काठमाडौं । महालक्ष्मी विकास बैंकले फागुन २४–२५ गते बैंकको वाषिक कार्यक्रम अन्तर्गत दुईदिने कार्यशालाको आयोजना गरी वातावरण, संस्कृती र सम्पदा संरक्षण तथा दिगो बैकिङ्ग प्रबद्र्धन प्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै सामुहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीहरुको उत्साहजनक सहभागिताका साथ सम्पन्न यस दुई दिने कार्यक्रमले बैंकको आर्थिक वर्ष २०८२–८३ को हालसम्मको समग्र वित्तीय अवस्था र हालै सम्पन्न सफल निर्वाचन पछिको सकरात्मक परिस्थिति तथा अन्तराष्ट्रिय परिस्थितिबाट सृजना हुन सक्ने आर्थिक चुनौतीहरुको समेतको विश्लेषण गरेको छ ।
बैकिङ्ग क्षेत्रले दिगो वित्तीय अभ्यासहरु अपनाउनुपर्छ भन्ने सन्देश आम जनमानसमा प्रवाह गर्न ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्वपुर्ण रहेको फेवाताल किनारमा सामुहिक रुपमा पदयात्रा गर्दैै कार्यक्रम सम्पन्न भएको हो ।
साथै उक्त कार्यक्रममा हरित बैकिङ्ग र दिगो वित्तीय रणनितिको आवश्यकता माथि विशेष जोड दिइएको छ । यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेका छन् ।
महालक्ष्मी विकास बैंकले दिगो बैंकिङ प्रबर्द्धनको लागि गर्यो कार्यशाला
समानुपातिक गणना अन्तिम चरणमा, रास्वपालाई ५१ लाख, कांग्रेसले पायो १७ लाख
काठमाण्डौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मत गणना अन्तिम चरणमा पुगेको छ । निर्वाचनको मतगणना जारी रहँदा प्रत्यक्ष र समानुपातिकमा सबैभन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ।
बुधबार बिहान ७ बजेसम्म समानुपातिकतर्फ १ करोड ७ लाख ३० हजार ५५१ मतगणना सम्पन्न भएको छ। निर्वाचनमा प्राप्त मतअनुसार ६ वटा पार्टीले तीन प्रतिशत थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका छन्।
निर्वाचन आयोगका अनुसार रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएर पहिलो दल बनेको छ। त्यस्तै दोस्रोमा कांग्रेसले १७ लाख ४७ हजार ७३७, तेस्रोमा नेकपा एमालेले १४ लाख ४८ हजार ३१८, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ३ हजार ६२७ प्राप्त गरेको छ।
निर्वाचनको केही दिन अगाडि मात्र खुलेको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत प्राप्त गर्दै राष्ट्रिय दल बनेको छ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ७८ हजार ५८७ मत ल्याएको छ। मधेश केन्द्रित लगायतका अन्य दलले थ्रेस होल्ड कटाउन सकेका छैनन्।
निर्वाचन आयोगले प्रत्यक्षतर्फ पनि सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेको जनाएको छ। दोस्रोमा नेपाली कांग्रेसले १८, तेस्रोमा नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले १ र एक जना स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।
सबै कांग्रेसीजन एकढिक्का भएर गगनलाई साथ दिनु आवश्यक छ ः गोपालमान श्रेष्ठ
काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सभापति गगन थापालाई सम्बोधन गर्दै नेपाली कांग्रेसभित्र एकता र रूपान्तरणको आवश्यकता रहेको जनाएका छन् । उनले हालै सम्पन्न संघीय संसदको निर्वाचनको परिणाम अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको रक्षा, विधिको शासन सुदृढीकरण र राजनीतिक स्थायित्वलाई प्राथमिकता दिनुपर्ने जनाएका हुन् ।
श्रेष्ठले देश अहिले पुनः लयमा फर्कने प्रक्रियामा रहेको उल्लेख गर्दै थापाको नेतृत्वले पार्टीभित्र आशा र दिशानिर्देश दिएको जनाए । उनका अनुसार निर्वाचन परिणामले कांग्रेसको समयसापेक्ष बन्न, युवाहरूको आकांक्षा आत्मसात गर्न र संगठनात्मक रूपान्तरण गर्न स्पष्ट सन्देश दिएको छ ।
उनले यो परिणामलाई केवल नेतृत्वको असफलता मात्र नभई जनताको परिवर्तनको चाहनाअनुसार पार्टीलाई पूर्ण रूपमा रूपान्तरण गर्न नसकिएको चेतावनीका रूपमा लिनुपर्ने जनाए । श्रेष्ठले अब वडा तहदेखि गाउँ, नगर, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म संगठन सुदृढीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
श्रेष्ठले थापाले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले पार्टीका कार्यकर्ताहरूलाई अझ दृढ बनाएको उनले उल्लेख गरे । उनले यस्तो कठिन अवस्थामा पार्टीभित्र निराशा वा विचलन ल्याउनु देश र पार्टी दुवैका लागि हितकर नहुने भन्दै सबै कांग्रेसीजन एकढिक्का भएर साथ दिनुपर्ने धारणा व्यक्त गरे ।
