काठमाडौं । यही फागुन २१ गते सम्पन्न निर्वाचनबाट आएको जनादेशले हौसिएको शेयर बजारमा आज उच्च अंकको करेक्शन आएको छ ।
हिजो लगातार तेस्रो पटक पोजेटिभ सर्किट लागेसँगै कारोबार स्थगित गर्नु परेको थियो । तर हिजोको उत्साह एक दिन पनि टिक्न सकेन । बजार घटेसँगै आज साढे २१ अर्बको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२.०८ अंकले घटेको छ । १.११ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८४३.३५ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा समूह क्रमशः ०.५१, १ं३४ र ०.४७ प्रतिशतले बढेका छन् । बाँकी अरु समूह भने राताम्मे भए ।
आज ३२९ कम्पनीका ५ करोड २७ लाख ११ हजार ३ सय ५३ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५० करोड २० लाख ३१ हजार २ सय २०.३४ रुपियाँ बराबरको कारोबार भएको छ ।
रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक र थ्रीस्टार हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः १०, ९.९९ र ९.०८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै हिमस्टार उर्जाका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.३६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज ङादी ग्रुप पावर लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १ अर्ब ९ करोड ७३ लाख ५५ हजार १ सय ५७.२० रुपियाँको शेयर किनबेच भएको छ ।
निर्वाचन पछि हिजो पहिलो दिन सोमबार बजार खुलेको थियो । सोमबार १६२ अंकले बजार बढ्दा ५ करोड ५९ लाख रुपियाँ बराबरको कारोबार भएको थियो । गत आइतबार नारी दिवसको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।













