काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न निर्देशन दिएका छन्।
कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न अध्यक्ष ओलीले निर्देशन दिएका हुन् ।
शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा लामो छलफलमा अध्यक्ष ओलीले कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरूलाई यस्तो निर्देशन दिएका हुन्।
भर्खरै सम्पन्न एमालेको नवौँ केन्द्रीय कमिटी बैठकमा कर्णालीले एकताबद्ध भएको सन्देश प्रवाह गरेकोमा धन्यवाद दिँदै अध्यक्ष ओलीले संघर्षपूर्ण इतिहासमा ठूल्ठूला तुफानहरूको सामना गरेर आएको एमालेका लागि पछिल्लो पटक देखाउन खोजिएको सानो हावाको झोक्काले केही असर नपार्ने जनाए ।
‘सिंगो एमाले र पार्टीका नेताहरू संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधीबेहरी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं,’ ओलीले भने, ‘अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो। सामान्य रूपमा समाधान हुन्छ।
तपाईँहरू यसमा अल्मलिनुभन्दा आ–आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस्।’
राष्ट्रिय राजनीतिमा पार्टीले पछिल्लो समय लिएको नीति र देश विकासमा पार्टी नेतृत्वमा गठन भएको सरकारले गरेका लोकप्रिय कामहरू देखेर अत्तालिएका शक्तिहरूकै कारण पार्टी भित्र अस्थिरताको हावा चलाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको लहडमा सम्मानित व्यक्तित्व लाग्नु सिङ्गो एमालेका लागि दुःखद भएको जनाएको बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीले जानकारी दिए।
‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारी देखि सिङ्गो देशकै अभिभावकका रूपमा एमालेले स्थापित गरेकी महामहिम पुर्वराष्ट्रपति ज्यूले पछिल्लो समय जुन निर्णय लिनु भएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौँ’, उनले थपे, ‘लामो समय जारी राजनीतिक सङ्घर्षको उपलब्धि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रूपमा रहनु पर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयम् उहाँकै कद घटाउने काम गरेको छ।’
देशकै अभिभावक बन्नु पर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण नवौँ केन्द्रीय कमिटी मार्फत एमाले पछिल्लो निर्णयमा पुग्नु परेको जनाएका अध्यक्ष ओलीले कर्णालीका दशवटै जिल्ला र सबै स्थानीय तहमा पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्न एक सूत्रीय अर्जुन दृष्टिका साथ लाग्न निर्देशन दिए।
ओलीले एमालेको अबको ध्यान ०८४ मा जनादेश प्राप्त पहिलो शक्ति कसरी बन्ने भन्नेमै हुनुपर्नेमा जोड दिए। बैठकमा एमाले कर्णालीका नेताहरूले पार्टी अध्यक्ष ओलीसमक्ष कर्णालीको सङ्गठन र समृद्ध कर्णाली निर्माणमा सरकारले तय गर्नुपर्ने प्राथमिकताका विविध विषयवस्तुहरू राख्नु भएको एमाले कर्णाली इन्चार्ज बोगटीले जानकारी दिए।
उनका अनुसार नवौँ केन्द्रीय कमिटी बैठक पछि एकताबद्ध रूपमा पार्टी अध्यक्ष समक्ष गहन छलफल गर्ने पहिलो प्रदेशका रूपमा रहेको कर्णालीले पार्टीलाई एकताबद्ध बनाउदैं मिसन ०८४ मार्फत देशकै पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न अध्यक्ष ओलीको नेतृत्व अपरिहार्य भएकोमा जोड दिएको छ। पार्टीको केन्द्रीय कमिटीमा कर्णालीबाट प्रतिनिधित्व गर्ने अधिकांश नेताहरूको उपस्थिति रहेको बैठकको संयोजन प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले गरेका थिए।
पार्टी निर्माणमा लाग्न कर्णालीका नेताहरूलाई ओलीको निर्देशन
प्रचण्डले गरे चलचित्र जनक्रान्तिको पोष्टर सार्वजनिक
काठमाण्डौं । चलचित्र ‘जनक्रान्ति‘ निर्माण हुने भएको छ । गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आधारित चलचित्र जनक्रान्ति निर्माण गर्न लागिएको हो ।
निर्माण हुन लागेको उक्त चलचित्रको पहिलो पोष्टर शनिबार गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् ।
रुद्राक्ष फिल्स प्रालिको व्यानरमा निर्माण हुने जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन् । भाद्र दोस्रो सातादेखि चलचित्रको छायांकन सुरु गरिने निर्माण पक्षले जनाएको छ । जनकान्तिको प्रर्दशनको मिति फागुन १ का लागि तय गरिएको निर्माता रुद्रप्रसाद खनालले जानकारी दिए ।
चलचित्रमा गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरुको पृष्ठभूमिको कथा समेटिएको निर्देशक तिमिल्सिनाले जनाए ।
