काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन देशमै आगो लगाएको आरोप लगाएका छन् । झापा ५ मा प्रतिनिधिसभा उम्मेदवार रहेका अध्यक्ष ओलीले मंगलबार मतदातासँग कुराकानी गर्दै जतिसुकै विरोध गरे पनि एमाले पहिलो दल बन्ने दाबी गर्दै यस्तो जनाएका हुन् ।
‘नेकपा एमाले सिध्याउन देशमै आगो लगाए,’ ओलीले भने, ‘एमाले विरोधी शक्तिहरूलाई मैले भन्ने गरेको छु, व्यक्तिहरूलाई मैले भन्ने गरेको छु । कान खोलेर सुने हुन्छ–नेकपा एमाले, फाल्गुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी हुन्छ ।’ एमालेले बहुमतै नल्याए पनि कम्तीमा पहिलो पार्टी बन्नेमा ढुक्क रहन उनले नेताकार्यकर्ता र मतदातासँग आग्रह गरे ।
देशमा अराजकता र आतंक मच्चाउनेले नेपाली हुँ भन्न पनि सरम मान्नुपर्ने ओलीले जनाए । ‘आगजनी गर्नु, अरूको सम्पत्ति आगजनी गर्नु, सार्वजनिक सम्पत्ति, राज्यको सम्पत्ति आगजनी गर्नु, तोडफोड गर्नु, लुटपाट गर्नु, नेपाली हुँ भन्ने मान्छेलाई सरम हुनुपर्दछ,’ ओलीले भने ।
नेपाली जातिले अर्काको सम्पत्ति लुटपाट गरेर जीविका नचलाउने टिप्पण गर्दै ओलीले भने, ‘नेपाली गरि खाने जाति हो, लुटेर खाने जाति होइन ।’ नेपाली शान्तिप्रिय जाति भएको बताउँदै उनले आगो लगाउँदै कुद्ने जाति नभएको तर्क गरे ।
देशमा आगजनी र लुटपाट मच्चाउनेहरू देशका दुस्मन र आतंककारी भएको पनि ओलीले टिप्पणी गरे । ‘जसले जलाए, ती देशका दुस्मन हुन्, ती आतंककारी हुन् । जसले सिंहदरबार जलाए, जसले संसद् भवन जलाए, सर्वोच्च अदालत जलाए’, ओलीले भने ।
एमाले सिध्याउन देशमै आगो लगाएको ओलीको आरोप
पहिलेभन्दा अहिले चुनाव जित्न सहज भएको पृथ्वीसुब्बा गुरुङको दाबी
लमजुङ । नेकपा एमालेका उपाध्यक्ष एवम् लमजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अघिल्लो निर्वाचनको तुलनामा यसपटक चुनाव जित्न अझ सहज हुने दाबी गरेका छन् ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । आज दोर्दी गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २०७९ सालको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गरेको स्मरण पनि गरेका छन् ।
‘त्यतिबेला पनि चुनौती धेरै थिए, तर जनताले विकास र स्थायित्वको पक्षमा मतदान गर्नुभयो,’ उनले भने–‘यसपटक त झन् सहज वातावरण छ, एमालेको जितलाई कसैले रोक्न सक्दैन ।’
गुरुङले आफ्नो उम्मेदवारी अधुरा विकास योजना पूरा गर्न, सुशासन प्रवद्र्धन गर्न र समृद्धि हासिल गर्नका लागि भएको जनाए । २०६४ सालको प्रतिकूल राजनीतिक परिस्थितिमा पनि आफू निर्वाचित भएको उल्लेख गर्दै उनले कठिन परिस्थितिमा समेत जनताको साथ पाएको दाबी गरे ।
लमजुङको पूर्वाधार विकास, सडक सञ्जाल विस्तार, शिक्षा, स्वास्थ्य र पर्यटन प्रवद्र्धनका क्षेत्रमा उल्लेख्य काम भएको उनको भनाइ थियो । ‘गाउँटोलमै गएर हेर्नुहोस्, कामको नतिजा देखिन्छ,’ उनले भने, ‘अब समृद्ध लमजुङ निर्माण गर्ने लक्ष्यका साथ अघि बढेका छौं ।’
विपक्षी दलबाट लगाइएका आरोपले पार्टीलाई असर नपर्ने उनको दाबी छ । अप्रमाणित आरोपले एमाले कमजोर नहुने बरु जनविश्वास झन् बलियो बन्ने उनले तर्क गरे । ‘देश जलाउने होइन, बनाउने शक्तिलाई रोज्नुपर्छ,’ उनले भने–‘सुशासन र राष्ट्रिय हितका लागि एमालेको विकल्प छैन ।’
गुरुङले स्थिर सरकार निर्माणका लागि एमाले उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रहसमेत गरेका छन् ।
