Page 19

सिद्धार्थ बैंकलाई अग्राधिकार शेयर निष्काशन गर्न बोर्डले दियो अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्न अनुमति दिएको छ ।
बोर्डले ८.२५ प्रतिशत प्रतिफल पाउने साढे ३ करोड कित्ता एसबीएल ८.२५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न स्वीकृती दिएको हो ।
कम्पनीले परिपत्रि विधिबाट अग्राधिकार शेयर निष्काशन गर्नेछ भने शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई बोर्डले सोमबार स्वीकृति दिएको हो ।

नेपाल लाइफको २६औँ वार्षिक साधारण सभा सम्पन्न

पर्सा । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा पुष १९ गते होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको हो ।
यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत भएको आ.व.२०८१, ८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०८१, ८२ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आ।व। २०८२, ८३ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।
२६ औं साधारण सभाले आ।व। २०८१, ८२ को वितरण योग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजी रु। ९,०२,८७,६३,२०९ को जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम रु। १,९०,०७,९२,२५५ (अक्षेरुपी एक अर्ब नब्बे करोड सात लाख बयानब्बे हजार दुई सय पचपन्न मात्र) शेयरधनीहरुलाई लाभांशको रुपमा प्रदान गर्ने जसमा १६.०५ प्रतिशत नगद लाभांश (लाभांशको कर सहित) र ५ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
साधारणसभाले संस्थापक समूह अन्र्तगत गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभा पछि शनिबार बसेको संचालक समितिको ४०७औं बैठकले गोविन्द लाल संघईलाई सर्वसम्मतिबाट अध्यक्षको रुपमा चयन गरेको हो ।
अध्यक्ष गोविन्दलाल संघईज्यूले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई चुनौतिहरु बीच अझै थप उचाइमा पु¥याउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई समेत अवलम्बन गरिरहेको कुरा जानकारी गराए । कम्पनीको निरन्तर विकासको लागि दीर्घकालीन रणनीति निर्माण गर्न, लर्निङ म्यानेजमेन्ट सिस्टमलाई प्रभावकारी बनाउन, ग्राहकलाई थप स्तरिय सेवाको अनुभूति गराउन, अटोमेशनको प्रयोगबाट कार्यक्षमता बढाउन कम्पनीलाई डिजिटल रुपमा रुपान्तरण गर्न कार्य आरम्भ गरिसकिएको कुरा जनाएका थिए ।साथै, कम्पनीले रिक्स म्यानेजमेन्ट फ्रेमवर्क तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमहरुको समेत उचित व्यवस्थापन गरिरहेको जानकारी गराएका थिए ।
अध्यक्ष संघईले निरन्तर सहयोग, संरक्षकत्व र शुभेच्छा प्रदान गर्ने सबै शेयरधनी र कम्पनीका सम्पूर्ण बीमितहरुलाई संचालक समितिको तर्फबाट हार्दिक आभार व्यक्त गरे । नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. र अन्य सम्बन्धित निकायहरुबाट प्राप्त निरन्तर सहयोग र मार्ग निर्देशनका लागि कृतज्ञता व्यक्त गरे । कम्पनीको लक्ष्य हासिल गर्न निरन्तर कार्य गर्ने कर्मचारीहरु, समस्त अभिकर्ताहरु र कम्पनीको उत्थानप्रति गहन अभिरुचि, नियमित नियमन, बहुमूल्य सुझाव एवं समय प्रदान गर्नु हुने संचालक समितिका सदस्यज्यूहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले प्रतिकुल मौसमका बावजुद पनि उल्लेख्य उपस्थितिका निम्ति सबै शेयरधनीहरूलाई धन्यवाद ज्ञापन गरे । विषम परिस्थितिका बीच पनि अग्रस्थान हासिल गर्न कम्पनी सफल भएकोमा हर्षित भएको जनाए । वर्तमान म्याक्रो इकोनोमिक परिस्थितिले गर्दा बीमा व्यवसायको आगामी दिन थप चुनौतीपूर्ण हुने हुँदा सम्पूर्ण सरोकारवालाहरू एक ढिक्का भएर कार्यसम्पादन गर्न आग्रह गरे । आर्थिक स्थायित्व नै राष्ट्रको चौतर्फी स्थायित्वको आधारस्तम्भ रहेको र सो स्थायित्व कायम गर्न हामी सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने अवस्था सृजित भएको जनाए । विषम परिस्थितिकोलाई मनन गर्दै कम्पनीले सम्पूर्ण सरोकारवालाहरूको माग सम्बोधन गर्नका निम्ति लगानी विविधिकरणको रणनीति अवलम्बन गरेर कार्यसम्पादन गर्दै आएको कुरा सभालाई सहर्ष जनाए ।
२६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीज्यूले आ.व.२०८१, ८२ मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धी र भावी योजनाहरु जनाए । देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संघर्षरत अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले प्राप्त गरेका उपलब्धीहरूका लागि सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । आर्थिक स्थिति सहज नभएको अवस्थामा पनि यो लाभांश वितरण गर्न पाउँदा गौरवान्वित महसुस भएको जनाए लगानी विविधिकरणलाई केन्द्रबिन्दुमा राख्दै कम्पनी अगाडि बढिरहेको र सो लाई नै मूर्तता प्रदान गर्न विभिन्न कार्यहरु भइरहेको जनाए ।प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीज्यूले साधारणसभामा शेयरधनीहरुले राखेका सुझावहरुलाई सकरात्मक रूपमा लिइने जनाएका थिए ।
२०८२ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. २५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २४५ अर्ब रुपैयाँ र शेयरधनी कोष रु. १३ अर्ब बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु।३२६ अर्ब रुपैया बीमाशुल्क आर्जन गरेको छ भने रु. १०३ अर्ब जम्मा दावी भुक्तानी गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

