काठमाडौं । सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको वित्तीय सूचकहरूमा लोभलाग्दो ग्रोथ देखिएको छ भने नाफा र आम्दानीमा पनि बढोत्तरी देखिएको छ।
गत आवको पुस मसान्तसम्म बैंकले १ अर्ब १९ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको पुस मसान्तसम्म १६.६७ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
त्यसैगरी समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८७ करोड ४४ लाख रुपैयाँबाट १९.२६ प्रतिशतले बढेर ३ अर्ब ४२ करोड ८० लाख रुपैयाँ पुगेको छ भने खुद फी तथा कमिशन आम्दानी ५७ करोड ९६ लाख रुपैयाँबाट बढेर ६० करोड ५८ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब १ करोड ४७ लाख रुपैयाँबाट बढेर ४ अर्ब ६७ करोड ४८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ६४ करोड ९० लाख रुपैयाँबाट बढेर १ अर्ब ९५ करोड ९७ लाख रुपैयाँ पुगेको छ।
नाफा र आम्दानीमा वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १७.६१ रुपैयाँबाट बढेर २०.५४ रुपैयाँ पुगेको छ भने बैंकको खराब कर्जा (एनपीएल) ३.२२ प्रतिशतबाट बढेर ३.६३ प्रतिशत पुगको छ। बैंकको प्रतिशेयर नेटवर्थ १७२.३९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १६.४१ गुणा रहेको छ। यता बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७९ करोड ९६ लाख रुपैयाँबाट घटी १ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ।
चुक्ता पूँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहको यस बैंकको जगेडा कोषमा १ अर्ब ६१ करोड रुपैयाँ र रिजर्भ कोषमा ८ अर्ब २२ करोड १६ लाख रुपैयाँ सञ्चित रहेको छ। यस बैंकले १ खर्ब ८३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ३१ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
सानिमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानीमा वृद्धि
प्राइम कमर्सियल बैंकको आम्दानीसँगै नाफामा वृद्धि
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वित्तीय सूचकहरूमा चमक देखिएको छ। वित्तीय विवरणमा बैंकको नाफा सहित आम्दानीमा पनि बढोत्तरी देखिएको हो।
बैंकले चालू आवको साउन महीनादेखि पुस मसान्तसम्म मात्रै २ अर्ब ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यसै बैंकले गत आवको यसै अवधिमा १ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। यसरी एक वर्षको अवधिमा बैंकको खुद नाफा ९.२७ प्रतिशतले बढेको छ।
त्यसैगरी बैंकले चालू आवको ६ महीनामा ४ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकले गत आवको यसै अवधिमा ४ अर्ब ४१ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यसरी बैंकको खुद ब्याज आम्दानीमा पनि ५.३० प्रतिशतको बढोत्तरी देखिएको छ।
त्यस्तै बैंकको खुद फी तथा कमिशन आम्दानीसँगै सञ्चालन नाफा पनि गत आवको तुलनामा चालू आवमा वृद्धि भएको वित्तीय विवरणले देखाएको छ। बैंकको खुद फी तथा कमिशन आम्दानी ८९ करोड ३१ लाख रुपैयाँबाट १५.४२ प्रतिशतले वृद्धि भई १ अर्ब ३ करोड ८ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ५ अर्ब ६३ करोड ६० लाख रुपैयाँबाट ९.७८ प्रतिशतले वृद्धि भई ६ अर्ब १८ करोड ७४ लाख रुपैयाँ पुगेको छ।
यसरी आम्दानीमा वृद्धि भएपछि बैंकको सञ्चालन नाफा पनि ३ अर्ब १८ करोड ६९ लाख रुपैयाँबाट ६.५४ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ५३ लाख रुपैयाँ पुगेको छ। आम्दानी र नाफामा वृद्धि भए तापनि बैंकको वितरणयोग्य मुनाफा भने खुम्चिएको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८४ करोड १७ लाख रुपैयाँबाट ३७ करोड रुपैयाँमा झरेको छ।