महालक्ष्मी विकास बैंकद्वारा बिजचित्र फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आईरहेकोमा यस वर्ष संस्करण ३ सफलतापुर्वक सम्पन्न गरेको छ ।
गत भदौ ११ गते देखी असोज ३१ गतेसम्म विभिन्न फोटोहरु संकलन गरिएको थियो । यस प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरु खिचेर पठाउनुपर्ने नियम अनुसार विभिन्न फोटोग्राफरहरू मार्फत विभिन्न फोटोहरू प्राप्त भएका थिए ।
प्रतियोगितामा समावेश सम्पूर्ण फोटोहरू उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए । प्रतियोगिताको मूल्याङ्कनको लागि छानिएको ३ सदस्यीय निर्णायक समिति मार्फत १५ वटा उत्कृष्ट तस्बिरहरू छानिएको थियो ।
काठमाडौंमा आयोजित उक्त कार्यक्रममा प्रथम, द्धितीय तथा तृतीय स्थान र पब्लिक च्वाईस अवार्ड हासिल गर्ने फाटोग्राफरहरुलाई पुरस्कार वितरण गरिएको हो । उक्त प्रतियोगितामा सुयोग कुँवर प्रथम, पारस बज्राचार्य दोस्रो र देवानन्द पोख्रेल तेस्रो हुन सफल भए ।
विजेताले प्रमाणपत्रका साथमा क्रमश २५ हजार, २० हजार र १५ हजारनगद पुरस्कार प्राप्त गरेका छन् । पब्लिक च्वाईसमा सबैभन्दा बढी भोट प्राप्त गरी शर्मन राज भण्डारीले पब्लिक च्वाइस अवार्ड जित्न सफल भए । उनले प्रमाणपत्रको साथै १० हजार रुपियाँ प्राप्त गरेका छन् । यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशिमा समेत वृद्धि गरिएको थियो । यस्ता कार्यहरुबाट स्थानीय व्यवसाय, उद्यमशिलता, स्थानीय कलाको प्रबद्र्धन तथा प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन सञ्चालन गरेको “महालक्ष्मी माघ महोत्सव” समेत सफलतापूर्वक सम्पन्न भएको छ ।
सानिमा रिलायन्स लाइफबाट ५ पटक एमडिआरटी हुँदा तीन पटक सीओटी बने नारायण गुरुङ
काठमाडौं । बीमा क्षेत्रमा सफलताको शिखर चुम्न धैर्य, निरन्तरता र इमानदार मेहनत चाहिन्छ । यही उदाहरण बनेका छन् उत्तरी धादिङ, खनियाबास गाउँपालिकाका नारायण बहादुर गुरुङ । आफ्नो सम्पूर्ण जीवन बीमा क्षेत्रमा समर्पित गर्दै उनि सानिमा रिलायन्सबाट ५ पटक एमडिआरटीको लक्ष्य हासिल गर्दै गर्दा तीन पटक सीओटी बन्न सफल भए ।
हाल भक्तपुरको कमलविनायकमा बसोबास गर्दै आएका गुरुङ सानिमा रिलायन्स इन्स्योरेन्सको बनेपा रिजनबाट बीमा व्यवसाय गर्दै आएका छन् । आज सफल अभिकर्ताको परिचय बनाएका गुरुङको बीमा यात्रा भने सहज थिएन । उनी २०६१ सालमा अन्जानमै बीमा क्षेत्रमा प्रवेश गरेका थिए । तर त्यतिबेला बीमालाई निरन्तरता दिन सकेनन् । जीवनले उनलाई अर्कै मोडमा पुर्यायो झण्डै १० वर्ष बैदेशिक रोजगारका क्रममा गल्फ मुलुकमा विताए।
धादिङबाट एसएलसी उत्तीर्ण गरेर काठमाडौं छिरेका गुरुङ अध्ययनलाई नै छाडेर विदेशिए । लामो समय विदेशमा पसिना बगाएपछि स्वदेश फर्किएर उनले फेरि पढाइलाई निरन्तरता दिए । अहिले उनी समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत छन् । जीवनका उतारचढावबीच पढाइ र पेशालाई सँगसँगै अघि बढाइरहेका गुरुङको यात्रा धेरैका लागि प्रेरणादायी छ ।
उनको वास्तविक अभिकर्ता यात्रा भने काठमाडौंका घरबेटीबाट सुरु भएको हो । अभिकर्ता पेशामा सक्रिय घरबेटीको आग्रहमा उनले लाइसेन्स लिए । घरबेटीको शब्द आज पनि उनलाई स्मरणीय छ “तिम्रो कलेज बिहानको रहेछ, पार्ट टाइममा यस्तो गर्न सकिन्छ।”
गुरुङ भन्छन्, “मैले खासै केही बुझ्या त थिइनँ, तर केही हुन्छ भने गरौँ न भन्ने लाग्यो।” यही साधारण सोचले उनको जीवनको दिशा नै बदलिदियो ।