‘गगन बाबु, तपाईंले देखाएको साहस, दृष्टि, र युवाहरूलाई प्रेरित गर्ने क्षमताले हामीलाई अझै दृढ बनाएको छ । यस कठिन घडीमा राजनीमा ल्याउनु वा राजनीमा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन । बरु, हामी सबै कांग्रेसीजनहरू एकढिक्का भएर तपाईंलाई साथ दिनु आवश्यक छ । तपाईंको नेतृत्वमा हामीले नयाँ ऊर्जा, नयाँ आशा, र नयाँ रुपान्तरणको बाटो देखिरहेका छौँ ।’ श्रेष्ठले फेसबुकमा लेखेका छन् ।
प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस
काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।
परिषद्को बैठकले आगामी चैत १८ गतेदेखि रिक्त हुने प्रधानन्यायाधीशको नियुक्तिका लागि नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण आगामी चैत १८ गते अवकाश हुँदैछन् ।
न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश डा. मनोजकुमार शर्मा, कुमार रेग्मी, हरि फुँयाल, तिलप्रसाद श्रेष्ठ र डा. नहकुल सुवेदीको नाम सिफारिस गरेको हो ।
सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका न्यायाधीशहरू प्रधानन्यायाधीशका लागि योग्य हुन्छन् । प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना पहिले नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने व्यवस्था छ ।
संवैधानिक परिषद्ले सिफारिस गर्ने प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदन भएपछि नियुक्त हुन्छन् ।
चैत पहिलो साताभित्रै ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी
काठमाडौं । निर्वाचन आयोगले चैत पहिलो साताभित्र ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ सांसद जित्ने दल र व्यक्ति समेटिएको प्रतिवेदन चैत पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाउने तयारी आयोगले गरेको हो ।
प्रत्यक्षतर्फ १६५ सिटको नतिजा आइसकेको छ । प्राप्त नतिजानुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्र उम्मेदवार ९महावीर पुन० सिटमा जितेका छन् ।
एडीबीले नेपाललाई स्वीकृत गर्यो पौने ६ अर्ब सहुलियत ऋण
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई करिब ४ करोड अमेरिकी डलर (झण्डै ५ अर्ब ८७ करोड रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने निर्णय गरेको छ।
एडीबीका अनुसार उक्त रकम नेपालमा डिजिटल रुपान्तरणलाई तीव्र बनाउन तथा नागरिक र व्यवसायका लागि डिजिटल सेवाको पहुँच विस्तार गर्न प्रयोग गरिनेछ। यस परियोजनाले विशेषगरी डेटा होस्टिङ, साइबर सुरक्षा र सरकारी डिजिटल पूर्वाधार सुदृढ बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
यो कार्यक्रम दक्षिण एसियामै पहिलोपटक एडीबी र विश्व बैंकको सहकार्यमा सञ्चालन हुन लागेको डिजिटल रुपान्तरण परियोजनाअन्तर्गत नेपालमा कार्यान्वयन गर्न लागिएको हो।
परियोजनाबाट सुरक्षित सरकारी डेटा एक्सचेन्ज प्लेटफर्म विकास गर्ने, डिजिटल सेवा प्रणालीलाई आधुनिक बनाउने र सार्वजनिक सेवा वितरणलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
कार्यक्रमको कार्यान्वयन सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले गर्ने जनाइएको छ।
अबको सरकारले औषधि ऐनमा आवश्यक संशोधन गर्ने तोसिमाको धारणा
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीले अब बन्ने सरकारले प्राथमिकताका साथ पूरानो औषधि ऐनमा आवश्यक संशोधन गर्ने धारणा व्यक्त गरेकी छन् ।
मंगलबार काठमाण्डौंमा आयोजित ‘नेपाल फार्म एक्सपो तथा औषधिमा आत्मनिर्भरताः नीतिगत सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ४७ वर्ष पुरानो औषधि ऐन बोकेर आधुनिक र समयसापेक्ष चिकित्सा सेवा दिन सम्भव नहुने भन्दै आवश्यक संशोधन गर्ने आश्वासन दिएकी हुन् ।
उनले भनिन्, ‘आजभन्दा ४७ वर्ष पुरानो औषधि ऐन बोकेर आजको समयसापेक्षित मेडिकल उपचार हामी दिन सक्छौं भन्ने ग्यारेन्टी सरकारले गर्न सक्दैन । त्यसैले अब बन्ने सरकारले प्राथमिकतामा राखेर यो ऐनमा गर्नुपर्ने संशोधन गर्छ ।’
स्वास्थ्य क्षेत्रका साधारण कुराहरू पनि आजसम्म अड्किनुको पछाडि इच्छा शक्ति नहुनु र अनैतिक खेल रहेको उनको भनाइ छ । रास्वपाको सरकारले स्वास्थ्य क्षेत्रमा सेवक सरकारको भूमिका निर्वाह गर्ने उनको दाबी छ ।
‘स्वास्थ्य क्षेत्रका साधारण कुराहरू पनि आजसम्म अड्किनुको पछाडि इच्छा शक्ति नहुनु र अनैतिक खेलले हो । जब नेतृत्व नैतिकताको बलमा इच्छा शक्ति बोकेर सेवामा लाग्छ, तब यो सबै समस्या समाधान हुन्छ । अब बन्ने रास्वपाको सरकारले स्वास्थ्य क्षेत्रमा सेवक सरकारको भूमिका निर्वाह गर्छ,’ उनले भनिन् ।
