Page 7

रविले बोलाए रास्वपाका कोशी र मधेशका सांसदहरूलाई छलफलमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आज कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्ने भएका छन् ।
कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र मधेस प्रदेशका सांसदहरुसँग दिनको १ः३० बजेदेखि ३ः३० बजेसम्म छलफल हुनेछ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा हुने छलफलमा सहभागी हुन काठमाडौँमा उपलब्ध सांसदहरूलाई पार्टीले आग्रह गरेको छ । बाँकी प्रदेशका सांसदहरूसँग अर्को तालिकामा छलफल कार्यक्रममा आयोजना हुने जनाईएको छ ।

क्यान महासंघमा नेतृत्व परिवर्तनः चिरञ्जीवी अधिकारीले सम्हाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौँ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) मा ठुलो नेतृत्व फेरबदल भएको छ । महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले व्यक्तिगत कारण देखाउँदै स्वस्फूर्तरुपमा आफ्नो पदबाट राजीनामा दिएकी छन् ।
पाण्डेले आफुले राजिनामा दिएको कुरा कार्यसमिति लाई पनि जानकारी दिइसकेको क्यान महासंघका एक सचिवले जानकारी दिए । पाण्डेको राजीनामा स्वीकृत भएसँगै क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले नयाँ कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।
क्यान महासंघको इतिहासमै पहिलो महिला अध्यक्षका रूपमा सर्वसम्मत निर्वाचित भएर ऐतिहासिक नेतृत्व सम्हालेकी सुनैना घिमिरे पाण्डेले व्यक्तिगत कार्यव्यस्तताका कारण पदबाट मार्गप्रशस्त गरेकी हुन ।
त्यस्तै कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका चिरञ्जीवी अधिकारी नेपालीसहित अन्तर्राष्ट्रिय सूचना प्रविधि एवं साइबर सुरक्षा क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बोकेका स्थापित विज्ञ हुन । उनले यसअघि महासंघमा वरिष्ठ उपाध्यक्षका रूपमा नीतिगत नेतृत्व प्रदान गर्दै आएका थिए् ।
कार्यवाहक अध्यक्ष अधिकारीको नेतृत्वमा क्यान महासंघले ’डिजिटल नेपाल’ को राष्ट्रिय मार्गचित्र कार्यान्वयन, ’मेड इन नेपाल’ सफ्टवेयर इकोसिस्टमको प्रवद्र्धन, स्टार्टअप मैत्री नीति र डिजिटल सुरक्षा सुदृढीकरणका चालु एजेन्डाहरूलाई थप तीव्र गतिमा अगाडि बढाउने अपेक्षा गरिएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील व्यवसायी, विज्ञ, संस्था र प्रविधिप्रेमीहरूको प्रतिनिधित्व गर्ने सर्वोच्च निकाय हो ।

नेपाल बैंक र डालिया होटेलबीच छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई पोखरा, ०६ लेकसाइडमा रहेको डालिया होटेल प्रा.लि. ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई होटेलद्वारा तोकिएको विभिन्न सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशतदेखि ३५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ । सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र डालिया होटेल प्रा.लि. को तर्फबाट बिङ्गि निर्देशक सिता रायमाझीले हस्ताक्षर गरेका हुन् ।
यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूलाई डालिया होटेल प्रा.लि. द्वारा प्रदान गरिने सहुलियतपूर्ण सेवाबाट लाभान्वित हुनेछन् ।
नेपालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पुर्याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो दबैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।
त्यस्तै, नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका नगरपालिका ०७, स्थित रहेको रिसोर्ट कोटबारी होटेल प्रा।लि। ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई कोटबारी होटेल प्रा.लि. ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा मिति २०८२ साल भदौ ११ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र कोटबारी होटेल प्रा.लि. को तर्फबाट महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका हुन् ।

एनएमबि बैंकद्वारा ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सहयोग प्रदान गरेको छ । सहयोग तमु धिं नेपालको ४२ औं स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको थियो । सहयोग सामग्री गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, तमु धिं नेपालका संस्थपक अध्यक्ष कर्म कुमारी तमु, अध्यक्ष हुमबहादुर गुरुङ तथा एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जित लगायतले संयुक्त रुपमा वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जितले तमु धिं नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको जनाउँदै शिक्षा, समुदाय सशक्तीकरण तथा सामाजिक विकासमा बैंकको सहकार्य निरन्तर रहने जनाए ।
एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

