काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ । बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो ।
पार्टीभित्रका अनुशासनसम्बन्धी विषयहरूमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
विशेष गरी पछिल्लो समय पार्टीमा देखिएको आन्तरिक विवाद, विद्रोही उम्मेदवारहरूको विषय र विगतमा भएका अनुशासन कारबाहीका फाइलहरूबारे बैठकम छलफल हुने जनाईएको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
निर्धक्क भएर फागुन २१ गतेको मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान
काठमाडौैं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइसकिएकोले मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गरेका छन् । गृहमन्त्री अर्यालको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन् ।
गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै निर्वाचन हुने भएकोले सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको जनाए ।
यस्तै, बैठकमा तीन वटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्यालसमक्ष सबै सुरक्षाका प्रबन्ध मिलाइँदै गएको र क्रमिक रूपमा जिल्लागत सुरक्षा रणनीतिलाई कार्यान्वयनमा लगिएको जानकारी गराएका थिए ।
गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र फागुन २१ गते हुने निर्वाचनको समग्र तयारी सम्बन्धमा विस्तृत छलफल समेत गरिएको छ ।
‘जुम याप’मार्फत सञ्चालन गरिएको बैठकमा गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, ७ वटै प्रदेशका प्रमुख सचिव (प्रदेश कमान्ड पोस्ट प्रमुख) तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट प्रदेश र जिल्लागत सुरक्षा रणनीतिको कार्यान्वयन र निर्वाचन तयारीबारे जानकारी लिएका थिए ।
प्रदेश प्रमुख सचिव तथा प्रजिअ संयोजक रहने जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट बैठकमा प्रस्तुतीकरण समेत भएको छ ।
निर्वाचन सुरक्षा ः फागुन १८ रातिदेखि कोशीमा भारत–नेपाल सीमा बन्द
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो ।
नेपालतर्फका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुख तथा भारततर्फका किशनगञ्ज जिल्ला, अररिया जिल्ला र सुपौल जिल्लाका सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले यस्तो सहमति गरेको हो ।
सहमति अनुसार फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सीमा नाका बन्द रहनेछ । उक्त अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका आवागमनमा रोक लगाइनेछ ।
प्रशासनका अनुसार निर्वाचनका बेला हुन सक्ने अवाञ्छित गतिविधि, अवैध प्रवेश तथा सीमा पारबाट हुन सक्ने चलखेल रोक्नका लागि यो निर्णय प्रभावकारी हुने अपेक्षा गरिएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले निर्वाचन प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधनको अनियन्त्रित प्रवेश रोक्न भारतीय सुरक्षा निकायसँग सहयोग मागिएको जानकारी दिए ।
बैठकले सीमा क्षेत्रमा संयुक्त गस्ती बढाउने, तेस्रो मुलुकका नागरिकको अनाधिकृत आवतजावत रोक्ने तथा लागुऔषध ओसारपसार, मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, हातहतियार तथा अवैध नगद तस्करी नियन्त्रणमा कडाइ गर्ने सहमति समेत गरेको छ ।
आज ७५ औँ प्रजातन्त्र दिवस
काठमाण्डौं । ७५ औँ प्रजातन्त्र दिवस बिहीबार मनाइँदैछ । महान् सहिदहरूको बलिदानीपूर्ण संघर्षको बलमा २००७ साल फागुन ७ गते नेपालमा प्रजान्त्र स्थापना भएको थियो।
सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गंगाला श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै हरेक वर्ष नेपालमा विविध कार्यक्रमसहित प्रजातन्त्र दिवस मनाइन्छ।
प्रजातन्त्र दिवसको अवसरमार सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। प्रजातन्त्र दिवसको अवसरमा देशैभरि सरकारी र गैरसरकारी निकायले विभिन्न कार्यक्रम गर्दैछन्।
प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागीतामा विशेष कार्यक्रम गर्दैछ।
नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ।
प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गरेका छन्।
मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अङ्कित भएको राष्ट्रपति पौडेलको भनाइ छ।
