बुटवल । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।
प्रहरीका अनुसार जिल्लाको माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या चार पुगेको हो । यसअघि दुर्घटनामा अर्घाखाँचीको शीतगङ्गा–४ सिद्धाराका २६ वर्षीय चालक चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको ज्यान गएको थियो ।
शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब सय मिटर तल खसेको थियो । प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्यो
इरानसँगको युद्धमा अमेरिकालाई सवा खर्ब रुपैयाँ बराबर क्षति
काठमाण्डौं । मध्यपूर्वमा अमेरिकाले प्रयोग गर्दै आएका सैन्य अखडाहरूमा इरानले गरेका आक्रमणहरूका कारण युद्धको पहिलो दुई सातामा अमेरिकालाई करिब ८० करोड डलर झन्डै सवा खर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।
अमेरिकाको सेन्टर फर स्ट्राटजिक एन्ड इन्टर्न्याश्नल स्टडिज (सीएसआईएस) ले जारी गरेको एक प्रतिवेदनमा अमेरिका र इजरायलको आक्रमण पछि इरानको प्रत्याक्रमणमा सबभन्दा धेरै क्षति भएको हो ।
सीएसआईएसको प्रतिवेदनलाई बीबीसीले पनि विश्लेषण गरेको छ । प्रतिवेदन र विश्लेषणअनुसार इरानी प्रहारबाट अमेरिकालाई भएका क्षतिका पूर्ण विवरण अझै प्रस्ट भइसकेको छैन।
तर अमेरिकी सैन्य संरचनाहरूमा ८० करोड डलर बराबरको क्षति पुगेका अनुमान गरिएको छ । युद्ध जारी रहँदा अमेरिकालाई थप क्षति हुने र युद्धको मूल्य चर्को पर्दै जाने देखिएको प्रतिवेदनमा जनाइएको छ ।
सीएसआईएसका वरिष्ठ सल्लाहकार तथा प्रतिवेदनका एक सह लेखक मार्क कान्किआनले भने, ‘क्षति निकै भएको देखिन्छ तर त्यसको पूर्ण आँकडा थप सूचना नभइकन थाहा हुन सक्दैन।’
यसबारे प्रतिक्रिया माग गर्दा अमेरिकी रक्षा मन्त्रालयले युद्धको अगुवाइ गर्दै आएको यूएस सेन्ट्रल कमान्डलाई सोध्न भनेको छ ।
तर सेन्टकमका अधिकारीहरूले चाहिँ प्रतिक्रिया दिन अस्वीकार गरे। इरानको प्रतिकारात्मक कारबाहीहरूले अमेरिकी हवाई प्रतिरक्षा तथा भूउपग्रह–सञ्चार प्रणालीहरूलाई निसानामा पारेको थियो। ती प्रणाली जोर्डन, संयुक्त अरब इमिरेट्स (यूएई) र अन्य मध्यपूर्वी देशहरूमा थिए।
क्षतिको ठूलो अंश जोर्डनमा अवस्थित हवाई अखडामा रहेको थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको रेडारमा भएको प्रहारले भएको छ ।
सीएसआईएसद्वारा गरिएको रक्षा मन्त्रालयको बजेट दस्तावेज विश्लेषण अनुसार उक्त एएनरटिपीवाई–२ रेडार प्रणालीको लागत करिब ४८ करोड ५० लाख डलर पर्छ। लामा दूरीका बलिस्टिक क्षेप्यास्त्र रोक्न यस्ता हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरिन्छन्।
इरानी हमलाले सो क्षेत्रमा रहेका अमेरिकी अखडा तथा अमेरिकी सेनाले प्रयोग गर्ने गरेका सैन्य इलाकाका भवनहरू तथा अन्य संरचनाहरूमा ३१ करोड डलर बराबरको पनि क्षति पुगेको छ ।
बीबीसी भेरिभाईले भूउपग्रहबाट प्राप्त तस्बिरहरूको विश्लेषण गर्दा कम्तीमा तीनवटा हवाई सैन्य अखडामा इरानले एकपटकभन्दा धेरै हमला गरेको देखिएको छ।
यसरी पटकपटक हमला गरिनु भनेको निश्चित् अमेरिकी अखडालाई निसानामा पार्ने इरानको कोसिस हो। सो क्षेत्रमा रहेका अमेरिकी सैन्य फौजबारे रुसले तेहरानलाई खुफिया जानकारी दिएको विवरण पनि आएका छन्।
भूउपग्रहबाट लिइएका तस्बिरहरूले तीनवटा हवाई सैन्य अखडा–कुवेतस्थित अलि अल–सलिम, कतारस्थित अल–उदैद र साउदी अरेबियास्थित प्रीन्स सुल्तानमा व्यापक क्षति पुगेको देखाउँछ।
