Page 20

आजदेखि स्वस्थानी व्रत र माघ स्नान सुरु

काठमाण्डौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्ति पीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अंग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो।
शनिबारदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दैछन्।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ।
बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबिच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ। कुल परम्पराअनुसार कथा वाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन्।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ। चढाइएका प्रसादमध्ये सबैबाट आठरआठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत
छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ।
सय रोटी बर्तालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ। यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ।
आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ।
स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ ।
यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ। रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ।
यस अवसरमा एक महिनासम्म उपत्यकाको उत्तर पूर्वीभेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला सुरु गरिँदै छ।
यस वर्षको माधनारायण मेलाका लागि साँखुस्थित शालिनदीमा मेला लाग्दै छ। यसका लागि सबै तयारी पूरा भएको शालीनदी व्यवस्थापन समितिले जनाएको छ। शालिनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागका साथै भारतबाट भक्तजन आउने गरेका छन्।

६ बुँदे सहमतिपछि निकोलस र हरिशले तोडे अनसन

काठमाडौं । सरकारले अनसनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता गरेसँगै उनीहरूको ११ दिनदेखिको अनसन अन्त्य भएको छ ।
शुक्रबार सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा भुसाल र विष्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापछि प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा जुस खुवाउँदै दुवैको अनसन तोडाएकी हुन् ।
‘शान्ति, समृद्धि, सुशासन पहिला देश’ भन्ने मूल नारासहित अनसनरत उनीहरू र सरकारबीच भएको सहमतिमा विभिन्न राजनीतिक, कानुनी र संरचनागत सुधारका विषय समेटिएका छन् ।
सम्झौता अनुसार जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित छानबिन आयोगको प्रतिवेदन प्राप्त भएको १५ दिनभित्र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ ।
त्यस्तै, आन्दोलनमा संलग्न भएकै कारण थुनामा रहेका, अनुसन्धान वा अभियोजन भोगिरहेका व्यक्तिहरूको हकमा गम्भीर अपराधमा संलग्न नरहेको पुष्टि भएमा एक महिनाभित्र मुद्दा फिर्ता र रिहाइ गरिने सहमति भएको छ ।
सम्झौतामा राजनीतिक तथा नीतिगत भ्रष्टाचार नियन्त्रण गर्न १५ दिनभित्र कार्यादेश तयार गरी उच्चस्तरीय छानबिन आयोग गठन गर्ने उल्लेख छ । आयोगले सार्वजनिक पदधारीको सम्पत्ति छानबिन, दलीयकरण अन्त्य तथा प्रशासनिक पुनर्संरचनासम्बन्धी सिफारिस गर्नेछ ।
यसैगरी, वैदेशिक मताधिकार सुनिश्चित गर्न आगामी निर्वाचनमा विदेशबाट मतदान गर्न सकिने प्रविधि विकास गर्ने प्रतिबद्धता सरकारले गरेको छ । सम्झौतामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश सरकारको स्वरूप लगायत संवैधानिक तथा शासकीय सुधारका विषयमा अध्ययन गरी सुझाव दिन एक महिनाभित्र ‘संविधान संशोधन सुझाव आयोग’ गठन गरिने उल्लेख गरिएको छ । साथै, आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवार तथा घाइतेहरूको शिक्षा, स्वास्थ्य र रोजगारीका दीर्घकालीन आवश्यकताहरू सरकारबाट सम्बोधन गरिने सहमति भएको छ ।
सम्झौतापछि भुसाल र विष्टले अनशन अन्त्य गर्ने र सम्झौताका बुँदाहरू कार्यान्वयन गर्न सरकारसँग सहकार्य गर्ने जनाएका छन् । सम्झौतापत्रमा आन्दोलनरत पक्षका तर्फबाट भुसाल र विष्ट तथा सरकारका तर्फबाट खनालले हस्ताक्षर गरेका छन् ।

