Page 20

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

0

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्।
पहिलो खेल बांग्लादेश र भारतबिच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ। यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल र भुटान दुवैले यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए। नेपाललाई भारतले १–० गोलले निराश बनाएको थियो।
प्रतियोगिता उद्घाटन खेलमा भुटान भने बांग्लादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो। त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भुटान दुवै टोली दबाबमा हुनेछन्।
फाइनल सम्भावना जीवित राख्नका लागि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण रहनेछ। बांग्लादेश र भारतले भने एकरएक खेल जितेर समान तीन अंक जोडेका छन्।
प्रतियोगितामा यस पटक चार टोलीले मात्र सहभागिता जनाएका छन्। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ। जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन्।
प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए।

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

0

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुगेका छन्।
आइतबार राति नेपालबाट प्रस्थान गरेका उनी चारदिने औपचारिक भ्रमणका लागि सोमबार नारिता अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।
विमानस्थलमा उनलाई जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानी राजदूत तोरु मायदा र जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेल लगायतले स्वागत गरेका थिए।
जापान सरकारको निमन्त्रणामा प्रथम महिला सबिता पौडेलसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल त्यहाँ पुगेका हुन्।
भ्रमणका क्रममा उनले सोमबार नै जापान सरकारले आयोजना गर्ने कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष समारोहमा भाग लिने कार्यक्रम छ। यो भ्रमणले दुई देशबीचको दशकौँ पुरानो मित्रता र सहकार्यलाई थप उचाइमा पुर्‍याउने विश्वास लिइएको छ। सम्राट् र प्रधानमन्त्रीसँग भेटवार्ता हुने राष्ट्रपतिको यो भ्रमण राजनीतिक र कूटनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ।
मंगलबार टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेल र जापानका सम्राट् नारुहितोबिच राजकीय शिष्टाचार भेट हुने तालिका छ।
सोही दिन उनले जापानकी प्रधानमन्त्री ताकाइची सानाएसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछन्। यसबाहेक विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्नेछन् भने नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने विशेष समारोहमा पनि सहभागी हुनेछन्।
सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध गाँसेका नेपाल र जापानले क्रमशः सन् १९६५ र १९६७ मा एकअर्काको राजधानीमा दूतावास स्थापना गरेका थिए। राष्ट्रपति पौडेल आफ्नो चारदिने भ्रमण पूरा गरी आगामी माघ २१ गते बुधबार स्वदेश फर्कनेछन्।

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

0

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।
निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ ।
त्यसैगरी, मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ । यसबीचमा निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री आयोगबाट स्वीकृत गराइ सार्वजनिक गरेको छ ।
आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युवमा ती सामग्री राखिएका छन् । मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वासनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यका साथ आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयबाट काठमाडौंस्थित कूटनीतिक नियोग एवं संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख तथा प्रतिनिधिलाई ब्रिफिङ गरेको छ । सो कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थितिमा निर्वाचनको वातावरण, निर्वाचन आयोगबाट भएका तयारी, राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यवेक्षणलगायतका विषयमा जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

भारत सरकारले नेपाललाई १२ अर्ब बढी अनुदान दिने

0

काठमाण्डौं । भारत सरकारले नेपाललाई १२ अर्ब बढी अनुदान रकम दिने भएको छ ।
आईतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा आर्थिक वर्ष २०२६, ०२७ मा ८०० करोड भारतीय रुपैयाँ अनुदान दिने जानकारी दिइन् ।
नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने बजेटमा उल्लेख छ । चालू आर्थिक वर्षमा भारतले नेपाललाई भारु ८३० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ । यसअघि सुरुमा भारतले ८०० करोड अनुदान दिने घोषणा गरे पनि पछि संशोधन गरेर ८३० करोड पुर्‍याएको थियो ।
छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिनेछ । भुटानलाई भारतले २ हजार २८८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाइएको छ ।
भारतको आगामी बजेटमा माल्दिभ्सलाई साढे ५ अर्ब, म्यानमारलाई ३ अर्ब, श्रीलंकालाई ४ अर्ब, अफगानिस्तानलाई साढे १ अर्ब, बंगलादेशलाई ६० करोड, अफ्रिकी मुलुकहरूलाई २२५ करोड र मंगलोलियालाई २५ करोड भारतीय रुपैयाँ अनुदान दिने जनाइएको छ ।