गुरुङको पारिवारिक पृष्ठभूमि पनि रोचक छ । उनका बुवा इन्डियन आर्मीमा कार्यरत थिए । त्यसैले उनको जन्म भारतमा भयो । तर अध्ययन भने उत्तरी धादिङको खनियाबास गाउँपालिकास्थित बत्सलादेवी माध्यमिक विद्यालयबाट पूरा गरे । घरमा आमा–बुवा, तीन जना दाजुभाइ र दुई बहिनी गरी ठूलो परिवार। हाल भने उनको परिवार भक्तपुरमै बसोबास गरिरहेको छ ।
विदेशबाट फर्किएपछि भूकम्पपछिसम्म दुई–तीन वर्ष खासै केही नगरी समय बित्यो । “के गर्ने, कस्तो गर्ने ?” भन्ने द्विविधाकै बीच उनले फेरि बीमाकै कामलाई पूर्णकालिन रूपमा सुरु गरे । साबिक सानिमा लाइफ इन्स्योरेन्सको सुरुवाती दिनदेखि नै उनी यस यात्रामा जोडिए ।
सानिमामा प्रवेश गर्नुको प्रसंग पनि विशेष छ । उनले काम गरिरहेको अघिल्लो कम्पनीको सम्पूर्ण टिम नै सानिमा लाइफमा प्रवेश गर्यो । यसले उनलाई नयाँ कम्पनीमा छिट्टै जम्न मद्दत गर्यो । गुरुङ भन्छन्, “नयाँ कम्पनीमा अलिकति दुःख पनि हुन्छ, सेवा–सुविधाका कुरा पनि हुन्छन्, अवसर र चुनौती दुवै हुन्छन्।” यही सोचका साथ उनले आफूसँगै टिम निर्माणमा पनि कटिबद्ध भएर काम गरे, जसले सानिमामा उनको जग झनै मजबुत बनायो ।
आजसम्म उनले साढे ७ सयभन्दा बढी बीमा पोलिसी जारी गरिसकेका छन् । बीमामा सक्रिय भएदेखि उनले आफूलाई पूर्णकालिन रूपमा यही क्षेत्रमा समर्पित गरे । “बीमा बाहेक अन्य क्षेत्र रोज्ने सोच नै आएन,” उनी स्पष्ट भन्छन्, “मैले अरु केही गर्ने कोसिस नै गरिनँ।”
हाल उनको टिममा १५० भन्दा बढी अभिकर्ता आबद्ध छन् । तीमध्ये केही अत्यन्त सक्रिय छन् भने केही निष्क्रिय पनि । तर गुरुङको विश्वास भने स्पष्ट छ ुसही मार्गदर्शन, अनुशासन र निरन्तरताले बीमा क्षेत्रमा जुनसुकै व्यक्तिले पनि सफलता हासिल गर्न सक्छ ।
गाउँबाट शहर, विदेशदेखि स्वदेश, संघर्षदेखि सफलता नारायण बहादुर गुरुङको कथा केवल व्यक्तिगत उपलब्धि मात्र होइन, नेपाली बीमा क्षेत्रमा सम्भावनाको सशक्त उदाहरण हो ।
बीमालाई दैनिक जीवनसँग जोडेर बुझाउने अभियान
नारायण बहादुर गुरुङ बीमालाई केवल वित्तीय उत्पादन होइन, भोलिको सुरक्षित जीवनको आधारका रूपमा प्रस्तुत गर्ने व्यक्तित्वका रूपमा परिचित छन्। बीमा क्षेत्रमा लामो अनुभव सँगालेका गुरुङले आफ्ना व्यक्तिगत सम्बन्ध, व्यवहारिक सोच र निरन्तर मेहनतका आधारमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।
उनले बीमा व्यवसायको सुरुवात चिनेजानेकै आफ्ना नातेदार, पारिवारिक नातागोता र साथीभाइबाट गरेका थिए। सुरुमा सीमित दायराबाट अगाडि बढे पनि कामप्रति देखाएको इमान्दारिता र परिणामले गर्दा एक परिवारबाट अर्को परिवार, एक सदस्यबाट अर्को सदस्य थपिँदै गयो। अहिले हेर्दा अचम्म लाग्ने उदाहरण पनि छन्। गुरुङका अनुसार एउटै परिवारका चार सदस्यले १३ वटा सम्म बीमा पोलिसी लिएका छन्। समय, आम्दानी र आवश्यकताअनुसार उनीहरूले बीमालाई निरन्तरता दिँदै आएका छन्। बजारमा अन्य लगानीका विकल्पबाट अपेक्षित प्रतिफल नआएको अवस्थामा बीमालाई सुरक्षित र भरपर्दो विकल्पका रूपमा लिन थालिएको उनी जनाउँछन।
गुरुङ बीमा ‘गरौँ, गराऔँ’ भन्ने शैलीमा भन्दा पनि जीवनसँग जोडेर बुझाउने प्रयास गर्छन्। उनी भन्छन्, “म बीमालाई सामान्य भाषामा, सोझो पाराले बुझाउँछु। गाँस, बास, कपासपछि स्वास्थ्य र शिक्षा प्राथमिकतामा राख्नुपर्छ। स्वास्थ्य र शिक्षाका लागि बचत अनिवार्य हुन्छ।” नेपाली समाजको संरचनालाई उदाहरण दिँदै उनी थप्छन्, “हाम्रो समाजमा छोराछोरीको बिहे, परिवारको दायित्व जस्ता धेरै जिम्मेवारी हुन्छन्। यिनै दैनिक जीवनसँग जोडिने विषयलाई समेटेर म बीमाको आवश्यकता बुझाउँछु।”