निर्वाचन आउन ६१ दिन बाँकी ः यस्तो छ उम्मेदवारको खर्च सीमा

काठमाण्डौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन्।
निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापमा सबैभन्दा बढी खर्च गर्न पाउनेछन्।
यसैगरी काभ्रेपलान्चोकका दुइवटै निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोरखाको एक, लम्जुङको एक, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङको एक, बर्दियाका दुई, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले मात्रै ३३ लाख रुपैयाँ बराबरको खच गर्न पाउनेछन्। भौगोलिक विकटताका आधारमा खर्चको सीमा अन्यत्रभन्दा बढी राखिएको आयोगले जनाएको छ।
आयोगले सुगम जिल्लाका निर्वाचन क्षेत्रमा न्यूनतम २५ लाख रुपयाँ बराबर मात्रै खर्च गर्न सक्ने व्यवस्था गरेको छ। पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै सबैभन्दा कम खर्च गर्न पाउने व्यवस्था गरिएको छ। ती निर्वाचन क्षेत्रमा काठमाण्डौं १, ३, ६, ७ र ८ रहेका छन्।
यसैगरी तेह्रथुम, पर्सा १, २ र ३, रसुवा काठमाण्डौं २, ४, ५, ९, १०, ललितपुर १ र २ मनाङ, कास्की २ र रुकुम पूर्वका उम्मेदवारले रु २७ लाख बराबरको खर्च गर्न पाउनेछन्। यस्तै, ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँ बराबर खर्च गर्न पाउने छन्।
त्यस्तै, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँ बराबरको चुनावी खर्च गर्न पाउँछन्। आयोगले यस पटक बैंक तथा वित्तीय संस्थामा खाता खोलेर निर्वाचन खर्च गर्नुपर्ने व्यवस्था गरेको छ।

रास्वपा समानुपातिक सूचीमा रहेकी त्रिशला गुरुङले लिइन् नाम फिर्ता

काठमाडौं । उज्यालो नेपाल पार्टीमा रहेर रास्वपाको समानुपातिक तर्फ बन्दसूचीमा रहेकी डा. त्रिशला गुरुङले सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत् यस्तो जनाएकी हुन् ।
उनले सामाजिक सञ्जालमाथि भनेकी छन्– गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उमेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु । यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तररुपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने मेरो दृढ संकल्प हो ।”

नयाँ वर्षमा हलमा लाग्यो ‘एक्लो’, प्रदीपलाई चल्नैपर्ने दबाब

काठमाण्डौं । नेपाली चलचित्र उद्योगमा नयाँ युगको सुरुवात भएको छ । साइन्स फिक्सन विधामा निर्माण भएको चलचित्र ‘एक्लोमार्फत नेपाली चलचित्रले नयाँ धार समातेको हो । नेपाली चलचित्रको इतिहासमै फरक र साहसी प्रयोगका रूपमा हेरिएको यो चलचित्र अब दर्शकसमक्ष पुगेको छ । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर बिहीबारबाट फिल्म सार्वजनिक प्रदर्शनमा आएको हो ।
घरेलु बक्स अफिसमा दुई विदेशी चलचित्र ‘धुरन्धर’ र ‘अवतार ३’को दबदबा अझै कायम रहेकाले ‘एक्लो’ले अपेक्षित शो भने पाउन सकेको छैन । पहिलो दिनका लागि चलचित्रको देशव्यापी शो १२४ वटा मात्र छ । उपलब्ध शोहरूमा टिकट बुकिङ पनि कमजोर नदेखिएकाले अब चलचित्रले दर्शकीय आकर्षण बढाउन बलियो ‘वर्ड अफ माउथ’ पाउनुपर्ने देखिन्छ ।
यस चलचित्रमा स्थापित कलाकारहरूको पल्टन नै छ । अहिलेका ‘स्टार’ मानिने प्रदीप खड्का चलचित्रको मुख्य भूमिकामा छन् । उनलाई यो चलचित्रमा व्यावसायिक रूपमा सफल हुनैपर्ने दबाब छ । किनकि, ‘पूजार सार्की’पछि उनका चलचित्रहरु लगातार असफल भएका छन् । यो श्रृंखलालाई रोक्न र आफ्नो स्टारडम फेरि प्रमाणित गर्न पनि उनलाई ‘एक्लो’को सफलता आवश्यक देखिन्छ ।
प्रदीपसहित विजय लामा, सुनील थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, बेलायती अभिनेता जेमी बेकन लगायतको पनि अभिनय रहेको यस फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । एनआरएन समूहको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् भने निर्मातामा प्रदीप खड्का स्वयं छन् ।