म हार मान्न तयार छैन किनकि मेरो काम अझै सकिएको छैन ः प्रचण्ड

0

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो काम अझै नसकिएको जनाएका छन् ।
आज एक भिडिओ सन्देश जारी गर्दै प्रचण्डले देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम नलिने जनाएका हुन् । आफ्ना लागि यो चुनाव सत्ताको नभई प्रमाणित गरेरै छाड्ने स्पष्ट पारे ।
‘या त तिमी नायकको रूपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जीवित रहु’ उक्ति सम्झिँदै प्रचण्डले भने, ‘यदि म धेरै अघि बिदा भएको भए सायद देशले मलाई नायकको रूपमा मात्र सम्झिन्थ्यो होला । तर, म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ । म यो देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन । तपाईँहरूले मलाई आज कुन रूपमा देख्नुहुन्छ, यो तपाईँहरूको स्वतन्त्रता र अधिकारको कुरा हो। तर मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ, जब तपाईँहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नुहुनेछ। म हार मान्न तयार छैन किनकि मेरो काम अझै सकिएको छैन ।’
आफू पुराना नेताको भिडमा नरहेको जनाउँदै उनले भने, ‘आजको यो घडी मेरा लागि केवल सत्ताको कुरा होइन, यो त यो देशको भविष्य र विशेष गरी मेरा युवा साथीहरू, जेन(जी छोराछोरीहरूको सपनाको कुरा हो । धेरैलाई लाग्न सक्छ म र म जस्ता पुराना नेताहरू एउटै हुन्, तर म आज यो सार्वजनिक मञ्चबाट प्रस्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भिडमा छैन । म त्यो सत्ताको भागबन्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्नँ, जसले देशलाई बन्धक बनाएर राखेको छ । म फरक छु र म यो प्रमाणित गरेरै छाड्नेछु ।’

सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश

0

काठमाडौँ । सर्वोच्च अदालतले संघ, प्रदेश र स्थानीय तहमा सामाजिक न्यायको हक लागु गर्न निर्देशनात्मक आदेश गरेको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८२ साल असार ४ मा भएको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा नेपालको संविधानको धारा ४२ को सामाजिक न्यायको हक कार्यान्वयन गर्न निर्देशनात्मक आदेश गरेको हो ।
पूर्णपाठमा भनिएको छ, “संघ, प्रदेश तथा स्थानीय तह र तीनवटै तह अन्तर्गतका निकायबाट नेपालको संविधानको धारा, ४२ को सामाजिक न्यायको हकको व्यवस्था, मर्म र भावनालाई पूर्णरूपमा व्यवहारमा रूपान्तरण गर्नका लागि नियमित र निरन्तर सक्रियता र क्रियाशीलता अपनाउनू ।”
रौतहट, फतुवा विजयपुर नगरपालिकाका खजान्ती महतो नुनियाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद् सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाई सामाजिक न्यायको हक कार्यान्वयन गराउन आदेशको माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् ।
नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा, ४२ को सामाजिक न्यायको हकमा आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, आपाङ्ता भएका व्यक्ति, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ भनिएको छ ।
यस्तै, आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुने छ भनी व्यवस्था गरिएको छ । अपांगता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुने र अपांगता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुने व्यवस्था गरेको छ ।
“प्रत्येक किसानलाई कानुनबमोजिम कृषि कार्यका लागि भूमिमा पहुँच, परम्परागत रूपमा प्रयोग र अवलम्बन गरिएको स्थानीय बिउबिजन र कृषि प्रजातिको छनोट र संरक्षणको हक हुने छ”, उक्त धाराको उपधारामा भनिएको छ, “नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जन आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने सहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा द्वन्द्वपीडित र विस्थापित, अपांगता भएका व्यक्ति, घाइते तथा पीडितलाई न्याय एवं उचित सम्मानसहित शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षामा कानुनबमोजिम प्राथमिकताका साथ अवसर पाउने हक हुने छ ।”

बीमा कम्पनीलाई ९० प्रतिशतभन्दा बढी पूँजी बैंकको निक्षेपमै राख्नुपर्ने बाध्यता छः सीईओ पराजुली

