Page 12

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौं । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।
हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ । प्रस्तावित आयोजनाको बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटरमाथि उर्लेनी खङ्गकोट कालीगण्डकी गाउँपालिका–६ गुल्मी र बिहादी गाउँपालिका–२ बर्राचौर पर्वत क्षेत्रमा पर्नेछ । आयोजनामा कुल २४४ मिटर अग्लो बाँध निर्माण हुने जनाइएको छ ।
बाँधमा पानी जम्मा हुँदा करिब २९ किलोमिटर लामो खनियाघाटसम्म ताल बन्नेछ । यस आयोजनाको नेट हेड १८३ दशमलव चार मिटर छ । डिस्चार्ज ४०५ घनमिटर प्रतिसेकेण्ड र कुल वार्षिक ऊर्जा उत्पादन एक हजार ६४५ दशमलव ६५ गिगावाट घण्टाबराबर हुने आयोजनाले जनाएको छ ।
यस आयोजनामा चारवटा स्टिल पेन स्टक, विद्युतगृह चारवटा प्रान्सिस टर्बाइन प्रस्ताव गरिएको छ । आयोजनाको विद्युत्गृह बिहादी गाउँपालिका बर्राचौर पर्वतमा प्रस्ताव गरिएको छ । आयोजनाले पर्वतको जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र बिहादी गाउँपालिकाका विभिन्न वडा प्रभावित हुनेछ ।
यस्तै, बागलुङको बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका विभिन्न वडा प्रभावित हुनेछ । गुल्मीको कालीगण्डकी गाउँपालिका र स्याङ्जाको गल्याङ नगरपालिका प्रभावित हुनेछ । आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय मूल्याङ्कन विद्युत् विकास विभाग र परामर्शदाता जेभी स्मेक इन्टरनेसनल तथा जेड कन्सल्टले गरिरहेको छ ।
प्रस्तावित आयोजना पृथ्वी राजमार्ग, पोखरा–बागलुङ सडकखण्ड, दोबिल्ला–फलेबास सडक कालीगण्डकी लोकमार्ग तथा कालीगण्डकी करिडोर हुँदै पुग्न सकिनेछ ।

पहिलो भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन

काठमाण्डौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई आफ्नो देश भ्रमणको निम्तो दिएपछि सरकारले आन्तरिक तयारी थालेको छ। यद्यपि नेपाल सरकारले यसको औपचारिक घोषणा गरिसकेको छैन।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिइसकेका छन् भने प्रधानमन्त्री बालेनले त्यो स्वीकार गरिसकेका छन्।
नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन विअन (डब्ल्यूआईओएन) सँगको कुराकानीमा मोदीले शुभकामना सन्देश पठाउँदा नै भारत भ्रमणको निम्ता दिएको र त्यसमा नेपाल सरकारले सहमति जनाएको जनाएका हुन्।
यद्यपि भ्रमणको मिति तोक्न भने बाँकी रहेको उनको भनाइ छ।
‘हाम्रा प्रधानमन्त्री (बालेन शाह) ले बधाई सन्देशमा (भ्रमणको) निमन्त्रणा प्राप्त गर्नुभएको छ। प्रधानमन्त्रीले स्वीकार पनि गर्नुभएको छ’, उनले डब्ल्यूआईओएन सँग भनेका छन्, ‘तर मिति र समय हाम्रा संयन्त्रले निर्धारण गर्नेछन्।’
परराष्ट्रमन्त्री खनालले मौरिससमै गत शुक्रबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए।
त्यस क्रममा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको उनले उल्लेख गरेका छन्।
मुख्य रूपमा हामीले नयाँ सरकारको हैसियतले हाम्रा प्राथमिकताहरू तयार पार्नेबारे कुरा गर्‍यौँ’, परराष्ट्रमन्त्री खनालले भनेका छन्।

युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन ः डोनाल्ड ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको जनाएका छन् ।
ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको दाबी गरेका छन् ।
इरानलाई जसरी पनि जित्ने उनको भनाइ छ । इरानको नौसेनासँग १५८ जहाजहरू रहेको र उनीहरूसँग २८ वटा माइन ड्रपरहरू रहे पनि ती सबै डुबिसकेको उनले दाबी गरे ।

