिने राष्ट्रपति पौडेलको भनाइ थियो।
उनले परिवर्तन र उपलब्धिप्रति जनतालाई गौरव दिलाउन तथा सरकारप्रति जनविश्वास बढाउँदै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको जनाए।
विकास निर्माणका क्रममा देखिएका कमजोरीलाई सुधार गर्दै विकासको ढाँचा, गति र संस्कृतिमा परिवर्तन गरिने नीति सरकारको कार्यक्रममा उल्लेख गरिएको छ। विगतमा घोषणा गरिएका सबै भौतिक पूर्वाधार परियोजनाहरूको पुनः प्राथमिकिकरण गरिने, स्रोत सुनिश्चितता नहुने तथा सम्पन्न नहुने आयोजनाहरू स्थगित गरिने र त्रुटिपूर्ण आयोजनाहरू खारेज गरिने स्पष्ट नीति लिइएको छ।