0

काठमाडौँ । जीवन बीमक संघका अध्यक्ष प्रविण रमण पराजुलीले बीमा क्षेत्रको वर्तमान अवस्था, चुनौती र नीतिगत सुधारका पक्षमा आफ्ना धारणा राखेका छन् । उनले नेपालमा बीमाको पहुँचबारे चर्चा गर्दै हाल ४० देखि ४५ प्रतिशत पहुँच पुगेको भनिए पनि त्यसको वास्तविकता फरक रहेको औँल्याए ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगार बीमा र लघुबीमा जस्ता अनिवार्य गरिएका क्षेत्रलाई हटाएर हेर्ने हो भने बीमाको वास्तविक पहुँच अझै पनि १७ देखि १८ प्रतिशतमा मात्रै सीमित रहेको उनले जनाए । यस क्षेत्रले तल्लो तहमा छरिएर रहेको पुँजीलाई संगठित क्षेत्रमा ल्याउने एउटा महत्त्वपूर्ण कडीको रूपमा काम गरिरहेको उनको भनाइ थियो ।
बीमा क्षेत्रले हालसम्म संगठित क्षेत्रमा १ खर्ब रुपियाँभन्दा बढीको लगानी पुर्‍याइसकेको र एउटै संस्थाले वार्षिक ५० अर्ब रुपियाँभन्दा बढी पुँजी संकलन गरिरहेको उनले जानकारी दिए । यति ठुलो पुँजी संकलन भइरहे पनि यसको सही परिचालनमा भने राज्यको नीति बाधक रहेको उनले दाबी गरे । राज्यले बीमा कम्पनीहरूलाई विभिन्न उत्पादक क्षेत्रमा लगानी गर्ने वातावरण र औजारहरू उपलब्ध नगराएका कारण ९० प्रतिशतभन्दा बढी पुँजी बैंकको निक्षेपमै राख्नुपर्ने बाध्यता रहेको उनले जनाए ।
राज्यले विशिष्ट वा हाइब्रिड खालका लगानीका औजारहरू ल्याइदिएको भए यो पुँजीले देशको उत्पादक क्षेत्र र आर्थिक विकासमा अझ ठुलो योगदान दिन सक्ने उनले उल्लेख गरे । अध्यक्ष पराजुलीले बीमा क्षेत्रमा विद्यमान कर प्रणालीको चर्को आलोचना समेत गरे ।
सरकारले बीमा क्षेत्रका लागि २५ प्रतिशत कर्पोरेट कर तोकेको भए पनि व्यावहारिक रूपमा यो निकै बढी रहेको उनले जनाए । बीमा कम्पनीहरूले आफ्ना बीमितलाई दिने बोनस र मृत्यु दाबी जस्ता भुक्तानीलाई राज्यले खर्चको रूपमा गणना नगरेका कारण बीमा कम्पनीहरूले ५० देखि ५५ प्रतिशतसम्म प्रभावकारी कर तिरिरहेको उनले स्पष्ट पारे ।
राजस्व घट्ने डरले राज्यले यसमा सुधार नगर्दा बीमाको प्रिमियम महँगो भइरहेको र यसले आम सर्वसाधारणमा बीमाको पहुँच पुर्‍याउन कठिन भएको उनले भने । अन्तर्राष्ट्रिय अभ्यास अनुरूप कर प्रणालीमा सुधार नगरेसम्म बीमा बजारको विस्तारले गति लिन नसक्ने उनको तर्क थियो ।
बीमा क्षेत्रको दीर्घकालीन स्थायित्वका लागि नीतिगत र संस्थागत सुधार आवश्यक रहेकोमा उनले जोड दिए । संकलित पुँजीको ५ देखि १० प्रतिशत हिस्सा क्षेत्रीय बजारमा लगानी गर्न पाउने गरी बाटो खुला गरिदिनुपर्ने माग उनले राखे । यसका साथै बीमा नियामक निकायलाई थप शक्तिशाली, स्वतन्त्र र व्यावसायिक बनाउनुपर्ने र स्थिर नीतिको निर्माण गरिनुपर्ने उनले जनाए ।
सुशासनका पक्षहरूलाई बलियो बनाउँदै लैजान सके बीमा क्षेत्रले राज्यको सामाजिक सुरक्षाको लक्ष्य पूरा गर्न र अनौपचारिक क्षेत्रको पुँजीलाई औपचारिक संयन्त्रमा ल्याउन अझ प्रभावकारी भूमिका खेल्ने उनले उल्लेख गरे । राज्यले बीमालाई केवल राजस्वको स्रोत मात्र नहेरी आर्थिक विकासको आधारस्तम्भका रूपमा बुझ्नुपर्नेमा उनले जोड दिए ।