उनको व्यवसायिक यात्राको अर्को महत्वपूर्ण पक्ष अन्तर्राष्ट्रिय स्तरको मान्यता एमडिआरटी हो। गुरुङले सानिमा रिलायन्सबाट निरन्तर ५ पटक एमडिआरटी हासिल गरिसकेका छन्। यसमध्ये ३ पटक सीओटी र २ पटक एमडिआरटी छन्। सानिमा रिलायन्स लाइफमा आबद्ध हुनु अघि काम गरेको कम्पनीमा पनि उनी एमडिआरटी क्वालिफाइड भए तापनि औपचारिक दाबी नगरेको उनी बताउँछन्। सन् २०२२ देखि २०२६ सम्म, यो पटकसहित उनले ५ पटक एमडिआरटीमा दर्ता गरिसकेका छन्। सीओटी उपलब्धि भने २०२२, २०२५ र २०२६ मा हासिल गरेका हुन्।
व्यवसायिक प्रदर्शनका आधारमा सानिमा रिलायन्स लाइफमा उनी अग्रणीमध्ये एक मानिन्छन्। कम्पनीभित्र रोल मोडलका रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन्। एमडिआरटी सम्मेलनमा सहभागी हुन उनले सन् २०२२ मा आवेदन दिएका थिए, तर अष्ट्रेलियाको भिसा नपाएको अनुभव पनि उनीसँग छ। साथै, एमडिआरटीको विश्वव्यापी मान्यताका लागि बुझाउनुपर्ने शुल्क नेपालजस्तो मुलुकका लागि खर्चिलो हुने उनी जनाउँछन।
गुरुङको दृष्टिमा बीमा भनेको केवल जोखिम व्यवस्थापन मात्र होइन, भोलिको बचत र परिवारको आर्थिक सुरक्षाको माध्यम हो। “केही परिआयो, भव्यतव्य भयो भने तपाईंको अनुपस्थितिमा परिवारले आर्थिक जोखिमबाट राहत पाउँछ,” उनी भन्छन्। साथै, उनले समाजमा बचत संस्कृतिको आवश्यकता औंल्याउँछन्। “थोरै कमाए थोरै बचत, धेरै कमाए धेरै बचत गर्ने बानी बसाल्नुपर्छ। यहाँ बचत भनेको पैसाको मात्र होइन, समय र अन्य स्रोतको पनि हो,” उनी जोड दिन्छन्।
बीमालाई जीवनशैलीसँग जोडेर बुझाउने यही सोच र निरन्तरताले नारायण बहादुर गुरुङलाई बीमा क्षेत्रमा प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्सद्वारा ‘नारी सुरक्षा’ जीवन बीमा योजना सार्वजनिक
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेकोछ । एकै योजना बहु–लाभ, सबै नारीका लागि सजिलो पहुँच नाराका साथ सार्वजनिक गरिएको योजना हो ।
महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित विशेष योजना हो । यस योजनको मुख्य विशेषता भनेको बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कको आधारमा नगद सुबिधा प्रदान गरिनु,वृद्धिशील मृत्यु लाभः मृत्युमा प्रदान गरिने बीमाङ्क रकम हरेक ५ वर्षमा २५ प्रतिशतले बढ्नु रहेको छ । नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पूरक करार सुविधा समेत समावेश गरिएको यस योजनाले नारीको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा एकैसाथ प्रदान गरी सुनिश्चित भविष्यको सुरुवात गर्नेछ ।
नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना नारीको जीवनमा सुरक्षा, आत्मनिर्भरता र भविष्यको सुनिश्चिततालाई केन्द्रमा राखी तयार गरिएको विशेष जीवन बीमा योजना हो । समानतासँगै सम्मानपूर्वक जीवनयापन गर्न सकून् भन्ने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक नारी लक्षित, महत्त्वपूर्ण ऐच्छिक सुविधाहरू सहित यो योजना सार्वजनिक गरेको हो । नारीवर्गमा समर्पित यस योजनाले नियमित आम्दानी, आर्थिक सुरक्षा तथा दीर्घकालीन आर्थिक सुनिश्चितता एकैसाथ प्रदान गर्दछ ।
