काठमाण्डौं । प्रायः नेपाली चलचित्रको प्रचार सामाग्री प्रदर्शन मिति तय भएपछि मात्र सार्वजनिक गर्ने प्रचलन छ । तर, नयाँ चलचित्र ‘प्रतिवैरम’को भने प्रदर्शन मिति नै निश्चित नहुँदै प्रचारको महत्त्वपूर्ण अस्त्र मानिने टिजर सार्वजनिक गरिएको छ । १ मिनेट २९ सेकेन्ड लामो टिजरले चलचित्रको कथावस्तुबारे प्रकाश पारेको छ । दाइजो प्रथादेखि अवैध धन्दासम्मको कथा यसमा देख्न सकिन्छ ।
रोशन दासको निर्देशनमा बनेको यस चलचित्रमा सम्राट दास, सुप्रज्ञा शर्मा, विरेन्द्र कुशवाहा, अलिशा बस्तोला, रोन्नी यादव, बिकी शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बिके, बिके शाह, रामेश बुढाथोकी लगायतको अभिनय रहेको छ । सम्राटले यही चलचित्रको डेब्यु गरेका हुन् । टिजरमा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ ।
रेज इन्टरटेनमेन्टले किङ वाईटीसँगको सहकार्यमा निर्माण गरेको चलचित्रमा निर्देशक दास स्वयंको कथा छ भने युवराज भट्टराईले पटकथा तथा संवाद लेखेका हुन् । कृष्ण बर्देवाको छायांकन रहेको चलचित्रलाई कवीर वोडले सम्पादन गरेका छन् । यो चलचित्रलाई नेपालीसहित हिन्दी, मैथिली र भोजपुरी भाषामा पनि निर्माण गरिएको छ ।
निर्देशक दासले मधेसको वास्तविक कथा, सौन्दर्य र त्यहाँको सामाजिक राजनीतिक समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको जनाएका छन् । चलचित्रले दर्शकलाई सन्देशसहित मनोरञ्जन पनि दिने उनको विश्वास छ । उनका अनुसार चलचित्रलाई २०८३ सालको जेठ महिनामा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।