नेशनल लाइफले पोखरामा १८५ जना अभिकर्तालाई दियो तालीम

0

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना १८५ जना अभिकर्ताहरूलाई पोखरास्थित होटल मेजेष्टिक लेक फ्रन्टमा बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजाद्वारा एक दिने तालीम तथा प्रशिक्षण दिएको छ।
कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरी छनौट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालयहरू र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखा कार्यलयहरूमा आबद्ध रही कार्य गर्ने १८५ जना अभिकर्ताहरूलाई उक्त प्रशिक्षण तथा तालीम दिइएको हो। प्रशिक्षणको क्रममा रजाले एमडीआरटी, सिओटी र टिओटीको लक्ष्य प्राप्त गर्नका लागि विभिन्न उपायहरू अबलम्बन गरी फरक तरीकाले बजारमा प्रस्तुत हुने कलाको बारेमा प्रशिक्षण दिएका थिए।
कार्यक्रममा कम्पनीका उप–प्रमुख कार्यकरी अधिकृत स्मृती राज कंडेलले यस प्रकारको तालीमबाट अभिकर्ताहरूको मनोबल वृद्धि भई आफ्नो व्यावसायिक लक्ष्य हासिल गर्न मद्दत पुग्ने भएकोले कम्पनीले अभिकर्ताहरूलाई उत्कृष्ट तालीम दिने गरी प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता भन्ने नारा सहित मासिक योजना मन्थन जारी गरिएको र यो योजनामा देशैभरबाट ७०० भन्दा बढी छनौट भएका सबै अभिकर्ताहरूलाई पायक पर्ने विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरिएको जनाईन। साथै उनले शाखा स्तरीय प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेकी थिइन्।
कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले अभिकर्ताहरूले उक्त तालीमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल साबित गरेर देखाउनेमा आफूले आपेक्षा गरिएको जनाए। पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले धन्यवाद ज्ञापन गरेकी थिइन्। उक्त कार्यक्रममा सहभागी अभिकर्ताहरूले यस प्रकारको तालीमबाट आफूहरूको मनोबल उच्च भएको हुँदा आगामी दिनहरूमा बीमा व्यवसायमा अझ प्रगति गर्ने प्रेरणा मिलेको र सम्मान प्राप्त गर्दा आफ्नो मेहनतको कदर भएको महसूस गरिएको जनाएका छन्।

रिलायबल नेपाल लाइफद्वारा नगद लाभांश वितरण

0

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीलाई वितरण गरेको छ।
सो साधारण सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँको १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको थियो। लाभांश वितरण प्रयोजनार्थ पुस २१ गते बूक क्लोज गरिएकाले पुस २० गतेसम्म नेप्सेमा कायम शेयरधनीलाई नगद लाभांश वितरण गरेको हो।
सम्बन्धित शेयरको डिम्याट खातामा उल्लिखित बैंक खातामा पुस २९ गतेदेखि नै कनेक्ट आईपीएस मार्फत नगद लाभांश वितरण गरिएको कम्पनीले जानकारी दिएको छ। गत पुस २० गतेसम्म शेयर धितो राखेर कर्जा लिएका शेयरधनीको हकमा कर्जा लिएको संस्थाबाट एनओसी वा लोन सेटलमेन्ट लेटर प्राप्त भएपछि मात्रै बैंक खातामा पठाइने जनाएको छ।
साथै हालसम्म पनि डिम्याट खाता नखोलेका वा डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई यथाशीघ्र गर्न पनि आग्रह गरेको छ। कम्पनीले विगतका वर्षहरूमा वितरण गरेको नगद लाभांश हालसम्म पनि केही शेयरधनीले नलिएको पनि जानकारी दिएको छ। कम्पनीले आव २०७९, ८० मा १६ प्रतिशत बोनस शेयर, २०८०, ८१ मा १२ प्रतिशत बोनस शेयर र २०८१, ८२ मा १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

माछापुच्छ्रे बैंकले सार्वजनिक गर्यो अब्बल वित्तीय विवरण, नाफा २५ प्रतिशतले बढेर अर्बमाथि