मुक्तिनाथ विकास बैंक २० वर्षमा प्रवेश

काठमाडौं । मुक्तिनाथ विकास बैंकको २०औं वर्ष प्रवेशका अवसरमा बैंकले कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व बृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले ‘मुक्तिनाथ एग्रिफाइनान्स ३६०’ कार्यक्रम गरेको छ ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले सरकारका तर्फबाट कृषि क्षेत्रको समग्र विस्तार गर्न सबै सरोकारवालामा उत्प्रेरणात्मक वातावरण निर्माण हुनुपर्नेमा जोड दिए ।
यसै सन्दर्भमा कृषि लगानी विस्तार तथा कर्जा गुणस्तर सुदृढ बनाउन क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बीमा, मूल्य शृङ्खलामा समन्वय, सहकारी तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिने नीति र योजना बनाउन सकेमात्र कृषि क्षेत्रको ठोस विकास हुन सक्ने मन्त्री परियारको भनाइ छ ।
उनले महिलामैत्री कृषि विकास गरिनुपर्ने, कृषिलाई प्रविधिसँग जोडेर युवा लक्षित स्वरोजगारीे व्यवस्था गर्नुपर्ने, साना किसानलाई वित्तीय पहुँच अझै विस्तार गर्नुपर्ने र साना किसानलाई स्तरोन्नति गर्ने कार्यमा सबैले कदम चाल्नुपर्ने बताए । सरकारले नयाँ कृषि नीति छिट्टै ल्याउन लागेकाले कृषिका विविध समस्या समाधान हुन सक्ने अपेक्षा उनको छ ।
त्यसैगरी कृषि मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले पहिले राज्य आफैंले कृषि क्षेत्र विकासका लागि मूल्य शृङ्खला विकास गर्ने प्रयास गरे पनि पछि सरकारले निजीकरणको नीतिगत व्यवस्थापछि निजी क्षेत्रले आफ्नै हिसाबमा काम गर्न थालेको जनाए ।
जसले मूल्य शृङ्खला तोडिन पुगेको उनले जनाए । तर, अब बैंक तथा वित्तीय संस्थाले नै कृषिसम्बन्धी आफ्नै सहायक कम्पनी खोल्न कदम चाल्न उनले सुझाव दिए । यस कार्यमा नेपाल राष्ट्र बैंकलाई आवश्यक समन्वय गर्न उनले अनुरोध गरे ।
कार्यक्रममा बैंकिङ विशेषज्ञ अजय श्रेष्ठले कृषि ऋणमा उच्च जोखिम, कमजोर कर्जा गुणस्तर, उत्पादनशीलता र मूल्य शृङ्खखलामा संरचनागत कमजोरीलाई प्रमुख चुनौतीका रूपमा औँल्याए ।
सोही कार्यक्रममा ‘नेपाल कृषि उद्यमहरूमा कसरी फस्टाउन सक्छ रु’ शीर्षकमा छलफल पनि भएको थियो । छलफलमा बैंकिङ विशेषज्ञ भुवन दाहाल, राष्ट्र बैंक नियमन विभाग कार्यकारी निर्देशक रामु पौडेल, कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र अध्यक्ष डीबी बस्नेत, कृषि उद्यमी बिमला आचार्य दहाल लगायत सहभागी थिए ।
कार्यक्रममा बैंक सञ्चालक समिति अध्यक्ष खिमप्रकाश मल्ल, सञ्चालक उमेशकुमार आचार्य, सीईओ प्रद्युम्न पोखरेल, राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापा, राष्ट्र बैंक प्रवक्ता गुरुप्रसाद पौडेले लगायत सहभागी थिए ।