काठमाण्डौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार केही जिल्लामा भारी वर्षा समेत भएको थियो ।
बिहीबार दिउँसो कोशीलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । साथै मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार कोशीलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा, मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एकदुई स्थानहरूमा मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने मधेसलगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा, मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यता देशका तराई र पहाडी भेगमा गर्मी बढेको छ । केही ठाउँमा भने पानी परेको छ । गए राति पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
तराई क्षेत्रमा भने तापक्रम बढ्दो छ । धनगढी, दिपायल र नेपालगञ्जको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
बिहीबार र शुक्रबार पनि गर्मी बढ्ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा मन्त्री गौतमले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । साथै उनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
अर्थ मन्त्री डा. वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

अमेरिकाले आक्रमण गरेमा युद्ध अझ विस्तार गर्ने इरानको चेतावनी

काठमाडौं । अमेरिकाले इजरायली ‘जाल’मा परेर इरानविरुद्ध नयाँ आक्रामक कारबाही गरे त्यसको जवाफ नयाँ उपकरण र नयाँ रणनीतिमार्फत दिइने इरानले चेतावनी दिएको छ ।
इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनियाले सरकारी समाचार एजेन्सीसँग कुरा गर्दै भने, “यदि, शत्रु फेरि पनि इजरायली जालमा फसेर हाम्रो प्रिय इरानविरुद्ध नयाँ आक्रामक कारबाही गर्छ भने, हामी त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाहरूका साथ नयाँ मोर्चा खोलेर दिनेछौँ ।”
केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्ति सम्झौताको सम्भावनालाई जीवित राख्न चाहेको भन्दै इरानमाथि गर्ने योजना बनाइएका आक्रमणहरू हालका लागि स्थगित गरिएको जनाएका थिए ।
ट्रम्पको उक्त अभिव्यक्तिपछि तनाव कम हुने अपेक्षा गरिएको थियो । तर, इरानको यो नयाँ चेतावनीले परिस्थितिलाई पुनः गम्भीर बनाएको छ ।
इरानी सेनाले आफ्नो वक्तव्यमा कुनै पनि सम्भावित सैन्य कारबाहीको जवाफ पहिलेभन्दा अझ व्यापक रूपमा दिन सकिने स्पष्ट संकेत दिएको छ ।
यद्यपि, इरानले ती ‘नयाँ मोर्चा’ वा ‘नयाँ सैन्य रणनीति’ कस्तो स्वरूपका हुनेछन् भन्ने विषयमा थप विवरण सार्वजनिक गरेको छैन ।
यो वक्तव्य सार्वजनिक भएसँगै क्षेत्रीय सुरक्षा अवस्था तथा सम्भावित सैन्य संघर्षलाई लिएर चिन्ता फेरि बढेको समाचारमा उल्लेख छ ।

सरकार र रूबी खानबीच ५ बुँदे सहमति, २३ औं दिनमा अनशन तोडियो

​काठमाडौं । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहेकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मंगलबार ५ बुँदे सहमति भएको छ।
सहमति भएसँगै उनले आफ्नो २३ औं दिनको अनशन अन्त्य गरेकी हुन् । खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पानी खुवाएर अनशन तोडाइन् । बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो।
उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर, गृह मन्त्रालयका सहसचिव एव प्रवक्ता आनन्द काफ्ले र प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल थिए । उक्त टोलीले सोमबारदेखि नै अधिकारकर्मी खानसँग निरन्तर वार्ता र सहजीकरण गरेपछि गृह मन्त्रालयका सहसचिव र खानबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सहमतिपछि खानले प्रधानमन्त्री शाह र सरकारका प्रतिनिधिप्रति कृतज्ञता व्यक्त गरेकी छिन् । ​सहमति अनुसार जिल्ला प्रहरी कार्यालय, बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ।
त्यस्तै, अनशनरत खानले उठाएका अन्य घटनाका अनुसन्धानका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट छानबिन गराउने र त्यस क्रममा कमजोरी पाइएमा सम्बन्धित प्रहरी कर्मचारीहरूउपर प्रहरी नियमावली बमोजिम कानुनी कारबाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।
खानविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता भएको सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा माथिको अनुसन्धानलाई पनि तत्काल टुङ्ग्याउन निर्देशन दिइने सहमति भएको छ। यस मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख,प्रहरी उपरीक्षक लगायतका कर्मचारीहरूको भूमिकाका सम्बन्धमा प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने र कमजोरी पाइएमा कारबाही प्रक्रिया अघि बढाउने सहमति समेत भएको हो ।
​यसैगरी, निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत खान र अन्य महिला अधिकारकर्मीहरूको सुरक्षाका लागि बाँकेस्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने सहमति भएको छ।
उक्त सहमतिपत्रमा मानव अधिकार र महिला अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले रोहवरका रूपमा हस्ताक्षर गरेका छन् ।
रोहवरमा हस्ताक्षर गर्नुहुनेहरूमा इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महत, एड्भोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक बसन्त गौतम, महिला अधिकार मञ्चका प्रवक्ता मोहम्मद शेर बागवान, अध्यक्ष मन कुमारी गुरताल र सदस्य गीता रैदास छन् ।

