Page 10

आज ३३ औँ मदन– आश्रित स्मृति दिवस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृति सभासहित विविध कार्यक्रम गर्दैछ ।
मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ । अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ।
जननेता भण्डारी र नेता आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मान्दै आएको छ ।

सरकारको नियत राम्रो नदेखिएको प्रचण्डको टिप्पणी

काठमाण्डौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्वको सरकारको नियत राम्रो नदेखिएको टिप्पणी गरेका छन् ।
आइतबार बिहान कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै संयोजक प्रचण्डले झण्डै दुई–तिहाइको सरकारले नियमित प्रक्रियाबाटै विधेयकहरू ल्याउन सकिने बाटो छोडेर सदनलाई छल्दै अध्यादेशको बाटो जाने लाजमर्दो कुरा भएको टिप्पणी गरे । ‘त्यसको हामीले प्रतिवाद गरिनै राखेका छौँ’, उनले भने ।
‘सुकुमबासीहरूको समस्या समाधान नभएको जनाउँदै त्यो अहिले पनि गम्भीर प्रकृतिकै समस्याको रूपमा रहेको उनले जनाए ।
उनले भने, ‘ट्रेड युनियनसँग सम्बन्धित, विद्यार्थीसँग सम्बन्धित विषयहरू पनि गम्भीर छँदै छन् । संविधान संशोधनको निम्ति भनेर सरकारले जो बहस पत्र तयार पार्ने भनेको छ, त्यो पनि त्यति पारदर्शी तरिकाले अगाडि आएको छैन । त्यो पनि आफैँमा एउटा गम्भीर छलफलको विषय बनेको छ ।’
लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनको निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढङ्गले सहयोग गर्ने प्रचण्डले स्वष्ट पारे । ‘सुरुमा मोटामोटी कयौँ कुरा ठिकै छन् पनि भनेको हो । तर जब सरकारका अनेक गतिविधि अगाडि बढ्न थाले, समर्थन गर्न सकिने केही पनि देखिएको छैन, उनले भने ।
‘सरकारको विरोध गर्नुपर्ने, प्रतिवाद गर्नुपर्ने, जनताको तहबाट पनि आवाज उठाउनुपर्ने धेरै कुरा देखिन गएका छन्,’ प्रचण्डले भने, ‘मैले त सदनमा सरकारलाई अलिकति सतर्क हुनको निम्ति सुझाव दिएको छु ।’
सरकारले यी कुरालाई गम्भीर रूपमा नलिए सबैतिरबाट प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने प्रचण्डले चेतावनी पनि दिए । संयोजक प्रचण्डले मिलेर प्रदेश सरकार बनाउन एमाले र नेपाली कांग्रेसबाट आएका प्रस्ताव अस्वीकार गरेको दाबी गरे ।
‘प्रदेश सरकारहरू मिलेर बनाऊँ भनेर एमाले र कांग्रेसबाट विगतदेखि प्रस्ताव आएका थिए, अहिले पनि आउने गरेको छ’, प्रचण्डले भने, ‘तर, हाम्रो पार्टीले वा पार्टीको संयोजकको हैसियतले मैले त्यसलाई इन्कार गरेको छु। अहिले यो वा त्योसँग मिलेर सरकार बनाउने खेलमा हामी छैनौँ।’
कांग्रेसलाई बाहिर पठाएर एमालेसँग सरकार बनाउने वा एमालेलाई बाहिर पठाएर कांग्रेसँग सरकार बनाउने नीति आजको परिस्थितिमा गलत भएको उनको भनाइ छ ।
तर उनले प्रदेश सरकारमा नयाँपन ल्याउने नेकपासहित कांग्रेस, एमाले र मधेसकेन्द्रित दलहरू मिलेर साझा सरकार बनाउन सहमति हुन सकिने जनाए ।
‘यदि त्यसो गर्‍यो भने त्यस्ले देशमा लोकतन्त्र, गणतन्त्रको पक्षमा हिजोको शान्ति सम्झौता र संविधानसम्मका पक्षधर सबै एक ठाउँमा उभिँदा जनता पनि एउटा राहत प्रदान हुन्छ’, प्रचण्डले भने ।
प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका दलहरूको सर्वदलीय सरकार बनाउने भएमा नेकपा पनि सहमत हुने, नभए एमाले–कांग्रेसले चलाइरहेको सरकारलाई कुनै अवरोध नगर्ने उनको भनाइ छ ।

