काठमाडौं । एनएमबि बैंक तथा मन्दाकिनी हाइड्रोपावर लिमिटेडबीच २.९ मेगावाट क्षमताको कास्की माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
यस आयोजनामा बैंकको एकल ऋण लगानी रहेको छ । २.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको करिब लागत रु. ६६ करोड १८ लाख ९४ हजार रहने जानकारी गराईएको छ भने बैंकको ऋण लगानी रु. ४६ करोड ३३ लाख २५ हजार रहनेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमानै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरेकोमा उक्त कम्पनीका अध्यक्ष शरदकुमार दाहालले वित्तिय व्यवस्थापनमा सहयोग गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे ।
साथै, माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा नै सम्पन्न गर्ने विचार व्यक्त गरे । यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अगाडि बढउने प्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरद्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रबर्द्धित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले वि.स. २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुचारु भईरहेको र उक्त आयोजनामा समेत बैंकको अगुवाईमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दिए ।
एनएमबि बैंकले माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ४६ करोड ३३ लाख लगानी गर्ने
नाउपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई
कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलाले पाएका छन् । अध्यक्ष रञ्जिता श्रेष्ठले पोखरा महानगरपालिका ६ कास्कीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन् ।
नागरिक उन्मुक्ति पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । नभए ११ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठकबाट थप निर्णय लिने चेतावनी दिएका थिए ।
२४ घण्टाभित्र केन्द्रीय समिति बैठक आह्वान नगरेर अध्यक्ष श्रेष्ठले विधानको सुविधा प्रयोग गर्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी हुन् ।
‘मैले मेरो अधिकार र विधान अनुसार जिम्मेवारी दिएकी हुँ ’ उनले भनिन् । केही दिनदेखि अस्वस्थ भएको र त्यसले पार्टीका दैनिक कार्य सञ्चालनमा असहजता भएको भन्दै उनले बास्तोलालाई कार्यबहाकको जिम्मेवारी दिएको उल्लेख गरेकी छन् ।
‘नागरिक उन्मुक्ति पार्टीको विधान २०७८ को धारा २० को उपधारा (४) अनुसार, पार्टीका वरिष्ठ नेता श्री शिव बास्तोला लाई कार्यवाहक अध्यक्ष को जिम्मेवारी तोकिएको छ’ उनले दिएका पत्रमा उल्लेख गरिएको छ । उनले कार्यवाहक अध्यक्षलाई आफ्नो सबै अधिकारहरू प्रत्यायोजन गरेकी छन् ।
‘तपाईँले पार्टीको विधानको अधीनमा रही अध्यक्षको रूपमा सम्पूर्ण अधिकार तथा कर्तव्यहरू निर्वाह गर्नुहुनेछ र पार्टीका गतिविधिहरूलाई सफलतापूर्वक अगाडि बढाउनुहुने छ भन्ने विश्वास लिएको छु’ उनले दिएको पत्रमा उल्लेख गरिएको छ ।
आजै नाउपा बहुमत केन्द्रीय सदस्यहरूको बैठक आह्वान गरिएको छ । आजै उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेतालाई दिइएकी छन् । यो विषयले नाउपाको शक्ति सङ्घर्ष अझै पेचिलो हुने देखिन्छ ।
कांग्रेस नवप्रवर्द्धनमार्फत सामाजिक रुपान्तरणको पक्षमा उभिँदै आएको देउवाको दाबी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवप्रवर्द्धनमार्फत सामाजिक रुपान्तरणको पक्षमा कांग्रेस उभिँदै आएको दाबी गरेका छन् ।
नेपाली कांग्रेस विज्ञान तथा सूचना प्रविधि विभागले आइतबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आर्टिफिसियल इन्टेलिजेन्स लगाएत नयाँ प्रविधिबाटै मुलुकको बिकासमा योगदान पुग्न सक्ने समेत जनाए ।
उनले कांग्रेसले सूचना प्रविधिका माध्यमबाट आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्नका साथै बिशेषगरि जनतालाई केन्द्रमा राखेर उपलव्धी केन्द्रीत प्रविधि मैत्री नीति अपनाउने पक्षमा रहेको धारणा राखे । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउन सके नेपाल धेरै अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।
उनले घरघरमै इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, डिजिटल शिक्षा,स्वास्थ्यसेवा र प्रविधिमैत्री योजनाहरुले जनताको जीवनशैली सरल र समावेशी बनाउँदै ल्याएको धारणा राखे ।
प्राविधिक कारणले भएको विद्युत आपूर्ति समस्यालाई लोडसेडिङ भन्न मिल्दैन ः प्राधिकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्राविधिक कारणले भएको विद्युत आपूर्ति समस्यालाई लोडसेडिङ भन्न नमिल्ने जनाएको छ ।
आज विज्ञप्ति जारी गर्दै प्राधिकराले ट्रान्सफर्मरको काम गर्दा भएको लाइन अवरुद्धलाई लोडसेडिङको हल्ला फैलाइएको जनाएको हो ।
