काठमाण्डौं । कर्जा असुली र ब्याजआम्दानी दुवै खुम्चिएपछि ग्लोबल आईएमई बैंकले अपेक्षित नाफा गर्न सकेन।
बैंकले जारी गरेको अर्धवार्षिक अपरिष्कृत वित्तीय विवरणमा बैंकले ६.५५ प्रतिशतले मात्र नाफा बढाएको हो। जुन बैंकको अपेक्षाभन्दा निकै कम भएको उल्लेख गरेको छ।
बैंकले पुस मसान्तसम्म कुल ३ अर्ब २५ करोड नाफा कमाएको हो। गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ५ करोड रहेकोमा चालू आवमा २० करोडले नाफा बढेको हो।
तर उक्त नाफा बैंकको अपेक्षित नाफा भने होइन ।
‘बैंकको कर्जा विस्तार अपेक्षित मात्रमा हुन सकेको छैन भने बैंकको ब्याज आम्दानी तथा निष्क्रिय कर्जा असुलीमा समेत नकारात्मक असर परेको छ’, विवरणमा भनिएको छ।
नाफा खुम्चिनुमा बैंकको खराब कर्जा बढ्नु र गत वर्षभन्दा यो वर्ष धेरै कर्जा नोक्सानी व्यवस्थापन गर्नु प्रमुख कारकको रुपमा देखिएको छ।
पुस मसान्तसम्म बैंकको खराब कर्जा ४.९१ प्रतिशत पुगेको छ। गत आवको सोही अवधिमा ४.८६ प्रतिशत थियो। यसकारण बैंकले पुस मसान्तसम्म कुल कर्जाको ११४.१२ प्रतिशत कर्जा नोक्सानी व्यवस्थापन गरेको छ। गत आवको ९५.२७ प्रतिशत मात्रै गरेको थियो।
त्यसो त बैंकले चालू आवमा खुद सञ्चालन आम्दानी, सञ्चालन नाफा गत आवको तुलनामा थोरैले भए पनि बढाउन सफल बनेको छ। जसले गर्दा नाफामा सामान्य बढोत्तरी देखिन सफल भयो। तर बैंकको खुद ब्याज आम्दानी भने गत वर्षको तुलनामा बढ्न सकेको छैन।
दोस्रो त्रैमासिकसम्म बैंकले खुद ब्याज आम्दानी ८ अर्ब २ करोड गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा २७ अर्बले कम हो। गत आवको पुससम्म बैंककले ८ अर्ब २९ करोड खुद ब्याज आम्दानी गरेको थियो।
यस्तै बैंकले ८ अर्ब ४४ करोडको खुद संचालन आम्दानी गरेको छ । गत आवमा ८ अर्ब १८ करोड थियो।
खुद सञ्चालन आम्दानी बढाएको बैंकले संचालन नाफा ७ करोडले बढाउन सफल देखिएको छ। गत आवको पुस मसान्तसम्म बैकले ४ अर्ब २० करोडको खुद संचालन नाफा गरेकोमा चालु आवको सोही अवधिमा ४ अर्ब २७ करोड बराबरको नाफा गर्न सफल देखिएको हो ।