0

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले १ अर्बभन्दा बढी खुद नाफा गर्दै बैंक थप अब्बल बन्दै गरेको सन्देश दिने अपरिस्कृत वित्तीय विवरण निकालेको हो ।
बैंकले ६ महिनामा १ अर्ब १ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आवको सोही अवधिको ८० करोड ७३ लाख रुपैयाँभन्दा २५.२५ प्रतिशत बढी हो ।
बैंकको खुद ब्याज आम्दानी गत आवको माघ मसान्तको २ अर्ब ८२ करोड ३७ लाख रुपैयाँबाट बढेर २ अर्ब ९४ करोड १० लाख रुपैयाँ कायम भएको छ । यसैगरी खुद फि एन्ड कमिसन आम्दानी ६७ करोड २१ लाखबाट बढेर ८२ करोड ८ लाख पुगेको छ । तर, बैंकले सम्भावित नोक्सानीका लागि ५७ करोड ४३ लाख रुपैयाँ प्रोभिजन गरेको छ जुन गत आवको २० करोड ४७ लाख रुपैयाँभन्दा धेरै हो । यसो हुँदा बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब ४५ करोड २७ लाख रुपैयाँ छ जुन गत आवको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँ कम हो ।
यता बैंकको गैरसञ्चालन खर्च (कर्जा राइटअफ अर्थात् अपलेखन) १ करोड ७७ लाख रुपैयाँमात्र छ । गत आवको यही अवधिमा यस्तो खर्च ४७ करोड १३ लाख रुपैयाँ थियो । यही कारण अरु प्रकारका खर्च सामान्य बढेपनि बैंकले नाफा २० करोड रुपैयाँले बढाउन सकेको देखिन्छ ।
६ महिनाको अवधिमा बैंकले कुल कर्जा १३ अर्ब रुपैयाँले बढाएर १ खर्ब ५४ अर्ब ९५ लाख रुपैयाँ पुर्याएको छ । निक्षेप पनि २८ अर्बले विस्तार गरेर २ खर्ब ४ अर्ब ४ करोड ७२ लाख रुपैयाँ बनाएको छ ।
यसो त कुल कर्जामध्ये निष्क्रिय कर्जाको हिस्सा ४.५४ बाट ४.२५ प्रतिशतमा झारेको छ । यसैगरी खुद निष्क्रिय कर्जाको अनुपात १.४१ प्रतिशतमात्र छ ।
यो सबै उपलब्धिको नतीजा बैंकको नाफामा देखिएको हो ।
नाफा बढ्दा माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी १३.३६ बाट १६.७३ रुपैयाँ कायम भएको छ ।
माघ मसान्तको वित्तीय विवरणअनुसार बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.८२ प्रतिशत, कुल पुँजीकोष अनुपात १२.१६ प्रतिशत, सीडी रेसियो ७७.९९ प्रतिशत, कर्जाको बेसरेट ५.४८ प्रतिशत, ब्याजदर स्प्रेड ३.८३ प्रतिशत र रिटर्न अन इक्विटी १०.५२ प्रतिशत छ ।
६ महिनामा बैंकले गरेको १ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफामध्ये विभिन्न कोष र दायित्वका लागि छुट्याउँदा ४४ करोड १२ लाख रुपैयाँ सेयरधनीलाई वितरण गर्नसक्ने देखिन्छ । र माघ मसान्तसम्मको कुल सञ्चित नाफा ४३ करोड ६४ लाख रुपैयाँ छ ।
बैंकको प्रतिसेयर नेटवर्थ १६१.६० रुपैयाँ र पीई रेसियो रेसियो १३.६१ छ ।
चालु आर्थिक वर्षको ६ महिनामा माछापुच्छ्रे बैंकको वक्यौता ब्याज र गैरबैंकिङ सम्पत्ति केही बढेको देखिता पनि बैंकले विगतको सुस्ततालाई चिर्दै अब्बल वित्तीय पर्फमेन्स गर्ने खोजेको देखिन्छ । बैंकले नोक्सानी व्यवस्थाका लागि गत आवको भन्दा बढी रकम छुट्याउनु परेको थिएन पनि ६ महिनाको नाफा अझै नै बढी हुने अनुमान गर्न सकिन्छ ।

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...