काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि आज २६ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा २७ लाख ६६ हजार ५१० जनाको आवेदन परेको छ ।
आवेदन दिने आज अन्तिम दिन अन्तिम समयसम्म ३ अर्ब ७ करोड ३९ लाख ६० हजार रुपियाँको ३ करोड ७ लाख ३९ हजार ६ सय कित्ता शेयरको लागि आवेदन परेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको थियो । अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर खुला गरेको हो ।
कम्पनीले आफ्नो ९८ करोड रुपियाँ जारी पुँजीको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपियाँ बराबरका ३२ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये ९ लाख ८० हजार कित्ता साधारण शेयर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र विद्युत उत्पादन अनुमतिपत्रका आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो ।
त्यस्तै, २ लाख २२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि तथा १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकिएको छ।
कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीहरूका लागि ४४ हजार ४०० कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका १८ करोड ४२ लाख ६० हजार रुपियाँ बराबरका १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको थियो ।
उक्त शेयर १ लाख ८४ हजार २ सय ६० जनाले १०–१० कित्ताका दरले पाउने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।