यता बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १९.२८ रुपैयाँबाट सामान्य बढेर १९.५० रुपैयाँ पुगेको छ। खराब कर्जा (एनपीएल) ४.९६ प्रतिशतबाट बढेर ६.३८ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६५.८० रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात १२.२५ गुणा रहेको छ।
चुक्ता पूँजी २० अर्ब ९५ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३७ करोड रुपैयाँ र रिजर्भ कोषमा १३ अर्ब ४१ करोड रुपैयाँ सञ्चित रहेको छ। यस बैंकले २ खर्ब १७ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ६७ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
ग्लोबल आईएमई बैंकको नाफा ६.५५ प्रतिशतले बढ्यो
काठमाण्डौं । कर्जा असुली र ब्याजआम्दानी दुवै खुम्चिएपछि ग्लोबल आईएमई बैंकले अपेक्षित नाफा गर्न सकेन।
बैंकले जारी गरेको अर्धवार्षिक अपरिष्कृत वित्तीय विवरणमा बैंकले ६.५५ प्रतिशतले मात्र नाफा बढाएको हो। जुन बैंकको अपेक्षाभन्दा निकै कम भएको उल्लेख गरेको छ।
बैंकले पुस मसान्तसम्म कुल ३ अर्ब २५ करोड नाफा कमाएको हो। गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ५ करोड रहेकोमा चालू आवमा २० करोडले नाफा बढेको हो।
तर उक्त नाफा बैंकको अपेक्षित नाफा भने होइन ।
‘बैंकको कर्जा विस्तार अपेक्षित मात्रमा हुन सकेको छैन भने बैंकको ब्याज आम्दानी तथा निष्क्रिय कर्जा असुलीमा समेत नकारात्मक असर परेको छ’, विवरणमा भनिएको छ।
नाफा खुम्चिनुमा बैंकको खराब कर्जा बढ्नु र गत वर्षभन्दा यो वर्ष धेरै कर्जा नोक्सानी व्यवस्थापन गर्नु प्रमुख कारकको रुपमा देखिएको छ।
पुस मसान्तसम्म बैंकको खराब कर्जा ४.९१ प्रतिशत पुगेको छ। गत आवको सोही अवधिमा ४.८६ प्रतिशत थियो। यसकारण बैंकले पुस मसान्तसम्म कुल कर्जाको ११४.१२ प्रतिशत कर्जा नोक्सानी व्यवस्थापन गरेको छ। गत आवको ९५.२७ प्रतिशत मात्रै गरेको थियो।
त्यसो त बैंकले चालू आवमा खुद सञ्चालन आम्दानी, सञ्चालन नाफा गत आवको तुलनामा थोरैले भए पनि बढाउन सफल बनेको छ। जसले गर्दा नाफामा सामान्य बढोत्तरी देखिन सफल भयो। तर बैंकको खुद ब्याज आम्दानी भने गत वर्षको तुलनामा बढ्न सकेको छैन।
दोस्रो त्रैमासिकसम्म बैंकले खुद ब्याज आम्दानी ८ अर्ब २ करोड गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा २७ अर्बले कम हो। गत आवको पुससम्म बैंककले ८ अर्ब २९ करोड खुद ब्याज आम्दानी गरेको थियो।
यस्तै बैंकले ८ अर्ब ४४ करोडको खुद संचालन आम्दानी गरेको छ । गत आवमा ८ अर्ब १८ करोड थियो।
खुद सञ्चालन आम्दानी बढाएको बैंकले संचालन नाफा ७ करोडले बढाउन सफल देखिएको छ। गत आवको पुस मसान्तसम्म बैकले ४ अर्ब २० करोडको खुद संचालन नाफा गरेकोमा चालु आवको सोही अवधिमा ४ अर्ब २७ करोड बराबरको नाफा गर्न सफल देखिएको हो ।
नबिल बैंकको खुद नाफा करिब ५ अर्ब, निष्क्रिय कर्जा पनि घटायो
काठमाण्डौं । नबिल बैंकले खुद नाफामा साउनदेखि पुससम्मको अवधिमा डेढ अर्बको छलाङ मारेको छ।
बिहीबार सार्वजनिक भएको ६ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १ अर्ब ५१ करोड ५३ लाख ६४ हजारले बढेको देखिएको हो।
बैंकले पुससम्म ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष यही अवधिमा नबिल बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद नाफा गरेको थियो।
त्यसैगरी यो अवधिमा खुद वितरणयोग्य नाफा पनि बैंकले बढाएको छ। यो अवधिमा २ अर्ब ७९ करोड ९६ लाख ५१ हजार रुपैयाँ खुद वितरणयोग्य नाफा गरेको छ। गत वर्ष १ अर्ब ५१ करोड ४५ लाख ३१ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। बैंकको कुल वितरणयोग्य नाफा ३ अर्ब २७ करोड ३० लाख ३२ हजार रहेको छ। गत वर्ष यही अवधिमा यस्तो नाफा १ अर्ब ८९ करोड १७ लाख ३५ हजार रुपैयाँ थियो।
पुससम्म बैंकको वार्षिक वितरणयोग्य नाफा प्रतिसेयर २२.५० रुपैयाँ छ। गत वर्ष यस्तो नाफा प्रतिसेयर ९.३८ रुपैयाँ थियो। बैंकको कुल सम्पत्ति पुससम्म ६ खर्ब ९७ अर्ब बढी छ। गत वर्ष ६ खर्ब ३६ अर्ब बढी थियो।
गत वर्ष ५ खर्ब ७४ अर्ब बढी कुल दायित्व रहेकामा यस वर्ष ६ महिनामा ६ खर्ब २८ अर्ब नाघेको छ। यो अवधिमा बैंकको कुल पुँजी पुससम्म ६८ अर्ब ७५ करोड रहेको छ। गत वर्ष ६२ अर्ब ५३ करोड रहेको थियो।
पुससम्म बैंकले ८ अर्ब ८ करोड ७२ लाख ८८ हजार खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको तुलनामा यो १ अर्ब ९१ अर्ब बढी हो। गत वर्ष ७ अर्ब ८९ करोड ५९ लाख ४९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो। त्यसैगरी बैंकले पुससम्म १ अर्ब ६१ करोड १३ लाख २७ हजार खुद शुल्क र कमिसन आय गरेको छ। यस्तो आय गत वर्ष १ अर्ब ५१ करोड १४ लाख ४२ हजार रुपैयाँ थियो।
बैंकको कुल सञ्चालन आय १० अर्ब ६३ करोड १७ लाख २९ हजार रुपैयाँ छ। गत वर्ष १० अर्ब ६ करोड ९३ लाख ९९ हजार रुपैयाँ थियो। बैंकले यो अवधिमा १० अर्ब ६८ करोड ५ लाख ५५ हजार खुद सञ्चालन आय गरेको छ। गत वर्ष ८ अर्ब ७१ करोड ८३ लाख ९० हजार रुपैयाँ थियो।
६ महिनामा बैंकले सञ्चालन नाफा ६ अर्ब ५७ करोड २६ लाख ९८ हजार गरेको छ। गत वर्ष यस्तो नाफा ५ अर्ब १७ करोड ७४ लाख १० हजार थियो। त्यस्तै आयकरअघिको नाफा ६ अर्ब ६१ करोड ४२ लाख रहेको छ। गत वर्ष यस्तो नाफा गत वर्ष ४ अर्ब ६३ करोड ६४ लाख २२ हजार रुपैयाँ थियो।
बैंकले यस अवधिमा निष्क्रिय कर्जामा समेत सुधार गर्न सफल भएको छ। पुससम्म बैंकको कुल निष्क्रिय कर्जा ४.२५ प्रतिशतमा झरेको छ। गत वर्ष सोही अवधिमा यस्तो कर्जा ४.९३ प्रतिशत थियो।
खुद निष्क्रिय कर्जामा पनि सुधार गरेको बैंकले ०.८८ प्रतिशतमा सीमित पारेको छ। गत वर्ष यस्तो कर्जा १.७० प्रतिशत थियो। पुससम्म बैंकले कुल निष्क्रिय कर्जामा राखेको प्रोभिजन १११.९७ प्रतिशत रहेको छ। गत वर्ष ९५.२५ प्रतिशत थियो।
बैंकको तीन महिनाको औसत आधार दर ५.०४ प्रतिशत रहेको छ। गत वर्ष ६.३१ प्रतिशत थियो। त्यस्तै, स्वपुँजीमा वार्षिक प्रतिफल १४.५४ प्रतिशत रहेको छ। गत वर्ष ११.०३ प्रतिशत थियो। यसबाहेक वार्षिक सम्पत्तिमा प्रतिफल १.४३ प्रतिशत रहेको छ। जुन गत वर्ष १.१४ प्रतिशत थियो।
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सांसदहरू सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेका कारण आज (बिहीबार) सर्वोच्च जाने काँग्रेस नेताहरूको कार्यक्रम स्थगित भएको हो ।
काँग्रेसले सूचना जारी गरेर ‘विशेष कारण’ले उक्त कार्यक्रम स्थगित भएको जनाएको छ । काँग्रेसले सूचनामा भनेको छ , ‘डिलेकेशन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको ब्यहोरा जानकारी गराइन्छ ।’
विघटित प्रतिनिधि सभामा पार्टीका प्रमुख सचेतक रहेका नेता श्यामकुमार घिमिरेले प्रधानन्यायाधीश राउतको सचिवालयले फोन गरेर आजका लागि तय भएको भेटघाटको कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिएको जनाए ।
यसअघि घिमिरे नेतृत्वको टोली बिहान १०ः३० बने सर्वोच्च जाने कार्यक्रम थियो । काँग्रेसका ६५ पूर्व सांसदहरूले संसद् पुनर्स्थापनाका लागि रिट दायर गरेका छन् । तर, सर्वोच्चले रिटको सुनुवाइ सुरु गरेको छैन।
दाङको समृद्धिका लागि दीर्घकालीन एजेण्डासहित महासचिव पोखरेल चुनावी मैदानमा
