काठमाण्डौं । आगामी कात्तिक २८ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘धागो’को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ । रोमान्टिक कमेडी शैलीमा तयार पारिएको यो गीतमा पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर रहेको छ भने शब्द तथा संगीत पुष्पन स्वयंको हो ।
गीतको भिडियोमा बुद्धि तामाङ, वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा, सुरभि थापा लगायतका कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । प्रेम, आकर्षण र चाहनाको भावना समेटिएको यस गीतले दर्शकमाझ फिल्मप्रति थप उत्साह जगाउनेमा निर्माण पक्ष आशावादी छ ।
उदीप राना थापाको निर्देशनमा बनेको फिल्ममा सुरक्षा, बुद्धि, प्रभात र सुरभिसहित सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ लगायतको अभिनय रहेको छ । वर्षाले भने गीतमा मात्र अभिनय गरेकी छन् । निर्देशक थापा स्वयंको लेखन रहेको यो फिल्मलाई बलिउडका अनिकेर एम। घोघलेले खिचेका हुन् ।
फिल्ममा अखिलेश रायको सम्पादन, बिनु प्रधानको कस्ट्युम डिजाइन, अनुरूप केर्टकेट्टाको भीएफएक्स, अनिन्दिया एस. रायको रङ्ग संयोजन, अमित त्रिवेदीको साउन्ड डिजाइन तथा निर्मल पन्याको ब्याकग्राउण्ड स्कोर रहेको छ । उमा थापा, उत्तम थापा र उदीप थापाको लगानी रहेको यस फिल्ममा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री सह–निर्मातामा छन् ।
निर्देशक थापाले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई फिल्मले केन्द्रमा राखेको जनाए । उनी ‘धागो’लाई आफ्नो माटो र मान्छेको कथाको रुपमा अर्थ्याउँछन् । भारतको डुवर्स निवासी उनको यो पहिलो निर्देशकीय फिचर फिल्म हो ।
‘धागो’को ‘ट्याउँ ट्याउँ’ गीतमा बृद्धि, सुरक्षा र वर्षाको नृत्य
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट दर्ता भने भइसकेको छैन । सर्वोच्च प्रशासनले रिटमा अध्ययन भइरहेको भन्दै दर्ता गर्न बाँकी राखेको छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले सरकारको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना सबै गैरसंवैधानिक तथा मौलिक हकको खिलाफमा रहेको भन्दै दूरसञ्चार प्राधिकरणलाई सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्न निर्देशनसहित पठाएको पत्र, प्राधिकरणको सूचना र इन्टरनेट सेवा प्रदायकहरूलाई सामाजिक सञ्जाल बन्द गर्न गरेका पत्राचार सबै कार्यान्वयन रोक्न रिटमा माग गरिएको छ ।
त्रिपाठीले संविधानको अभिव्यक्ति स्वतन्त्रता, प्रकाशन तथा प्रसारणसहितका मौलिक हकलाई सरकारको निर्णयले कुन्ठित पारेको दाबी गरेका छन् । यसैगरी सरकारले लागु गरेका नीति र लिएका लक्ष्यहरूको पनि विपरीत निर्णय लिएको दाबी गरेका छन् ।
सरकारले गरेको २६ सामाजिक सञ्जालमाथिको प्रतिबन्धले ‘नेपाली आईटी दशक’ र ‘डिजिटल नेपाल’को नारामाथि नै प्रतिकूल असर परेको छ वरिष्ठ अधिवक्ता त्रिपाठीले भनेका छन्, सरकारले केही समयअघि नेपालमा विद्युतीय प्लेटफर्ममार्फत वस्तु वा सेवा खरिद वा बिक्री गर्ने प्रक्रिया कानुनसम्मत बनाउन ई–कमर्स कानुन कार्यान्वयनमा ल्याइसकेको छ । विद्युतीय प्लाटफर्ममार्फत लामो समयदेखि वस्तु वा सेवा खरिद–बिक्री हुँदै आएको व्यापारलाई अहिले कानुन बनाएर व्यस्थित बनाउने काम सुरु भएको थियो ।
एमालेमा ६ लाख ६२ हजारभन्दा बढी सदस्य, सबैभन्दा धेरै मधेश प्रदेशमा
काठमाडौं । नेकपा (एमाले) ले देशभर मिलाएर आफ्ना कुल सदस्य संख्या ६ लाख ६२ हजार ९६१ पुगेको जनाएको छ।
ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमार्फत यो तथ्याङ्क सार्वजनिक गरिएको हो।
प्रतिवेदनअनुसार प्रदेशगत सदस्यतामा सबैभन्दा धेरै मधेश प्रदेशमा १ लाख ५६ हजार ४१ सदस्य रहेका छन्। त्यस्तै कोशी प्रदेशमा १ लाख १४ हजार ७१०, बागमतीमा १ लाख १६ हजार ४९९, गण्डकीमा ५५ हजार ५१२, लुम्बिनीमा ८० हजार ३५२, कर्णालीमा ४७ हजार ६४७ र सुदूरपश्चिममा ६३ हजार ११० सदस्य रहेको उल्लेख छ।
प्रदेशबाहिर उपत्यका विशेष प्रदेशमा ८ हजार ७८१, सम्पर्कमा १३ हजार ७५२, भारत प्रवासमा १ हजार ७५२, अन्य मुलुकका प्रवासमा ४ हजार ६२० र केन्द्रीय कार्यालयमा ८५० सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ।
एमालेले प्रस्तुत गरेको यस तथ्याङ्क पार्टीको सांगठानिक शक्ति र देश–विदेशमा रहेको संरचनाको संकेत गर्नेगरी महत्वपूर्ण मानिएको छ।
माछापुच्छ्रे बैंकको २७औं वार्षिक साधारण सभा असोज १० गते