प्राधिकरणले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चनौली वितरण केन्द्रअन्तर्गतका केही क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या प्राविधिक कारणले भएको र यसलाई लोडसेडिङ भन्न नमिल्ने स्पष्ट पारेको हो ।
चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत् आपूर्ति गर्ने चनौली ३३, ११ के.भी. सबस्टेसन तथा भरतपुरबाट आउने ३३ के.भी. लाइनमा अत्यधिक लोड बढेकाले विद्युत् आपूर्तिमा समस्या देखिएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले भ्रामक सूचनाहरूबाट आम उपभोक्तामा अन्योल सिर्जना भएको भन्दै विज्ञप्तिमा भनेको छ, ‘लोडसेडिङ नेपालका लागि इतिहास भएको र सही समाचार सम्प्रेषण गर्दा गरिएको अतिरञ्जना यो फर्किने अवस्था नरहेको हुँदा गलत आशयका साथ छरिएको भ्रमबाट आम उपभोक्ताहरूमा पर्न गएको अन्योलप्रति प्राधिकरण सचेत रहेको छ ।’
नेशनल लाईफद्वारा तोकिएको लक्ष्य पूरा गर्नेहरुका लागि गाला कन्सर्ट सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कं. लि. ले गत जेठ महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुको लागि भैरहवाको होटल सिद्धार्थ भिलासामा नेशनल लाईफ गाला कन्सर्ट सम्पन्न गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको सो कार्यक्रममा विभागीय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३५० जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई स्ट्रेस म्यानेजमेण्ट सम्वन्धि प्रशिक्षण समेत प्रदान गरिएको थियो । प्रशिक्षणका क्रममा चर्चित प्रशिक्षक रामहरी पौडेलले तनाव व्यवस्थापन गर्ने विभिन्न आयामहरु प्रस्तुत गरेका थिए ।
सो पश्चात् मनोरञ्जनात्मक एवं सांगितिक प्रस्तुतीले भरिपूर्ण गाला कन्सर्टमा स्ट्याण्ड अप कमेडीयन सुमन कोईरालाको कमेडी प्रस्तुती सहित नेपालका चर्चित कलाकारहरु प्रकाश सपुत, समीक्षा अधिकारी, बावुल गिरी र भोजपुरी गायक सोनुकुमार मण्डलको बेजोड सांगितिक प्रस्तुती रहेको थियो । यसैगरी चर्चित डि.जे. डिजे अमुको प्रस्तुतीमा अभिकर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
भव्य रुपमा आयोजना गरिएको उक्त गाला कन्सर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ताहरुको माग तथा चाहानालाई मध्येनजर गर्दै गत साल भव्य रुपमा सफल भएको गाला कन्र्सटलाइ निरन्तरता दिएको र यस योजनालाई देशैभरीका अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको पनि जनाए ।
आइएमई मोटर्सले पायो ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’
काठमाडौँ ।आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ ।
आइएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिरहँदा प्राप्त यो सम्मानले दुई बीचको सहकार्यमा थप ऊर्जा भरेको छ ।
उक्त अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास, र उत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले भरिएको आईएमई मोटर्सको दश वर्षे यात्रालाई अझ विशेष र अर्थपूर्ण बनाएको छ ।
यो पुरस्कारले ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता, र अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डमा आइएमई मोटर्सले पुराएको उत्कृष्ट योगदानलाई उच्च सम्मान प्रदान गरेको हो ।
आइएमई मोटर्सका सर्भिस प्रमुख मित्रकुमार श्रेष्ठले यो पुरस्कार हाम्रा प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल रहेको जनाए। हामी भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहने पनि सर्भिस प्रमुख श्रेष्ठले उल्लेख गरे ।
आइएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डबाट सम्मानित हुदाँ आइएमई मोटर्सको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतामा थप टेवा पुगेको जनाए । निरन्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्न यो अवार्डले थप उत्साह थपेको कार्यकारी निर्देशक ढकालले उल्लेख गरे ।
अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले अशोक लेल्यान्डसँगको साझेदारीको १० वर्षको सफल यात्रा मनाउँदै गर्दा प्राप्त यो सम्मानले सहकार्यको मजबूत र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने साझा प्रतिबद्धतालाई झल्काएको जनाए ।
अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलन हो, जसमा नवप्रवर्तन, सञ्चालन दक्षता, र समग्र योगदानको आधारमा विश्वभरका साझेदारहरूलाई सम्मान गरिन्छ ।
हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघद्वारा आयोजित नेतृत्व विकास तथा अभिबृद्धि तालिम सम्पन्न