कुवेतस्थित अमेरिकी सैन्य केन्द्र क्याम्प अरिफ्जान र अमेरिकी विमान राखिएका साउदी अरेबियास्थित प्रीन्स सुल्तान हवाई सैन्य अखडामा रहेका रेडार स्थलहरूमा प्रहार भएका छन्।
प्रीन्स सुल्तान हवाई सैन्य अखडा क्षेत्रमा थाड हवाई प्रतिरक्षा प्रणालीको रेडार सामग्रीबाट धुवाँ उडिरहेको तस्बिरमा देखिन्छ।
फेब्रुअरी २८ मा इरानविरुद्ध इजरायली हमलामा राष्ट्रपति ट्रम्पले अमेरिकालाई जोडेपछि भएका घटनाहरूमा १३ अमेरिकी सैनिकको मृत्यु भइसकेको छ।
अमेरिकास्थिति ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी (एचआरएएनए) का अनुसार १४ सय गैरसैनिकसहित हालसम्म युद्धमा ३२ सयको मृत्यु भइसकेको छ।
इरानको परमाणु कार्यक्रम नष्ट गर्ने, उसको परम्परागत सैन्य क्षमता निस्तेज बनाइदिने र इरानी सत्ताले सो क्षेत्रमा उपयोग गर्दै आएका समूहहरूलाई दिँदै आएको समर्थनको अन्त्य गर्ने आफ्ना लक्ष्यहरू हासिल गर्नेतर्फ अमेरिका रणनीति रहेको छ ।
तर युद्धका कारण स्ट्रेट अफ होर्मुज जलमार्गमा भएको अवरोध, युद्ध कति लम्बिएला भन्ने र कतै अमेरिकी रायट्रपति डोनाल्ड ट्रम्पले स्थल सेना पनि परिचालन गर्छन् कि भन्ने अनिश्चयले गर्दा विश्व अर्थतन्त्र खलबलिएको छ।
यूएई र जोर्डनमा रहेका थाड प्रणालीमा अझ थप क्षति पुगेका देखिन्छन्। ती क्षति कति मूल्य बराबर भए भनेर प्रस्ट भएको छैन।
यी प्रणाली क्षतिग्रस्त भएपछि अमेरिकाले दक्षिण कोरियामा परिचालित थाड प्रणालीका सामग्रीलाई मध्यपूर्वमा सार्नु परेको छ ।
तर इरानी हमलाले पुगेको क्षतिको मूल्य अमेरिकाले यस युद्धका निम्ति गरेको कुल खर्चको निकै सानो अंश हो।
रक्षा मन्त्रालयका अधिकारीहरूले कङ्ग्रेस सदस्यहरूलाई दिएको भनिएका जानकारीअनुसार युद्धको पहिलो ६ दिनमै ११.३ अर्ब डलर झन्डै १७ खर्ब रुपैयाँ खर्च भएको छ।
पहिलो १२ दिनमा त्यो खर्च साढे १६ अर्ब डलर झन्डै २५ खर्ब रुपैयाँ पुगेको सीएसआईएसले जनाएको छ।
पेन्टागनले युद्धका निम्ति थप २०० अर्ब डलर बजेट माग गरेको छ। रक्षा मन्त्री पिट हेग्सेथले त्यो अङ्क परिवर्तन हुन सक्ने जनाएका छन्।
इरानलाई ट्रम्पको अल्टिमेटम– ४८ घण्टाभित्र होर्मुज खोलिएन भने पावर प्लान्ट ध्वस्त पार्नेछौँ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनका अनुसार ४८ घण्टाभित्र इरानले होर्मुजको जलडमरू पूर्ण रूपमा खोलेन भने अमेरिकाले इरानको पावर प्लान्टहरूमा आक्रमण गर्नेछ ।
“यदि इरानले ४८ घण्टाभित्र होर्मुजको जलडमरू खोलेन भने संयुक्त राज्य अमेरिकाले इरानको पावर प्लान्टहरूमा आक्रमण गर्नेछ र ध्वस्त पार्नेछ,” ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेखेका छन् ।
यसैबीच, इरानले चेतावनी दिएको छ कि यदि उसको पावर प्लान्टलाई लक्षित गरियो भने इरानले मध्यपूर्वमा अमेरिका र इजरायलसँग जोडिएका सबै ऊर्जा पूर्वाधारमा आक्रमण गर्नेछ ।
इरानको खातम अल अन्बिया केन्द्रीय कमाण्डका प्रवक्ता इब्राहिम जुल्फाघारीका अनुसार इरानले अमेरिका र इजरायलको डिसेलिनेशन प्लान्ट र आईटी पूर्वाधारमा पनि आक्रमण गर्नेछ ।
अवरुद्ध बीपी राजमार्ग खुल्यो
काठमाण्डौं । काभ्रेको रोशी खोलाको पानी पस्दा अवरुद्ध भएको बीपी राजमार्ग खुलेको छ ।
बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका खण्डका केही ठाउँमा गएराति रोशी खोला पसेको थियो । रोशी खोलाको पानी पस्दा काभ्रेको चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गामा सडक अवरुद्ध भएको थियोे ।