दाङ । नेकपा (एमाले) का महासचिव तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोखरेलले आगामी निर्वाचनका लागि दाङको समग्र विकासलाई केन्द्रमा राख्दै आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् ।
दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने बाचा पूरा गरेको स्मरण गराउँदै पोखरेलले आफू संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गर्दै दाङको पूर्वाधार विकासको आधार तयार गर्न भूमिका खेलेको उल्लेख गरेका छन् ।
पोखरेलले पानीमुनीको पुल भएको जिल्लाको पहिचान बदल्ने कामदेखि प्रमुख अस्पतालहरूलाई रिफर सेन्टरबाट विशेषज्ञ सेवा दिने स्तरसम्म पुर्याउन सहजीकरण गरेको उल्लेख गरे । साथै, उच्च प्राविधिक शिक्षाको आधारशीला तयार गर्न र राजनीतिमा इमान्दार तथा स्वच्छ छविका रूपमा आफूलाई स्थापित गर्न सफल भएको उनको भनाइ छ ।
पोखरेलले अवसर पाउँदा दाङबासीको गौरव बढाउने काम गरेको र पराजय व्यहोर्दा पनि जिल्लाको सेवामा निरन्तर समर्पित रहेको उल्लेख गर्दै अब राष्ट्रको नेतृत्वकारी भूमिकामा दाङलाई पुर्याउने समय आएको जनाए । उनले दाङमा सुरु भएका महत्वपूर्ण योजनाहरू पूरा गर्ने र नयाँ योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै ‘अब ज्ञापनपत्र बोकेर हिँड्ने होइन, बुझ्ने, निर्णय गर्ने र कार्यान्वयन गर्ने दाङ बनाउने’ संकल्प व्यक्त गरे ।
प्रमुख प्रतिबद्धताहरू
पोखरेलले सार्वजनिक गरेको एजेण्डामा लमही–घोराही–तुल्सीपुर फोरलेन सडक निर्माण सम्पन्न गर्ने, ३५० बिघा क्षेत्रफलको घोराही औद्योगिक क्षेत्र निर्माण गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ४०० बेडको नयाँ अस्पताल भवन निर्माण गर्ने विषय समेटिएको छ ।
त्यसैगरी, मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार निर्माण, त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रादेशिक इन्जिनियरिङ कलेज सञ्चालन, गुहारखोला हाइड्याम तथा नहर प्रणाली विकास, तुल्सीपुर विमानस्थल विस्तार गरी ७२ सिटे जहाज उडान–अवतरण योग्य बनाउने योजना पनि उहाँका प्राथमिकतामा छन् ।
ग्रामीण सडक कालोपत्रे, शहरी क्षेत्रमा व्यवस्थित फुटपाथ निर्माण, सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्वास्थ्य बीमाको दायरा विस्तार, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, युवाका लागि बिनाधितो सहुलियत ऋण, नयाँ लगानीकर्तालाई आयकर छुट तथा सिचाइ सुविधा विस्तार गर्ने योजना पनि प्रतिबद्धतामा समावेश गरिएको छ ।
यसैगरी, घोराही–वंगलाचुली खानी क्षेत्र जाने सडक ढलान गर्ने, प्रदेश राजधानीको गुरु योजना कार्यान्वयन गर्ने र केन्द्रीय घोषणापत्रका प्रतिबद्धता पूरा गर्न नेतृत्वकारी भूमिका खेल्ने पोखरेलको भनाइ छ ।
पोखरेलले दाङको विकास र दाङबासीको सम्मानलाई मूल मन्त्र बनाउँदै सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन् ।
निर्वाचन आउन अब ३६ दिन बाँकी ः आयोगले स्वदेशी उत्पादित सामग्री प्रयोग गर्ने
काठमाण्डौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति लिएको छ।
निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति लिएको हो ।
निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद हुने छन्। अधिकांश खरिदका लागि जिटुजी अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ।
निर्वाचनका लागि ६ करोड ७५ लाख रुपैयाँको मात्र नयाँ सामग्री खरिद गरिएको छ। अन्य सामग्री पुरानै स्टकलाई पुनः प्रयोगमा ल्याइएको उनले जनाए।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी विरोध र निर्वाचन चिह्न प्रदानको कार्यक्रम सम्पन्न भइसकेको छ।