लोकतन्त्रको जग सुदृढ बनाउँदै ‘समृद्ध नेपाल’ निर्माणतर्फ अघि बढौँ ः गगन थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्दै समृद्ध नेपाल निर्माणतर्फ अग्रसर हुन आह्वान गरेका छन् ।
बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले फागुन ७ लाई नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका रूपमा स्मरण गरेका छन् ।
२००७ सालको जनक्रान्तिले १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गरेको उल्लेख गर्दै उनले सो दिनले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक रूपान्तरणको मार्ग प्रशस्त गरेको बताएका छन् ।
‘फागुन ७ नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन । २००७ सालको ऐतिहासिक जनक्रान्तिले १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्रको स्थापना गरेको यस गौरवमय दिनका अवसरमा, म समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ शुभकामना सन्देश मार्फत थापाले भने ।
उनले मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ नेपालले यही आन्दोलनमार्फत साहसी कदम चालेको उल्लेख गर्दै प्रजातन्त्रले सुदृढ राष्ट्रियता, नागरिक अधिकार र जनसहभागिताको आधार निर्माण गरेको जनाए ।
थापाले २०४६ सालको जनआन्दोलन र २०६२÷६३ को आन्दोलन हुँदै संघीयता र गणतन्त्रसम्म पुगेको नेपालको राजनीतिक यात्राको जननी पनि २००७ सालको क्रान्ति नै रहेको धारणा व्यक्त गरेका छन् ।
‘समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२÷६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्तिनै हो,’ शुभकामना सन्देशमा भनिएको छ ।
राष्ट्रिय स्वाधीनता, नागरिक अधिकार र लोकतन्त्रका लागि भएका विभिन्न संघर्ष र आन्दोलनमा सहिदहरूले दिएको बलिदानलाई स्मरण गर्दै उनले संविधानको संरक्षण, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत स्थायित्व तथा आर्थिक समृद्धि हासिल गर्न सके मात्र सहिदप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गरेका छन् ।
चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले
काठमाडौं । नेकपा (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति आज आफ्नो घोषणापत्र सार्वजनिक गर्दै छ ।
घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिने एमालेले जनाएको छ ।
पार्टीले मुलुकमा स्थिरता, विकास र सुशासन कायम गर्नका निम्ति नयाँ सत्तासमीकरण आवश्यक परेको उल्लेख गर्दै निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने लक्ष्य राखेको छ ।
टिपरले ठक्कर दिएर स्कुटर चालकको मृत्यु भएपछि बनेपा तनाबग्रस्त
काठमाडौं । टिपरले ठक्कर दिएर स्कुटर चालकको मृत्यु भएपछि काभ्रेको बनेपा तनाबग्रस्त बन्नुका साथै अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
आक्रोसित स्थानीयले टिपरमा आगो लगाएका छन् । स्थिति नियन्त्रणका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीको पहलमा अहिले राजमार्ग सञ्चालनमा ल्याइएको छ ।
बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालक धुलिखेल नगरपालिका ५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो । उनको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए ।
बा. प्र. ०१००४ क ३४२३ नम्बरको टिपरले बा. प्र. ०२ ०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो । प्रदर्शनकारीले टिपर जलाउने क्रममा रोक्न खोज्दा प्रहरीले अश्रु ग्याँस पनि प्रहार गरेको थियो ।
पपुलिजमको आक्रमणबाट लोकतन्त्रलाई जोगाउन आवश्यक रहेको सभापति थापाको धारणा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउनुपर्ने आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
बुधबार बौद्धिक पेशाकर्मी अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिले परिपक्क लोकतन्त्रपनि पपुलिजमको सिकार भएको भन्दै नेपाललाई पनि पपुलिजमको सिकार हुनबाट जोगाउनुपर्ने बेला आएको जनाएका हुन् ।
सभापति थापाले आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार थेग्न सक्छौं ? भन्ने प्रश्न खडा भएको भन्दै त्यसको उत्तर खोज्नुपर्ने धारणा राखे ।
उनले भने, ‘अहिले एकसय एक परिपक्क लोकतन्त्र पनि पपुलिजमको सिकार भएको छ । एउटा छाल जस्तो आएको छ । त्यो पपुलिजमको आक्रमणबाट के नेपालको लोकतन्त्र हामीले जोगाउन सक्छौं ? हाम्रो लोकतन्त्र त्यति परिपक्क पनि छैन । हाम्रो अर्थतन्त्रको आफ्नै चुनौतीहरु छन् । एउटा लोकतन्त्र परिपक्क भइसकेको संस्थाहरु बनेको ठाउँमा पपुलिजम ५–६ महिनामा आउँछ त्यो ढल्छ । संस्थाहरु बलियो नभएको अवस्थामा आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार हामीले थेग्न सक्छौं ? भन्ने हाम्रो अगाडि प्रश्न छ त्यसको उत्तर हामीले खोज्नुपर्छ ।’
