काठमाडौं । गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा चार हजार २०० रुपैयाँले वृद्धि भएको छ भने चाँदीमा १५ रुपैयाँले बढोत्तरी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
गत मङ्गलबार एक तोला सुन एक लाख ९० हजार रुपैयाँ तथा सोही परिमाणको चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सुनको मूल्य ४ हजार २ सय रुपैयाँले बढ्यो
न्यायाधीश थारुलाई मोसो दल्ने तीन जना पक्राउ
काठमाडौं । मान्छेलाई जिउँदै इट्टा भट्टामा जलाएर हत्या गरेको आरोप लागेका आफ्तफ अलालमलाई उच्च अदालत जनकपुर वीरगञ्ज इजलसबाट सफाइ दिने न्यायाधीश खुसीप्रसाद थारुलाई मोसो दल्ने तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालकाअनुसार पक्राउ पर्नेमा गर्भु महतो, पदमबहादुर मगर र अविनाश भन्ने किशोर कुमार छन्। बिहीबार दिउँसो करिब ४ बजेतिर वीरगन्जमा इजलास बसिरहेको समयमा थारुमाथि उनीहरूले मोसो फालेका थिए।
उनीहरूले नेकपा बहुमत पार्टी जिन्दावाद, जनताको कर खाएर जनताविरुद्ध फैसला गर्न पाइँदैन भन्दै मोसो फालेका थिए।
जेठ १४ गते न्यायाधीश थारु र अर्का न्यायाधीश अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो।
रौतहट जिल्ला अदालतका तत्कालीन न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान कसुरमा उनलाई दोषी ठहर गरेको थियो। त्यसलाई उट्याउँदै थारु र महर्जनको इजलासले सफाइ दिएपछि जनमानसमा असन्तुष्टि पैदा भएको थियो।
संविधान सभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवार मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो। विष्फोटमा परी घाइते भएकालाई इट्टा भट्टामा लगेर जलाइएको दाबी गरिएको छ।
भारतको अहमदावाद विमान दुर्घटनामा सबै २४२ यात्रुको मृत्यु
काठमाडौं । भारतको अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा सबै २४२ जना यात्रुको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार विमानमा सवार सबै २४२ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले गुजरात प्रहरीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।
विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानेडियन नागरिकसहित जम्मा २३० यात्रु थिए । बाँकी १२ जना चालक दलका सदस्य थिए ।
दुर्घटनास्थलमा भेटिएका अधिकांश शवहरू जलेका छन् । डीएनए परीक्षण पछि मात्र उनीहरूको पहिचान सम्भव हुने समाचारमा उल्लेख छ ।
विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि मृत्यु भएको छ ।
विमान अहमदावादको सिभिल अस्पतालका डाक्टरहरू बस्ने भवनसँग ठोक्किएको थियो । दुर्घटनाको समयमा भवनमा ५० देखि ६० डाक्टरहरू उपस्थित थिए, जसमध्ये १५ जनाभन्दा बढी घाइते भएका छन् ।
प्रतिपक्षीको अवरोधका कारण संसद बैठक स्थगित, शुक्रबार बस्ने
काठमाडौं । प्रतिपक्षीले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबार सम्मका लागि स्थगित भएको छ ।
बिहीबार प्रतिनिधिसभा सुरु हुने बितिकै प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध जनाएका हुन् ।
उनीहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसद सांसदहरुको बोल्ने थलो भएकाले जनताको मुद्दामाथि बहस गर्ने वातावरण बनाउन आग्रह गरे ।
संघर्षको स्वरुप परिवर्तन गर्दै संसद सञ्चालन हुने अवस्था सिर्जना गर्न समेत उनले आग्रह गरेका थिए । प्रतिपक्षी दलका सांसदले निरन्तर उठेर विरोध जनाएपछि सभामुख घिमिरले कार्यसूचीमा रहेका कार्यक्रमलाई हटाउँदै शुक्रबार १ बजे बस्नेगरि स्थगित गरेका हुन् ।
सिटिजन्स बैंकद्वारा सुदूरपश्चिम प्रदेशमा वृक्षारोपण
काठमाडौं । ‘बिट द प्लाष्टिक’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवर्द्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार सुदूरपश्चिम प्रदेशको धनगढीमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वातावरण दिवस २०२५ को अवसरमा बृहत वृक्षारोपण कार्यक्रम वडा नम्बर ३ कार्यालय परिसर, धनगढीमा १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको बैंकले जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरुमा स्वस्थ्य शिविर सञ्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख ९८ हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकमा इन्जिनियर्स एसोसिएसनका सदस्यहरुलाई बिशेष छुट
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) बीच व्यावसायिक साझेदारीको सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमकाबीच बैंक र एसोसिएसन बीच विस्तारित बैंकिंग सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसनका तर्फबाट अध्यक्ष ई सुभाष चन्द्र बरालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापछि एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई बैंकले प्रदान गर्ने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिनेछ । सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरुमार्फत प्रोफेशनल बचत खाता खोलि १० लाखको दुर्घटना बीमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिट क्रेडिट कार्ड, मोबाइल बैकिङ्गमा विशेष छुटको व्यवस्था प्रदान गरिने कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।
यो सम्झौताबाट नेपाल इन्जिनियर्स एसोसिएसनका (एनईए) सदस्यहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने पनि बैंकले जनाएको छ ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका लाभग्राहीलाई मेडिसिटि हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले मेडिसिटि हस्पिटलमा उपचारसेवा लिदा १० प्रतिशत छुट पाउने भएका छन् । राजधानीमा बिहीबार एक कार्यक्रमकाबीच दुई संस्थाबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार लाभग्राहीले हस्पिटलमा हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत समेत प्राप्त गर्न सक्नेछन्। उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्ने जनाइएको छ।
यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
ग्लोबल आइएमईको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
काठमाडौं । ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्किम’ शुरु गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका हुन् ।
‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’मार्फत पहिलो पटक यती एअरलाइन्सको टिकट खरीद गर्दा ‘निःशुल्क’ उपलब्ध हुने भएको छ । साथै, नियमित कार्ड प्रयोग गरी कारोबार गर्दा ग्राहक तथा यात्रुले विशेष छुट, बोनस पोइन्ट, प्राथमिक चेक–इन सेवा, अतिरिक्त तौल सुविधालगायत प्राप्त गर्नेछन् ।
यसले ग्लोबल आइएमई बैंकका ग्राहकलाई सरप्राइज प्याकेज सहित नवीन सुविधाको अनुभव गराउने कम्पनीको विश्वास छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकले ग्लोबल स्काई क्लब कार्डमार्फत यती एअरलाइन्सको पहिलोपटक टिकट खरिद गर्दा पूरै रकम बराबर क्यासब्याक दिइने भएको छ । त्यसैगरी, कार्डबाहक ग्राहकले यती एअरलाइन्सको कुनै पनि टिकट खरीद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।
कसरी फाइदा लिने कार्डबाट ?