प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूतको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले बुधबार शिष्टाचार भेट गरेका छन् ।
सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनीहरूबीच दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिमा आफू सरकारमा आउनुपरेको जनाउँदै अब विस्तारै मुलुक सामान्य अवस्थामा फर्किंदै चुनावमा होमिएको जनाईन। उनले नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनका लागि धन्यवाद ज्ञापन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्वाध सम्पन्न हुने विश्वास व्यक्त गरिन् ।
साथै, नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु, दिगो विकासलगायत क्षेत्रमा नर्वेले सघाउँदै आएको स्मरण गराउँदै उनले आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरिन् ।
निर्वाचन आयोगले सीके, खगेन्द्र र निशालाई सोध्यो स्पष्टीकरण
काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले तीन उमेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले बुधबार उमेदवारहरू चन्द्रकान्त राउत (सीके), खगेन्द्र सुनार र निशा अधिकारीलाई स्पष्टीकरण सोधेको हो ।
जनमत पार्टीका अध्यक्ष राउत सप्तरी–२ बाट उमेदवार छन् । राउतले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनेर उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो । सार्वजनिक स्थानमा आफ्नो निर्वाचन चिह्न र झन्डाको तोरण बनाई प्रदर्शन गरेको भनेर राउतविरुद्ध आयोगमा उजुरी परेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उमेदवार रहेका सुनारले गाईको विषयलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने गरी अभिव्यक्ति दिएको भनेर आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोधेको हो ।
यस्तै, काठमाडौं–५ बाट उमेदवार बनेकी अधिकारीविरुद्ध विदेशमा रहेका नेपालीलाई स्वयंसेवक आवेदन फाराम पठाई क्यूआर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सकिने व्यहोराको विवरण पठाएको भन्ने उजुरी आयोगमा परेको छ । तीनैजनालाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगले भनेको छ ।
निर्वाचन आचारसंहिताविपरीतको गतिविधि गरेको भन्दै आयोगले हालसम्म २१ जना व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ ।
भदौ २३ का १९ जनालाई श्रद्धाञ्जली दिँदै ओलीले भने– गोली चलाउन आदेश दिएको थिइँन, त्यो पीडा आजसम्म पनि मसँगै छ
काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको घटनालाई लिएर आफूले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्ने प्रचार पूर्ण रूपमा गलत र निराधार भएको स्पष्ट पारेका छन् ।
बुधबार साँझ सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले संविधानले नै प्रधानमन्त्रीलाई यस्तो अधिकार नदिएको र आफूले कहिल्यै यस्तो आदेश नदिएको जनाएका हुन् ।
तत्कालीन प्रधानमन्त्री ओलीले घटनापछि तत्काल पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको स्मरण गराउँदै ज्यान गुमाएका १९ जनाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेका छन् ।
“ज्यान गुमाउन बाध्य भएका १९ जना नानीबाबुहरूप्रति मेरो गहिरो श्रद्धाञ्जली छ । त्यो पीडा आजसम्म पनि मसँगै छ ।” ओलीले फेसबुकमा लेखेका छन् ।
अध्यक्ष ओलीका अनुसार सुरक्षाका दृष्टिले सम्भावित घुसपैठको आशंका भएकाले सरकारले सुरुमा माइतीघर क्षेत्रमा प्रदर्शन रोक्ने निर्णय गरेको थियो । तर पछि युवाहरूले शान्तिपूर्ण सभाको अनुमति मागेपछि प्रशासनले सहजै अनुमति दिएको र बिहानदेखि सुरु भएको जेनजी प्रदर्शन शान्तिपूर्वक भएको थियो ।