त्यस्तै उनले गठबन्धनको राजनीतिले चयन गर्न पाउने अधिकारलाई राजनीतिक दलले हाइज्याक गरेको भन्दै कांग्रेस एक्लै निर्वाचनमा गएर अलिकति भएपनि फोहोर सफा गर्ने प्रयास गरेको धारणा राखे ।
उनले भने, ‘लोकतन्त्रको स्पेस हाइज्याक भएको छ । हेर्दा सामान्य लाग्ने गठबन्धनको राजनीतिले चयन गर्न पाउने अधिकारलाई राजनीतिक दलले हाइज्याक गरेको थियो । कांग्रेसले १६५ मा नै कांग्रेको उम्मेदवार लड्छ जित हार जे सुकै होस् भनेर जाँदा अलिकति भएपनि फोहोर सफा गर्ने प्रयास गरेको छ ।’
टी–२० विश्वकप ः सुपर ८ मा पुग्ने सात टोलीको टुंगो लाग्यो, आज पनि तीन खेल हुँदै
काठमाण्डौं । टी–२० विश्वकपको सुपर ८ चरणका लागि सात टोलीको छनोट भएको छ।
बुधबार पाकिस्तान र नामिबियाको खेलबाट अन्तिम टोलीको छनोट हुनेछ। पाकिस्तानले जितेमा सुपर ८ को समूह २ मा प्रवेश गर्नेछ। नामिबियाले जितेमा अमेरिका समूह २ मा प्रवेश गर्नेछ।
टोली भारत समूह १ मा राखिनेछ, जहाँ उनीहरूले दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नेछन्। अस्ट्रेलिया सुरुमा समूह १ मा पर्ने अपेक्षा गरिएको थियो, तर टोली लिग चरणमा बाहिरिएको छ । समूह बीबाट जिम्बाब्वेले उनीहरूको ठाउँमा सुपर ८ को समूह १ को लागि छनोट भएको छ।
बुधबार हुने खेलले अन्तिम सुपर ८ टोलीको छनोट गर्नेछ। भारत ६ अंकसहित समूह ए मा छनोट भएको छ। पाकिस्तान र नामिबिया बुधबार खेल्छदैन्। यदि पाकिस्तानले जित्यो भने अर्को चरणमा प्रवेश गर्नेछन्, तर यदि नामिबियाले जित्यो भने, ४ अंकसहित अमेरिका छनोट हुनेछ।
सुपर ८ का खेलहरू फेब्रुअरी २१ मा सुरु हुनेछ। पहिलो दिन न्युजिल्याण्डले पाकिस्तान वा संयुक्त राज्य अमेरिकाको सामना गर्नेछ। न्युजिल्याण्डका साथै इङ्गल्याण्ड र श्रीलंका पनि समूह २ मा छनोट भएका छन्।
सुपर ८ चरणमा चार—चार टोलीका दुई समूह हुनेछन्। प्रत्येक टोलीले आफ्नो समूह भित्र एकअर्का विरुद्ध तीन–तीन खेल खेल्नेछन्। यसको अर्थ प्रत्येक समूहमा छ–छ खेल हुनेछन्। अर्थात् दुवै समूहले १२–१२ खेल खेल्नेछन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली अर्को चरणमा प्रवेश गर्नेछन्।
पहिलो सेमिफाइनल मार्च ४ मा हुनेछ भने दोस्रो सेमिफाइनल मार्च ५ मा वानखेडे रंगशालामा खेलिनेछ।
विजेताहरूले मार्च ८ मा फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। यदि पाकिस्तान नकआउट चरणमा पुग्यो भने यसका सबै खेलहरू कोलम्बोमा हुनेछन्।
विश्वकप अन्तर्गत बुधबार तीन खेल हुँदैछन् । समूह डी’को एउटा खेल हुँदैछ भने समूह एका दुई खेल हुँदैछन् ।
पहिलो खेलमा समूह डीका दक्षिण अफ्रिका र यूएईले प्रतिस्पर्धा गर्दैछन् । यो खेल नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा भारतको नयाँदिल्लीमा हुँदैछ । दक्षिण अफ्रिका तीन खेलमा तीन जित दर्ता गर्दै सुपर आठ प्रवेश गरिसकेको छ भने यूएई दोस्रो जितको खोजीमा छ ।
दोस्रो खेलमा समूह एका पाकिस्तान र नामिबिया भिड्दैछन् । यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । विश्वकपको सुपर आठमा प्रवेशका लागि पाकिस्तानमाथि यो खेल जित्नै पर्ने दबाब छ । यो खेल श्रीलंकाको कोलम्बोमा हुँदैछ ।
बुधबारको अन्तिम खेलमा समूह एकै भारत र नेदरल्यान्ड्स भिड्दैछन् । यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा भारतको अहमदाबादमा हुनेछ । भारत तीन खेलमा तीन जित निकाल्दै अघिल्लो चरण प्रवेश गरिसकेको छ भने नेदरल्यान्ड्स तीन खेलमा एक जित निकालेर तालिकाको चौथो स्थानमा छ ।
टी–२० विश्वकप ः स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।
मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा स्कटल्यान्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो । उसका लागि माइकल जोन्सले विष्फोटक ब्याटिङ गरे । ४५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन जोडे । जर्ज मुन्सीले २७, ब्रेन्डन म्याकमुलनले २५ रन बनाए ।
बलिङतर्फ नेपालका सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए । नन्दन यादवले दुई तथा रोहित पौडेल र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

