सत्य घटनामा आधारित हुने चलचित्र नयाँ पुस्ताका युवाहरुका लागि नेपालको राजनैतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षले जनाएको छ । चलचित्रको छायांकन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालीकोट, बाँके, बर्दिया र पूर्वी नेपालको धनकुटा खोटाग भोजपुर तथा तराई मधेशको सर्लाहीमा गरिने छ ।
गृहमन्त्रीद्वारा सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग छलफल
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित तराई–मधेशका स्थानीय तहका प्रमुख, अध्यक्ष र प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज ‘भर्चुअल’ रूपमा आयोजित समन्वयात्मक बैठकमा उनले नागरिकको पीडामा सरकार गम्भीर भन्दै गृह मन्त्रालयको प्रस्तावमा मधेश प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए ।
मन्त्री लेखकले खानेपानी र सिँचाइको समस्याग्रस्त स्थानका साथै प्राथमिकताका आधारमा डिप ट्युववेल र डिप बोरिङ जडान गर्ने स्थानको पहिचान गर्ने कार्यका लागि समन्वय र सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । उनले पानीको स्रोत नभएका वा स्रोत सुकेका स्थानमा ट्याङ्करबाट पानी वितरणलाई निरन्तरता दिनुपर्ने भन्दै यसका लागि सुरक्षा निकायसहित निजी क्षेत्रका ट्याङ्करको समेत उपयोग गर्न निर्देशन दिए ।
गृहमन्त्री लेखकले भने, “सरकारी कार्यालय, विद्यालय, अस्पताल, गैरसरकारी संस्थाका कार्यालयमा पानीको स्रोत रहेको छभने पानी खानका लागि तिनको पनि उपयोग गरियोस् । सङ्कटको अवस्थाको फाइदा उठाएर कसैले ‘कार्टेलिङ’ र कालोबजारी गर्नसक्ने भएकाले सख्त अनुगमन गर्न पनि आवश्यक छ । यसमा ध्यान दिनुहोला ।”
बैठकका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले प्राधिकरणले राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था र रेडक्रसलाई आफ्ना कार्यक्रम हालेको आवश्यकताअनुसार परिमार्जन गरी मधेशमा केन्द्रित गर्न अनुरोध गरिसकेको जानकारी दिए ।
बैठकमा मधेश प्रदेशलगायत सुक्खाग्रस्त जिल्लाका स्थानीय तहका प्रमुख एवं अध्यक्ष र प्रमुख जिल्ला अधिकारीहरूले आफ्ना स्थानीय तह एवं जिल्लाको अवस्थासहित समस्या समाधान गर्न भइरहेका पहलबारे जानकारी गराए ।
नेपाल सरकार मन्त्रिपरिषद्ले यही साउन ८ गते मधेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । यसअघि, पानीको स्रोत तथा मुहान सुकी खानेपानी तथा सिँचाइ कार्यमा समस्या उत्पन्न भएपश्चात् असार २६ गते मधेश प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
विकासमा दलीय राजनीतिभन्दा माथि उठन अर्थमन्त्रीको अनुरोध
बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक विकास र भौतिक विकासका कार्यहरु गर्दा दलीय र राजनैतिक चिन्तनभन्दा माथि उठेर काम गर्न अनुरोध गरेका छन् ।
बुटवल–१२ तामनगरमा करिब पाँच करोडको लागतमा निर्माण भएको राजपुर खानेपानी आयोजनाको स्वामित्व उपभोक्ता समितिलाई हस्तान्तरण गर्दै अर्थमन्त्री पौडेलले कुरा गरेर मात्रै विकास नहुने बताएका हुन् । अर्थमन्त्री पौडेलले भने, “सबै मिलेर काम गर्ने हो भने देश बन्छ, गफ गरेर मात्र बन्दैन ।”
फोस्रा गफ र हल्ला गरेर मात्रै विकास हुन्छ भन्ने कुरामा आफूले कहिल्यै विश्वास नगरेको उल्लेख गर्दै मन्त्री पौडेलले जनताका असीमित चाहना र भावना पूरा गर्न वर्तमान सरकार भरमग्दुर प्रयासरत रहेको जनाए । पछिल्लो समय विकास निर्माणका कामले गति लिएको चर्चा गर्दै उनले भौतिक विकास सँगसँगै सामाजिक विकासका कामहरु अघि बढाउन उत्तिकै आवश्यक रहेको कुरामा जोड दिए ।
उनले भने, “भौतिक पूर्वाधार विकास र सामाजिक विकासलाई सँगै लिएर अघि बढेमा मात्र समृद्धिको यात्रा तय हुन्छ ।” सरकारका विषयमा उठेका विभिन्न टिका टिप्पणीप्रति लक्षित गर्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार कसैले हल्लाएर हल्लिने र ढालेर ढल्ने प्रकृतिको नभएको जिकिर गर्दै सरकार आगामी आम निर्वाचनसम्म यही साझेदारीमा चल्ने बताए । उनले आगामी आम निर्वाचनसम्म समग्र मुलुकमा विकासको नमुना प्रस्तुत गर्दै समृद्धिको यात्रा तय गर्ने अठोटका साथ सरकार अघि बढेको जानकारी गराए । उनले भने, “सरकार ढल्ने कुरा निराधार हल्ला मात्रै हो । झिंगाको श्रापले डिंगा मर्दैन ।”
यस अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरी, प्राविधिक इश्वरी आचार्य, उपभोक्ता समितिका अध्यक्ष जितबहादुर राहाडी लगायतले जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको दायित्व रहेको उल्लेख गर्दै यसको उचित व्यवस्थापनका लागि स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने जनाएका थिए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीले करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न आयोजना सरकारको सशर्त अनुदानअन्तर्गत लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको जनाएको छ ।