पहिरोले अवरुद्ध हेटौँडा र काठमाण्डौंलाई जोड्ने कान्ति लोकपथ पनि खुलेको छ । कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेमा हिजो बेलुका पहिरो खसेको थियो ।
ईद उल फित्रले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्ने प्रधानमन्त्री कार्कीको विश्वास
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ईद उल फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुर्याओस् भन्ने कामना गरेकी छन् ।
प्रधानमन्त्रीले आज इस्लामिक पात्रोको पवित्र महिना रमजानको लामो व्रतको समापनसँगै मनाइँदै गरेको ईद उल फित्रको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उक्त काममा गरेकी हुन् ।
“रमजानको महिना दिन लामो एवं कठिन व्रतले हामीलाई सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिन्छ”, प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “त्यही पवित्र महिमाकै कारण रमजानको रोजा बस्ने यस समयलाई सत्कर्म र संयमको महिना पनि भनिएको हो ।”
उनले यी मूल्यहरूले समाजलाई मानव मूल्यको महसुस, सहअस्तित्व र समृद्धिका लागि प्रेरणा प्रदान गर्ने र ईद–उल–फित्रले आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ सुदृढ बनाउने विश्वाससमेत व्यक्त गरेकी छन् ।
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ ः बालेन साह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने जनाएका छन् ।
शनिबार ईदको अवसरमा सामाजिक सञ्जालमा लेख्दै बालेनले सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने जनाएका हुन् । उनले लेखेका छन्, ‘धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ ।’
ईदको अवसरमा भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस् भन्दै उनले ईद पर्वको शुभकामना दिएका छन् । उनले एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउने जनाए ।
पहिरोले कान्ति लोकपथ अवरुद्ध
काठमाडौं । पहिरो खसेर कान्ति लोकपथ अवरूद्व भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ गंगटे स्थित कान्ति लोकपथ सडक खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
अवरूद्व बाटो खुलाउन इलाका प्रहरी कार्यालय ठिङ्गनबाट प्रहरी टोली खटिएको छ । हाल पहिरो हटाउने र सडक पुनः सञ्चालनमा ल्याउने प्रयास जारी रहेको छ ।
मध्यपूर्व तनाव ः एक नेपाली इरानको कब्जामा, ८२ हजार नेपालीले दर्ता गराए विवरण
काठमाण्डौं । मध्यपूर्वबाट ८२ हजार बढी नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएका छन् । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८२ हजार १ सय जना नेपालीले विवरण दर्ता गराएका हुन् ।
शुक्रवार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिदैं प्रवक्ता लोकबहादुर क्षेत्रीले अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिब ६ हजार जनाले शुरुमा आफूहरू असुरक्षित रहेको जानकारी गराएको जनाए।
तर पछिल्ला दिनहरूमा असुरक्षित महशुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको उनको दाबी छ।
इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावबीच मध्यपूर्वका विभिन्न देशबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १७० पटक सम्पर्क भएको उनले जनाए। श्रम स्वीकृतिको विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको उनको भनाइ छ।