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघले आयोजना गरेको ‘कर्मचारी नेतृत्व विकास तथा अभिबृद्धि तालिम कार्यक्रम’ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय तथा विभिन्न प्रदेशहरुमा कार्यरत १६० जना कर्मचारीहरुको सहभागितामा शनिवार काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न भएको हो । हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णले कार्यक्रमको उद्घाटन गरेका थिए ।
नेपाल बीमा प्राधिकरणका पुर्व अध्यक्ष फत्त बहादुर केसीले कार्यक्रमलाई सम्बोधन गर्दै बीमा क्षेत्रका अवसर चुनौती र आगामी दिनको कार्यदिशा विषयमा कर्मचारीहरुलाई प्रशिक्षण दिएका छन् ।
त्यस्तै, वरिष्ठ अधिवक्ता डा. रेशम राज रेग्मीले बीमा क्षेत्रमा कर्मचारी ट्रेड युनियनका अधिकार तथा श्रम ऐनमा देखिएका चुनौतीहरुको समिक्षा गरेका छन् । उनले श्रम कानुन कार्यान्वयनमा रहेका बाधा, अड्चन लगायतका कुराहरुमा प्रकाश पारेका थिए ।
साथै, डा. रविन कटुवालले कर्मचारीहरुले उत्प्रेरणा सम्बन्धि प्रशिक्षण दिएका छन् । सहभागी कर्मचारीहरुको मनोबल, हौसला बृद्धिका साथै क्षमता विकास कसरी हुन्छ ?, सही र समय सापेक्ष निर्णय कसरी लिन सकिन्छ ?, कर्मचारी भएपछि इमान्दारीता, कर्तव्यनिष्ट बनी कसरी उत्कृष्ट कार्य सम्पादन गर्न सकिन्छ ?, लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सहभागी बनेका कर्मचारीहरुले नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रमले मनमा उब्जेका सयौं खुल्दुली मेटिएको र आउँदो दिनमा कुनै पनि समस्या आउँदा सही र सरल तरिकाले निर्णय लिनसक्ने क्षमताको विकास भएको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रमममा नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष फत्त बहादुर केसी, वरिष्ठ अधिवक्ता डा. रेशम राज रेग्मी, डा. रविन कटुवाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्ण, नायब प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल, कर्मचारी संघका अध्यक्ष हरि बहादुर खड्का लगायत उच्च व्यवस्थापकी र प्रदेश तहका कर्मचारीहरुको सहभागिता थियो ।
सानिमा रिलायन्स लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ भव्य रुपमा सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्टार एजेन्सी मिट २०८२ सम्पन्न भएको छ । शनीबार काठमाडौंको कोटेश्वरमा रहेको होटल ए वन भेन्यूमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
काठमाडौं उपत्यकासहित चार रिजनका अभिकर्ताहरुको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ४ वटा रिजनका ६ सय जनाबढी अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
कम्पनीले अभिकर्ताहरुलाई प्रोत्साहन गर्न तथा क्षमता अभिबृद्धिको लागि दक्ष क्षमतावान प्रशिक्षकबाट तालिमसमेत प्रदान गरेको छ । कम्पनीले प्रदान गरेको उक्त तालिमले आउँदो दिनमा अझै उत्साहजनक रुपले व्यवसाय गर्न उर्जा मिलेको सहभागी अभिकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले अभिकर्ताहरुलाई हौसला प्रदान गर्नुका साथै आउँदो दिनमा पनि अभिकर्ताहरुको क्षमता अभिबृद्धि तथा विभिन्न तालिम लगायतका विषयलाई निरन्तरता दिदै जाने जनाए ।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कडेल, चिफ बिजनेश अफिसर गुनराज श्रेष्ठ, सूर्य प्रसाद गुप्ता, सन्दिप कजासु लगायत उत्कृष्ट अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
जसको प्रभावले हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागका आंशिक बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राष्ट्रियसभाको बैठक आज १ः१५ बजे बस्दै
काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।
आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ।
यस्तै, आजै पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्व्यन अनुमगन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक बस्दैछ।
अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल हुनेछ। चालु आवको बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए÷नभएको अवस्था र आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीका बारेमा समितिमा छलफल गरिनेछ।
यस्तै, कृषि सहकारी समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा विज्ञसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। लेखा समितिको बैठकमा ‘महालेखापरीक्षकको ६१ र ६२औँ वार्षिक प्रतिवेदन’उपर छलफल हुनेछ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्व्यन अनुमगन तथा मूल्याङ्कन समिति (संयुक्त) मा सिंहदरबारस्थित निर्माणाधिन सङ्घीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारीसम्बन्धमा छलफल हुनेछ।