म्यानपावर एजेन्टमाथि ‘स्टिंग अपरेसन’, फ्री भिसा फ्री टिकटमा ठगी गर्ने एजेन्ट पक्राउ

काठमाण्डौं । सुरक्षा गार्डमा मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवको फ्लाइट गत वैशाख २९ गते थियो।
सरकारको फ्रि भिसा फ्रि टिकटको नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा बढीमा १० हजार रुपैयाँ मात्र तिर्नुपर्नेमा यादवले नगद ७० हजार रुपैयाँ तिरिसकेका थिए।
तर, कोटेश्वरको ग्रान्ड स्विट जब नाम गरेको म्यानपावरले तीन लाख रुपैयाँभन्दा एक रुपैयाँ पनि कम लिन्नँ भनेपछि उनी मलेसिया उड्न पाएनन्। उता रोजगारदाता कम्पनीले भिसा र टिकट पठाइसकेको थियो। तर, तीन लाख रुपैयाँ नतिर्दा विदेश गएर कमाउँछु भन्ने अजयको सपना साकार हुन सकेन।
म्यानपावर कम्पनीले बाँकी २ लाख २० हजार रुपैयाँ तिरे जेठ ३ गते उडाइदिने जनायो। त्यसपछि उनले पैसाको जोहो गरे। नाइट गाडी चढेर शनिबार बिहान काठमाण्डौं ओर्लिए।
कम्पनीको एक जना कर्मचारीले शनिबारै बिहान अजयलाई फोन गरे। पासपोर्ट र अरू कागजात आफूसँग भएको जनाउँदै ती कर्मचारीलाई तीनकुने गैरीगाउँस्थित पेट्रोलपम्प अगाडि पैसा लिए भेट्न बोलाए।
त्यतिबेलासम्म अजयले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयलाई आफूले भोगेका समस्या सुनाइसकेका थिए। अजय रामजीकै निर्वाचन क्षेत्रका मतदाता हुन्।
अजयको समस्या समाधान गर्न मन्त्री यादवका स्वकीय उपसचिव सरोज यादव आफैँ खटिए। केही सञ्चारकर्मीका साथ तीनकुनेस्थित प्रहरी वृत्त पुगे। त्यहाँ प्रहरी अधिकारीहरूका साथ सो टोली अजय र म्यानपावरका ती कर्मचारी भेट्दै गरेको ठाउँसम्म पुग्यो। म्यानपावरमा भिसा शाखामा काम गर्ने जनाउने ती कर्मचारीले सुरुमा अजयसँग पैसा मागे। अजयले पासपोर्ट र कागजात दिएपछि मात्र पैसा दिन्छु भनेपछि केहीबेर भनाभन भयो। त्यतिबेलै प्रहरीले म्यानपावरका ती कर्मचारीलाई नियन्त्रणमा लियो।
फ्रि भिसा फ्रि टिकट नीतिअनुसार १० हजारमा हुने काममा ३ लाख मागेको स्वीकारेपछि ती कर्मचारीलाई तीनकुने प्रहरीले काठमाण्डौंका उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्‍याइयो।
ग्रान्ड स्विट जबका ती कर्मचारीको साथबाट ४ वटा पासपोर्टसहित फ्लाइट टिकट र अन्य महत्वपूर्ण कागजात रहेको पाइयो। उनले चारै जनासँग रकम लिएर कागजात दिने मनसाय बनाएको पाइएको छ।
वैदेशिक रोजगारीको नाममा सोझा कामदारहरूलाई ठगी गर्ने र फ्रि भिसा फ्रि टिकटको नियम उल्लंघन गर्दै लाखौं रकम असुल्ने म्यानपावरका एजेन्ट पक्राउको घटनाले कसरी सोझा नागरिक ठगिइरहेका छन् भन्ने प्रमाणित गरेको छ। श्रम मन्त्री यादवका स्वकीय सचिव सरोज भन्छन्, ‘तीनकुनेस्थित गैरीगाउँमा आज एक सोझो नेपाली ठगिनबाट रोकेका छौं।’
यादव मलेसियामा सेक्युरिटी गार्डको कामका लागि जाने प्रक्रियामा थिए। उनले सो म्यानपावरको झापास्थित शाखा कार्यालयबाट सबै प्रक्रिया पूरा गरेका थिए। मलेसिया जानका लागि सरकारले तोकेको आधिकारिक शुल्क जम्मा १० हजार रुपैयाँ मात्र भए तापनि म्यानपावरले यादवसँग ३ लाख १० हजार रुपैयाँ माग गरेको हो।
म्यानपावरले सुरुमा १० हजार छुट गरिदिने भन्दै ३ लाख रुपैयाँमा कुरा मिलाएको थियो। पीडित यादवले टिकट र अन्य प्रक्रियाका लागि भन्दै यसअघि नै ७० हजार रुपैयाँ नगद बुझाए पनि बाँकी पैसा नबुझाएसम्म उनको राहदानी, श्रम स्वीकृति र हवाई टिकट नदिने भन्दै म्यानपावरले बन्धक बनाएको थियो।
पक्राउ परेका एजेन्टले सुरुमा आफूले पैसा लिएर मात्र कागजात दिन लागेको दाबी गरे तापनि प्रहरीले फ्रि भिसा फ्रि टिकट भएको देशमा किन ३ लाख रुपैयाँ मागेको ? भन्दै प्रश्न गरेपछि उनी चुप बनेका थिए। प्रहरीको सक्रियतामा यादवको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट बरामद गरी हस्तान्तरण गरिएपछि यादव आइतबार मलेसिया उड्न पाउने सुनिश्चित भएको छ।
यादवले खुसी व्यक्त गर्दै भने, ‘सुरुमा म्यानपावरले पैसा लाग्दैन, अन्तर्वार्ता पास भएपछि सबै मिलाउँला भन्यो। तर जब भिसा आयो, तब ३ लाख नदिए जान पाउँदैनौ भन्दै धम्क्याउन थाल्यो। गरिब मान्छेले ऋण काढेर पैसा ल्याउनुपर्ने, त्यसमाथि यस्तो लुटधन्दा गर्नेलाई कडा कारबाही हुनुपर्छ।’
श्रममन्त्री यादवको सचिवालयले वैदेशिक रोजगारीमा जाँदा कुनै पनि समस्या परेमा सिधै श्रम मन्त्रालयमा सम्पर्क गर्न अपिल समेत गरेको छ। पक्राउ परेका एजेन्टमाथि थप कानुनी कारबाहीका लागि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

