काठमाण्डौं । लामो समयदेखि जारी अमेरिका र इरानबीचको तनाव अन्त्य हुने दिशमा मोडिएको छ ।
दुबै देश जारी युद्ध अन्त्य गर्दै एक महत्वपूर्ण सम्झौता गर्न लागेको समाचार संस्था रोयटर्सले जनाएको छ।
यसका लागि दुवै देश १४ बुँदे सम्झौतामा सहमतिको नजिक पुगेका छन्। आगामी ४८ घण्टाभित्र यसबारे पूर्ण स्पष्टता आउने जनाइएको छ ।
सम्झौताअन्तर्गत ३० दिनको प्रारम्भिक वार्ता अवधि तय गरिनेछ। वार्तामा विस्तृत छलफल हुनेछ। यदि, वार्ता सफल नभए अमेरिकाले पुनः नाकाबन्दी वा सैन्य कारबाही सुरु गर्नसक्ने सर्त राखिएको छ।
सम्झौताका लागि अमेरिकी दूत स्टिभ विट्कोफ, जेरेड कुशनर र इरानी अधिकारीहरू संलग्न छन्। पाकिस्तानले युद्ध अन्त्यका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ। गत महिना पाकिस्तानमै शान्ति वार्ताको आयोजना गरिएको थियो।
यो प्रस्तावित सम्झौता दुवै पक्षबीचको युद्ध अन्त्य गर्ने र भविष्यमा आणविक विषयमा विस्तृत वार्ताको आधार तयार गर्ने लक्ष्यसहित अघि बढाइएको छ।
प्रस्तावअनुसार इरानले आफ्नो आणविक कार्यक्रम अन्तर्गत भइरहेको युरेनियम समृद्धि प्रक्रिया निश्चित समयका लागि पूर्ण रूपमा रोक्ने प्रतिबद्धता जनाउनेछ। यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएका आर्थिक तथा व्यापारिक प्रतिबन्धहरू हटाउने र रोकिएका सम्पत्तिहरू फिर्ता गर्नेछ । यसले इरानको अर्थतन्त्रलाई राहत दिने र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध पुनः सुधार हुने अपेक्षा गरिएको छ।
यसैगरी, दुबै पक्षले अन्तर्राष्ट्रिय रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्यमार्फत हुने तेल तथा व्यापारिक ढुवानीमा लगाइएका अवरोधहरू हटाउने सम्भावना पनि रहेको छ।
यस जलमार्गको सहज सञ्चालनले विश्व ऊर्जा आपूर्तिमा स्थिरता ल्याउन सक्ने र तेल बजारमा देखिएको अनिश्चितता कम गर्न सक्ने अनुमान गरिएको छ।
तर सम्झौताको सबैभन्दा ठूलो विवाद युरेनियम समृद्धि रोक्ने अवधिबारे रहेको छ। हालको छलफल अनुसार यो अवधि करिब बाह्रदेखि पन्ध्र वर्षसम्म हुन सक्ने देखिएको छ। इरानले पहिले करिब पाँच वर्ष मात्र रोक्न प्रस्ताव गरेको थियो भने अमेरिकाले करिब बीस वर्षको दीर्घ प्रतिबन्धको माग गरेको थियो। यस कारण दुवै पक्षबीच अझै पनि अन्तिम सहमति बन्न बाँकी छ।
यो प्रस्तावित सम्झौता युद्ध अन्त्य गर्ने दिशामा अहिलेसम्मको सबैभन्दा नजिकको प्रयास मानिएको छ, तर अन्तिम नतिजा अझै छलफल र सहमतिमा निर्भर रहेको देखिन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमा जहाजको सुरक्षाका लागि सुरु गरिएको प्रोजेक्ट फ्रिडम नामक नौसैनिक अभियानलाई अस्थायी रूपमा रोकेका छन्। यो कदमले वार्तामा महत्वपूर्ण प्रगति भएको संकेत गर्ने जनाईएको छ।
अमेरिका– इरान युद्ध अन्त्य हुने संकेत, १४ बुँदे सम्झौताको तयारी
खुकुरी प्रहार गरेर युवकको हत्या
काठमाण्डौं । कीर्तिपुर नगरपालिका वडा नम्बर १० स्थित पोडेटोलमा खुकुरी प्रहारबाट गुल्मी धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको छ । ३ जना मिलेर खुकुरी प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौंका एसपी पवन भट्राईले जनाए ।
धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारको क्रममा देवढोका स्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । घटनामा संलग्नहरु पहिले पनि मुद्धा चलेका युवाहरु पुर्वपरिचित रहेको र खोजी भइरहेको पनि भट्राइले जनाए ।