शेयर बजारमा २८.७३ अंकको सुधार, साढे ६ अर्बको कारोबार

काठमाडौं । शेयर बजारमा उत्साह देखिएसँगै कारोबार रकम पनि ६ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.७३ अंकले बढेको छ । १.१० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६३९.३७ अंकमा उक्लिएको छ ।
बजार बढेसँगै आज सबै समूहमा हरियाली छाएको छ । उत्पादनमूलक समूह सबैभन्दा बढी ३.०५ प्रतिशतले बढेको हो ।
आज ३३५ कम्पनीका १ करोड २४ लाख ५९ हजार ९ सय ५१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९.२७ रुपियाँ बराबरको कारोबार भएको छ ।
सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार र रुरु जलविद्युत परियोजनाका लगानीकर्ताहरुले १०–१० प्रतिशत नाफा कमाएका छन् । त्यस्तै बाराही हाइड्रो र दरमखोला हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.९८ र ९.५४ प्रतिशतले नाफा कमाएका छन् ।
यता, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी २.४९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३८ करोड ६९ लाख ५० हजार ३ सय ४७.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार १०.२९ प्रतिशतले बजार घट्दा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २ सय ९४.३४ रुपियाँ बराबरको कारोबार भएको थियो ।

भीमफेदीमा सुमो दुर्घटना अपडेट ः मृतक ६ मध्ये ४ जनाको पहिचान खुल्यो

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा सुमो दुर्घटना हुँदा ज्यान गुमाएका ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ । आइतबार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट अन्दाजी एक सय मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा दुई जना भारतीयसहित ६ जनाको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा भारतको बिहार राज्य पटना बस्ने ४२ वर्षीय रजनिस कुमार, बिहारकै बेगुसराई बस्ने ५० वर्षीय अरबिन्द कुमार रहेका छन् ।
यसैगरी, दुर्घटनामा मकवानपुरको हेटौंडा उपमहानगर–४ कमलडाँडा बस्ने ४० वर्षीया सविता लम्साल, हेटौंडा–२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक हेटौंडा–४ कर्राचोक बस्ने अन्दाजी ४५ वर्षीय गणेश थापालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

काठमाण्डौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहलाई बयानका लागि पत्र काटेको छ ।
आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार आयोगले मेयर शाहलाई बयानका लागि पत्र काटेको हो।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षताको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ ।
यस्तै आयोगले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी नेता प्रचण्डलाई पनि आफ्नो भनाइ राख्न पत्र पठाएको छ ।
त्यसअघि राष्ट्रिय मानवअधिकार आयोगले पनि मेयस बोलनसँग बयान लिएको थियो । मेयर शाहले भदौ २३ र २४ गते सामाजिक सञ्जालमा लेखेका स्ट्याटसदेखि घटना अवधिभर उनको गतिविधिबारे आयोगले सोधपुछ गरेको थियो ।

रास्वपाले आज बृहत्तर एकता घोषणा सभा गर्दै

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत्तर एकता घोषणा सभा गर्दैछ। घोषणा सभा सोमबार दिउँसो १ बजे राष्ट्रियसभा गृहमा हुनेछ ।
यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो। सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।
पुस १३ र १४ गते रास्वपाले काठमाण्डौंका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो ।
सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।
आइतबार बसेको बैठकले पार्टीमा आएकाहरुको व्यवस्थापनका लागि विभिन्न पदाधिकारी थपसहित केन्द्रीय समितिमा मनोनयन गरेको थियो ।