 

सर्लाहीमा इँटाको चाङ भत्किँदा ३ मजदुरको मृत्यु, २ जना घाइते

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा शुक्रबार साँझ इँटाको चाङ खस्दा तीन जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साँझ करिब ६ बजे इट्टा निकाल्ने क्रममा अचानक इट्टाको पर्खाल भत्किँदा काम गरिरहेका मजदुरहरू माटो र इँटाले पुरिएका थिए । स्थानीयले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो ।
घाइते तथा पुरिएकाहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ । उपचारका क्रममा गौडेता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताई मंसुर, गौडेता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत र भारतको लखेमपुर निवासी ३५ वर्षीय अंगद कुमारलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनामा मलंगवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन् । तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने सत्यनारायण महतोको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुवैको अवस्था सामान्य रहेको जनाईएको छ । घटनास्थलमा जेसीबी प्रयोग गरी थप खोजी तथा इट्टा पन्छाउने काम गरिएको थियो ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईले जानकारी दिए ।

अमेरिकाविरुद्ध नेपाल टस हारेर पहिले फिल्डिङ गर्दै

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।
टियु मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
अमेरिकाका कप्तान सैतेजा मुक्कामल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
यस खेलबाट ईशान पाण्डेले डेब्यु गर्दैछन् भने कुशल भुर्तेलले कमब्याक गरेका छन्।
यसअघि पाण्डेले २०१९ मा टी २०आई डेब्यू गरिसकेका थिए । उनले ४ टी २०आई खेलेका छन् ।
घरेलु प्रतियोगिता जय ट्रफी र पीएम कप तथा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए ।