कार्कीले औषधिमा आत्मनिर्भरता केवल व्यावसायिक विषय मात्र नभई नागरिकको सुरक्षासँग जोडिएको संवेदनशील मुद्दा भएको जनाईन । प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि प्राप्त गर्न पाउनुपर्ने भन्दै यसको सुनिश्चितता राज्यले गर्नुपर्ने उनले जोड दिइन् ।
उनले भनिन्, ‘औषधिमा आत्मनिर्भरता भन्ने विषय एउटा व्यवसायिक पाटो मात्र होइन । यो नागरिकको सुरक्षासँग जोडिएको विषय हो । प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि प्राप्त गर्नुपर्छ । यसको सुनिश्चितता राज्यले गर्नुपर्छ । संवेदनशील पाटो भएकाले यसलाई व्यापार व्यवसायको रूपमा मात्र राज्यका निकायले हेर्ने छुट छैन ।’
उनको अनुसार औषधि उत्पादन गर्दा मात्र गुणस्तर परीक्षण गरेर पुग्दैन, बिरामीले सेवन गर्ने अवस्थासम्म त्यसको गुणस्तर कायम छ वा छैन भन्ने विषयमा पनि निगरानी आवश्यक हुन्छ ।
औषधिको भण्डारण (स्टोरेज) देखि वितरणसम्मका सबै प्रक्रियामा गुणस्तर परीक्षण र प्रभावकारी नियमन आवश्यक रहेको उनले उल्लेख गरिन् ।
गाडी आयातमा ३०० प्रतिशत कर घटाउने स्वर्णीम वाग्लेको तयारी
काठमाडौं । रास्वपा उपसभापति तथा प्रस्तावित अर्थमन्त्री स्वर्णीम वाग्लेले गाडीमा लाग्दै आएको ३०० प्रतिशत कर घटाउने योजना सार्वजनिक गरेका छन्। पार्टीले हालै गरेको चुनावमा झण्डै दुईतिहाइ मत पाउँदा उनले उक्त प्रतिक्रिया दिएका हुन्।
उनले अनौपचारिक क्षेत्रमा कर असुली बन्द गर्ने नीति अपनाएर भन्सारमा मात्रै कर थोपर्ने सजिलो प्रणालीबाट सरकारले राजस्व असफल भएको टिप्पणी गरेका छन्। वाग्लेका अनुसार भन्सार दर कम गरेरै पनि राजस्व वृद्धिको सम्भावना रहेको छ।
कामना सेवाले सार्वजनिक गर्यो २०८३ सालको क्यालेन्डर
काठमाडौं । कामना सेवा विकास बैंकले वि.संं २०८३ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले आधुनिक प्रविधिलाई मध्यनजर राख्दै उक्त क्यालेन्डरलाई डिजिटल माध्यमबाट उपलब्ध गराएको जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डरमा पंचाङ्ग समितिद्वारा निर्धारण गरिएका विभिन्न तिथि तथा शुभ मुहूर्ताहरु समेत समावेश गरिएको छ, जसले सर्वसाधारणलाई धार्मिक तथा सांस्कृतिक कार्यहरुका लागि उपयोगी जानकारी प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।
उक्त डिजिटल क्यालेन्डर सहज रुपमा प्राप्त गर्नका लागि बैंकले क्यूआर कोड समेत सार्वजनिक गरेको छ । सो क्यूआर कोड स्क्यान गरी बैंकका ग्राहक तथा सर्वसाधारणले २०८३ को क्यालेन्डर हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । उक्त क्युआर कोड बैंकको सामाजिक संजालहरु तथा वेभसाईट मार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
शिखर पावरको आईपीओमा २७ लाख ६६ हजारको आवेदन
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि आज २६ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा २७ लाख ६६ हजार ५१० जनाको आवेदन परेको छ ।
आवेदन दिने आज अन्तिम दिन अन्तिम समयसम्म ३ अर्ब ७ करोड ३९ लाख ६० हजार रुपियाँको ३ करोड ७ लाख ३९ हजार ६ सय कित्ता शेयरको लागि आवेदन परेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको थियो । अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर खुला गरेको हो ।
कम्पनीले आफ्नो ९८ करोड रुपियाँ जारी पुँजीको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपियाँ बराबरका ३२ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये ९ लाख ८० हजार कित्ता साधारण शेयर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र विद्युत उत्पादन अनुमतिपत्रका आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो ।
त्यस्तै, २ लाख २२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि तथा १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकिएको छ।
कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीहरूका लागि ४४ हजार ४०० कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका १८ करोड ४२ लाख ६० हजार रुपियाँ बराबरका १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको थियो ।
उक्त शेयर १ लाख ८४ हजार २ सय ६० जनाले १०–१० कित्ताका दरले पाउने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
















