काठमाडौं । वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारी, वडा नं ३ लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
यस्तै, नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको बाढीले डाइभर्सन नै बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
त्यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बर्लबामा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ भने जुम्लाको सिंजामा पहिरो खस्दा बन्द गराएको जुम्ला–मुगु सडक र धनकुटाको साँगुरीगढी गाउँपालिका–५ को रवि–राके–भेडेटार सडक एकतर्फी खुलाइएको छ ।
अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
वर्षाका विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ । प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
आइतबारको बैठकमा संसदको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको कारवाही अघि बढेको थियो।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले प्रतिनिधिसभाको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन पेस गरे।
त्यस्तै राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा पुगेको ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ टेबुल भयो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२, ०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गरे।
आजको बैठकमा भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनु पर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका थिए।
अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक छाडेर बाहिरिएका थिए।
तीनकुने घटनामा राप्रपा महामन्त्री धवलशम्शेर ३ लाख धरौटीमा रिहा
काठमाण्डौं । राजधानी काठमाण्डौं तीनकुनेमा भएको हिंसात्मक घटनामा मुछिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशम्शेर राणा ३ लाख धरौटीमा रिहा भएका छन् ।
थुनछेक बहसपछि काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालले धरौटीमा मागेका हुन् ।
घटना संलग्न रहेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित आरोपीहरूलाई यसअघि पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
काठमाण्डौं । सामाजिक सञ्जाल यूट्युबमा पोस्ट भएको भिडियोलाई लिएर पक्राउ पूर्जी जारी भएका पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदातल पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलाशले सोमबार पाठकलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो ।
पक्राउ पुर्जी जारी भएपछि पाठकले दायर गरेको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
अन्तरिम आदेशलाई दिने वा नदिने सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई असार ५ गते छलफलका लागि बोलाइएको छ ।
रिलायबल नेपाल लाइफको आठौं वार्षिक सभा सम्पन्न
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सभा आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा सम्पन्न भएको हो ।
उक्त सभाले हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड रूपैयाँको १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।
यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियक्ति गरेर निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याएको छ।
बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख पुग्ने भएकाले सोही बमोजिम गर्न र नियमनकारी निकायबाट निर्देशन भएमा वा आवश्यक परेमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले पारित गरेको छ।
सभामा उठेका शेयरधनीहरुका विभिन्न जिज्ञासाहरुको उत्तर दिदै अध्यक्ष श्रेष्ठले कम्पनीका वित्तीय सूचांकहरु अब्बल बन्दै गएको जनाएका छन् । उनले आउँदा दिनहरुमा पनि शेयरधनीहरुलाई उचित प्रतिफल दिने प्रतिवद्धता जनाउँदै सम्पुर्ण कर्मचारी, शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २६ गते १ दिन बुक क्लोज गरिसकेकोले जेठ २५ गतेसम्म कायम शेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।
ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।
यो सेयर खरिदका लागि आजदेखि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवदेन दिन पाउने छन् । तर, बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई द सोल्टी होटलमा विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित द सोल्टी होटल एण्ड रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले द सोल्टी होटल एण्ड रिर्सोटको सम्पूर्ण आउटलेटमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् । यो सुविधा प्राप्त गर्न ग्राहकहरूले सोल्टी हेरिटेज क्लबमा पहिलो पटक आफ्नो नाम दर्ता भने गराउनुपर्नेछ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ३ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
काठमाडौं । एनएमबि बैंक तथा काङ हाइड्रोपावर कम्पनीबीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ्ग जिल्ला, मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
एनएमबि बैंकको तर्फबाट दिनेश दुलाल – चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग तथा काङ हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरे ।
हस्ताक्षर पश्चात एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, तथा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्र आदान प्रदान गरे ।
सोही कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समय सिमा भित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखि सोको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गरे ।
गणेश प्रसाद सुब्बाले एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै माथिल्लो मैवा खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता समेत जाहेर गरी कार्यक्रमको समापन गरे ।
केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, पाइलटसहित ७ जनाको मृत्यु
काठमाडौं । भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा पाइलटसहित सबै ७ यात्रुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केदारनाथबाट गुप्तकाशी उडान भरेको आर्यन एभिएसनको हेलिकप्टर गौरीकुण्डको जंगलमा दुर्घटनाग्रस्त भएको हो ।
हेलिकप्टर केदारनाथ मन्दिरबाट तीर्थयात्री बोकेर गुप्तकाशी उडेको थियो । प्रारम्भिक जानकारी अनुसार खराब मौसम दुर्घटनाको कारण भएको जनाईएको छ ।
उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार हेलिकप्टरमा सवार यात्रुहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका थिए ।
मन्त्रिपरिषद् बैठकबाट मधेस सरकारको बजेट पारित
जनकपुर । मधेस प्रदेश मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको छ ।
आगामी आर्थिक वर्षका लागि तयार पारिएको बजेट आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट पारित गरेको मुख्यमन्त्री सतिस सिंहले जनाए ।
उनका अनुसार बैठकले ४७ अर्बभित्र रहेर बजेट ल्याउने निर्णय गरेको छ । बजेट पारित भएसँगै अब प्रदेश सरकारको तर्फबाट अर्थमन्त्रीले सदनमा बजेट प्रस्तुत गर्नेछन् ।

