“म स्वयंले पनि अघिल्लो दिन जेनजी सुझबुझ भएका हाम्रा युवाहरू अनुशासित र सचेत छन् भनेर सार्वजनिक रूपमा भनेको थिएँ । त्यसैले माइतीघरमा बिहान सुरु भएको जेनजी प्ररदर्शन शान्तिपूर्वक चल्यो न गोली चल्यो, न लाठी प्रहार भयो । तर करिब १२ बजेतिर घुसपैठ गर्ने तत्वहरूले युवाहरूलाई घेरेर निषेधित क्षेत्रतर्फ लगिरहेका दृश्य सबैले देखेका छौँ । आयोजकहरूले बारम्बार घुसपैठ भएको जानकारी दिएर युवाहरूलाई घर फर्किन आग्रह पनि गरे ।” ओलीले लेखेका छन्, “तर योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनसम्म पुर्याउन खोजे । किनकी उनीहरूलाई थाहा थियो संसद् भवन आक्रमण हुनथाले सुरक्षा निकायले कानुन अनुसार बल प्रयोग गर्नैपर्छ । संसद भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले “आन्दोलन” होइन, “राज्यविरुद्धको हमला” मान्छ । संसद भवन भित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चल्यो, र त्यसपछि २ घण्टासम्म भएका घटनाले हामी सबैलाई कहिल्यै नमेटिने घाउ दिएको छ ।”
अध्यक्ष ओलीले संसद् भवनभित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि मात्रै गोली चलेको र त्यसपछिका दुई घण्टाका घटनाले देशलाई कहिल्यै नमेटिने घाउ दिएको जनाए ।
“यदि त्यस दिन सुरक्षाकर्मीले आफ्ना हतियार खोसिन दिएका भए ? यदि संसद भवन जलेको भए ? के त्यतिबेला पनि ज्यान जाने थिएन ? विस्फोटक सामग्रीसहित आएका उनीहरू त्यसै फर्किन्थे ? ती समूहहरूको उद्देश्य नै अराजकता फैलाएर देशलाई हिंसामा धकेल्ने थियो भन्ने कुरा पछिल्ला घटनाहरूले स्पष्ट देखाउँछ । फेरि भाद्र २४ गतेको विध्वंशलाई हेर्छु, मेरो राजीनामापछि नै सिंहदरवार राष्ट्रपति भवन सर्वोच्च अदालत लगायत सबै धरोहरहरु जलाइएको हो ।” ओलीले भने । उनका अनुसार ती समूहहरूको उद्देश्य अराजकता फैलाएर देशलाई हिंसामा धकेल्नु नै थियो भन्ने कुरा पछिल्ला घटनाबाट स्पष्ट भएको छ ।
भदौ २४ गते आफ्नो राजीनामापछि सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायत राष्ट्रिय धरोहरहरू जलाइएको घटनातर्फ पनि ओलीले ध्यानाकर्षण गराएका छन् । उनले विश्वका जुनसुकै देशमा पनि प्रमुख संवैधानिक अंगहरूको सुरक्षाका लागि सुरक्षाकर्मी चौबीसै घण्टा हतियारसहित कम्ब्याट पोजिसनमा रहने र उनीहरूले सरकारको होइन, कानुनको सपथ लिने स्पष्ट पारेका छन् ।
“भाइबहिनीहरुलाई थाहा छ– संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अंगका कार्यालय रक्षाका लागि सुरक्षाकर्मीले चौबीसै घण्टा हतियार सहित कमब्याट पोजिसनमा उभिएको हुन्छ । उनीहरुले सरकारको आदेश होइन, कानुनको सपथ लिएका हुन्छन् । त्यस दिन पनि सरकारको आदेशमा गोली चलेको होइन, सरकारले आदेश दिएको पनि होइन ।” अध्यक्ष ओलीले भनेका छन्, “म फेरि पनि स्पष्ट पार्न चाहन्छु– तपाईंहरुको माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले कुनै बल प्रयोग गरेको थियो ? थिएन । बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म कुनै गोली चलेको थियो ? थिएन । बालबालिकाहरूलाई घेरेर उनीहरूले यस्तो ठाउँमा पुर्याए, जहाँ कानुनले स्वतः गोली चलाउने आदेश दिन्छ ।”
अध्यक्ष ओलीले आफू कुनै पनि मञ्चमा बसेर यसबारे खुला रूपमा उत्तर दिन तयार रहेको जनाउँदै सामाजिक सञ्जालमा फैलाइएका गलत प्रचारमा नलाग्न नागरिकलाई आग्रह गरेका छन् । साथै, अध्यक्ष ओलीले प्रश्न पनि उठाएका छन्– माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद भवनजस्तो कानुनले बल प्रयोग गर्नै पर्ने ठाउँतर्फ कसले, किन र कसरी लग्यो ? यो प्रश्नको पनि जवाफ खोज्नुहोला ।
















