काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्राविधिक कारणले भएको विद्युत आपूर्ति समस्यालाई लोडसेडिङ भन्न नमिल्ने जनाएको छ ।
आज विज्ञप्ति जारी गर्दै प्राधिकराले ट्रान्सफर्मरको काम गर्दा भएको लाइन अवरुद्धलाई लोडसेडिङको हल्ला फैलाइएको जनाएको हो ।
प्राधिकरणले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चनौली वितरण केन्द्रअन्तर्गतका केही क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या प्राविधिक कारणले भएको र यसलाई लोडसेडिङ भन्न नमिल्ने स्पष्ट पारेको हो ।
चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत् आपूर्ति गर्ने चनौली ३३, ११ के.भी. सबस्टेसन तथा भरतपुरबाट आउने ३३ के.भी. लाइनमा अत्यधिक लोड बढेकाले विद्युत् आपूर्तिमा समस्या देखिएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले भ्रामक सूचनाहरूबाट आम उपभोक्तामा अन्योल सिर्जना भएको भन्दै विज्ञप्तिमा भनेको छ, ‘लोडसेडिङ नेपालका लागि इतिहास भएको र सही समाचार सम्प्रेषण गर्दा गरिएको अतिरञ्जना यो फर्किने अवस्था नरहेको हुँदा गलत आशयका साथ छरिएको भ्रमबाट आम उपभोक्ताहरूमा पर्न गएको अन्योलप्रति प्राधिकरण सचेत रहेको छ ।’