मातृत्व नारी जीवनको सबैभन्दा सुन्दर, महत्त्वपूर्ण र संवेदनशील समय हो । तर गर्भावस्थाको समयमा कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्या पनि आइपर्न सक्छ ।समग्र नारीकै लागि बनेको योजना भएपछि उहाँहरुको लागि विशेष रुपमा लक्षित मातृत्व सुरक्षालाई ध्यानमा राखेर नेपाल लाइफले नेपाली जीवन बीमा जगतमै पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा ल्याएको हो ।
गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा अनुसार यदि गर्भावस्थाको समयमा यस पूरक करार भित्र पर्ने ११ वटा गम्भीर गर्भावस्था सम्बन्धी जटिलतामध्ये कुनैपनि जटिलता पुष्टि भएमा एकमुष्ट रु. १ लाख तुरुन्तै उपलब्ध हुनेछ । गर्भावस्था स्याहार सम्बन्धी अतिरिक्त पूरक करार सुविधा अन्तर्गत बीमा अवधीभित्र यदि बीमित महिला गर्भवती भएको प्रमाणित भएमा गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाको लागि १ पटकका लागि एकमुष्ट १० हजार रुपैयाँ नेपाल लाइफले प्रदान गर्नेछ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) न्यूनतम बीमाङ्क रकम रू २५०,००० दुई लाख पचास हजार र अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा गर्न सकिनेछ । यस योजनामा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहनेछ । यस योजनासँगै विभिन्न ऐच्छिक पुरक करार सुविधा पनि लिन सकिन्छ जस्तै एडीबीः दुर्घटना मृत्यु लाभ, पीटीडीः पूर्ण स्थायी अशक्तता सुविधा, पीडब्लूबीः बीमाशुल्क छुट सुविधा पनि योजनासँगै लिन सकिन्छ ।
ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ ।
बैंकले नेपाली विद्यार्थीहरुलाई विशेष गरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरु जस्तै आईर्ईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, कलेज फि, भिषा शुल्क, बीमा शुल्क लगायतका विभिन्न सेवा वापतको भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशतको छुट प्रदान गर्नेछ ।
यो योजना अन्तर्गतको छुट जुलाई ३१, २०२६ सम्म लागू हुनेछ । ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले उक्त सेवा आफ्ना ११७ वटा शाखामार्फत विस्तार गरेको छ । यो योजनाअन्तर्गतको छुट तथा सेवा उपलब्ध हुने बैंकका शाखा कार्यालयहरुसम्बन्धी विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १४७ शाखा रहित बैंकि∙ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकलाईसेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
टी–२० विश्वकप ः सान्त्वना जितको खोजीमा रहेको नेपाल स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ ।
समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७ः१५ मा सुरु हुनेछ ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो संस्कण जितविहीन हुने संघारमा छ ।
सन् २०१४ को डेब्यु विश्वकपमा २ जित निकालेको नेपाल सन् २०२४ को पछिल्लो संस्करणमा जितविहीन बनेको थियो । त्यसैले नेपाल जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ ।
नेपालले अघिल्ला तीनै खेल गुमाएको थियो । नेपालले यसअघि इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजय व्यहोरेको थियो ।
काठमाडौं–५ मा ईश्वर पोखरेलको घरदैलो, स्वाधिनताका मुद्दामा दृढतापूर्वक उभिने