इरानले भन्यो– अमेरिकी सर्तका कारण शान्ति वार्ता विफल

काठमाडौं । इरानले पनि इस्लामाबादमा अमेरिकासँगको शान्ति वार्ता विफल भएको जनाएको छ ।
इरानको अर्ध–सरकारी तस्निम समाचार एजेन्सीका अनुसार अमेरिकी सर्तहरू अमान्य भएकाले सम्झौता हुन सकेन ।
इरानको प्रेस टिभीका अनुसार विवादको मुख्य मुद्दाहरूमा हर्मुजको जलडमरू र इरानको आणविक अधिकार विषय रहेको थियो । यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पत्रकार सम्मेलन गर्दै युद्धविराम वार्ता असफल भएको जनाएका थिए ।
‘हामी राम्रो नियतका साथ आएका थियौँ, तर शान्ति वार्ता कुनै निष्कर्षमा पुगेको छैन । इरान सर्तहरू स्वीकार गर्न तयार छैन । त्यसैले, हामी अमेरिका फर्कदैछौँ । इरानसँग धेरै मुद्दाहरूमा गतिरोध छ । हामी इरानले आणविक हतियार प्राप्त गरोस् भन्ने चाहँदैनौँ ।’ उपराष्ट्रपति भान्सले भने ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आइतबार भारत जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जाने भएका छन् ।
यही चैत २९ गते आइतबार भट्टराई भारतको आईटीएम विश्वविद्यालयमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा सहभागी हुन जाने भएका हुन् ।
उनी उक्त कार्यक्रमको प्रमुख वक्ताको रुपमा सहभागी हुन लागेका हुन् । उनीसँगै पूर्वमन्त्री हिसिला यमि पनि कार्यक्रममा सहभागी हुनेछिन् ।
यो कार्यक्रममा डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरमा ११ वर्षदेखि आयोजना हुँदै आएको छ । कार्यक्रम आगामी वैशाख १ गते आयोजना गरिएको छ ।
भारत भ्रमणका क्रममा वैशाख २ गते साउथ एसियन यूनिभर्सिटी नयाँ दिल्लीको कार्यक्रममा प्रमुख वक्ता पनि भट्टराई सहभागी हुने उनको सचिवालयले जनाएको छ ।
भट्टराई वैशाख २ गते साँझ नै नेपाल फर्किने कार्यतालिका रहेको छ ।

अब कार्यालयमा फाइल नथन्किने, ‘शून्य बाँकी फाइल अभियान’ सुरु हुँदै

काठमाण्डौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ सुरु गर्न लागेको छ । यो अभियान चैत ३० देखि वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।
अभियान अन्तर्गत सरकारी कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणीलगायतका फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने, निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्न आधार तयार गरिनेछ ।
तलै कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवाप्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताहअभियान सञ्चालन गर्न लागिएको हो ।
अभियानको मुख्य उद्देश्य कुनै पनि चालु अवस्थामा रहेका फाइल अनिश्चित समयसम्म अड्केर नबसोस, जिम्मेवारी स्पष्ट होस् र काम हुने वा नहुने विषयको समयमै टुङ्गो लागोस् भन्ने रहेको छ।
कार्यालयमा थन्किएका तथा अनिर्णित फाइलको प्रक्रिया पूरा गरी शीघ्र टुङ्गो लगाउनु, कुन फाइल कुन पदाधिकारी समक्ष कति दिन रह्यो भनी दैनिक रूपमा अभिलेख राखिने छ ।
यस्तै तीन दिन, सात दिन वा १५ दिनभन्दा बढी समयदेखि रोकिएका फाइलमा स्वतः समिक्षा प्रक्रिया लागू गर्नुपर्नेछ। निर्णय गर्न सकिने विषयलाई अनावश्यक रूपमा माथिल्लो तहमा नपठाइ सम्बन्धित तहबाटै टुङ्ग्याउने पद्दतिको विकास गर्नुपर्नेछ। काम हुने वा नहुने फाइलको स्पष्ट टुङ्गो लगाउनु र सेवा प्रवाहमा गति, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्नुपर्नेछ।
दैनिक रूपमा प्रत्येक कार्यालय, महाशाखा, शाखा वा एकाइले दैनिक रूपमा दर्ता नम्बर, टिप्पणी फाइलको विषय, दर्ता मिति, हाल फाइल रहेको टेबल वा जिम्मेवार कर्मचारी वा पदाधिकारी, उक्त टेबल वा तहमा बसेको दिन सङ्ख्या, कुल पेन्डिङ दिन, हाल फाइलको प्रगति अवस्था, ढिलाइ हुनाको कारण र निर्णय हुने अपेक्षित मितिसहितको विवरणसहितको फाइल सूची तयार पार्नुपर्ने मार्गदर्शनमा समावेश छ।
मार्गदर्शनअनुसार, फाइल ट्रयाकिङलाई अभियानको मुख्य आधार मानिनेछ। हरेका कार्यालयले स्पष्ट रूपमवा देखिने गरी कुन फाइल कहाँ कसको जिम्ममा, कति दिनदेखि रहेको छ भन्ने विवरण दैनिक रूपमा अद्यावधिक गर्नुपर्नेछ।
यस्तै, पूराना फाइलको प्रारम्भिक समिक्षा गर्नुपर्नेछ। एक टेबलमा वा तहमा तीन दिनभन्दा बढी रहेको फाइलमा सम्बन्धित शाखा प्रमुख वा जिम्मेवार अधिकारीले कारण समीक्षा गरी तुरुन्त निर्णय वा कार्यान्वनय प्रक्रियामा अगाडि बढाउनुपर्नेछ।
सात दिनभन्दा बढी रोकिएका फाइलमा महाशाखा प्रमुख वा कार्यालय प्रमुखस्तरबाट अनिवार्य समीक्षा गरी ढिलाइको कारण पत्ता लगाउने, जिम्मेवार पक्ष स्पष्ट गर्ने र टुङ्ग्याउने समयसीमा तोक्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ।
‘शून्य बाँकी फाइल सप्ताह अभियान समन्वय समिति गठन गरिएको छ। सो समितिमा कार्यालय प्रमुख संयोजक, सम्बन्धित महाशाखा प्रमुख, प्रशासन प्रमुख योजना अनुमगन शाखा प्रमुख सदस्य रहनेछन्। यस्तै, सूचना प्रविधि प्रतिनिधि र कार्यालय प्रमुखले तोकेको कर्मचारी भने सदस्य सचिव रहने व्यवस्था गरिएको छ।
अभियान सञ्चालनपछि पेन्डिङ फाइदको सङ्ख्या घट्ने, जिम्मेवारी स्पष्ट हुने, निर्णय प्रक्रियामा गति आउने, सेवा प्रवाहमा सुधार हुने, कार्यालयमा फाइल थन्किने संस्कारमा कमी आउनेछ।

