काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाका पूर्वप्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ बालेन्द्र शाह (बालेन) चुनावी अभियानका क्रममा मोरङको उर्लाबारी पुगेका छन्।
उर्लाबारीमा आयोजित भेटघाट तथा छलफलका क्रममा उनले स्थानीयवासी, युवा र नागरिक अगुवासँग समसामयिक राजनीतिक अवस्था, सुशासन र स्थानीय विकासका विषयमा संवाद गरेका छन्।
भेटघाटमा शाहले विकासको मूल आधार पारदर्शिता र जवाफदेहिता भएको उल्लेख गर्दै राज्य संयन्त्रमा देखिएको बेथिति र अनावश्यक खर्च नियन्त्रण गर्न नागरिक स्वयं सचेत र सक्रिय हुनुपर्ने धारणा राखे। उनले स्थानीय तह बलियो बने मात्र संघीय संरचनाको औचित्य पुष्टि हुने जनाए।
स्थानीय युवाहरूले रोजगारीको अभाव, शहरी व्यवस्थापन, फोहोर व्यवस्थापन तथा आधारभूत पूर्वाधारका समस्या उठाएका थिए।
जवाफमा शाहले नीति निर्माणमा नागरिकको सहभागना बढेमा समाधान सम्भव हुने जनाउँदै परिवर्तन माथिबाट मात्र नभई तलबाट सुरु हुनुपर्ने जनाए।
बालेनको उर्लाबारी आगमनलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ । उनका समर्थकहरूले उनको स्पष्ट बोली र कार्यशैलीले परम्परागत राजनीतिमा नयाँ बहस सिर्जना गरेको प्रतिक्रिया दिएका छन्।
उर्लाबारी बसाइँका क्रममा शाहले स्थानीय अवस्था अवलोकन गर्ने र विभिन्न समूहसँग थप अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
यस्तै शाहले मोरङ–१ र ३ का मतदातासँग बुधबार बिहान भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।
मोरङ पुगेका शाहले मोरङ–१ का रास्वपा उम्मेदवार यग्यमानी न्योपानेसहितसँग भेटवार्ता गरेका हुन् । यस्तै शाहले मोरङ्ग–३ का उम्मेदवार गणेश कार्कीसँग भेटघाट गरेका छन् । बालेन बुधबार नै झापाबाट तेस्रो चरणको जिल्ला दौडाहामा निस्किएका हुन्।
उर्लाबारी पुगे बालेन, सुशासन र नागरिक सहभागितामा जोड
स्वास्थ्य बिमा समस्या समाधानका लागि प्रधानमन्त्रीले बोलाइन् बैठक
काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका लागि बैठक बोलाएकी छिन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार अपराह्न बस्ने गरि सरोकारवाला पक्षहरूको बैठक बोलाएकी हुन् ।
बैठक आज दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए ।
स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् ।
स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्ब रुपैयाँ भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।
राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किदै छन् ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन सोमबार जापान गएका थिए ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागिता जनाउँदै समारोहलाई सम्बोधन गरे ।
यसैगरी, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरे । साथै, जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए तथा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि उनले शिष्टाचार भेटवार्ता गरेका थिए ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदाय तथा जापानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूलाई सम्बोधन गरेका थिए भने उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकन समेत गरे ।
नेपाल र जापानबीच सन् १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेका थिए ।
राष्ट्रपति पौडेल जापानको औपचारिक भ्रमणका लागि आइतबार राति नेपालबाट जापानतर्फ प्रस्थान गरेका थिए ।
गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न गरेको छ ।
गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारीहरुसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ को कार्यान्वयन, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी, कर्मचारी, आवश्यक सवारी साधन र मतपेटिका ढुवानी लगायतका विषयमा छलफल भएको हो ।
बैठकमा सीमा सुरक्षामा उच्च निगरानी गर्ने, छिमेकी मुलुकका समकक्षीसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्ने, होली पर्वको समयमा उच्च सतर्कता अपनाउने, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्ने, जिल्ला सुरक्षा समितिलाई दिएको निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गर्ने लगायतका विषयमा गहन छलफल गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जनाए ।
गृह सचिव श्रेष्ठले बैठकमा छलफल भएका विषयहरुका सम्बन्धमा आवश्यकता अनुसार जिल्ला सुरक्षा समितिको बैठक बसी प्रभावकारी भूमिका निर्वाह गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