काठमाडौं । यही फागुन २१ गते हुने निर्वाचनको लागि आज (सोमबार) देखि घरदैलो कार्यक्रम सुरु भएको छ । सोही क्रममा काठमाडौं क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले पनि आफ्नो घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
घरदैलो कार्यक्रममा पत्रकारहरुसँग बोल्दै पोखरेलले आफ्नो राष्ट्रिय स्तरको एजेण्डा भएको जनाउँदै स्वाधिनताको विषयमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाए ।
त्यस्तै उत्पादनसँग जोडिएको शिक्षा, स्वास्थ्य ,रोजगारी तथा स्वरोजगारीको विषय जस्ता कुरामा ध्यान दिने उनले जनाए ।
‘राष्ट्रिय स्तरको एजेण्डा छन् । संकटमा पार्न खोजिएका राष्ट्रिय स्वाधिनताको विषयमा हामी दृढतापूर्वक उभिने छौं । राष्ट्रिय स्तरका विकासको कुरामा जोड दिन्छौं । जनतालाई सेवा प्रवाह गर्ने खासगरी उत्पादनसँग जोडिएको शिक्षा,स्वास्थ्य र रोजगारी रोजगारीको विषय जस्ता कुरामा हामी ध्यान दिन्छौं ।’
रवि लामिछाने विरुद्धको संगठित अपराध मुद्दा तत्काल फिर्ता नहुने आदेश
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने आदेश कास्की जिल्ला अदालतले गरेको छ ।
महान्यायाधिवक्ताको कार्यालयले रवि विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकोमा अदालतले मुद्दा फिर्ता नहुने आदेश गरेको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा अदालतमा विचाराधीन छ ।
महान्यायाधिवक्ताको कार्यालयको निर्णयपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ताका लागि अदालतमा निवेदन दिएको थियो । सोमबार भएको सुनुवाइमा कास्की जिल्ला अदालतले रवि विरुद्धको मुद्दा तत्काल फिर्ता नलिने आदेश गरेको छ ।
जिल्ला न्यायाधीश नितिश राईको इजलासले महान्यायाधिवक्ताको कार्यालयको निर्णयमा सर्वोच्च अदालतमा पनि रिट परेकाले तत्काल मुद्दा फिर्ता नहुने आदेश गरेका छन् ।
सर्वोच्चबाट हुने आदेश जिल्ला अदालतमा पेश भएपछि मात्रै निर्णय हुने आदेश भएको छ । यसअघि रूपन्देही अदालतले पनि रवि विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नगर्ने आदेश गरेको थियो ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ६६ दल र उम्मेदवारलाई स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ६६ दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा आचारसंहिता उल्लङ्घन सम्बन्धमा परेका ६६ उजुरीका आधारमा आयोगले सम्बन्धित दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो ।
त्यसमध्ये ३२ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ ।
आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए ।
जिल्लास्तरमा समेत निर्वाचन आचारसंहिना उल्लङ्घनविरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया अघि बढाइरहेको छ । प्राप्त भएका ३२ जवाफको अध्ययन भइरहेको कानुन अधिकृत जोशीले बताए । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेको उनले जनाए ।
जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाइ कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । छोटो समयमै सबै जिल्लामा सरोकारवालाहरूलाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रुपमा भइरहेको कानुन अधिकृत जोशीले जनाए । जिल्लास्तरमा आएका उजुरीका सम्बन्धमा जिल्लाबाटै स्पष्टीकरण सोधी जवाफ माग गरेर दोषी देखिएकालाई कारबाही प्रक्रिया अघि बढाइएको छ ।
















