काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो काम अझै नसकिएको जनाएका छन् ।
आज एक भिडिओ सन्देश जारी गर्दै प्रचण्डले देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम नलिने जनाएका हुन् । आफ्ना लागि यो चुनाव सत्ताको नभई प्रमाणित गरेरै छाड्ने स्पष्ट पारे ।
‘या त तिमी नायकको रूपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जीवित रहु’ उक्ति सम्झिँदै प्रचण्डले भने, ‘यदि म धेरै अघि बिदा भएको भए सायद देशले मलाई नायकको रूपमा मात्र सम्झिन्थ्यो होला । तर, म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ । म यो देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिने छैन । तपाईँहरूले मलाई आज कुन रूपमा देख्नुहुन्छ, यो तपाईँहरूको स्वतन्त्रता र अधिकारको कुरा हो। तर मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ, जब तपाईँहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नुहुनेछ। म हार मान्न तयार छैन किनकि मेरो काम अझै सकिएको छैन ।’
आफू पुराना नेताको भिडमा नरहेको जनाउँदै उनले भने, ‘आजको यो घडी मेरा लागि केवल सत्ताको कुरा होइन, यो त यो देशको भविष्य र विशेष गरी मेरा युवा साथीहरू, जेन(जी छोराछोरीहरूको सपनाको कुरा हो । धेरैलाई लाग्न सक्छ म र म जस्ता पुराना नेताहरू एउटै हुन्, तर म आज यो सार्वजनिक मञ्चबाट प्रस्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भिडमा छैन । म त्यो सत्ताको भागबन्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्नँ, जसले देशलाई बन्धक बनाएर राखेको छ । म फरक छु र म यो प्रमाणित गरेरै छाड्नेछु ।’













