पहिलेभन्दा अहिले चुनाव जित्न सहज भएको पृथ्वीसुब्बा गुरुङको दाबी

0

लमजुङ । नेकपा एमालेका उपाध्यक्ष एवम् लमजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अघिल्लो निर्वाचनको तुलनामा यसपटक चुनाव जित्न अझ सहज हुने दाबी गरेका छन् ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । आज दोर्दी गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २०७९ सालको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गरेको स्मरण पनि गरेका छन् ।
‘त्यतिबेला पनि चुनौती धेरै थिए, तर जनताले विकास र स्थायित्वको पक्षमा मतदान गर्नुभयो,’ उनले भने–‘यसपटक त झन् सहज वातावरण छ, एमालेको जितलाई कसैले रोक्न सक्दैन ।’
गुरुङले आफ्नो उम्मेदवारी अधुरा विकास योजना पूरा गर्न, सुशासन प्रवद्र्धन गर्न र समृद्धि हासिल गर्नका लागि भएको जनाए । २०६४ सालको प्रतिकूल राजनीतिक परिस्थितिमा पनि आफू निर्वाचित भएको उल्लेख गर्दै उनले कठिन परिस्थितिमा समेत जनताको साथ पाएको दाबी गरे ।
लमजुङको पूर्वाधार विकास, सडक सञ्जाल विस्तार, शिक्षा, स्वास्थ्य र पर्यटन प्रवद्र्धनका क्षेत्रमा उल्लेख्य काम भएको उनको भनाइ थियो । ‘गाउँटोलमै गएर हेर्नुहोस्, कामको नतिजा देखिन्छ,’ उनले भने, ‘अब समृद्ध लमजुङ निर्माण गर्ने लक्ष्यका साथ अघि बढेका छौं ।’
विपक्षी दलबाट लगाइएका आरोपले पार्टीलाई असर नपर्ने उनको दाबी छ । अप्रमाणित आरोपले एमाले कमजोर नहुने बरु जनविश्वास झन् बलियो बन्ने उनले तर्क गरे । ‘देश जलाउने होइन, बनाउने शक्तिलाई रोज्नुपर्छ,’ उनले भने–‘सुशासन र राष्ट्रिय हितका लागि एमालेको विकल्प छैन ।’
गुरुङले स्थिर सरकार निर्माणका लागि एमाले उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रहसमेत गरेका छन् ।

LEAVE A REPLY