‘प्रतिवैरम’को टिजरमा दाइजो प्रथादेखि अवैध धन्दासम्मको कथा

काठमाण्डौं । प्रायः नेपाली चलचित्रको प्रचार सामाग्री प्रदर्शन मिति तय भएपछि मात्र सार्वजनिक गर्ने प्रचलन छ । तर, नयाँ चलचित्र ‘प्रतिवैरम’को भने प्रदर्शन मिति नै निश्चित नहुँदै प्रचारको महत्त्वपूर्ण अस्त्र मानिने टिजर सार्वजनिक गरिएको छ । १ मिनेट २९ सेकेन्ड लामो टिजरले चलचित्रको कथावस्तुबारे प्रकाश पारेको छ । दाइजो प्रथादेखि अवैध धन्दासम्मको कथा यसमा देख्न सकिन्छ ।
रोशन दासको निर्देशनमा बनेको यस चलचित्रमा सम्राट दास, सुप्रज्ञा शर्मा, विरेन्द्र कुशवाहा, अलिशा बस्तोला, रोन्नी यादव, बिकी शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बिके, बिके शाह, रामेश बुढाथोकी लगायतको अभिनय रहेको छ । सम्राटले यही चलचित्रको डेब्यु गरेका हुन् । टिजरमा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ ।
रेज इन्टरटेनमेन्टले किङ वाईटीसँगको सहकार्यमा निर्माण गरेको चलचित्रमा निर्देशक दास स्वयंको कथा छ भने युवराज भट्टराईले पटकथा तथा संवाद लेखेका हुन् । कृष्ण बर्देवाको छायांकन रहेको चलचित्रलाई कवीर वोडले सम्पादन गरेका छन् । यो चलचित्रलाई नेपालीसहित हिन्दी, मैथिली र भोजपुरी भाषामा पनि निर्माण गरिएको छ ।
निर्देशक दासले मधेसको वास्तविक कथा, सौन्दर्य र त्यहाँको सामाजिक राजनीतिक समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको जनाएका छन् । चलचित्रले दर्शकलाई सन्देशसहित मनोरञ्जन पनि दिने उनको विश्वास छ । उनका अनुसार चलचित्रलाई २०८३ सालको जेठ महिनामा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

‘झरीपछिको इन्द्रेणी’ हेर्दा ‘बासुदेव’ सम्झिएँ ः विनोद चौधरी

काठमाण्डौं । उद्योगपति, चलचित्र निर्माता तथा निवर्तमान सांसद विनोद चौधरीले फिल्म ‘झरीपछिको इन्द्रेणी’को कथावस्तुदेखि कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन् । बुधबार श्रीमती सारिकाको साथमा काठमाडौंको बिग मुभिज पुगेर चलचित्र हेरेका उनले यसको कथावस्तुले आफूलाई आफ्नै चलचित्र ‘बासुदेव’को याद दिलाएको जनाए ।
‘यो चलचित्र हेर्दा मलाई आफैँले बनाएको ‘बासुदेव’ सम्झना आयो । त्यसले दिएका सन्देशहरु सम्झिएँ,’ उनले सञ्चारकर्मीसँग भने, ‘पछिल्लो समय विदेश जाने प्रवृत्ति, विदेशमै सबैकुरा हुन्छ भन्ने मानसिकता र परिवारभित्रको कथालाई निर्देशकले राम्रोसँग प्रस्तुत गर्नुभएको छ । कलाकारहरूको अभिनय उस्तै बुलन्द छ । एकपटक सबै नेपालीले हेर्नुपर्ने चलचित्र हो यो ।’
एउटा इमान्दार कर्मचारीको कथा र भ्रष्टचारीको अन्त्य कसरी हुन्छ भन्ने कुरालाई चलचित्रमा सशक्त ढंगले देखाएकोमा निर्देशकको प्रशंसा गर्दै उनले चलचित्रमा प्रस्तुत गरिएको जेनजी नै सही हो भन्ने सन्देश अझ व्यापक बनाउनुपर्नेमा जोड दिए । जेनजीको मुभमेन्टलाई विथोल्नेहरू धेरै जन्मिएको जिकिर गर्दै उनले त्यसबाट आफू समेत पीडित रहेको जनाए ।
उनले चलचित्र निर्माणमा आफू फेरि फर्किने समेत संकेत गरेका छन् । यसबारे उनी भन्छन्, ‘म कलाप्रेमी हुँ । कलाप्रतिको लगावले गर्दा नै म त्यसबेला चलचित्र ‘बासुदेव’सँग जोडिन पुगेको थिएँ । त्यसले अझै छाडेको छैन र भविष्यमा पनि छाड्ने छैन । म त झन् कर्पोरेट र नेपाली चलचित्र उद्योग मिलेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ ।’
विनोदसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह, युवा तथा खेलकुद मन्त्री बब्बु गुप्ता, गायक तथा अभिनेता प्रकाश सपूत, रास्वपा नेतृ तोसिमा कार्की लगायतले पनि ‘झरीपछिको इन्द्रेणी’ हेरिसकेका छन् । उनीहरूले पनि चलचित्रको कथावस्तुको प्रशंसा गर्दै यसलाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने चलचित्रको संज्ञा दिएका छन् ।

समानुपातिकमा अपांगता भएका व्यक्तिलाई पनि समेट्न सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले अपाङ्गता भएका व्यक्तिको समानुपातिक उम्मेदवार सुनिश्चितता गर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अपाङ्गता भएका व्यक्तको समानुपातिक प्रतिनिधित्व गर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
विभिन्न क्षेत्र र समूदायको प्रतिनिधित्वको व्यवस्था भएपनि अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व नभएको भन्दै माधव प्रसाद चम्लागाईंले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
रिट निवेदनमा नेपाल सरकारले अध्यादेशमार्फत प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को अनुसूची–१ संशोधन गरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्द सूची (क्लस्टर) पुनः निर्धारण गर्दा अपाङ्गता भएका व्यक्तिहरूको स्पष्ट, बाध्यकारी र अनिवार्य प्रतिनिधित्व सुनिश्चित नगरिएको दाबी गरिएको थियो ।

कांग्रेसको १५औं महाधिवेशन वैशाखमा गर्न प्रस्ताव

काठमाण्डौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गते गर्ने प्रस्ताव गरेका छन् ।
सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति खड्काले नयाँ मिति प्रस्ताव गरेका हुन् ।
यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिले पुस २६ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।
नयाँ प्रस्तावअनुसार, आउँदो चैत २१ मा वडा अधिवेशन गर्न प्रस्ताव गरिएको छ। त्यस्तै, गाउँ तथा नगरपालिकाको अधिवेशन चैत २५ गर्ने प्रस्तावमा उल्लेख छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले प्रस्ताव पारित गरेमा कांग्रेस महाधिवेशन वैशाख अन्तिम साता हुनेछ।
यस्तै सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्न प्रस्ताव गरिएको छ।

सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभाबाट लाभांश पारित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
उक्त साधारण सभाले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल गरी पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदनसहित सो अवधिको वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू समेत स्वीकृत गरिएको छ ।

लेटेष्ट समाचार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बांग्लादेश...

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल...

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५...