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
मंगलबार न्यायाधीश महेश शर्मा पौडेलको इजलासले विपक्षीको नाममा बाटोको म्याद बाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जबाफ पेस गर्न आदेश दिएको हो।
प्रसाईंको तर्फबाट अधिवक्ता आशिष लुईंटेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न सोमबार साँझ वीरगञ्जबाट पक्राउ गरेको थियो।
सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयलाई अनुसन्धानको फाइल समेत ल्याउन भनेको छ।

पूर्वमन्त्री गुप्तासँग ५० लाख धरौटी माग

काठमाडौं । सर्वोच्च अदालतले पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वसामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश दिएको छ । तत्काल प्राप्त प्रमाणका आधारमा पुर्पक्षका लागि थुनामा राख्नुपर्ने अवस्था नरहेको जनाउँदै ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश शार‌गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मंगलबार विशेष अदालतको आदेश अनुरुप थुनामा रहेका गुप्तालाई धरौटी रकममा छाड्न आदेश दिएको हो । सर्वोच्चले प्रतिवादी गुप्ताको हकमा पुर्पक्षका लागि थुनामा राख्नेसम्बन्धी विशेष अदालत ऐन, २०५९ को दफा ७ आकर्षित हुने अवस्था नरहेको आदेशमा उल्लेख गरेको छ ।
सर्वोच्चले विशेष अदालतबाट गुप्तालाई गएको पुस १६ गते विशेषबाट भएको आदेश उल्ट्याइदिएको हो । सर्वोच्चले गुप्तालाई ५० लाख नगद धरौट वा सोबराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत लिएर मुद्दाको पुर्पक्ष गर्ने कानुनी सुविधा प्रदान गरेको छ ।
गुप्ताविरुद्ध मालपोत कार्यालय कास्कीका कर्मचारी रामचन्द्र अधिकारीको सरुवा थमौती गराई दिने तथा खमबहादुर पुनलाई भूमिसम्बन्धी समस्या समाधान आयोग कास्कीको अध्यक्षमा नियुक्ति गराइदिने भन्दै घुस लिएको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गुप्ता २०८१ असार ३१ गतेसामान्य प्रशासनमन्त्री नियुक्त भएका थिए । उनी मुद्दा चलाउने दिन २०८२ असार २१ सम्म पदमा बहाल थिए ।
सर्वोच्चले स्वास्थ्य जाँच परीक्षण प्रतिवेदनलाई समेत धरौटी रकममा छाड्ने आधार बनाएको छ । आदेशमा भनिएको छ, “प्रस्तुत मुद्दाको फैसला हुँदाका बखत ठहरेबमोजिम हुने गरी हाललाई निज प्रतिवादी राजकुमार गुप्ताबाट विशेष अदालत ऐन, २०५९ को दफा ७ (घ) बमोजिम यी निवेदक प्रतिवादीबाट ५० लाख रुपैयाँ नगद धरौट वा सोबराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत लिई मुद्दाको पूर्पक्षको लागि तारेखमा राख्नू ।”
भ्रष्टाचार मुद्दाका अन्य प्रतिवादीहरू रामचन्द्र अधिकारी, तुल्सीराम बुढामगर र रन्जिता श्रेष्ठको हकमा नगद धरौट वा जेथा जमानत लिई मुद्दाको पुर्पक्ष गर्ने गरी विशेष अदालतबाट भएको आदेश नै सदर भएको छ । गुप्ता कारागार कार्यालय डिल्लीबजारमा थुनामा थिए ।

लेटेष्ट समाचार

राष्ट्रिय सभाबाट विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत

काठमाण्डौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले विभिन्न अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा सांसद सम्झना देवकोटाले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार...

यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले आज विभिन्न निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त...

इजरायल र हिज्बुल्लाह युद्धविरामका लागि सहमत

काठमाडौं । इजरायल र लेबननको हिज्बुल्लाह युद्धविराम गर्न सहमत भएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले उक्त सहमति भएको जानकारी दिएका हुन् । इजरायलका...