शुल्क नबुझाई प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार, सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधनसहित) को दफा २१ को उपदफा (२) बमोजिम साविकमा भोगाधिकार प्राप्त गरेका पक्षलाई उक्त जग्गा लिजमा परिणत गर्न ६ महिनाको समय दिइएको थियो । यसका लागि मिति २०७३, ०२, ३१ र २०७४, ०१, २१ मा तत्कालीन भूमि सुधार तथा व्यवस्थापन विभागले सूचना प्रकाशित गरेको थियो ।
तर, तोकिएको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरूको हकमा भोगाधिकार कानुनतः स्वतः समाप्त भइसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सम्झौताबमोजिम तिर्न बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्ता जग्गा तथा त्यसमा निर्माण गरिएका संरचना समेत यथाशीघ्र खाली गर्न सम्बन्धित सबैलाई सूचित गरेको छ ।
दिपक भट्ट र शुलभ अग्रवाललाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई रिहा गर्न अस्वीकार गरेको छ ।
आज सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले दुवैजनाको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको हो ।
अग्रवालको तर्फबाट उनका बुवा शंकरलाल अग्रवालले वैशाख ११ गते र भट्टको तर्फबाट उनकी पत्नी आयुष्मा नेपालले वैशाख १८ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
यसअघि आज नै विशेष अदालतले दुवैजनालाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । दुवैजना सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका हुन् ।
सानिमा रिलायन्स लाइफद्वारा पहिरो र आगलागी पीडितलाई राहत वितरण
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लामा क्षति पुगेको घरपरिवार र आगलागी पीडितका लागि कम्मल वितरण गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले २०८२ साल असोज १८ देखि २४ गते सम्म परेको अविरल वर्षाको कारण कर्णाली प्रदेश, कालिकोट जिल्लाको शुभ कालिका गा. पा. वडा न. ७ र ८, महावै गा. पा. वडा न. ५ र ६, खाडाचत्र न. पा. वडा न. १ र ५, तिलागुफा न. पा. वडा न. १० र ७ मा क्षति पुगेका घरपरिवार र तिलागुफा न.पा वडा नंं ५ र ६ , खाँडाचक्र न.पा. वडा नंं १० का आगलागी पिडित समेत जम्मा ४३ घर परिवारका लागि राहत स्वरूप कम्मल वितरण गरेको छ।
राहत वितरण कार्यक्रम कम्पनीको सुर्खेत शाखाको शाखा प्रमुख विश्वराज बोगटीको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी भएका पीडितहरूले आफूहरूप्रति गरिएको सहयोगप्रति खुशी र सन्तुष्टि व्यक्त गरेका छन्। साथै दुर्गम जिल्लासम्म पुगेर मानवीय सेवामा समर्पित संस्थाले देखाएको प्रतिबद्धताप्रति पीडितहरूले कृतज्ञता ज्ञापन गरेका छन्।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि विभिन्न गतिविधिहरू मार्फत सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको छ। यस्ता प्रयास मार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ। भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ।
सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ। हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।
रिलायबल नेपाल लाइफद्वारा २०० विद्यार्थीको निःशुल्क आँखा परीक्षण
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको विद्यार्थीहरूका लागि विशेष निःशुल्क आँखा परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
राम माध्यमिक विद्यालय बगनासकालीमा सञ्चालन गरिएको उक्त शिविरमा करिब २०० जना विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो दृष्टि अवस्था जाँच गराउनुका साथै आवश्यक स्वास्थ्य सल्लाह समेत प्राप्त गरेका थिए।
कार्यक्रममा बोल्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पाल्पा शाखा प्रमुख सुवास गैरेले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तर अगाडि बढाइने जनाए।
