विकासमा दलीय राजनीतिभन्दा माथि उठन अर्थमन्त्रीको अनुरोध

बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक विकास र भौतिक विकासका कार्यहरु गर्दा दलीय र राजनैतिक चिन्तनभन्दा माथि उठेर काम गर्न अनुरोध गरेका छन् ।
बुटवल–१२ तामनगरमा करिब पाँच करोडको लागतमा निर्माण भएको राजपुर खानेपानी आयोजनाको स्वामित्व उपभोक्ता समितिलाई हस्तान्तरण गर्दै अर्थमन्त्री पौडेलले कुरा गरेर मात्रै विकास नहुने बताएका हुन् । अर्थमन्त्री पौडेलले भने, “सबै मिलेर काम गर्ने हो भने देश बन्छ, गफ गरेर मात्र बन्दैन ।”
फोस्रा गफ र हल्ला गरेर मात्रै विकास हुन्छ भन्ने कुरामा आफूले कहिल्यै विश्वास नगरेको उल्लेख गर्दै मन्त्री पौडेलले जनताका असीमित चाहना र भावना पूरा गर्न वर्तमान सरकार भरमग्दुर प्रयासरत रहेको जनाए । पछिल्लो समय विकास निर्माणका कामले गति लिएको चर्चा गर्दै उनले भौतिक विकास सँगसँगै सामाजिक विकासका कामहरु अघि बढाउन उत्तिकै आवश्यक रहेको कुरामा जोड दिए ।
उनले भने, “भौतिक पूर्वाधार विकास र सामाजिक विकासलाई सँगै लिएर अघि बढेमा मात्र समृद्धिको यात्रा तय हुन्छ ।” सरकारका विषयमा उठेका विभिन्न टिका टिप्पणीप्रति लक्षित गर्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार कसैले हल्लाएर हल्लिने र ढालेर ढल्ने प्रकृतिको नभएको जिकिर गर्दै सरकार आगामी आम निर्वाचनसम्म यही साझेदारीमा चल्ने बताए । उनले आगामी आम निर्वाचनसम्म समग्र मुलुकमा विकासको नमुना प्रस्तुत गर्दै समृद्धिको यात्रा तय गर्ने अठोटका साथ सरकार अघि बढेको जानकारी गराए । उनले भने, “सरकार ढल्ने कुरा निराधार हल्ला मात्रै हो । झिंगाको श्रापले डिंगा मर्दैन ।”
यस अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरी, प्राविधिक इश्वरी आचार्य, उपभोक्ता समितिका अध्यक्ष जितबहादुर राहाडी लगायतले जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको दायित्व रहेको उल्लेख गर्दै यसको उचित व्यवस्थापनका लागि स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने जनाएका थिए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीले करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न आयोजना सरकारको सशर्त अनुदानअन्तर्गत लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको जनाएको छ ।
प्राविधिक इश्वरी आचार्यले आर्थिक वर्ष २०७३, ७४ मा सुरु भएको आयोजना गत आर्थिक २०८१, ८२ मा सम्पन्न भएको जानकारी गराए । कुल एक लाख लिटर क्षमताको १०० घनमिटर ठूलो ट्याङ्कीसहित वितरण प्रणाली लगायत निर्माण सम्पन्न भई करिब ६०० घरमा पानी उपलब्ध गराइएको आचार्यको भनाई छ ।

LEAVE A REPLY