प्राविधिक इश्वरी आचार्यले आर्थिक वर्ष २०७३, ७४ मा सुरु भएको आयोजना गत आर्थिक २०८१, ८२ मा सम्पन्न भएको जानकारी गराए । कुल एक लाख लिटर क्षमताको १०० घनमिटर ठूलो ट्याङ्कीसहित वितरण प्रणाली लगायत निर्माण सम्पन्न भई करिब ६०० घरमा पानी उपलब्ध गराइएको आचार्यको भनाई छ ।
एक महिने गुँला धर्म पर्व शुरू
काठमाण्डौं । गुँला धर्म पर्व शुक्रबारदेखि शुरू भएको छ । एक महिनासम्म मनाइने याृे पर्व सुरु भएको हो । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ ।
हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउने गर्छन् ।
साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म मनाइने यस पर्वमा बौद्धधर्म भक्तिभाव झल्काउने कर्म गरिन्छ । यो अवधिलाई शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा लिने गरिन्छ । बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्ला वर्षमा यो पर्व मनाउन थालेका छन् ।
काठमाण्डौंको स्वयम्भू महाचैत्य परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरी, केलटोलको सेतो मत्स्यनारायण पनि परिक्रमा गर्ने परम्परा छ ।
नेवारी भाषामा ‘गुँ’ को अर्थ नौ हो भने ‘ला’को अर्थ महिना भएकोले नेपाल संवतको नवौं महिनाको पारु तिथिमा यो पर्व मनाउने गरिन्छ ।
हरेक बिहान गुँलाः बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथ बौद्ध चैत्य, मन्दिर तथा विहार परिक्रमा गरेर पर्व शुरु गरिन्छ । सिठी नखःमा थन्क्याइएको बाजा गठेमंगलका दिन निकालेर गुँला पर्व शुरुवातमा निकालिन्छ ।
नेवार समुदायका गोपालीले पानीका मुहानमा पूजा गरी परिक्रमा गर्ने चलन छ । असारभर पानी परेर थुनिएका मुहान, ढल, कुलेसो यही समयमा खोल्ने गरिन्छ ।
पूर्वराष्ट्रपति भण्डारीले आज ३ बजे पत्रकार सम्मेलन गर्दै
काठमाण्डौं । नेकपा (एमाले) को केन्द्रीय कमिटिले गरेको निर्णयबारे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दैछिन् ।
उनले शुक्रबार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन राखेकी छन् ।
पार्टी केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउन नदिने निर्णय गरेपछि आफ्नो धारणा सार्वजनिक गर्न उनले पत्रकार सम्मेलन आयोजना गरेकी स्रोतले जनाएको छ ।
गत मंगलबार एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो।
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबिच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबिच भेटवार्ता भएको हो ।
भेटमा सभामुख घिमिरेले सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।
फ्रन्टलाइन हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौं । काठमाडौं महानगरपालिका–१० बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई फ्रन्टलाइन हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १० प्रतिशत छुट पाउने भएका छन् । यो छुट सेवासुविधा फ्रन्टलाइन हस्पिटलमा प्राप्त गर्न सकिनेछ । सम्झौतापत्रमा फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
भक्तपुरमा डेरा गरी बस्दै आएका दिदीबहिनी मृत फेला
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन् ।
स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका हुन् । मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जनाए ।
घरधनीका अनुसार दुई साताअघिमात्र ती किशोरीहरु डेरामा बस्न आएका थिए । प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ ।
मृतकको आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरु आएपछि घटनास्थलको मुचुल्का हुने प्रनाउ ढुङ्गानाले जनाए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिनिधि सभामा दुई विधयक प्रस्तुत हुने
काठमाण्डौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आजै तीन वटा संसदीय समितिका बैठकसमेत बस्दैछन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति एवं राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापनको बैठक बस्दैछ ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल हुनेछ । यस्तै, विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ ।
प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।