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभा आगामी असोज १० गते पोखरामा बस्दैछ । विहीबार बसेको बैंकको बैठकले पोखरास्थित होटल ग्राण्ड पोखरामा २७ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभामा बैंकले प्रस्ताव गरेको गत आर्थिक वर्ष ०८१, ८२ को मुनाफाबाट ८ प्रतिशत लाभांश पारित गर्नेछ । यसमध्ये ४ प्रतिशत बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश हुनेछ । गत वर्ष लगानीकर्ताको हात खाली बनाएको बैंकले यसअघि ०७९, ८० को मुनाफाबाट भने १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यसपटकको साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा नियुक्त व्यक्तिलाई अनुमोदन गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरण, चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँ बराबरका अविमोच्य असञ्चिति अग्राधिकार शेयर ८.२५ प्रतिशत ब्याजदरमा जारी गर्ने प्रस्ताव पनि अघि सारेको छ । अग्राधिकार शेयर जारीपछि पूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेस हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले भदौ २७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । सोअनुसार भदौ २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउने र सभामा सहभागी हुन सक्नेछन् ।
ग्लोबल आइएमई बैंक तेस्रोपटक ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ ।
मंगलबार सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।
सन् १९९२ मा युरोमनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरुमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।
युरोमनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ । युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् । यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेस्रोपटक बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंक अवार्ड प्राप्त गरेको थियो ।
यसअघि ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंकको रुपमा सम्मानित भएको थियो ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
छोराको जन्मदिनमा बुबाले दिए जीवन बीमा पोलिसी उपहार
काठमाडौँ । चितवन रत्ननगर नगरपालिका १३ – रत्ननगरका विकास सुनारले आफ्ना छोराको भविष्य सुनिश्चित गर्ने उद्देश्यसहित जन्मदिनको अवसरमा विशेष उपहार दिएका छन्। उनले आफ्ना छोरा दिव्यन्त सुनारको दोस्रो जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आँबुखैरेनी शाखाबाट जारी सर्व सुलभ बाल जीवन बीमा योजनाको ५ लाख रुपैयाँ मूल्यको बीमा पोलिसी उपहार स्वरूप दिएका हुन्।
सर्व सुलभ बाल जीवन बीमा योजनामा बिमितको बीमा गर्दा प्रस्तावको जोखिम बहन गर्ने विभिन्न ६ वटा उत्कृष्ट ऐच्छिक संरक्षण सुविधा उपलब्ध छन्। यस योजनामा रहेको बीमाको विशेषताले गर्दा आम नागरिकबीच यसप्रति विश्वास र रोजाइ दिन प्रतिदिन बढ्दै गएको कम्पनीले जनाएको छ।
आँबुखैरेनी शाखा प्रमुख सुनिल श्रेष्ठका अनुसार आफ्नो सन्तानको सुरक्षित भविष्य सुनिश्चित गर्न बुबा आमाले जन्मदिन जस्ता विशेष अवसरमा जीवन बीमा गराउने क्रम बढ्दो छ। यसले परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्नुका साथै बीमा प्रतिको जनस्तरको आस्थालाई पनि बलियो बनाउँछ।
विकास सुनारले भने, ‘मेरो छोराको भविष्य सुरक्षित राख्न यही जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएको हुँ। यो हाम्रो परिवारका लागि मात्र नभएर आम नागरिकका लागि पनि प्रेरणादायी उदाहरण हो कि समयमै जीवन बीमा गर्नु आवश्यक छ।’
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले महिला उद्यमीहरुलाई विशेष छुटसहित कर्जा सुबिधा दिने
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र महिला उद्यमी महासंघ नेपालबीच व्यावसायिक सम्झौता भएको छ ।
महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवद्र्धन गर्न उक्त सम्झौता भएको हो । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघ तर्फ अध्यक्ष शोभा ज्ञवालीबाट हस्ताक्षर भइ सो महिला व्यावसायिक सेवा आरम्भ गरिएको छ ।
यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई महिलाद्धारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ ।
सोही सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरी बैंकको २७५ वटा शाखाहरुमार्फत महिलाद्धारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई छुट सहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।
