काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाऊ आदेशपछि विपक्षीले लिखित जवाफ दिइसकेकाले आज सुनुवाइ हुने भएको हो ।
जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो । आफूहरूको पक्राउ गैरकानूनी भन्दै दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए ।
चैत १६ गते दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि सरकारका नाममा कारण देखाऊ आदेश भएको थियो ।
अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले गत आइतबार गैरकानूनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको उल्लेख गरिएको थियो ।
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
आबुधाबीमा मिसाइलको अवशेष खस्दा सात नेपाली घाइते
काठमाडौं । यूएईको अबुधाबीस्थित एक ग्यास केन्द्रमा ड्रोन र मिसाइलका अवशेष खस्दा एक जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएक छन् ।
घाइते भएकामा सात जना नेपाली परेका हुन् । घाइते भएका सात नेपालीमध्ये ६ जना सामान्य छन् भने एक जनाको अवस्था गम्भीर छ ।
अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि अवशेष खसेको गल्फ न्यूज डटकमले जनाएको छ । घटनामा घाइते हुने अरु पाँच जना भारतीय नागरिक हुन् । घाइतेहरूको उपचार भइरहेको छ ।
यूएईको रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरेको जनाएको छ । ती अवरोधका क्रममा खसेका अवशेषले अज्बान क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ ।
कलाकार सागर लम्साल ‘बले’ पक्राउ
काठमाडौं । चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन् ।
उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।
अमेरिकामा बस्दै आएकी एक युवतीले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूमाथि लम्सालले एक वर्षअघि बलात्कार गरेको गम्भीर आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि लम्साललाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
गुण्डागर्दीविरुद्ध प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’, १७ जना पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा १७ जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली परिचालन गरी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ‘अपरेसन सेफ्टी काठमाडौं’अन्तर्गत यो कारबाही सुरु गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार गुण्डागर्दीमा संलग्न भई ग्याङ निर्माणको प्रयास गरिरहेका ४ जनालाई पक्राउ गरिएको छ । श्याम लामा समूहसँग आबद्ध रही आपराधिक गतिविधिमा संलग्न प्रवीण तामाङ ‘डिम्पल’ पक्राउ परेका छन् ।
यस्तै, कलंकी–बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिर्जु महर्जन, कलंकीको बस टिकट काउन्टर–पेट्रोल पम्प क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा सुजन कार्की पक्राउ परेका छन् । स्युचाटार क्षेत्रमा ग्याङ बनाउन थालेको आरोपमा सुरु हमागाईं पनि पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि थप १२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रमा गुण्डागर्दीमा संलग्न उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै
काठमाण्डौं । प्रतिनिधि सभाको सभामुख चयनको प्रक्रिया शुक्रबार सुरु हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ ।
सचिवालयले उम्मेदवारको नामावली दिउँसो २ः३० बजे सार्वजनिक गर्ने जनाएको छ। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ अनुसार सभामुखको निर्वाचन चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने बैठकमा हुने मिति ज्येष्ठ सदस्यले तोकेको छ ।
यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अर्यालको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
हालको प्रतिनिधि सभामा रास्वपाको झण्डै दुई तिहाइ १८२ सांसद रहेकोले अर्यालको निर्वाचित हुने सम्भावना निकै उच्च छ । काठमाडौं क्षेत्र. ९ बाट निर्वाचित अर्याल यसअघि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पनि सम्हालेका थिए।
सचिवालयका अनुसार यदि एकभन्दा बढी उम्मेदवारी दर्ता भएमा निर्वाचन प्रक्रिया चैत २२ गतेको बैठकमा अघि बढ्नेछ ।
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूसँग काठमाडौं मेडिकल कलेजमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आएको केएमसी अस्पतालमा बिहीबार राति पुगेर गृहमन्त्रीले घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
अधिकांश घाइतेहरुको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा। शर्मालाई गृहमन्त्री गुरुङले धन्यवादसमेत दिए।
गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिएका मन्त्री गुरुङले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेलगत्तै केएमसी अस्पताल पुगेका थिए। डा. शर्मालाई भेटेर उनले घाइतेहरूको अवस्थाको बारेमासमेत जानकारी लिएका थिए।
अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा. शर्माले जनाए।
इटाली, फ्रान्स र स्पेनपछि अस्ट्रियाले पनि अमेरिकालाई अस्वीकार गर्यो एयरस्पेस
काठमाडौं । मध्यपूर्वमा जारी युद्धकाबीच अस्ट्रियाले पनि अमेरिकालाई आफ्नो एयरस्पेस (हवाई क्षेत्र) प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको छ ।
अस्ट्रियाको रक्षा मन्त्रालयले बिहीबार आफ्नो देशले तटस्थ नीति अपनाएकोले कुनै पनि युद्धमा प्रत्यक्ष रूपमा भाग लिन नसक्ने जनाएको हो । यसअघि इटाली, फ्रान्स, र स्पेनले पनि अमेरिकालाई आफ्नो हवाई क्षेत्र र सैन्य अड्डा प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको थियो ।
नेपाल लाइफले भन्योः दिपक भट्ट र ब्रोकर नं. ५५ सँग कुनै कारोबार छैन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसायी दिपक भट्टसँग आफ्नो नाम जोडिएर आएको समाचारको खण्डन गरेको छ । कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारमा कुनै सत्यता नभएको जनाएको हो ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीका आधारभूत शेयरधनी दिपक भट्टले नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरी धितोपत्र दलाल नं। ५५ (भृकुटी स्टक ब्रोकर) मार्फत नेपाल रिइन्स्योरेन्स लगायतका कम्पनीको सेयर खरिद गरेको भन्ने समाचार प्रकाशित भएका थिए ।
उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले भनेको छ, ‘यस कम्पनीको उल्लेख गरिए अनुरुप दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा कुनै संलग्नता नभएको र कुनै कारोबार समेत नगरेको सम्बन्धित सबैमा जानकारी गराउँदछौँ ।’
नेपाल लाइफ इन्स्योरेन्सले आफू सधैं प्रचलित कानुन, नियामक निकाय (नेपाल बीमा प्राधिकरण) को मापदण्ड र संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गरिरहेको दाबी गरेको छ ।
आजदेखि एसइई, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै
काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहीबार बिहान ८ बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ।
चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन्। तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन्।
परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ। यस वर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन्। जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन्। परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
यसपटक एसईईमा पारदर्शी र व्यवस्थित बनाएको छ । परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ।
यसपटक एसईईमा पारदर्शी र व्यवस्थित बनाएको छ । परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ।
यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना छ। यसैगरी ‘मार्कस्लिप प्रिन्ट’ गरी ‘ट्याब’मा चढाई खाममा ‘सिलबन्दी’ गरी गोप्य र सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ। नतिजा प्रकाशनलाई प्रदेशगत रूपमा पनि प्रकाशन गर्न सकिने व्यवस्था गरिएको छ।
यस वर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाइएको छ। परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि सामूहिक अनुगमनमा रोक लगाइएको हो।
अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ।
परीक्षाको पहला दिन बिहीबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ।
नवनिर्वाचित संसद्को पहिलो अधिवेशन आजदेखि, तीन अध्यादेश पेस हुने
काठमाण्डौं । नवनिर्वाचित संसद्को पहिलो अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ। सिंहदरबास्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट नयाँ संसद् निर्वाचित भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।
राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ।
बिहीबारको बैठकमा तीन अध्यादेश पेस हुँदैछन्। बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ।
त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्यरसभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउनेछन्।
यस्तै सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आआफ्नो मन्तव्य राख्ने कार्यसूची तय छ। सोही बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्नेछन्।
बैठकको अन्त्यमा सभामुखले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधासभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहोराको शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

















