भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

0

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने भारत भ्रमणमा जान लागेका हुन्। रास्वपा स्रोतका अनुसार उनी मे महिनाको पहिलो साता, अर्थात् वैशाख अन्त्यतिर भारत जाने तयारीमा छन्।
स्रोतका अनुसार भ्रमणको समय मिलाउन र भ्रमण सफल पार्नको लागि अहिले दुवै पक्ष गृहकार्यमा जुटेका छन् ।दुवै पक्षबाट भ्रमणको तयारी भइरहेको र सम्भवतः भारतमा हुन लागेको प्रान्तीय चुनाव सम्पन्न भएपछि भ्रमण हुने अपेक्षा गरिएको छ।
भ्रमणको मुख्य उद्देश्य दुई देशका सत्तारुढ दलबीच सम्बन्ध विस्तार गर्नु रहेको जनाईएको छ। भारतमा भाजपा र नेपालमा रास्वपा सत्तामा रहेकाले ‘पार्टी–टु–पार्टी’ सम्बन्ध सुदृढ गर्न यो भ्रमण महत्वपूर्ण मानिएको छ। यही उद्देश्यसहित भाजपाका अध्यक्ष नवीनले लामिछानेलाई औपचारिक निमन्त्रणा दिएको स्रोतको भनाइ छ।
यसअघि पनि भाजपाले नेपाली कांग्रेससँग ‘पार्टी–टु–पार्टी’ सम्बन्ध विस्तार गरेको थियो। सन् २०२२ अप्रिल २ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा उनले भाजपाको मुख्यालयको समेत भ्रमण गरेका थिए।
लामिछानेको भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणबारे समेत छलफल हुन सक्ने जनाईएको छ। साथै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय हुन सक्ने स्रोतको दाबी छ।
भाजपा नेतृत्वसँग हुने उच्चस्तरीय भेटघाटमा रास्वपाको विकास कूटनीति, राजनीतिक विचारधारा तथा दुई देशबीच सहकार्यका सम्भावनाबारे छलफल हुनेछ। विशेषगरी नयाँ पुस्ताका राजनीतिक नेतृत्वबीच सहकार्य कसरी बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ।
हालै सम्पन्न निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ बहुमत हासिल गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत् सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई बधाई दिएका थिए। भाजपाको तर्फबाट आएको यो पहिलो औपचारिक बधाई थियो।

LEAVE A REPLY