यो सम्झौताबाट महिला उद्यमी महासंघ नेपालका सदस्यहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
काठमाण्डौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमामा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।
बागमती प्रदेशको केही र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
शुक्रबार दिउँसो देशभर साधरणतया बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
राति देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मनाङमा पनि कात्तिक १७ गते उपनिर्वाचन
मनाङ । हिमाली जिल्ला मनाङमा पनि कात्तिक १७ गते नै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो ।
यसअघि आयोगले प्रतिनिधि सभा सदस्यको लागि रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन पनि कात्तिक १७ गते गर्ने निर्णय गरेको थियोे ।
रूपन्देहीमा राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएकाले र मनाङमा राजिव गुरुङ (दीपक मनाङे) आपराधिक क्रियाकलाप सम्बन्धी क्रियाकलापको मुद्दामा जेल परेपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
मनाङको उपनिर्वाचन कार्यातालिकाअनुसार २०८२ साल भदौ १३ गतेबाट निर्वाचन अवधि सुरु भएको निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिए ।
विसं २०७९ मङ्सिर ४ गते भएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (२) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट सर्वसम्मत निर्वाचित भएका थिए ।
उनको पद रिक्त भएपछि उपनिर्वाचन हुने तालिकासहित जानकारी प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता आगामी असोज २१ गते निर्धारण गरिएको छ । त्यसैगरी भदौ २० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना, असोज २५ मा निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको अन्तिम नामावली र चिह्न वितरणको विवरण प्राप्ति, कात्तिक ११ गते मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीको नियुक्ति गर्ने तालिका निर्धारण गरिएको छ ।
साथै आयोगबाट देशभर अद्यावधिक भई २०८२ साल भदौ २५ मा प्रकाशन हुने अन्तिम मतदाता नामावलीलाई नै यस उपनिर्वाचनमा समेत प्रयोग गरिने र मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट यही कात्तिक १६ गतेलाई तोक्ने निर्णयसमेत आयोगले गरेको छ ।
गत निर्वाचनमा मनाङ जिल्लामा छ हजार ७७९ कुल मतदाता रहेका थिए । कुल मतदातामध्ये चार हजार ८४५ अर्थात् ७१ दशमलव ४७ प्रतिशत मत खसेको थियो भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को चार हजार १९७ मतदाता रहेको निमित्त प्रमुख निर्वाचन अधिकृत अर्यालले जानकारी दिए ।
एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ।
गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।
यो दोस्रो विधान अधिवेशन हो। महाधिवेशनका लागि सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर दुरीभित्र १८ वटा स्वागतद्वार बनाइएका छन्। बिजुलीका खम्बामा हँसिया हथौडा र सूर्य चिह्न अङ्कित झन्डा राखिएका छन्। सातदोबाटोदेखि गोदावरीसम्म आवतजावतका लागि निःशुल्क गाडीको व्यवस्था गरिएको छ।
एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मुल नारा तय गरेको छ।
करिब १२ मिनेटमा उद्ध्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ। त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन। अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन हिजोको सचिवालय बैठकले पास गरेको छ। अध्यक्ष ओलीको प्रतिवेदन पछि करिब एक बजे एक घण्टाका लागि ‘खाजा ब्रेक’ को कार्यक्रम रहेको छ। त्यसपछि उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विधान संसोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै पेश गरिनेछ। साँझ पाँच बजे आजका कार्यसुची सकिनेछ।
महाधिवेशनको दोस्रो दिन भदौ २१ गते प्रस्तुत गरिएको दस्ताबेजको १० वटा समूह बनाई छलफल गरिने छ। उनका अनुसार भदौ २२ गते समूहबाट आएका सुझावलाई प्रस्तुतीकरण गर्ने र सुझावमाथि प्रतिउत्तर दिने कार्यतालिका छ।
यस्तै सोही दिन नै केन्द्रीय निर्वाचन आयोगका निर्वाचन गर्ने र समसामयिक प्रस्तावसहित महाधिवेशनको समापन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए।
महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागी हुनेछन्।