यस्तै उनले इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको जानकारी दिए ।
हर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा ईरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएको थियो। सोहि क्रममा अमृत झा नाम गरेका ती व्यक्ती पनि परेका हुन् ।
गगन थापाको राजीनामा अस्वीकार, पार्टी पराजित हुनुको कारण खुलाइयो
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस भएको छ ।
वैठकमा प्रारम्भिक समीक्षा पेस गर्दै पार्टी उपसभापति विश्वप्रकाश शर्माले चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको जनाए । उनले पराजयको प्रमुख कारण चरम गुटबन्दी र वितृष्णा भएको ठहर गरेका हुन् ।
उनले गुटबन्दीको यस्तो चित्र सबैजसो दलहरुमा रहेको जसका कारण मतदातामा वितृष्णा जगाएको जनाएका छन् । उनले कतिपय जायज आवाजहरुलाई पनि पार्टीले नजरअन्दाज गर्दा निर्वाचनको नतिजा प्रतिकूल हुन पुगेको जनाएका छन् ।
पार्टीले फागुन २१ को निर्वाचनमा भोग्नु परेको पराजय र सभापति गगन थापाको राजीनामाका विषयमा छलफल र निर्णय लिन शुक्रबार कांग्रेस केन्द्रीय समितिको वैठक बसेको हो ।
सो क्रममा शर्माले सभापति थापाको राजीनामा अस्वीकृत हुने निर्णय पेस गरेका थिए । उनले सात कारणसहित सभापति थापाको राजीनामा स्वीकृत नहुने जनाए ।
प्रतिकुलता चिरेर पार्टीलाई अनुकुलतामा पु¥याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय नहुने उनको ठहर छ ।
‘विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न,’ उनले भनेका छन,‘त्यसका बाबजुद नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्दै पदबाट दिनुभएको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ ।’
उपसभापति शर्माले राजीनामाका विषयमा सात कारणसमेत खुलाएका छन् । उनले कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न नसके पनि पार्टीले अपनाएको मूल नीतिको विजय भएको जनाए । उनले प्रतिकूल अवस्थाबीच चुनावमा जाँदा परिणाम अनुकूल नआउनु अनौठो नभएको जनाए ।
प्रतिवेदन पेस भएपछि थापाले पदबाट दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार भएको जानकारी गराइयो । सहमहामन्त्री बहादुर सिंह लामाले सभापति थापाको राजीनामा अस्वीकृत भएको पत्रकारहरुलाई जानकारी दिएका छन् ।
साथै बैठक आइतबार विहान ८ बजे बस्नेगरी सकिएको पनि केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी गराएका छन् ।
एभरेष्ट बैंकको २०८३ सालको क्यालेन्डर अनावरण
काठमाडौं । एभरेष्ट बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्त्वका विषयवस्तुहरूलाई समेटेर कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ । यसैक्रममा बैंकले वि।सं। २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ ।
बैंकले आयोजना गरेको एक कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले २०८३ सालको क्यालेन्डर अनावरण गरे । उक्त समारोहमा बैंकका सञ्चालकहरूलगायत अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
यस वर्षको क्यालेन्डरमा उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको र महादेशीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिने “नेपालको विकास यात्रा ः नवप्रवर्तनका आयामहरू”लाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको बेंकले जनाएको छ ।

