वार्ताअघि इरानलाई ट्रम्पको चेतावनी– सम्झौता भएन भने हामी फेरि आक्रमण गर्नेछौँ

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकी प्रतिनिधिमण्डलबीच शनिबार हुने वार्तामा विश्वको नजर छ । वार्तामा सहभागी हुन अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान पुगिसकेका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । द न्यूयोर्क पोस्टका अनुसार राष्ट्रपति ट्रम्पले पाकिस्तानमा शान्ति वार्ता असफल भएमा इरानमाथि फेरि आक्रमण गर्न अमेरिकी युद्धपोतहरूलाई ‘उच्चस्तरीय गोला बारुद’ले सुसज्जित गरिएको जनाए ।
ट्रम्पले अमेरिकी युद्धपोतहरूलाई उत्कृष्ट हतियारले सुसज्जित गरिएको र आवश्यक परेमा प्रयोग गरिने जनाए ।
यसैबीच, उपराष्ट्रपति भान्सले ट्रम्पले वार्ताका लागि स्पष्ट दिशानिर्देशहरू प्रदान गरेको बताए । उनले इरानलाई चेतावनी दिँदै अमेरिका इमानदारीपूर्वक वार्ता गर्न तयार रहेको जनाए ।
मंगलबार समाप्त भएको दुई हप्ताको युद्धविरामपछि अन्तिम शान्ति सम्झौताको वार्ता गर्न उपराष्ट्रपति भान्ससँग विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुशनर इस्लामाबाद पुगेका हुन् ।

तीन प्रदेशको हिमाली क्षेत्रमा वर्षा हुने

काठमाण्डौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ ।
कोशी प्रदेशको पहाडी र तराई भू–भाग तथा बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
कोशी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
राती कोशी कोशी प्रदेश लगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

संसद्मा आज राष्ट्रपतिको सम्बोधन, आजैदेखि संसद् अधिवेशन पनि अन्त्य हुँदै

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन् । संसद् सचिवालयका अनुसार राष्ट्रपति पौडेलले दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।
राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था छ ।
सम्बोधनमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रमका विषयमा सदनलाई जानकारी गराउने छन् ।
यसैबीच शुक्रबार मध्यरातिदेखि संघीय संसद्को दुवै सदनको चालु अधिवेशन पनि अन्त्य हुँदैछ । मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न लागेका हुन्।
सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो सिफारिस गरेको हो । नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ।

खाना पकाउने ग्यास, पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।
पछिल्लो मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ बढेको हो । खाना पकाउने एलपी ग्यासमा प्रतिलिटर एक सय रुपैयाँ बढेको छ । नयाँ मूल्यअनुसार अब १४.२ केजी ग्यास प्रतिलिसिलिण्डरको मूल्य २ हजार १० रुपैयाँ पुगेको छ ।
निगमका अनुसार, पेट्रोल पहिलो वर्गको २१६.५० पैसा, दोस्रो वर्गको २१८ र तेस्रो वर्गको २१९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
त्यस्तै, डिजेल, मट्टितेल पहिलो वर्गको २०४.५० रुपैयाँ, दोस्रोको २०६ र तेस्रोको २०७ रुपैयाँ प्रतिलिटिर पुगेको छ ।
हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ६ रुपैयाँले बढेको निगमले जनाएको छ ।

लेटेष्ट समाचार

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ । जेठ २८ गतेसम्मका लागि समय थप गरिएको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन...

रवि आज स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत जाँदै

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् भने परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत...

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास...