काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पहिलो पटक ६९ खर्ब नाघेको छ । निरन्तर बढ्दो निक्षेपकाबीच बैंकहरुले लगानीको दायरा बढाउन नसकिरहेका बेला पछिल्लो समय यस्तो निक्षेपको आकार ६९ खर्ब एक अर्ब पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार मे २१ अर्थात् जेठ ७ गते सबै बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६८ खर्ब ९७ अर्ब रहेकोमा पछिल्लो दिन जेठ ८ गते यस्तो निक्षेप चार अर्बले बढ्दै ६९ खर्बमाथि पुगेको हो । यो कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा १२० प्रतिशतको हिस्सा हो ।
आर्थिक वर्ष २०८१, ८२ मा मुलुकको जीडीपीको आकार ५७ खर्ब ४ अर्ब ८४ करोड रुपियाँ रहेको केन्द्रीय तथ्यांक कार्यालयको अनुमान छ ।
यता निरन्तर निक्षेप बढ्दैगर्दा बैंकहरु लगानीको सकसमा छन् । सोही अवधिमा सबै बैंक तथा वित्तीय संस्थाहरुले ५५ खर्ब ३२ अर्ब रुपियाँ लगानी गरेका छन् ।
समीक्षा अवधिमा जम्मा ७८.९७ सीडी रेसिया (कर्जा, निक्षेप) अनुपात कायम गरेका बैंकहरुसँग लगानीयोग्य पुँजी (तरलता) ७ खर्बमाथि रहेको बुझिएको छ । तर बैंक तथा वित्तीय संस्थाहरुले लगानीको उपयुक्त क्षेत्र भेटिरहेका छैनन् ।
यसै परिस्थितिलाई मध्येनजर गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले अब दैनिक ९० प्रतिशत नगद मौज्दात राख्नुपर्ने व्यवस्था गर्ने भएको छ । आइतबार आर्थिक वर्ष २०८१, ८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गरेको केन्द्रीय बैंकले यस्तो जनाएको हो ।
तथापि, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ ३ खर्ब ६१ अर्ब ३ करोड (७.१ प्रतिशत) कर्जा प्रवाह भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ २ खर्ब २२ अर्ब २१ करोड (४.६ प्रतिशत) कर्जा प्रवाह भएको थियो ।
त्यसैगरी, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३ खर्ब ६८ अर्ब ४७ करोड (५.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप रु.४०९ अर्ब ४ करोड (७.२ प्रतिशत) ले बढेको थियो । २०८० चैतमा ८.५१ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत आधार दर २०८१ चैतमा ६.२९ प्रतिशतमा झरेको छ ।
त्यसैगरी, २०८० चैतमा ६.५३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर २०८१ चैतमा ४.४५ प्रतिशतमा झरेको छ । २०८० चैतमा १०.५५ प्रतिशत रहेको वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर २०८१ चैतमा ८.२२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकको निक्षेप पहिलो पटक ६९ खर्ब नाघ्यो
रिलायबल नेपाल लाइफले बीमितको परिवारलाई दियो १५ लाख दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भरतपुर ११ निवासी बिरेन्द्र कुमाल (बीमित) को मृत्युपछि परिवारलाई १५ लाख ४० हजार रूपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ।
कम्पनीका अनुसार कुमालले २०८० सालको फागुनमा हाकिमचोक शाखाबाट १५ लाख रूपैयाँको जीवन बीमा गरेका थिए। उनले पहिलो किस्ताको प्रिमियम मात्रै तिरेकोमा २०८१ साल मंसिरमा मृत्यु भएको थियो।
कम्पनीले मृतकको घरमै गएर एक कार्यक्रमको आयोजना गरी मृतककी पत्नी फूलमाया कुमाललाई बीमांक रकम १५ लाख रूपैयाँ र बोनस ४० हजार रूपैयाँ समेत गरी चेक हस्तान्तरण गरेको हो।
कार्यक्रममा भरतपुर–११ का वडाध्यक्ष कमल बहादुर मल्ल प्रमुख अतिथि रहेका थिए भने हाकिमचोक शाखा प्रमुख राजकुमार दाहालले अध्यक्षता गरेका थिए।
वडाध्यक्ष मल्लले जीवन बीमा गर्दा अप्ठ्यारो समयमा ठूलो राहत हुने भन्दै सबै नागरिकलाई आय अनुसार जीवन बीमा गर्न सुझाव दिए। उनले अहिले स्वस्थ छौं भनेर लापरवाही गर्न नहुने र भविष्यको लागि बीमा अनिवार्य गर्नुपर्ने जनाए।
मृतककी पत्नी फूलमाया कुमालले शुरूमा बीमाबारे केही नबुझेर आनाकानी गरे तापनि आफन्त तथा बीमा अभिकर्ता सदीक्षा कुमालको सुझावपछि मात्र बीमा गर्न तयार भएको बताइन्। उनले आफ्नो श्रीमान साथमा नभए पनि श्रीमानको सपना पूरा गर्न सक्ने विश्वास लागेको जनाईन।
कार्यक्रममा वडा सदस्य लालूमाया कुमाल, एजेन्सी म्यानेजर मनोज चौलागाईं, विष्णुकुमारी कुँवर, समिता दराई, तारा कुमाल, एमडीआरटी जानकी शाह श्रेष्ठलगायत स्थानीय तथा बीमा कर्मचारीहरुको समेत उपस्थिति थियो।
माओवादी केन्द्र र नेसपाबीच आज पार्टी एकीकरण हुँदै
काठमाण्डौं । नेपाल समाजवादी पार्टी (नेसपा) को गंगानारायण श्रेष्ठको नेतृत्वको समूहले सोमबार नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्दैछ ।
तत्कालीन अध्यक्ष महिन्द्र राय यादव माओवादीसँगको एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार आफ्नो नेतृत्वमा केन्द्रीय समिति बैठक राखेर पार्टी पुनर्गठन गरी एकीकरण गर्ने निर्णय गरेका थिए।
नेसपा पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट विभाजित भएको पार्टी हो।
माओवादी केन्द्रसँग एकता गर्ने वा नगर्ने विषयमा पार्टी भित्र विवाद चर्किएपछि सह–अध्यक्ष रहेका श्रेष्ठ समूहले माओवादी केन्द्रसँग पार्टी एकता गर्न लागेको हो ।
२०८० साल चैत ३ गते यादव सहितको समूहले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो ।
नेसपाका तत्कालीन अध्यक्ष भट्टराईसहित माओवादीसँग पार्टी एकता गर्ने विषयमा विवाद हुँदा २०८० चैत ३ गते पार्टी विभाजन भएको थियो । विभाजनपछि अर्का अध्यक्ष यादवको नेतृत्वमा नेसपा पुनर्गठन भएको थियो ।
गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन आग्रह गरेका छन् ।
प्रेस चौतारी नेपालका पदाधिकारी र सचिवालय सदस्यसँग सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षको प्रतिफलका रुपमा प्राप्त गणतन्त्र दिवसलाई सरकारीस्तरका साथै जनस्तरबाट पनि मनाउन आग्रह गरेका हुन् ।
नेपाल सरकारले यही जेठ १५ गतेको गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षताका मूल आयोजक समितिको समेत गठन गरेको छ ।
‘गणतन्त्र दिवस, जनताको दिवस हो । यसलाई जातजातिगत विविध बाजागाजा र झाँकीसहित हरेक ठाउँबाट उत्सवका रुपमा मनाउनुपर्छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘जनताले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका पक्षमा हामी छौँ र यसका लागि सञ्चार क्षेत्रबाट जनताका बीचमा सही सूचना दिएर प्रचारप्रसार गरिनुपर्दछ ।’
सोमबार सम्पन्न एमालेको सचिवालयको बैठकले पनि गणतन्त्र दिवसलाई सांस्कृतिक झाँकीसहित मनाउने निर्णय गरेको थियो । निर्णयको कार्यान्वयनका क्रममा सञ्चारमाध्यम र डिजिटल मिडियामा समेत प्रचारप्रसार गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड दिए ।
प्रधानमन्त्री ओलीले आफूलाई देशभक्तहरु प्यारो लाग्ने र देशद्रोही तथा प्रतिक्रियावादीहरु मन नपर्ने स्पष्ट गर्दै जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सत्य र परिवर्तनका पक्षमा सम्झौता नगर्न आग्रह गरे ।
प्रमथ महिला राधिका शाक्यसमेत सहभागी भेटमा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले आफूहरु नेतृत्वमा आएपछि वर्ष २०८२ लाई प्रशिक्षण वर्षका रुपमा मनाउने लगायतको योजनाहरु प्रस्तुत गरेका थिए ।
कांग्रेस पदाधिकारी बैठक ९ बजे बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्नेछ ।
समसमायिक राजनीतिक विषय तथा गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादमा परेपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो । पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले यस विषयमा पदाधिकारी बैठकमा जानकारी गराउनेछ ।
क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ ।
रोशनी शाही मृत फेला
काठमाण्डौं । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाही मृत फेला परेकी छन् ।
सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेकी जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
उनका श्रीमान् विराटनगरमा रहेकाले खबर गरेर बोलाइएको प्रहरीले जनाएको छ ।
गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय
काठमाडौं । नेकपा (एमाले) को ५२औं सचिवालय बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ ।
आज पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
बैठकपछि महासचिव पोखरेलले भने,‘ आजको बैठक समसामयीक विषयमा केन्द्रित थियो । बैठकले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । यस अवसरमा जनसमुदायलाई पनि गणतन्त्र दिवस उत्साहपूर्वक मनाउन आह्वान गरिएको छ ।’
साथै उनले, पार्टीका तर्फबाट मात्रै नभइ, स्थानीय तहका पालिकाहरूका तर्फबाट पनि गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने जनाए । पालिकास्तरमै विविध सांस्कृतिक तथा राजनीतिक कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको पोखरेलले जनाए ।
एमालेले गणतन्त्र दिवसलाई जनस्तरमा अझ व्यापक बनाउने उद्देश्यले स्थानीय तहका कार्यकर्ताहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन समेत दिएको छ ।
एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल
काठमाडौं । सत्ताधारी दल नेकपा (एमाले) र नेपाली काँग्रेसका शीर्ष नेताहरूबीच छलफल भएको छ ।
प्रधानमन्त्रीसहित दुई दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेल सहभागी भएका छन् भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, मन्त्रीहरू रमेश लेखक, आरजु राणा देउवा र रामनाथ अधिकारी छन्।
शीर्ष नेताहरूबीच समसामयिक विषयमा छलफल भएको जनाईएको छ ।
गुणाकर भट्टसहित ३ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर
काठमाडौं । नेपाल राष्ट्र बैंक ३ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ ।
नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट, डा. रामशण खरेल र विश्रुत थापाको जिम्मेवारी हेरफेर गरेका हुन् ।
गभर्नरको दौडमा रहेका भट्टले यसअघि राजीनामा दिए पनि उक्त राजीनामा स्वीकृत भए । उनको राष्ट्र बैंकको सेवा अवधि आगामी असोज १७ सम्म छ ।
यसअघि अनुसन्धान विभागको जिम्मेवारी सम्हाल्दै आएका भट्टलाई गभर्नरको कार्यालयमा तानिएको छ ।
त्यस्तै अनुसन्धान विभागको प्रमुखमा कार्यकारी निर्देशकमा डा। रामशरण खरेल र बैंकिङ कार्यालयमा रहेका विश्रुत थापालाई जनशक्ति व्यवस्थापन शाखामा पठाइएको छ ।
ग्लोबल आइएमई बैंकको ग्लोबल स्काई क्लव कार्डबाट यति एयरमा टिकट काट्दा शत प्रतिशत क्यासब्याक
काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरुलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ ।
काठमाडौँमा आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्तरुपमा उक्त कार्डको अनावरण गरेका छ ।
ग्लोबल स्काई क्लब कार्डवाहकहरुले यती एअरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउने छन भने यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याक स्वरुप निःशुल्क टिकट पाइनेछ ।
यसका साथै, ग्लोबल स्काई क्लब कार्ड लिँदा १०० प्वाइन्ट बोनश प्राप्त हुनेछ । बोनश प्वाइन्ट विभिन्न छुट तथा सुविधाहरुको लागि प्रयोग गर्न सकिनेछ ।
ग्लोबल स्काई क्लब कार्डमार्फत पोस वा ई–कम बाट हुने कारोबारमा पनि प्रत्येक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ । कार्डबाहक ग्राहकहरुले चेक–इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौल भन्दा थप ५ केजी तौल लैजाने सुबिधा पनि पाउने छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सबीचको यस सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने उल्लेख गरे ।
त्यसैगरी, यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले ग्लोबल आइएमई बैंकसँगको यस सहकार्यबाट बैंक र एअरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राहीलाई सुविधा पुग्ने जनाए ।
कार्यक्रममा ग्लोबल आइएमई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा यती एअरलाइन्सका अकाउन्टेबल म्यानेजररचिफ बिजनेस अफिसर युवराज विष्टले एकआपसमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै भविष्यमा दुई संस्थाबीच ग्राहक तथा सेवाग्राहीलाई सुविधा प्रदान गर्ने गरी थप सहकार्य हुने विश्वास व्यक्त गरे ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ । त्यसैगरी, नेपालको अग्रणी हवाई संस्था यती एअरलाइन्सले विगत २६ वर्षदेखि अनवरतरुपमा यात्रुलाई सेवा दिँदै आइरहेको छ ।
हाल ७ वटा एटीआर विमानहरुबाट यतीले नेपालका सुगम क्षेत्रहरु लगायत पर्वतीय उडान मार्फत वार्षिक १० लाखभन्दा बढी यात्रुहरुलाई सेवा दिइरहेको छ ।