एमाले सचिवालय बैठक सर्‍यो

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सरेको छ ।
आज (शनिबार) दिउँसो १ बजे बस्ने भनिएको बैठक अब आगामी सोमबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमिति सदस्य श्रेष्ठलाई कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन् ।
यसअघि श्रेष्ठलाई तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कोषाध्यक्ष बनाएका थिए । केही दिनअगाडि श्रेष्ठ केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन भएका थिए ।

अख्तियार प्रमुखदेखि दुर्गा प्रसाईँसम्मलाई धम्क्याउने पाठकलाई थुनामा पठाउन आदेश

काठमाडौं । फिलिपिन्समा बसेर नेपालका उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
आज जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।
उनीमाथि आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबारसम्बन्धी कसुर गरेको आरोप थियो । प्रहरीले उनलाई इन्टरपोलको सहयोगमा फिलिपिन्समा पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थ व्यक्तिलाई धम्की दिएका थिए ।

 

कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आगामी जेठ ३ गते बस्ने भएको छ। पार्टीका सभापति गगनकुमार थापाको उपस्थितिमा बस्ने गरी बैठक आह्वान गरिएको हो।
बैठक ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बिहान ११ः ३० बजे सुरु हुनेछ। नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै बैठकका बारेमा जानकारी दिएका हुन्।
विज्ञप्तिमा प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा उपस्थित हुन निर्देशानुसार अनुरोध गरिएको छ। सभापति थापाको समुपस्थितिमा हुने यस बैठकमा प्रतिष्ठानका आगामी कार्य योजना र पार्टीको आन्तरिक रणनीतिका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

दश महिनामा ६० प्रतिशत बजेट खर्चः विकास खर्च २८ प्रतिशतमात्रै

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ ।
महालेखा नियन्त्रक कार्यालयकाअनुसार बितेका दश महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्म वार्षिक विनियोजनको ५९ दशमलव ७५ प्रतिशत खर्च भएको छ ।
उक्त कार्यालयका अनुसार चालु आवका लागि चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा ६८ दशमलव ९८ प्रतिशतअर्थात् रु आठ खर्ब १४ अर्ब ६५ करोड ५५ लाख खर्च भएको छ ।
त्यस्तै, पुँजीगततर्फ रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकोमा २७ दशमलव ९१ प्रतिशतअर्थात् रु एक खर्ब १३ अर्ब ८४ करोड ९२ लाख बराबर खर्च भएको छ ।
वित्तीय व्यवस्थातर्फ हालसम्म बजेट खर्च ६५ दशमलव ३० प्रतिशत छ । यो शीर्षकमा चालु आवका लागि सरकारले रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन गरेकामा हालसम्म रु दुई खर्ब ४५ अर्ब एक करोड ५४ लाख बराबर खर्च भएको छ ।
वैशाख मसान्तसम्ममा सरकारको आम्दानी वार्षिक लक्ष्यको ६६ प्रतिशतमा खुम्चिएको छ । चालु आवका लागि कूल रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख बराबर आम्दानी गर्ने लक्ष्य रहेकामा सरकारले हालसम्म रु १० खर्ब १२ अर्ब पाँच करोड २४ लाख बराबर आम्दानी गरेको हो ।
यस आवमा रु १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेको सरकारले रु पछिल्ला १० महिनामा वार्षिक लक्ष्यको ६६ दशमलव ६९ प्रतिशत अर्थात् रु नौ खर्ब ८८ अर्ब ५५ करोड २२ लाख बराबर मात्रै असुली गरेको छ ।
चालु आर्थिक वर्षका लागि रु ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म सो लक्ष्यको ३३ दशमलव २८ प्रतिशतअर्थात् रु १७ अर्ब ७८ करोड ७६ लाख बराबर अनुदान लिएको पाइएको छ ।

लेटेष्ट समाचार

राष्ट्रिय सभाबाट विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत

काठमाण्डौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले विभिन्न अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा सांसद सम्झना देवकोटाले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार...

यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले आज विभिन्न निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त...

इजरायल र हिज्बुल्लाह युद्धविरामका लागि सहमत

काठमाडौं । इजरायल र लेबननको हिज्बुल्लाह युद्धविराम गर्न सहमत भएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले उक्त सहमति भएको जानकारी दिएका हुन् । इजरायलका...