बैठकमा प्रमुख जिल्ला अधिकारीहरुको अतिरिक्त मन्त्रालयका महाशाखा प्रमुखहरु, विभागीय प्रमुखहरु एवं मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय
काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
उनले भने, ‘सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसद्बाट फिर्ता लिन स्वीकति प्रदान गर्ने निर्णय भएको छ ।’
निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहीदहरूको शालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजनाको संशोधन गर्न स्वीकृति दिने अर्को निर्णय गरेको पनि जानकारी दिए ।
‘निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरु योजनाको संशोधन गर्न स्वीकृति दिने अर्को निर्णय गरेको छौं,’ उनले भने ।
पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत लामिछानेले देश अन्तिम सुनामीको तयारीमा रहेको जनाउँदै यसलाई रोकेर देखाउन पूराना दलहरूलाई चेतावनी समेत दिएका छन् ।
‘यो देश अन्तिम सुनामीको तयारीमा छ । मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ,’ लामिछानेले भनेका छन्, ‘हामी मत परिणाम स्वीकार्छौं तर विद्रोहले उखेलेर फालेको पुरानो संसद, षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्वीकार्दैनौं ।’
उनले आगामी फागुन २१ गतेलाई सामान्य मिति नभएको पनि जनाएका छन् ।
‘फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ,’ लामिछानेले भनेका छन्, ‘फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनुपर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन ।’
सलिकोले गर्यो कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम
काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा उदयपुर जिल्लाको त्रियुगा नगरपालिमा तीन दिने कृषि पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम कृषि तथा पशुपंक्षी विभाग प्रमुख उमेश ढकालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा इन्सुरेन्स कम्पनीका प्रतिनिधि साथै विभिन्न जिल्लाहरूबाट सहभागीको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा १५ जना सहभागीहरूले सहभागिता जनाई सफलतापूर्वक प्रमाणपत्र प्राप्त गरे। कार्यक्रम सञ्चालक उदयपुर गाईघाट शाखा कार्यालयका प्रमुख धनबहादुर कटुवालले गरेका थिए ।
अभिकर्ता तालिम प्राप्त गरिसके पश्चात अभिकर्ताहरू कृषकहरूकोमा गई कृषकहरूको अधिकतम मात्रामा सुरक्षण प्रदान गर्ने र कृषि बीमाको दायरा बढ्ने विश्वास कम्पनीले राखेको छ ।
नेशनल लाईफ इन्स्योरेन्सले कर्मचारीहरुलाई दियो क्षमता अभिवृद्धि तालिम
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले ‘ट्रान्जिसनिङ टुु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स’ भन्ने नाराका साथ तीन दिने इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम सम्पन्न गरेको छ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली तथा विभागीय प्रमुखहरू सहित देशभरिका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका प्रशासनिक कर्मचारीहरु गरी कुल २७० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् । उद्घाटनको क्रममा अध्यक्ष सिंहले बीमा व्यवसाय निरन्तर रुपमा प्राविधिक विषय हुँदै गएको सन्दर्भमा आर्टिफिसियल इण्टेलीजेन्स सम्वन्धि यस विस्तृत तालिम प्रशिक्षणबाट कम्पनीको व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने आशय व्यक्त गरिन् ।
उनले कार्यसम्पादन मुल्यांकनको आधारमा बेस्ट इम्प्लोइ अवार्ड–२०८२ मा उत्कृष्ट ठहरिएको ७ जना कर्मचारीहरु रोहित कुमार श्रेष्ठ, जीवन बाराकोटी, नेमप्रसाद थारु, बेजोन कार्की, योगेश निरौल, नविना खाती र रचना पराजुलीलाई नगद पुरस्कार तथा सम्मान पत्र सहित सम्मान गरिन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले स्वागत मन्तव्यको क्रममा, दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कर्मचारीहरुलाई प्रविधिमा सक्षम बनाई डाटा विश्लेषण तथा ग्राहक सेवा प्रणाली जस्ता उपकरणको प्रभावकारी प्रयोगबाट सेवा प्रवाहलाई छिटो, सरल र गुणस्तरीय बनाउन मदत पुग्ने गरी एआई (आर्टिफिसियल इण्टिेलिजेन्स) तालिमको व्यवस्था गरिएको जनाए । साथै उनले कर्मचारीहरुलाई बीमा व्यवसायमा प्रत्यक्ष सरोकार राख्ने सम्पत्ती शुद्धिकरण सम्वन्धि तालिमको पनि व्यवस्था गरिएको जानकारी दिए ।
उक्त कार्यक्रममा ब्रोडवे इन्फोसिसका सन्देश भट्टराईले आर्टिफिसियल इण्टेलीजेन्सका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै एआई सम्वन्धि विस्तृत गहन प्रशिक्षण प्रदान गरेका थिए ।
नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उप निर्देशक पदम प्रसाद सोडारीज्यूले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सकिने तर्फ सचेत रहन आग्रह गर्नुहुँदै राष्ट्रिय हितका लागि आतंकवादि वित्तिय लगानी रोक्नु हामी सबैको कर्तव्य भएको जनाए । विभिन्न वित्तिय कृयाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकोले वहाँहरुको वित्तीय कृयाकलापलाई सुक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता कृयाकलाप रोक्न टेवा मिल्ने सम्वन्धमा प्रशिक्षण प्रदान गरे ।
कार्यक्रममा कर्मचारीहरुको मानसिक तथा शारिरीक स्वास्थयमा अभिवृद्धि गर्ने उदेश्यले आर्ट अफ लिभिङका डा. डोन्जन लामिछानेबाट योगा प्रशिक्षण पनि प्रदान गरिएको थियो ।
सहभागी कर्मचारीहरूको पेशागत ज्ञान अभिवृद्धिका लागि सञ्चालन गरिएको परिक्षामा उत्कृष्ट नतिजा सहित प्रथम, द्वितीय र तृत्तिय हुन सफल क्रमशः केन्द्रिय कार्यालयका सुरक्षा सिंह, बेजोन कार्की र किर्तिपुर शाखाका सिद्धार्थ महर्जनलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले नगद प्रोत्साहन सहित सम्मान गरेका थिए । यसैगरी प्रदेश स्तरिय फुटसल प्रतियोगितामा प्रथम, द्वित्तीय र तृत्तीय हुने क्रमशः लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र केन्द्रीय कार्यलयबाट विजयी हुने खेलाडीहरुलाई पनि पुरस्कृत एवं सम्मान गरेका थिए ।
विभिन्न मनोरञ्जनात्मक गतिविधि समावेश गरिएको उक्त कार्यक्रममा कम्पनीका उप–कार्यकारी प्रमुख स्मृतिराज कँडेलले धन्यवाद ज्ञापन गर्दै कम्पनीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरी कर्मचारीहरूको सीप, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने जनाए ।
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
काठमाडौं । प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त भएका छन् ।
बैंकका सीईओ अशोक शेरचनले दिएको राजीनामा स्वीकृत गर्दै आज बसेको सञ्चालक समितिको बैठकले शर्मालाई आजैदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव अमित भण्डारीले जनाएका छन् ।
बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका शर्मा यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकको सीईओ थिए । उनले ग्लोबल आइएमई बैंकमा डिपुटी सीईओ भएर पनि काम गरेका थिए ।
एनएलजी इन्स्योरेन्सद्वारा सल्यानमा कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । कृषकको घर–दैलोमा पुगेर बीमा सेवा विस्तार गर्ने उद्देश्यसहित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सल्यान शाखाले सिद्धकुमाख गाउँपालिका वडा नं. ५ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
सिद्धकुमाख गाउँपालिका वडा नं. ५ को वडा कार्यालयमा आयोजित उक्त कार्यक्रममा कृषकलाई बीमाको दायरामा ल्याउने लक्ष्यसहित कृषि तथा पशुपन्छी बीमाका प्रावधान, दाबी प्रक्रिया तथा यसको महत्त्वबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेस कोअर्डिनेटर सुनील श्रेष्ठले कृषकलाई प्राकृतिक जोखिम तथा आर्थिक क्षतिबाट सुरक्षित गर्न कम्पनीले देशभर का गाउँ–गाउँमा पुगेर बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि सिद्धकुमाख गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष चुडामणि रेउलेले बीमाले कृषकको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने जनाउँदै प्राप्त जानकारीलाई टोल–टोलसम्म पुर्याउन आग्रह गरे । उनले आगामी दिनमा वडास्तरबाट बीमालाई उच्च प्राथमिकतामा राखी कृषकलाई बीमाको दायरामा ल्याउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एनएलजी इन्स्योरेन्स सल्यान शाखा प्रमुख अनुराग बोहराले कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै छलफलका क्रममा उठेका जिज्ञासाहरूको स्पष्ट जवाफ दिए । उनले विगत केही वर्षदेखि सञ्चालन गरिएको गाउँस्तरीय बीमा अभियान सकारात्मक र प्रभावकारी बन्दै गएको जनाए ।
कार्यक्रमकै क्रममा कृषि तथा पशुपन्छी बीमा दाबी अन्तर्गत १२ जना कृषकलाई दाबी भुक्तानी वितरण गरिएको थियो। साथै, दाबी प्रक्रियालाई थप पारदर्शी र सहज बनाउन माघ १ गतेदेखि दाबी भुक्तानी अनलाइन माध्यमबाट मात्र उपलब्ध गराइने जानकारी पनि दिइएको थियो।
नेपाल सरकारले उपलब्ध गराउँदै आएको ८० प्रतिशत बीमा शुल्क अनुदानको सुविधाबारे पनि कृषकलाई जानकारी गराइएको थियो। कार्यक्रममा वडा नं. ५ का विभिन्न टोलबाट ४० जना कृषकको सहभागिता रहेको थियो ।
कार्यक्रम सञ्चालन एनएलजी इन्स्योरेन्सका अभिकर्ता हरि बहादुर रेउलेले गरेका थिए । कार्यक्रममा वडा सदस्य झुपलाल बोहरा, पशु प्राविधिक टिका बस्नेत र कृषि प्राविधिक तिला रेउलेलगायतको आतिथ्यता रहेको थियो।

