वन चौकीदारको विभत्स हत्या, टाउको अझै भेटिएन

रौतहट । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत वन हेरालु (चौकीदार) को हत्या भएको छ । चौकीदारको हत्या गरिएको अवस्थामा शव फेला परे पनि अझै टाउको फेला परेको छैन् ।
सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार वन रक्षक ४७ वर्षीय रामइश्वर महतोको हत्या भएको स्थान नजिकै पोखरीमा शव फेला परेको हो ।
मृतकको टाउको काटिएको शरीर भेटिए पनि टाउको नभेटिएपछि अब पोखरीमा जाल हानेर खोजी गर्न लागिएको उनले जानकारी दिए ।
डिएसपी राईले पोखरीमा जाल हान्ने मानिसको खोजी भइरहेको जनाए । धारिलो हतियार प्रयोग गरी महतोको हत्या गरिएको प्रहरीको आशंका छ ।
प्रहरीले वन रक्षक महतोको हत्या आशंकामा गाउँकै शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । तर प्रहरीले यसबारे आधिकारिक जानकारी दिएको छैन् ।
शनिबार बिहान ५ बजेतिर जङ्गलमा रुख काटिएको आवाज सुनेपछि महतो त्यतातिर गएका थिए । दिउँसोसम्म पनि घर नफर्किएको र मोबाइल फोन समेत ‘स्वीच अफ’ भएपछि परिवार र छरछिमेकीले खोजी गर्ने क्रममा उनको विभत्स शव भेटिएको वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए । घरदेखि करिब ५०० मिटर टाढा परियोजनाको जङ्गलभित्र टाउको काटिएको अवस्थामा शव फेला परेको उनको भनाइ छ ।
घटनास्थलमा धनुषाको लालगढबाट तालिम प्राप्त दुईवटा कुकुरसमेत झिकाएर घटनास्थल वरपर घुमाइएको छ ।
वनका चौकीदार महतोको विभत्स किसिमले हत्या भएपछि स्थानीय वासिन्दा त्रसित बनेका छन् । यस घटनाका बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु अस्वीकार्य ः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) ले अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको जनाएको छ ।
महासचिव शंकर पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत संयुक्त राष्ट्रसंघ लगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्नेगरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन भएको उल्लेख गरेका छन् । उनले अमेरिकाको यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन नसक्ने समेत जनाएका छन् ।
‘भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ ।’ उनले लेखेका छन्, ‘यसप्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ ।’

निर्वाचन आउन ६० दिन बाँकी ः आचारसंहिता उल्लङ्घन गरे कारबाही हुने चेतावनी

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरेको छ।
आयोगले सरकारी तथा अर्धसरकारी निकाय, सार्वजनिक संस्था र राजनीतिक दललाई आचारसंहिता पालना गर्न कडा निर्देशन दिएको छ।
आयोगका अनुसार सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा गतिविधि गर्न नपाउने व्यवस्था गरिएको छ। कुनै पनि परियोजना, स्रोत, साधन वा सार्वजनिक सम्पत्ति चुनावी प्रयोजनमा प्रयोग भएमा कडा कारबाही गरिने चेतावनी आयोगले दिएको छ।
निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा तथा निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरूमा अवरोध पु¥याउने, सामग्री तथा सूचनामा हेरफेर गर्ने वा बिगार्ने कार्यलाई गम्भीर अपराध मानिने आयोगले जनाएको छ। साथै, सरकारी कार्यालय, विश्वविद्यालय, विद्यालय तथा महाविद्यालयको परिसर प्रयोग गरी चुनावी भेला वा प्रचारप्रसार गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
आचारसंहिताले चुनावी चिन्ह अंकित पहिरन, सामग्री र साङ्केतिक वस्तुको प्रयोग, बिक्री तथा प्रदर्शन लाई पनि प्रतिबन्ध लगाएको छ। घरधनीको अनुमति बिना निजी घरजग्गामा राजनीतिक गतिविधि गर्न नपाइने व्यवस्था लागू गरिएको छ भने बालबालिकालाई प्रचारप्रसारमा प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ।
सार्वजनिक आवागमनमा अवरोध हुने जुलुस, सभा तथा कोणसभा गर्न नपाइने र सामाजिक सञ्जालमार्फत गलत, भ्रामक तथा द्वेषपूर्ण सूचना प्रवाह गरेमा कानुनी कारबाही हुने आयोगले जनाएको छ।
निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनका लागि अनुगमन टोली परिचालन गर्ने र उल्लङ्घन गर्ने दल, उम्मेदवार वा निकायमाथि कानुनबमोजिम कारबाही अघि बढाइने स्पष्ट पारेको छ।

लेटेष्ट समाचार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बांग्लादेश...

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल...

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५...