त्यसैगरी, सामाजिक अभियान्ता सुशिल बस्याल “राष्ट्रप्रेमीले स्वस्थ दृष्टि नै उज्ज्वल भविष्यको आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे।
कार्यक्रममा समाजसेवी गोपाल बस्यालले यस्ता कार्यक्रमले ठूलो अर्थ राख्ने कुरालाई जोड दिदैँ कार्यक्रम आयोजकलाई धन्यवाद दिए। त्यस्तै राम माध्यमिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यालय व्यवस्थापन समितिले यस्ता उपयोगी कार्यक्रमहरू आगामी दिनमा समेत निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
“स्वस्थ दृष्टि, उज्ज्वल भविष्य” भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त शिविरले विद्यार्थीहरूमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छन्।
नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचारसेवा प्राप्त गरेका छन् । नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा यही वैशाख १७ देखि २० गतेसम्म वीरगञ्जमा शिविर आयोजना गरिएको थियो ।
जलन शिविरमा ४६ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ । त्यसमध्ये जटिल किसिमका छ जना बिरामीलाई काठमाडौँको कीर्तिपुरस्थित अस्पतालमा रिफर गरिएको छ ।
जलन उपचार शिविर सञ्चालन गर्नुअघि मधेश प्रदेशका विभिन्न छ जिल्लाका २७ पालिकामा स्क्रिनिङ्ग क्याम्प आयोजना गरिएको थियो । उक्त क्याम्पमा फेक्ट नेपालका स्वास्थ्यकर्मीहरुले स्थानीय तहमै पुगेर बिरामीहरुको प्रारम्भिक विवरण लिएका थिए।
नबिल बैंकले काठमाडौँमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत दुर्गम स्थानमा रहेका जलनसम्बन्धी बिरामीलाई निःशुल्क उपचार र परामर्श दिँदै आएको छ । “नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नुपर्ने अवस्था रहेकामा नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो”, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले भने ।
बैंकका अनुसार यही वैशाख २५ गतेदेखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा पनि यसप्रकारका शिविर आयोजना हुँदैछ ।
फेक्ट नेपाल, कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा। शंकरमान राईसहितका विशेषज्ञ चिकित्सकको टोलीले मधेश प्रदेशका जलनका बिरामीहरु लक्षित शिविरमा शल्यक्रिया गरेका हुन् ।
“हामी जलनका बिरामीको निःशुल्क उपचार र नारायणी अस्पतालको क्षमता अभिवृद्धि गर्ने दुई वटा उद्देश्य लिएर यहाँ आएका थियौँ, चार दिनको शिविरमा अपेक्षाभन्दा बढी सेवा दिन सकेको अनुभव भएको छ”, डा. राईले भने । “भविष्यमा जलनसम्बन्धी यसप्रकारको उपचार नारायणी अस्पतालबाटै होस् भन्ने हाम्रो चाहना हो ।”
नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन शाहले जलनका कारण अङ्गभङ्ग भइ वर्षौदेखि असहज रुपमा जीवन बाँचिरहेका बिरामीहरुले उपचारपछि सहज रुपमा काम गर्न पाएकामा खुसी लागेको जनाए । “उचित उपचारको अभावमा लामो समयसम्म असहज जीवन बिताइरहेका बिरामीका लागि शिविर निकै फलदायी भयो, शिविरमार्फत उहाँहरुको व्यक्तिगत र सामाजिक जीवनमा सकारात्मक परिवर्तन आउनेमा म विश्वस्त छु ।”
नबिल बैंकले यअघि सुदुरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा निःशुल्क जलन शिविर सञ्चालन गरिसकेको छ । गत फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको उक्त पहिलो शिविरमार्फत ६५ जना र गत चैत २७ देखि कर्णालीमा प्रदेशमा सञ्चालन भएको शिविरमा १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका थिए ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ । नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पुर्याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।
काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्ने भएको छ ।
बैठक बुधवार दिउँसो तीन बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको काँग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । आजको बैठक पार्टी सभापति गगनकुमार थापाको उपस्थिति रहेको छ ।
रास्वपाले बनायो ‘पार्टी–संसद–सरकार समन्वय समिति’
काठमाण्डौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी, संसद र सरकारबीच समन्वय सुदृढ गर्न ‘पार्टी–संसद–सरकार समन्वय समिति’ गठन गरेको छ।
पार्टीको गत वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार समिति गठन भएको हो । समितिले नीतिगत एकरूपता, निर्णय प्रक्रियामा पारदर्शिता र कार्यान्वयनमा प्रभावकारिता ल्याउने लक्ष्य लिएको छ।
पार्टी, संसद र सरकारबीच समन्वय अभाव हुन नदिन र नीतिगत अस्पष्टता र कार्यान्वयनमा ढिलाइको अन्तर घटाउन यस्तो समिति गठन गरिएको रास्वपाले जनाएको छ ।
पार्टी संगठन, संसदीय दल तथा सरकारमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूबीच नीति निर्माण, निर्णय प्रक्रिया र कार्यान्वयनको तहमा नीतिगत एकरूपता, निरन्तर समन्वय र संस्थागत सुदृढता सुनिश्चित गर्न समिति क्रियाशील हुने पनि रास्वपाले जनाएको छ।
समितिको संयोजकमा महामन्त्री भूप देव शाह छन् । सरिताश्री ज्ञवाली उपसंयोजक र रामकुमार ढुंगाना सदस्य सचिव तोकिएका छन्।
समितिको सदस्यहरूमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य तथा सांसदहरूलाई राखिएको छ ।
रवि किरण अधिकारी, विशाल अधिकारी, अरविन्द साह, करिष्मा कठरिया, मनिष खनाल, रमेश सापकोटा र श्रृष्टि भट्टराई सदस्य छन् ।
बीपी राजमार्गः जानकारी लिएर मात्र यात्रा गर्न आग्रह
काभ्रेपलाञ्चोक । बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले मङ्गलबारदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ ।
समितिले वर्षालगायत जोखिमका कारण साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो ।
बेमौसमी वर्षाका कारण रोशी खोलामा बाढी आउँदा खोलाको सतह बढेर ‘डाइभर्सन’ बगाउँदा सडक अवरुद्ध हुने भएकाले मङ्गलबारदेखि रातिको समयमा अनिश्चितकालीन रागमार्ग बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार मौसमी अवस्थाअनुसार पुनः राजमार्गमा आवागमन नियमित गराइनेछ ।
यसैअघि सोमबारको वर्षाका कारण बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा फसेका यात्रुको राति उद्धार गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पाँचवटा माइक्रोबसका ८९ यात्रुलाई आज बिहान १ः०० बजे सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएका हुन् । वर्षात्पछिको बाढीले रोशी क्षेत्रमा बिपी राजमार्गमा बनाइएको अस्थायी डाइभर्सन बगाउन थालेपछि सुरक्षा निकायले सोमबार साँझ ५ः०० बजेदेखि नै उक्त क्षेत्रमा आवागमन बन्द गराएको थियो । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेशमार्ग धुलिखेल तथा काभ्रेभन्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको थियो ।
प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै दिनको समयमा यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न सडक यात्रुलाई अपिलसमेत गरिएको छ । बेमौसमी वर्षाका कारण पटकपटक रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मका विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुँदै आएको थियो ।
गत सालको बाढीपहिरोले रागमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
