बैंकका अनुसार कार्ड जारी गर्ने समयमा ग्राहकले १०० बोनस पोइन्ट पाउँछन् । यस्तो बोनस छूट, पुरस्कार वा अन्य सेवा उपयोगमा प्रयोग गर्न सकिनेछ । कार्डका माध्यमबाट पीओएस (प्वाइन्ट अफ सेल) वा ई–कमर्स प्लेटफर्ममा खरिद गर्दा हरेक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ । यसले डिजिटल कारोबारलाई प्रोत्साहन मात्र गर्ने छैन, साथमा कार्ड प्रयोगकर्तालाई बारम्बार फाइदा लिने अवसर समेत दिनेछ ।
विमानस्थलमा प्राथमिकता, ५ किलोग्राम अधिक तौल सुविधा
ग्लोबल स्काई क्लब कार्डबाहकले विमानस्थलमा समेत प्राथमिकता पाउनेछन् । यती एअरलाइन्सका अनुसार चेक–इन तथा बोर्डिङ प्रक्रिया छिटोछरितो गराइने छ । यस्तो कार्डबाहक यात्रुले लगेजमा समेत अधिकतम तौल सीमा भन्दा ५ किलोग्राम अतिरिक्त सामान बोक्न पाउने सुविधा यती एअरलाइन्समा पाइने भएको छ । बढी तौलको लगेजका साथ यात्रा गर्ने यात्रुलाई यो सुविधा निकै फलदायी हुने बैंकको विश्वास छ ।
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि मतदान सुरु
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ ।
केहीबेरअघिदेखि विद्युतीय मेसिनबाट मतदान सुरु भएको हो । निर्वाचनमा ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।
नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाले उम्मेदवारी दिएका छन् । एक जना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।
यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिएकी छन् ।
महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् ।
कीर्तिपुरमा जारी २४औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन हुन लागेको हो ।
लस एन्जलसमा कर्फ्यु हटाइयो, ४ सय पक्राउ
काठमाण्डौं । अमेरिकाको लस एन्जलसमा बुधबारदेखि कर्फ्यू हटाइएको छ । कर्फ्यू हटेपछि बिस्तारै शान्ति फर्किएको छ। यद्यपि, अमेरिकाभरका अन्य शहरहरूमा थप प्रदर्शनको तयारी भइरहेको जनाएको छ ।
धेरै दिनको विरोध प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा कर्फ्यु लगाइएको पहिलो रातमा नै ४०० जनालाई जना पक्राउ परेका छन्।
यसरी गिरफ्तार भएका मध्य ३३० जना कागजात नभएका आप्रवासी छन्। अन्य १७० जनालाई तोडफोडका कारण गिरफ्तार गरिएको ट्रम्प प्रशासनले जनाएको छ।
प्रहरी अधिकारीको ज्यान लिने प्रयास गरिएको आरोपमा पनि गिरफ्तार गरिएको छ। दुई भिन्न घटनामा प्रहरी अधिकारीमाथि विस्फोटक ककटेल प्रहार गरिएको आरोपमा पनि दुई जनालाई गिरफ्तार गरिएको हो।
प्रदर्शनपछिको वातावरणलाई नियन्त्रणमा लिन ४ हजार राष्ट्रिय सुरक्षा गार्ड र ४ सय समुद्री सेना तैनाथ गरिएको छ । लस एन्जलसकी मेयर कारेन बासले राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण स्थिति असहज बनेको बताएकी छिन्। उनले शान्त रहेको सहरमा शुक्रबार आप्रवासी धरपकड सुरु गरेर अशान्त बनाएको आरोप लगाएकी हुन्।
बासले मंगलबार शहरमा व्यापार नै प्रभावित भएका कारण कर्फ्यु घोषणा गरेकी थिइन्। प्रहरी प्रमुख जिम म्याक डोनाल्डले केही स्थानमा असामान्य अवस्था आइसकेको जनाएका थिए। अमेरिकी महान्यायाधिवक्ता पाम वियोन्डीले ह्वाइट हाउसमा बोल्दै यस असहज अवस्थालाई हटाउन कर्फ्युले धेरै सहयोग गरेको जनाए।
राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड तथा समुद्री सेना तैनाथ गर्ने निर्णयलाई गेभिन न्युसमले प्रजातन्त्र माथिको प्रहार भनेका छन्।

















